‘कमरेडहरू, अब लाज केले छोप्नु हुन्छ ? बरु नेतृत्व छाडेर अभिभावक बन्नुस्’
नेकपाको नेतृत्वमा रहेका नेताहरू जुन अवस्थामा पुग्नुभएको छ, न उहाँहरू मिलेर हिजोको अवस्थामा पुग्न सक्नुहुन्छ, न उहाँहरूबाट अब पार्टी नै चल्न सक्छ। अबको उपाय भनेको संक्रमणकालीन व्यवस्था गरेर उहाँहरूले कार्यकारी अधिकार नयाँ पुस्तालाई सुम्पने र आफू अभिभावकीय भूमिकामा बस्ने हो।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई अध्यक्षले एक अर्कालाई पत्र लेख्नुपर्ने आवश्यकता नै थिएन। लेखिहाले पनि त्यो पत्र यसरी मिडियामा सार्वजनिक गरिनु हुन्नथ्यो। पार्टीमा समस्या आएका बेला नेतृत्व तहबीच आदानप्रदान भएको पत्र जस्ताको तस्तै आउने गरी पीडीएफ फाइल नै मिडियालाई दिइनु भनेको नग्नता हो। अर्को कुरा, पत्रमा जुन खालको भाषा र शैली प्रयोग भएको छ, हाम्रो नेतृत्वको भाषिक स्तर त्यही नै हो भने हामी समयले माग गरेभन्दा सांस्कृतिक हिसाबले धेरै नै पछाडि परिसकेका छौं।
हामी जुन ढंगबाट सामाजिक, सांस्कृतिक रूपान्तरणको कुरा गरिरहेका छौं, समाजलाई मर्यादित बनाउने कुरा गरिरहेका छौं, समाजमा बोलिने भाषा र गरिने व्यवहार सम्मानजनक हुनुपर्छ भन्दै आएका छौं, त्यो तहको नेतृत्वको यस्तो भाषा र शैलीको प्रयोगबाट भावी पिंढीले के सिक्ने ? हामीले राजनीतिक संक्रमण सकियो, लोकतन्त्रलाई संस्थागत गर्यौं, अब आर्थिक, सामाजिक, सांस्कृतिक रूपान्तरणको अभियानमा छौं भनिरहेका बेला नेतृत्वले जुन हैसियत देखाइरहेको छ, यही भाषा, शैली र व्यवहारवाट हामीले भनेजस्तो रूपान्तरण गर्न सकौंला त ?
अबको कार्यकारी जिम्मेवारी लिने पछिल्लो पुस्ता भनेको अहिले मिलाउन हिंडिरहेको पुस्तालाई भनिएको हो। यो पुस्ताले पनि अब योजनाबद्ध रूपमा यसरी दायित्व हस्तान्तरण हुनुपर्छ भन्ने योजना पेस नगरी तपाइँहरू नै मिलेर जानोस्/खानोस् मात्र भनिरहने हो भने उहाँहरूले जुन दिनसम्म यसो भनिरहनुहुन्छ, नेतृत्वमा रहेकाहरूले आफूभन्दा पछाडिको पुस्तालाई कहिल्यै सक्षम देख्नुहुने छैन।
त्यसकारण दुई नेता (अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल)को बीचमा के भयो वा ९ जना नेता (केन्द्रीय सचिवालयका सदस्यहरू)को बीचमा के भयो भन्दा पनि हामीले कस्तो खालको संस्कार र संस्कृति लिएर अघि बढ्दैछौं भन्ने कुरा महत्वपूर्ण छ। विगत केही समयदेखिका गतिविधि, भाषा र शैलीले जे देखाइरहेको छ, त्यो चाहिँ लाजमर्दो छ। नेतृत्वले हिजोदेखि नै जुन ढंगबाट सांस्कृतिक रूपान्तरण, सम्मानजनक समाज निर्माण गर्ने भन्दै आएको थियो, जुन कुरालाई हेरेर त्यही नेतृत्वलाई जनताले राज्यको सर्वोच्च तहमा पुर्याए, हामीले भने सांस्कृतिक रूपान्तरण आफैंभित्र पनि गर्न सकेका रहेनछौं। यो ठूलो चिन्ताको विषय हो। त्यहीकारण यो लाज छोप्न अब मास्कले होइन, घुम्टो नै चाहिने भयो।
यो पुस्ताबाट पार्टी चल्दैन
मानिसले गल्ती गर्ने, अनि त्यसलाई सच्याउने प्रक्रिया उमेरले पनि तय गर्छ। सानो छँदा औँलाले कट्टी गरेर झगडा गर्ने र हात मिलाएर मिलापत्र गरे पनि नमिलेको मन मिल्छ। शरीरमा ऊर्जा भएको युवावस्था हुन्जेल भएगरेका कमजोरीलाई ‘यो त यस्तो भएछ, ल है माफ गरिदिनोस्, मैले रियलाइज गरें’ भनेर पनि क्षम्य हुन्छ। तर, अहिले हाम्रा नेताहरू जुन उमेर समूहमा पुग्नुभएको छ, त्यो उमेरमा उहाँहरूले जस्तो भाषा, शैली र व्यवहार देखाउँदै हुनुहुन्छ, त्यसले उहाँहरूबीच जुन तहको फाटो देखाउँछ, त्यो चर्केको मात्र होइन, मनमा गहिरो धाँजा फाटेको अनुभूत हुन्छ। त्यो धाँजा अब फेरि बसेर आत्मालोचना गरेर वा सच्चियाैं, मिल्याैं, रियलाइज गर्यौं भनेर वा यस्तै केही गरी फेरि विगतमा जस्तो हार्दिकतासाथ नेतृत्वले काम गर्ने वातावरण मेरो दृष्टिमा अब संभव छैन।
एउटा मानिसले जुनसुकै काम गर्ने पनि निश्चित समय हुन्छ। किनभने समयअनुसार नै ऊर्जा र सिर्जनशीलता हुन्छ। प्रायः धेरैतिर उमेरको हदबन्दी राख्ने गरिएको त्यही भएर हो। हाम्रो पार्टीको नेतृत्व तहमा रहेको यो पुस्ताले चाहिं २०३० को दशकदेखि झण्डै पाँच दशक एउटै तहमा रहेर काम गरिसकेको छ। अब त जति नै त्यो पद र तहमा बसे पनि यो भन्दा बढी सिर्जनशील रूपमा गर्न सक्ने केही पनि हुँदैन। अर्थात् उहाँहरूले दिनुपर्ने ऊर्जा दिइसक्नुभयो। गर्नुपर्ने योगदान गरिसक्नुभयो। अब उहाँहरूले शारीरिक गतिशीलतामा होइन, पाँच दशकसम्म संग्रहित भएको अनुभवलाई प्रतिविम्वित गर्ने र कार्यकारी जिम्मेवारीमा पछिल्लो पुस्तालाई दिएर युवाहरूमा अनुभव, आशा र अपेक्षा बाँड्ने हो। आफ्नो विगतलाई रिफ्लेक्ट गर्ने र अभिवभावकीय भूमिकामा रहेर कार्यकारी भूमिकामा रहनेलाई मार्गनिर्देश गर्ने हो।
अबको कार्यकारी जिम्मेवारी लिने पछिल्लो पुस्ता भनेको अहिले मिलाउन हिंडिरहेको पुस्तालाई भनिएको हो। यो पुस्ताले पनि अब योजनाबद्ध रूपमा यसरी दायित्व हस्तान्तरण हुनुपर्छ भन्ने योजना पेस नगरी तपाइँहरू नै मिलेर जानोस्/खानोस् मात्र भनिरहने हो भने उहाँहरूले जुन दिनसम्म यसो भनिरहनुहुन्छ, नेतृत्वमा रहेकाहरूले आफूभन्दा पछाडिको पुस्तालाई कहिल्यै सक्षम देख्नुहुने छैन। त्यसैले मिलाउन हिंड्ने पुस्ताले तपाईंहरू अभिभावकीय भूमिकामा जानुस्, हामी कार्यकारी भूमिकामा काम गर्छौं भन्न सक्नुपर्छ। र, त्यो जिम्मेवारी लिने प्रक्रियासंगत ढंगले छलफल गरौं भन्नुपर्छ। त्यसो नगर्ने हो र त्यही धाँजा फाटेको मनलाई मिलाएर पार्टीलाई फेरि पनि सबल र सशक्त बनाई जनताको बीचमा लैजान्छौं भन्ने सपना चाहिँ अहिले मिलाउन हिंडेको पुस्ताले नदेखे हुन्छ।
यो अवस्था हाम्रो पार्टीभित्र २०६५ सालदेखि नै देखिएको हो। तर यो अवस्था घट्नुको साटो २०७१ सालपछि बढेर अझ जटिल हुदै गएको थियो। २०७५ सालमा दुई पार्टीबीच एकतापछि त झन् स्कुलिङ नै फरक भएको धार थपियो। लोकतान्त्रिक धार नै कम्युनिष्ट पार्टीमा आवश्यक छैन भन्ने धार समायोजन भइसकेपछि झन् समस्या हुने नै भयो।
मलाई लाग्छ हामी जुन ढंगबाट स्वाभाविक हिसाबले पार्टीको सदस्यता व्यवस्थापन गर्ने, स्थानीय तहदेखि अधिवेशन गर्दै आउने र राष्ट्रिय महाधिवेशन गर्ने भन्ने कुरामै अड्किइरहने हो भने अरु केही वर्ष महाधिवेशन हुँदैन। किनभने उहाँहरूको पत्रमित्रता नभई पत्रशत्रुता भइरहेको छ। मतदाता नामावली अगाडि राखेर सदस्यताको सूची बनायो भन्ने तहसम्मको आरोप जसरी एकले अर्कोलाई लगाइराख्नु भएको छ, त्यो कुरालाई निवारण गरेर सदस्यताको आधारमा प्रतिनिधि चयन गरेर स्थानीय तहदेखि अधिवेशन कसरी हुन्छ ? अनि महाधिवेशन गर्ने काम यो टीमले गर्छ भन्ने विश्वास ममा चाहिं टुटेको छ।
पुस्ता बनाउने होइन, बिगार्ने खेल
के दुई पार्टीबीच एकता भएर अवस्था यसरी बिग्रेको हो त ? मलाई त्यस्तो लाग्दैन। मुख्य कुरा हामीले पार्टीभित्र प्रणाली फेर्याैं, तर प्रवृत्ति फेर्न सकेनौं। जित्नेले गोला तानेरै जिते पनि उसको जितलाई स्वीकार गर्नुपर्छ भन्ने लोकतान्त्रिक प्रणाली चाहिं स्वीकार गर्यौं, तर जित्नेले सहज हिसाबले त्यो कार्यकालभरि काम गर्न पाउनुपर्छ भन्ने थिति हिजोदेखि नै बनाउन सकेनौं। जसले हार्यो, उसले पनि जति मत प्राप्त गर्यो त्यही मतको प्रतिशत गणना गरेर हिसाब देखाइरहने स्थिति भयो। प्रक्रियालाई स्वीकार गरे पनि नतिजा स्वीकार र आत्मसात गर्न नसक्ने स्थिति बनिरह्यो।
यो अवस्था हाम्रो पार्टीभित्र २०६५ सालदेखि नै देखिएको हो। तर यो अवस्था घट्नुको साटो २०७१ सालपछि बढेर अझ जटिल हुदै गएको थियो। २०७५ सालमा दुई पार्टीबीच.एकतापछि त झन् स्कुलिङ नै फरक भएको धार थपियो। लोकतान्त्रिक धार नै कम्युनिष्ट पार्टीमा आवश्यक छैन भन्ने धार समायोजन भइसकेपछि झन् समस्या हुने नै भयो।
एउटा राजनेताले जेनेरेसनको लागि सोच्छ, राजनीतिक नेतृत्वले निर्वाचनको लागि मात्र सोच्छ भन्ने गरिन्छ। तर, अहिलेको नेतृत्वले त आउने निर्वाचनको लागि समेत सोचेन। सके आफैंले गरौं, नसके केही परवाह नै छैन। पार्टी र जनता जेसुकै होस् भन्ने प्रवृत्ति देखिएको छ। एकजना नेता भन्नुहुन्थ्यो– ‘आफूबाट अर्को पिंढीलाई ज्ञान, सीप, दक्षता र दायित्व हस्तान्तरण नगर्ने, अनि आफू सकिएपछि अरुले कति जान्ने थियो, विचरा गयो भन्ने खालको झाँक्री प्रवृत्ति हाम्रो राजनीतिमा हावी छ।’ अहिले हाम्रो पार्टी नेतृत्वमा पनि पछिल्लो पुस्ता आफूभन्दा सक्षम हुनुपर्छ भन्ने चिन्तन होइन, सक्षम होला कि भन्ने चिन्ता र भय देखिन्छ। बरु पछिल्लो पुस्तालाई झन् बिगारेर यो भन्दा त पहिलेकै ठीक थियो भनून् भन्ने सोचाइ छ कि जस्तो लाग्न थालेको छ।
अहिलेको नेतृत्वले कार्यकारी भूमिका छाडोस्
राजनीति आवेग र आक्रोशले गरिने काम होइन, यसमा निर्णयका लागि संयम र विवेक महत्वपूर्ण हुन्छ। अहिले हाम्रो पार्टीका महासचिवले नै नेतृत्व तहमा रहेका (केन्द्रीय सचिवालयका) सबैले सामूहिक राजीनामा दिऔं भन्ने प्रस्ताव गर्नुभयो भन्ने कुरा आएको छ। यदि उहाँले त्यसो भन्नुभएको हो भने त्यो उहाँको थकानको अभिव्यक्ति हो। नेताहरूलाई मिलाउन हिंड्दा लागेको थकाइको अभिव्यक्ति हो। पार्टी र आन्दोलन जोगाउने हो र जनताले दिएको अभिभारा पूरा गर्ने हो भने म फेरि पनि भन्छु, अहिलेको नेतृत्वले आवेगमा राजीनामा दिने वा कब्जा जमाएर बसिरहने होइन, छिटोछरितो उचित प्रक्रिया तय गरेर प्रक्रियागत ढंगबाटै कार्यकारी नेतृत्व हस्तान्तरण गर्नुपर्छ। अहिलेको ९ जनाको सचिवालयको टीमले कार्यकारी भन्दा अलि पर बसेर सल्लाह सुझाव दिनुपर्छ।
हामीले गर्न सक्ने भनेको नेतृत्वले जुन कुरा ठीक गरिरहेको छैन, भेटेसम्म यो ठीक भइरहेको छैन र यसो गर्नु ठीक छ भनेर सुझाव दिने हो। अहिले पार्टीको विधानमै दुई जना नेता (अध्यक्ष)ले निर्णय गर्ने भनिएको छ। त्यसपछि अलिकति फराकिलो भयो भने निर्णय प्रक्रिया ९ जना नेतासम्म आइपुग्ने हो। तर, अहिले सबभन्दा बढी त्यही ९ जनाको टीममै कसले के भूमिका पाउने, कसले के अवसर पाउने भन्ने हानथाप छ। अनि आफूले अवसर पाएपछि आफूलाई यो लुछाचुँडीमा पछाडि बसेर साथ दिनेलाई अवसरको खोजी गर्ने गरिएको छ। जनताको जीवन र अवसरमा योग्यता, क्षमता, विज्ञता र सामाजिक न्याय जस्ता आधारमा मापदण्डबारे छलफल भएको कहिल्यै सुनिएको छ ? त्यो नहुँदा देखिने परिणाम यस्तै हुने त हो।
पूर्वपार्टीबाट आएको सदस्य यति भएकाले त्यही आधारमा भागवण्डामार्फत अधिवेशन वा महाधिवेशन गरौं भन्ने हो भने तल पनि अधिवेशन हुँदैन, माथि पनि महाधिवेशन हुँदैन। अन्ततः समयले हामीलाई कुरेर बस्दैन। त्यसपछि निर्वाचन आउँछ। अनि फैसला जनताले गर्ने छन्। प्रक्रियागत रूपमा हस्तान्तरण नभएको नेतृत्व र पद जनताले नै हस्तान्तरणमा पुर्याइदिनेछन्।
त्यसकारण एकता महाधिवेशनका लागि केन्द्रदेखि प्रदेश, ७७ वटै जिल्ला, जनवर्गीय संगठन र स्थानीय तहसम्म कहाँसम्मको प्रतिनिधित्व कसरी गराउने हो, त्यो प्रतिनिधित्व सुनिश्चित गरेर एकता महाधिवेशनमार्फत नयाँ टीमलाई कार्यकारी अधिकार हस्तान्तरण गर्ने हो भने अझै पनि केही गर्न सकिन्छ। अनि त्यो नयाँ टीमले आजसम्म जे भयो भयो, अब नयाँ ढंगले काम गरौं भनेर नयाँ सिराबाट काम गर्ने हो भने पार्टीलाई फेरि पनि पहिलेकै अवस्थामा लैजाने केही सम्भावना रहन्छ। कार्यकर्ताको चोट लागेको मनोविज्ञान र निराशा आशामा बदलिन सक्छ। जनताले दिएको जिम्मेवारी अनुसार सही दिशामा पार्टी फर्कन र जनमानसको मनमा लागेको घाउमा खाटो बस्न सक्छ।
यसो नगरी सदस्यता टुंगो लगाएर जसले जति भन्छ त्यसैलाई पार्टी सदस्य मानौं भन्ने हिसाबले जाने हो र त्यही सदस्यको आधारमा सबै काम गरौं भन्दै पूर्वपार्टीबाट आएको सदस्य यति भएकाले त्यही आधारमा भागवण्डामार्फत अधिवेशन वा महाधिवेशन गरौं भन्ने हो भने तल पनि अधिवेशन हुँदैन, माथि पनि महाधिवेशन हुँदैन। अन्ततः समयले हामीलाई कुरेर बस्दैन। त्यसपछि निर्वाचन आउँछ। अनि फैसला जनताले गर्ने छन्। प्रक्रियागत रूपमा हस्तान्तरण नभएको नेतृत्व र पद जनताले नै हस्तान्तरणमा पुर्याइदिनेछन्।
मेरो विचारमा संक्रमणकालीन उपाय खोजेर नेतृत्व हस्तान्तरण गर्नु सबभन्दा उत्तम उपाय हो। यसो नगरे पार्टीले हिजोजस्तै जनताको विश्वास जित्छ भन्ने मलाई चाहिं लाग्दैन। अब आउने नेतृत्वले राजनीतिलाई म्युजिकल चेयरको खेल ठानेर कुर्सी र पद नहुँदा बाहिरिन्छु भन्ने चिन्ता लिनुहुँदैन। बरु आफूलाई शक्ति संरचनाबाट अलि पर राख्दा मात्रै पार्टीभित्रको गुट र झुण्ड अन्त्य गर्न सकिन्छ भन्ने बुझ्नु राम्रो हुन्छ।
अहिले मिलाउने नाममा फरक गुटका कार्यकर्ता जसरी एक ठाउँमा लागेका छन्, यो टीमले अब माथिको टीमलाई रिझाएर पार्टी बनाउने होइन, नेतृत्व आफूले लिएर पार्टी बनाउने हो भन्ने बुझ्नुपर्छ। आफ्नो पिंढीको राजनीतिक भविष्य अलि परसम्म छ भन्ने सोचेर काम गर्नुपर्छ। वर्तमान नेतृत्वलाई तर्क र तथ्यसहित यसरी कार्यकारी नेतृत्वबाट अभिभावक बन्नुस् भन्न सक्नुपर्छ। अन्यथा अहिलेको नेतृत्वको त उत्तरार्धको जीवन गर्विलो हुने छैन नै, भावी पिंढी पनि नयाँ सिराबाट राजनीतिक आन्दोलन उठाउन बाध्य हुनेछ।
(नेकपा केन्द्रीय सदस्य पाण्डेसँग लक्ष्मी बस्नेतले गरेको कुराकानीमा आधारित)