मानव श्रेष्ठताको महावर्णन
‘आर्य हुनुको श्रेष्ठता’ विरुद्ध मानव हुनुको अस्तित्वबोध नै ‘मोक्षभूमि’ को मूल बहस हो । सतहमा नश्लीय अहंकार देखिए तापनि अन्तर्यमा चाहिं यो वर्गीय द्वन्द्व हो । किनकि, कृषि र व्यापारमा निर्भर मध्ययुगमा दास बेगर न उत्पादकत्व वृद्धि न त भोगविलास नै संभव हुन्छ ।
शेखर खरेल
कर्मले राजनीति र रुचिले गैरआख्यानमा कलम चलाउँदै आएका व्यक्ति जब आख्यानमा हात हाल्दछन्, ती आख्यानलाई उनीहरूकै कर्म र पृष्ठभूमिसँग जोडेर हेरिंदोरहेछ । केशव दाहालको ‘मोक्षभूमि’ पढ्नुअघि एउटा अनुमान थियो, कतै उनले राजनीतिक ग्रन्थलाई नै प्राविधिक रूपमा मात्र आख्यान स्वरुप दिएका त होइनन् ?
जसै ‘मोक्षभूमि’ उधिन्न थाले, दाहाल शनैःशनै आख्यानकार स्थापित हुँदै गए । गैरआख्यानको संकुचन आख्यानमा फुक्ने हुँदा आख्यानकार निर्बन्ध हुन्छ । यसै पनि कल्पनाको उडान लिने कवि (आख्यानकार पनि) को तुलना ब्रह्मासँग गरिन्छ, ‘अपारे काव्य संसारे कविरेव प्रजापतिः, यथा वैरोचते विश्वं तथेदं परिवर्तते ।’ अर्थात्, अपार काव्य संसारमा कवि (स्रष्टा) सृष्टिकर्ता ब्रह्मा समान हुन्छन् ।
दाहालको काव्य संसार विक्रमाब्दको १३औं शताब्दीको सिंजा हो, यद्यपि लेखकको निख्लो ‘संवत्’ पदावलीले भ्रम उत्पन्न नगर्ने होइन । संवत्को अर्थ साल हो, जुन निश्चित पात्रोसँग सम्बन्धित हुनु जरूरी हुन्छ ।
लेखक केशव दाहाल
१३औं शताब्दीतिरको सिंजाको भव्यता र विहंगमतासँगै कथानक प्रारम्भ हुन्छ । अखण्ड नेपाल निर्माण अघिको सिंजा भारतवर्षका मगध, मराठा, मौर्य झैं एक वैभवशाली साम्राज्य हो, जसका शासक सम्राट क्राचल्लदेवको एक मात्र ध्येय राज्यविस्तार, रानी विस्तारका अतृप्त महत्वाकांक्षा हुन्छ । युद्ध र यौनपिपासु क्राचल्लदेवको जीवनमा हठात् भएको ‘यू टर्न’ ले कथानकलाई अर्कै मोड दिन्छ, जुन ‘मोक्षभूमि’ को मूल कथा हो ।
कुमाउँ राज्य विजयपछिको राजाको दुःस्वप्न र कान्छी रानी अप्सराद्वारा सम्राटको कुमाउँ राज्यको प्रेमोपहार अस्वीकार्यताले सम्राटमा उत्पन्न वेचैनी र आत्मग्लानिले उनलाई हिंसाको तिलाञ्जली र शान्तिको आलिङ्गनको निर्णयमा पु¥याउँछ । युद्धोन्मादको अन्धवेगमा सिंजा र कुमाउँ दुवैतर्फ मारिएका दश हजार बढी नरनारी, टुहुरा बालबालिका, विधवा, सन्तान गुमाएका बेसहारा वृद्धवृद्धा, बलात्कृत नारी, अङ्गभङ्ग सैनिकका आँसु र क्रन्दनले सम्राट अवसादमय अवस्थामा पुग्छन् ।
युद्धत्यागको निर्णय मात्रले उनीभित्रको ग्लानि र पश्चात्तापको अग्नि शमन गर्न सक्दैन । त्यसैले उनी एउटा बृहत् पापमोचन यज्ञको आयोजना गर्ने र यज्ञमार्फत युगौंदेखि अमानवीय साङ्लोमा बाँधिएका सम्पूर्ण दासहरूलाई मुक्त गर्ने घोषणा गर्दछन् । सम्राट क्राचल्लदेवको घोषणाले पैदा गर्ने घर्षण नै ‘मोक्षभूमि’ आख्यानको कथानक हो, जसमा नायक र खलनायकका पात्रताले कथानक कौतूकमय बनाउँछ ।
‘मोक्षभूमि’ का नायक (प्रोटागोनिस्ट) सम्राट क्राचल्लदेव, कान्छी महारानी अप्सरा, महामन्त्री विक्रमादेव, सेनापति शंकरादेव तथा (मुक्त) दास नायकहरू सत्यदेव, कृष्णदेव, भार्गदेव आदि हुन् । राजगुरु आर्यदेव, रानी पल्लवी, युवराज प्रेमचल्लदेव र श्रेष्ठमार्गी सामन्तहरू कथामा जब्बर खलनायकका रूपमा उभिएका छन् । दास मुक्तिको घोषणा विरुद्ध उनीहरूको योजनाबद्ध प्रतिरोध प्रारम्भ हुन्छ । र, पदच्यूत राजगुरु आर्यदेव नेतृत्वमा श्रेष्ठमार्गी संघ गठन हुन्छ ।
‘आर्य हुनुको श्रेष्ठता’ विरुद्ध मानव हुनुको अस्तित्वबोध ‘मोक्षभूमि’ को मूल बहस हो । सतहमा नश्लीय अहंकार देखिए तापनि अन्तर्यमा चाहिं यो वर्गीय द्वन्द्व हो । किनकि, कृषि र व्यापारमा निर्भर मध्ययुगमा दास बेगर न उत्पादकत्व वृद्धि न त भोगविलास नै सम्भव हुन्छ । शासन र सुविधाउपर विशेषाधिकार जमाउँदै आएका आर्य श्रेष्ठताका पक्षपाती सामन्त वर्ग रानी पल्लवी र युवराज प्रेमचल्लदेवको समर्थनमा प्रतिरोधका अनेक षडयन्त्र र तिकडमका धराप विछ्याउँदै प्रतिगमन जारी राख्छन् ।
हरेक क्रान्ति र परिवर्तनको मुख्य चुनौती परिवर्तनलाई संस्थागत गर्नु भए झैं सिंजाका मुक्त दासको आर्थिक पुनस्र्थापना र सामाजिक प्रतिस्थापन राज्यका लागि अत्यन्तै दुरुह हुन्छ ।
हरेक क्रान्ति र परिवर्तनको मुख्य चुनौती परिवर्तनलाई संस्थागत गर्नु भए झैं सिंजाका मुक्त दासको आर्थिक पुनस्र्थापना र सामाजिक प्रतिस्थापन राज्यका लागि अत्यन्तै दुरुह हुन्छ । श्रेष्ठमार्गीका प्रतिरोधका कारण दश हजार भन्दा बढी संख्याका मुक्त दासमध्ये नौ हजार मुलुक छाडेर नयाँ भूमिको खोजी र बाँकी एक हजार स्वदेश भित्र सम्मानित पुनस्र्थापनाको निर्णयमा पुग्छन् ।
सत्यदेव नेतृत्वको नौ हजार मुक्त दासको अरण्यको लोमहर्षक यात्रा र गरुडदेव नेतृत्वको एक हजारको मुलुकभित्रको जिजीविषाका संघर्ष पाठकका निम्ति कौतूक अनि रहस्यका कथानक बन्छन् । यता सिंजाभित्रको मुक्त दास शिविरमा श्रेष्ठमार्गीको षडयन्त्रको आगजनी जति वियोगपूर्ण हुन्छ, विपरीत सत्यदेव नेतृत्वको समूह निम्ति कुशीनगरका राजा कुशध्वजको भूमि उपहार आनन्दानुभूति हुन्छ ।
बहुपत्रीय रूप र अन्तर्वस्तु
रूप र अन्तर्वस्तुको आल्हादकारी समाजबाट उम्दा साहित्यको रचना हुन्छ । ‘मोक्षभूमि’ लाई रूप र अन्तर्वस्तुको आलोकमा हेरिंदा यो बहुपत्रीय देखिन्छ । उपन्यायको भाषा काव्यिक र लालित्यपूर्ण छ । सरल, छोटा र छरिता, बिम्बप्रधान वाक्यले पाठकलाई आनन्दानुभूति दिलाउँछ ।
करीब चार सय पृष्ठको ‘मोक्षभूमि’ को महावर्णन (ग्राण्ड–न्यारेटिभ) झिंजो वा पट्यारिलो लाग्दैन । रूप जति सुस्वादु र चित्ताकर्षक महसूस हुन्छ, त्यसभन्दा कैयौं गहन ‘मोक्षभूमि’ को अन्तर्वस्तु छ ।
सबैभन्दा पहिलो त, आख्यानको मूल विषय दास विमोचन नै हो । नेपालमा चन्द्रशमशेरले वि.सं. १९८२ मा दास प्रथा उन्मूलन गर्नु भन्दा सात सय वर्ष अघिको मध्ययुगीन सिंजामा दास विमोचनको काल्पनिकी खडा गर्नु ‘मोक्षभूमि’ को सबैभन्दा प्रशंसनीय पक्ष हो । यद्यपि, आजको समतामूलक तथा मानवअधिकारका कैयन् बडापत्रले सुनिश्चित गरेका व्यक्तिका नैसर्गिक र स्वतन्त्रताका हक नयाँ खाले साङ्लोमा बाँधिएको अवस्थामा दास मुक्तिको कथा अझै सान्दर्भिक देखिन्छ । त्यसैले दास मुक्तिको विषय सामाजिक भन्दा पनि राजनीतिक कथानक हो ।
आख्यानको भावभूमिमा जीवन र जगतका अनेक रहस्य वैदिक र बुद्धधर्म मार्फत उधिन्ने यत्न आख्यानकारले गरेका छन् । जसका निम्ति उनले आर्यदेव जस्ता जड पात्रदेखि बौद्ध भिक्षु आनन्ददेखि ब्रह्मानन्द, यज्ञवल्लभ र अभयनाथ जस्ता अग्रगामी र सुधारवादी सन्त पात्र उभ्याएका छन् । यी पात्रहरू मार्फत प्रकृति, परमात्मा, मोक्ष, अस्तित्व, शून्यता आदि माथि विशद बहस र शास्त्रार्थ गरिएको छ । तर आख्यानकार दाहालको चलाखी नै मान्नुपर्छ, उनले यौन बारे पनि शास्त्र र संघर्षको कथानकबीच ‘विज्ञापनिक विश्राम’ भने जसरी मसला थपिदिएका छन् ।
उपन्यासको अर्को महत्वपूर्ण पक्ष कथावाचन हो । व्यासरचित ‘महाभारत’ मा संजयले दृष्टिविहीन धृतराष्ट्रलाई युद्धक्षेत्रको प्रत्यक्ष वाचन (अहिलेको लाइभ टेलिकास्ट) गरे झैं ‘मोक्षभूमि’ का वाचकी स्वयं पात्रका रूपमा कथामा घुसेका छन् ।
उपन्यासको अर्को महत्वपूर्ण पक्ष कथावाचन हो । व्यासरचित ‘महाभारत’ मा संजयले दृष्टिविहीन धृतराष्ट्रलाई युद्धक्षेत्रको प्रत्यक्ष वाचन (अहिलेको लाइभ टेलिकास्ट) गरे झैं ‘मोक्षभूमि’ का वाचकी स्वयं पात्रका रूपमा कथामा घुसेका छन् । र, वाचकीको यस पत्र उपर पात्रकै रूपमा लेखक पात्रका पिता र राजकवि श्वरदेव प्रसाद समेत वाचकी देखिन्छन् । प्रथम र तृतीय पुरुष ‘स्टेरियोटाइप’ वाचन परम्परा भन्दा ‘मोक्षभूमि’ को कथावाचन नवीन एवं प्रयोगधर्मी छ ।
एउटा गहन र आल्हादकारी आख्यान भइकन पनि ‘मोक्षभूमि’ आलोचनामुक्त भने छैन । अधिक बिम्ब र सूक्ष्मवर्णनको जोशमा आख्यानकारले होश गुमाएका देखिन्छन् । पुस्तकका मुद्राराक्षसले ठाउँ–कुठाउँ पाठकलाई तर्साउँछ । पुस्तकमाथि कुशल सम्पादन हुनसकेको भए, यसले छरितो र स्वस्थ काया पाउन सक्नेथियो ।
लेखक वैचारिक पक्षमा पनि चुकेका छन् । मुक्त दासका निम्ति प्रसाद वा देवजन भन्ने पदावली हुँदाहुँदै पनि आख्यानकारले पुनः दास शब्द नै प्रयोग गर्नु उदेकको विषय हो । महात्मा गान्धीले दलितलाई हरिजन सम्बोधन गरे जस्तै मुक्त दासलाई प्रसादजन भन्न पनि सकिन्थ्यो । आगामी संस्करणमा यी कुरामाथि विचार गरिए पुस्तकको ओज अझै बढ्नेछ ।
पुस्तकः मोक्षभूमि, लेखकः केशव दाहाल, विधाः आख्यान, प्रकाशकः किताब पब्लिशर्स, पृष्ठः ३७१, मूल्यः रु.६००