४६ सालको आन्दोलनमा पाको पुस्ताको त्यो जोश
![४६ सालको आन्दोलनमा पाको पुस्ताको त्यो जोश](https://www.himalkhabar.com/uploads/posts/800X600/2046_protest_1603534104.jpg)
हरेक परिवर्तनको संघर्षमा युवाको सहभागिता र नेतृत्व महत्वपूर्ण हुन्छ। तर, पञ्चायत ढाल्न प्रौढ पुस्ताको जाज्वल्यमान योगदान भुल्न मिल्दैन।
पञ्चायत उखेल्न र बहुदलीय व्यवस्था पुनःस्थापना गर्न २०४६ सालमा भएको जनसंघर्षमा युवा आन्दोलनकारीहरूको महत्वपूणर् भूमिका अवश्य छ। तर, ज्येष्ठ नागरिकहरूको विशिष्ट सहभागिता झन् उल्लेखनीय रह्यो। प्रा. यदुनाथ खनाल, प्रा. डीपी भण्डारी, त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति डा. महेन्द्रप्रसाद दम्पती, पूर्व महान्यायाधिवक्ता तथा पूर्व मन्त्री शम्भुप्रसाद ज्ञवाली, कवि युद्धप्रसाद मिश्र, डा. सुन्दरमणि दीक्षित, आनन्ददेव भट्ट, कमलमणि दीक्षित जस्ता पुरानो पुस्ताका यति धेरै व्यक्तिहरूको सहभागिता रह्यो, जसका कारण निर्दलीय पञ्चायत शासनले घुँडा टेक्नुपर्यो।
भैरव रिसाल२०१७ पुसदेखि राजा महेन्द्रले दलविहीन पञ्चायत शासन लागू गरेका थिए। त्यो व्यवस्थाले केही लछारपाटो नलगाएपछि नेपालको माटो नै तात्यो। राजा वीरेन्द्रले क्रान्तिको राप र ताप थेग्न सकेनन्। ३० वर्ष पुगनपुगमा २६ चैत २०४६ को मध्यराति बहुदलीय व्यवस्था पुनःस्थापना भयो।
हरेक परिवर्तनमा जल्दोबल्दो उमेरको तागत र युवा नेतृत्व खोजिन्छ। तर, पञ्चायत ढाल्न प्रौढ पुस्ताको जाज्वल्यमान योगदान रहेको भुल्न मिल्दैन। त्यही स्मरणको लागि यो प्रसंग निकालेको हुँ।
आन्दोलनका उतारचढाव
पञ्चायत शासन विरुद्ध आन्दोलनको शुरुआत ५ माघ २०४६ मा त्यो क्रान्तिका नायक गणेशमान सिंहको काठमाडौं चाक्सीबारीस्थित निवास परिसरमा भएको बृहत् राजनीतिक भेलाबाट भएको हो।
निर्दलीय पञ्चायत विरुद्ध २०१९ सालदेखि नै साना-ठूला सशस्त्र, निःशस्त्र आन्दोलनहरू नभएका होइनन। तर, ती आन्दोलन नेपाली कांग्रेस तथा नेपाल कम्युनिष्ट पार्टी एक्लाएक्लैले गरेका थिए। सीमित शक्तिको प्रत्यनकै कारण जोडबल नपुगेर ती आन्दोलन सफल भैरहेका थिएनन्।
यस पल्टको आन्दोलन कांग्रेस र कम्युनिष्टहरू मिलेर गर्ने भन्ने भयो। गणेशमानजीले धेरै वटा कम्युनिष्ट पार्टी भएको र को-कोसँग मिल्ने भन्ने अलमल हुने भएकाले कम्युनिष्ट पार्टीहरू एक भएर आउन शर्त राखे। फलस्वरूप साहना प्रधानको नेतृत्वमा कम्युनिष्ट पार्टीहरूको मोर्चा बन्यो। तब ५ माघको चाक्सीबारी भेलाले ७ फागुन २०४६ देखि पञ्चायत शासन उखेल्न सडक संघर्ष गर्ने निणर्य गर्यो।
आन्दोलन शुरु भयो। पहिलो दिनको संघर्ष उल्लेख्य रह्यो। ९ फागुनमा नेपाल मजदूर किसान पार्टीको सक्रियतामा भक्तपुरमा शान्तिपूर्ण विशाल जुलुस निस्क्यिो। सरकारका तर्फबाट अन्धाधुन्ध गोली अन्धाधुन्द प्रहार भयो। चार जना शहीद भए। अरु कैयौं गम्भीर घाइते भए।
काठमाडौं उपत्यकाका पाटन, कीर्तिपुर र देशका अरु पनि धेरै ठाउँमा आन्दोलन भए। नेता-कार्यकर्ताहरू ठूलो संख्यामा पक्राउ परे। त्यसपछि आन्दोलन शिथिल हुन लाग्यो।
७ फागुन बागबजारस्थित भक्तपुर बसपार्क अगाडी आन्दोलनकारीमाथि अश्रु ग्यास वर्षाउँदै प्रहरी ।यो निराशाजनक स्थिति आएपछि नागरिक समाजका अगुवाहरू तात्न थाले। ७ चैतमा हो जस्तो लाग्छ, डा. देवेन्द्रराज पाण्डे, डा. अर्जुन कार्की, डा. महेश मास्के, डा. सरोज धिताल, डा. भरत प्रधान, डा. शरद वन्त, डा. सुन्दरमणि दीक्षित, शम्भुप्रसाद ज्ञवाली, डा. डीपी भण्डारी लगायत समाजका अगुवा त्रिभुवन विश्वविद्यालयको अडिटोरियममा भेला भएका थिए। परिवर्तनका आकांक्षी झण्डै १ हजार हाराहारीमा जम्मा भई पञ्चायत विरुद्ध कांग्रेस र कम्युनिष्ट पार्टीहरूले थालेको संघर्षको पक्षमा विचार मन्थन भइरहेको थियो। म पनि भेलामा सरिक थिएँ।
सभा शुरु भएको एकै छिनमा सशस्त्र प्रहरी अडिटोरियम हलमा प्रवेश गरी सहभागीहरूलाई १५ वटा ट्रकमा कोचेर ट्राफिक प्रहरी कार्यालय सिंहदरबार लगेर राख्यो। प्रत्येक व्यक्तिसँग बयान लिइयो। मञ्चमा बसेकाहरू देवेन्द्रराज पाण्डे, शम्भुप्रसाद ज्ञवाली, डीपी भण्डारीहरूलाई हनुमानढोका प्रहरी कार्यालय लगेर थुन्यो। हामी ४/५ सय मान्छेलाई ट्राफिक प्रहरी कार्यालयमै थुन्यो। राति एक बजेतिर आधा पाकेकोे भात भने खान दियो। बयान गराई मलाई भोलिपल्ट दिउँसो साढे चार बजेतिर छोड्यो। त्यति बेला अञ्चलाधीश नरेन्द्र चौधरी र काठमाडौंका प्रमुख जिल्ला अधिकारी केशवराज राजभण्डारी थिए।
त्यसपछि आन्दोलन फेरि मत्थर हुन लाग्यो। समस्या भयो।
पञ्चायत विरुद्ध प्रार्थना सभा
तत्कालीन नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठानबाट अक्षर, रङ, मूर्तिकला आदि विधाका प्राज्ञहरू मुखमा कालोपट्टी बाँधेर त्रिचन्द्र कलेज पुगेर सभा समेत गरियो। युद्धप्रसाद मिश्रद्वारा नेतृत्व गरिएको सो प्राज्ञिक जुलुसले आन्दोलनलाई प्राज्ञिक ऊर्जा थप्यो। यो विरोध प्रदर्शन ३ चैत २०४६ मा भएको थियो।
एक दिन नेपाल वातावरण पत्रकार समूहमा जिञ्जर ग्रुपका हामी केही जम्मा भएका थियौं। पी.सी. जोशीले एउटा प्रस्ताव गरे, ‘शासकहरूको बुद्धि फिरोस्, निर्मम दमन गर्ने दुर्बुद्धि नाश होस्’ भनी पशुपतिनाथमा प्रार्थना सभा गर्ने। हामी केही हास्यौं। कहाँको आन्दोलन, कहाँको प्रार्थना भनेर टीका टिप्पणी भए।
त्यसै क्रममा एक दिन नेपाल वातावरण पत्रकार समूहमा जिञ्जर ग्रुपका हामी केही जम्मा भएका थियौं। पी.सी. जोशीले एउटा प्रस्ताव गरे, ‘शासकहरूको बुद्धि फिरोस्, निर्मम दमन गर्ने दुर्बुद्धि नाश होस्’ भनी पशुपतिनाथमा प्रार्थना सभा गर्ने।
हामी केही हास्यौं। कहाँको आन्दोलन, कहाँको प्रार्थना भनेर टीका टिप्पणी भए। केही चाहिं गम्भीर भए। जोशीको तर्क थियो, पञ्चायत मन नरुचाउने तर पञ्चायत विरोधी जुलुशमा जान अनुकूल नपर्ने नेपालीहरू थुप्रै संख्यामा छन्। तिनलाई पशुपतिनाथको प्रार्थना सभामा सहभागी हुन अनुकूल हुन्छ र सन्तोष पनि हुन्छ भन्ने उनको तर्क थियो।
अन्ततः १५ चैतमा हो क्यार, पशुपतिनाथमा प्रार्थना सभा गर्ने भइयो। त्यसमा प्रा. यदुनाथ खनाललाई सहभागी हुन निम्तो गर्न जानेमा म परें। शम्भुप्रसाद ज्ञवालीलाई खबर गर्न अरु कोही गयो। प्रार्थना सभाको खबर सुनाउँदा खनालज्यूले राम्रो काम भनेर प्रतिक्रिया दिनुभयो। तर, उहाँले आफू उमेर र शारीरिक अवस्थाका कारण बिहानै पशुपति आउन नसक्ने भन्दै सबैलाई शुभकामना दिनुभयो।
कार्यक्रमको दिन म बिहान साढे ७ बजे पशुपतिनाथ मन्दिर पुगें। त्यहाँ त प्रा. खनालज्यू आइसक्नुभएको रहेछ। मलाई देखेर मुसमुसु हाँस्नुभयो। अभिवादन गरेर धन्यवाद भनें। ज्ञवालीजी पनि आइपुग्नुभयो। माहौल नै अर्कै भयो। त्रिविका पूर्व उपकुलपति डा. महेन्द्रप्रसाद पनि श्रीमती सहित आउनुभयो।
तब ‘शासकहरूमा सद्बुद्धि आओस्, आन्दोलनलाई निर्मम दमन गर्ने दुबुद्धि नआओस्’ भनी प्रार्थना आन्दोलन सम्पन्न भयो। त्यसपछि हामी निस्कियौं। सहभागी युवाहरूले पशुपतिनाथ क्षेत्रै देवपतनबाट जुलुश अगाडि बढाएछन्, गौशाला पुग्दा जुलुश अझ ठूलो भएछ। प्रहरीले लाठी प्रहार गर्यो।
सेलाएको संघर्षमा सो प्रार्थनाले ऊर्जा थप्यो। सुस्ताएको आन्दोलन फेरि जाग्दै उठ्यो। २६ चैत २०४६ मा निर्दली पञ्चायत उड्यो।