गाउँपालिकाको केन्द्रका विषयमा विवादपछि बैतडीको सुर्नया गाउँपालिकामा १२ दिनअघि लगाइएको ताला अझै खुल्न सकेको छैन। स्थानीयवासीले गत २६ असोजमा तालाबन्दी गरेका थिए।
गाउँपालिकाको केन्द्र वडा नं ५ को कठ्यागौँडमै हुनुपर्ने मागसहित स्थानीयवासीले सङ्घर्ष समिति गठन गरेर तालाबन्दी गरेका हुन्। गाउँपालिकाले गत वर्ष वडा नं ५ कै पबिता केन्द्र बनाउने निर्णय गरेपछि विवाद शुरु भएको थियो।
गत २८ असोजमा मुचुल्का बनाएर ताला खोल्ने क्रममा गाउँपालिका अध्यक्ष वीरबहादुर विष्टमाथि नै कुटपिट भएपछि सबै कामकाज प्रभावित भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कविन्द्रप्रसाद ओझाले जानकारी दिए। सो दिन गाउँपालिका अध्यक्षसहित १४ जना घाइते भएका थिए।
गाउँपालिका अध्यक्ष अझै पनि उपचारमै रहेकाले छलफल नै हुन नपाएको ओझाले बताए। उनले भने, “अब दशैँपछि असन्तुष्ट समूहसँग बसेर छलफल गर्ने तयारी भएको छ।” गाउँपालिकामा तालाबन्दी भएपछि सेवाग्राही मारमा परेका छन्।
गाउँपालिकाको केन्द्रका विषयमा विवाद हुँदा अहिले गाउँलेहरुबीच समेत तिक्तता आएको छ। कसैले पबिता केन्द्र उपयुक्त हुने तर्क गरिरहेका छन् भने कसैले साविककै ठाउँमा केन्द्र उपयुक्त हुने बताएका छन्।
गाउँपालिकाको केन्द्रको विवादलाई लिएर आक्रमण भएपछि असुरक्षा महसुस भएको जनप्रतिनिधिहरुले बताएका छन्। छलफलबाट समस्याको समाधान गर्नुको सट्टा कुटपिटमै उत्रिएपछि अब त्यो ठाउँमा जान मुस्किल भएको सुर्नया–१ का वडाध्यक्ष गजेन्द्रबहादुर चन्दले बताउए। उनले भने, “सुरक्षाको प्रत्याभूति नहुँदासम्म त्यो ठाउँमा जान सकिने अवस्था छैन।”
यता गाउँपालिका अध्यक्षमाथि कुटपिट गरेको आरोपमा दुई जनालाई पक्राउ गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए।
गाउँपालिकाको केन्द्र पबिता राख्ने गाउँ कार्यपालिकाले गत वर्ष नै निर्णय गरेको थियो। तर, स्थानीयवासीले भने सर्वोच्चमा विचाराधीन मुद्दा भएकाले केन्द्रका विषयमा कुनै काम गर्न नपाइने भन्दै गाउँपालिकामा तालाबन्दी गरेका थिए। गाउँपालिकाले केन्द्र सार्ने निर्णय गरेपछि असन्तुष्ट स्थानीय बासिन्दाले सर्वोच्चमा मुद्दा हालेका थिए ।