अमेरिकीलाई नेपालमा मल्टिपल भिसा
नेपालले अमेरिकी नागरिकलाई पाँच वर्षे मल्टिपल भिसा दिन थालेको छ ।
१८ चैतमा अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले एक समारोह आयोजना गरी तीन अमेरिकी नागरिकहरू टाट्यना मुसिनोभाना, आर्पिला गिट्टिन र माइकल रेण्डालीका राहदानीमा २३ मार्च २०२४ सम्मको मिति भएको बहुप्रवेशाज्ञामा छाप लगाए ।
“दुई देशका अधिकारीहरूको धेरै समयको गृहकार्यपछि यो सम्भव भएको हो”, समारोहमा उनले अगाडि भने, “यो कार्य अमेरिका र नेपालको पारस्परिकतामा आधारित सम्बन्धका लागि कोसेढुंगा हो ।”
प्रवेशाज्ञा प्रणालीमा एकरूपता ल्याउन गत पुुसमा अमेरिकी र नेपाली अध्यागमन अधिकारीहरूबीच यस्तो सहमति भएको थियो । सहमति अनुुसार अब नयाँ व्यवस्था अनुसार अमेरिकी र नेपाली नागरिकले एकअर्का देशमा भिसाका लागि आवेदन गर्दा अमेरिका र नेपालमा एकअर्का देशका नागरिक आउजाउ गर्दा भिसाका लागि लाग्ने शुल्क र भिसा अवधि बराबर हुनेछ ।
उक्त अवसरमा बोल्दै काठमाडौंस्थित अमेरिकी दूतावासका कन्सुलर माइकल मोस्सीले भिसा शुल्क र भिसा अवधिमा भएको एकरूपताले नेपाल र अमेरिकाबीचको सम्बन्धमा फाइदा पुग्ने बताए । उनले भने, “दुवै देशको अध्यागमन प्रणालीका लागि यो खुशीको कुरा हो ।”
यसअघि अमेरिकी नागरिक नेपाल आउँदा ९० दिनसम्मको पर्यटक प्रवेशाज्ञा लिएर आउँथे । थप समय बस्न चाहेमा उनीहरूले काम, पढाइ वा व्यवसायमा आफ्नो भिसाको वर्ग परिवर्तन गरेर तोकिएको अवधि बस्ने कानुनी व्यवस्था थियो ।
यसैबीच पाँच वर्षका लागि बहाल रहने बहुप्रवेशी सुविधा भएको पारस्परिक पर्यटक भिसा प्राप्तिसँगै अमेरिकी नागरिकले सजिलै र धेरैपटक नेपाल आउने मौका पाउने भन्दै काठमाडौंस्थित अमेरिकी दूतावासले विज्ञप्ति जारी गरी खुशी व्यक्त गरिएको छ ।
यो सँगै दूतावासको विज्ञप्तिमा अमेरिका गएर पढ्न चाहने नेपाली विद्यार्थीका लागि पनि भिसा शुल्क करीब आधा घटाउने जनाउ दिँदै विज्ञप्तिमा यसबाट उनीहरूलाई दुई सयका दरले अमेरिकी रुपैयाँ बचत हुनेछ ।
सन् २०१७ मा ९० हजार अमेरिकी पर्यटक नेपाल आएकोमा सन् २०१८ मा अमेरिकी पर्यटक १५ प्रतिशतले बढेको दूतावासले जनाएको छ ।