नेहरूलाई कालो झण्डा
![नेहरूलाई कालो झण्डा](https://www.himalkhabar.com/uploads/posts/800X600/Jawaharlal_Nehru_1600419242.jpg)
२००८ सालमा भारतीय प्रधानमन्त्री नेहरु काठमाडौं आउँदा विरोध स्वरूप कालो झण्डा देखाइएको थियो। त्यो विरोधमा सहभागी भएको म त्यसको पाँच वर्षपछि भारत सरकारकै निमन्त्रणामा एउटा महोत्सवमा भाग लिन दिल्ली पुगेको थिएँ।
भारतीय पूर्व प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरुको प्रसंग आउँदा २०१३ सालको दिल्ली यात्राको पनि सम्झना हुन्छ। भारतको दिल्लीमा ‘थर्ड इन्टर युनिभर्सिटी युथ फेस्टिभल’ आयोजना गरिएको थियो। भारत सरकारले काठमाडौंका सबै कलेजबाट गरेर १० जना विद्यार्थीलाई पर्यवेक्षक सहभागीका रूपमा आमन्त्रण गरेछ।
भैरव रिसालयो त्यति वेलाको कुरा हो, जुन समयमा नेपालमा एउटा पनि विश्वविद्यालय थिएन। नेपालको अंग्रेजी शिक्षा पटना विश्वविद्यालय र संस्कृत शिक्षा बनारसको सम्पूर्णानन्द संस्कृत विश्वविद्यालयसँग सम्बन्धन प्राप्त थिए।
दिल्लीको कार्यक्रममा काठमाडौंबाट हामी ६ जना छात्र र ४ छात्रा गएका थियौं। म वाल्मीकि विद्यापीठबाट छानिएर गएको थिएँ। छोरी मान्छेमा लीला केसी, भुवनेश्वरी थपलिया, इन्दु रेग्मी र कमलेश लता प्रधान तथा छोरा मान्छेमा रत्नबहादुर वज्राचार्य, कृष्णनारायण श्रेष्ठ, त्रिरत्न महर्जन, रमेशनाथ ढुंगेल, रेग्मी थरका एकजना (नाम भुलें) र म थियौं।
हामीलाई काठमाडौं–पटना विमान यात्रा र पटना–दिल्ली प्रथम श्रेणीको रेल यात्राको सुविधा दिइएको थियो। भारतीय रेलको यस्तो प्रथम श्रेणीको यात्रा मेरो लागि पहिलो थियो। आतिथ्य उत्कृष्ट। रेलवेको डाइनिङ डिब्बा, त्यहाँको सेवा, दिवा खाना खाँदाको क्षण सम्झँदा अहिले पनि रोमाञ्चित हुन्छु।
२००७ सालको क्रान्तिपछि नेपालको आन्तरिक मामिलामा भारतले हस्तक्षेप गरेको बुझाइ त्यस वेला थियो। त्यही आक्रोश स्वरुप नेहरुलाई कालो झण्डा देखाइएको थियो। कालो झण्डा देखाउने विद्यार्थीमा म पनि थिएँ।
हामी दिल्ली पुगेकै दिनको अपराह्न त्यहाँ अध्ययन गरिरहेका नेपाली विद्यार्थीको टोली नै आएको थियो। त्यसरी आएकामध्ये तेजबहादुर प्रसाईंको नाम मात्र सम्झन्छु।
फेस्टिभलको उद्घाटन दिल्लीको रामलीला मैदानमा भए जस्तो लाग्छ। भारतका प्रधानमन्त्री नेहरूले उद्घाटन गरेका थिए। उद्घाटन भनेपछि पानसमा बत्ती बालेर भित्तामा टाँसेका कपडा पन्छाएको देख्ने बानी परेको मेरो लागि त्यहाँको उद्घाटन देख्दा अचम्म लाग्यो। नेहरुले उद्घाटनमा त्यस्तो कुनै विधि पुर्याएनन्, सोझै भाषण मात्र गरे।
ताजमहल अवलोकन
हाम्रो टोलीलाई एक दिन आगरास्थित ताजमहल हेर्न लगिएको थियो। त्यो मेरो पहिलो ताजमहल भ्रमण थियो। त्यसको कला, विशालता देखेर छक्कै परें। मुगल सम्राट शाहजहाँकी रानी मुमताजको नामको स्मारक दुनियाँका लागि गौरवपूर्ण उपहार भयो। हिन्दुस्तानको वास्तुकलाको नमूना भयो।
हामीलाई महात्मा गान्धीको समाधिस्थल, जन्तर मन्तर, लालकिल्ला, दिल्ली दरबार लगायत ठाउँको पनि भ्रमण गराइएको थियो।
फेस्टिभलको अन्तिम दिन साँझ भारतका केन्द्रीय शिक्षामन्त्री अब्दुल कलाम आजादले दिल्ली स्थित मुगल गार्डेनमा भव्य जलपान समारोह आयोजना गरेका थिए। आजाद र नेपाली विद्यार्थीको टोलीबीच मैत्रीपूर्ण भेटघाटको कार्यक्रम थियो। नेपाली विद्यार्थी मण्डलको नेतृत्व रत्नबहादुर बज्राचार्यले गर्नुभएको मलाई सम्झना छ।
नेहरुलाई टुँडिखेलमा कालो झण्डा
२ असार २००८ मा भारतीय प्रधानमन्त्री नेहरू नेपालको चारदिने भ्रमणमा काठमाडौं आएका थिए। उनी आउँदा भव्य स्वागत भएको थियो। सदर टुँडिखेलमा स्वागत कार्यक्रम राखिएको थियो। तर, त्यो अपार भीडमा केही मानिसले अपमानसूचक कालो भण्डा देखाएका थिए।
२००७ सालको क्रान्तिपछि नेपालको आन्तरिक मामिलामा भारतले हस्तक्षेप गरेको बुझाइ त्यस वेला थियो। त्यही आक्रोश स्वरुप नेहरुलाई कालो झण्डा देखाइएको थियो।
कालो झण्डा देखाउने विद्यार्थीमा म पनि थिएँ। त्यो दिन सात महिला र तीन पुरुषसहित १० जना पक्राउ परेका थिए। नेहरू फर्केपछि मात्र उनीहरूलाई छाडियो।
नेहरू फर्केपछि ५ असारमा तीनधारा पाकशाला मैदानमा पूर्णबहादुर एमएको सभापतित्वमा आम सभा भयो। त्यो सभामा नेहरूलाई विरोध स्वरूप कालो झण्डा देखाउनु ठीक थियो भन्ने पक्षमा नेताहरूले आफ्नो मत राखे। नेपाल प्रजा परिषद्, नेपाल कम्युनिष्ट पार्टी, समाज सुधार संघ, अखिल नेपाल किसान विद्यार्थी, महिला, मजदूर, कृषि सुधार संघ, ट्रेड युनियन कांग्रेस लगायतका नेताहरूले त्यसबारे स्पष्ट पारेका थिए। त्यहाँ बोल्नेमा साधना प्रधान, टंकप्रसाद आचार्यहरू पनि थिए।
तर, नेहरूलाई कालो झण्डा देखाएकोप्रति प्रजा परिषद्का खड्गमान सिंहलाई चित्त बुझेन। उनले मतभेदका कारण प्रजा परिषद्बाट राजीनामा दिए।
उतिवेला कालो झण्डा देखाउनेमा सहभागी म उनै नेहरू सरकारको निमन्त्रणामा थर्ड युनिभर्सिटी युथ फेस्टिभलमा दिल्ली गएको थिएँ।