कोशीटप्पुबाट चितवन राष्ट्रिय निकुञ्जमा लगिएका अर्नाको संख्या उत्साहजनक मात्रामा बढेपछि चितवनसहित बर्दिया र शुक्लाफाँटामा स्थानान्तरण गरी वासस्थान विस्तार गर्ने कार्ययोजना बनाइएको छ।
वन्यजन्तुका प्रजाति एक स्थानमा मात्र रहँदा प्राकृतिक प्रकोप, रोग आदिका कारण वंश नै नाशिन सक्ने जोखिम हुन्छ। नेपालमा अर्ना अहिले मुख्य रूपमा कोशीटप्पु वन्यजन्तु आरक्षमा सीमित छ। अर्नाको संरक्षण गर्न वंश र वासस्थान अन्य स्थानमा समेत विस्तार गर्ने उद्देश्यले सरकारले काम शुरु गरेको छ।
२०७३ सालमा कोशीटप्पुबाट चितवन राष्ट्रिय निकुञ्जमा ल्याइएका अर्नाको संख्या वृद्धि भएपछि वन तथा वातावरण मन्त्रालय अन्तर्गतको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले अर्ना संरक्षणको पाँचवर्षे कार्ययोजना बनाएर काम शुरु गरेको हो। कार्ययोजनामा अर्नाको स्थानान्तरण गरेर संख्या बढाउने, वासस्थान विस्तार गर्ने, घाँसे मैदान व्यवस्थापन गर्ने लगायत योजना छन्।
२०७३ सालमा चितवनमा कोशीटप्पुबाट १२ वटा र सदर चिडियाखाना जावलाखेलबाट तीन वटा अर्ना लगिएको थियो। त्यसमध्ये चिडियाखानाबाट लगिएका सबै अर्ना प्राकृतिक वातावरणमा अनुकूल हुन नसकेर मरे। यस्तै, एउटा बाघले मार्यो भने दुई वटाको २०७४ सालको बाढीमा मृत्यु भयो।
२०७३ माघमा कोशीटप्पुको अर्ना चितवन राष्ट्रिय निकुञ्ज लैजाने क्रममा । तस्वीर: कमल रिमाल
चितवनमा लगिएका १५ वटा अर्नामध्ये ९ वटा जीवित थिए। अहिले तिनीहरुले बच्चा जन्माएपछि त्यहाँ अर्नाको संख्या फेरि १५ पुगेको छ। कोशीटप्पुबाट ल्याइएका अर्नालाई चितवनको पदमपुरमा तारजालीले घेरेर राखिएको छ। अर्नाको संख्या कम्तीमा पनि ६० भन्दा माथि पुगेपछि खुला छाड्ने निकुञ्ज विभागको तयारी छ। सानो संख्याका अर्नालाई खुला छोड्दा बाघले आक्रमण गर्ने भएकाले नछोडिएको हो।
विभागका निमित्त महानिर्देशक रामचन्द्र कँडेल चितवनमा सारिएका अर्नाको संख्या उत्साहजनक मात्रामा बढेकाले अन्य स्थानमा समेत विस्तार गर्ने उद्देश्य अनुरुप कार्ययोजना बनाइएको बताउँछन्। “अर्ना संरक्षणका लागि वैकल्पिक वासस्थान सिर्जना गर्ने उद्देश्यले कार्ययोजना बनाएर काम शुरु गरेका हौं”, उनी भन्छन्।
उनका अनुसार, चितवन राष्ट्रिय निकुञ्जमा सन् १९६१ अघि अर्ना पाइन्थे। विभिन्न रोग, वासस्थानको विनाश, बाघको आक्रमण र चोरी शिकारका कारण चितवनबाट अर्ना लोप भएको हुनसक्ने उनी बताउँछन्।
कोशीटप्पुमा रहेको अर्नाको संख्या भने वृद्धि हुँदै गएको छ। सन् १९७६ मा नेपालमा ७३ वटा अर्ना रहेकोमा सन २०१८ मा यो संख्या ४४१ पुग्यो। (हे. इन्फो)
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले अर्ना संरक्षणको पाँचवर्षे कार्ययोजनाका लागि रु. १ अर्ब ६८ करोड ३ लाख ५९ हजार लाग्ने अनुमान गरेको छ। त्यसमध्ये जम्मा बजेटको ५१.५३ प्रतिशत अर्नाको वासस्थान व्यवस्थापनमा छुट्याइएको छ।
बाढीको चुनौती
नेपालमा अर्ना संरक्षणका लागि बाढी सबैभन्दा ठूलो चुनौती देखिएको छ। यस्तै, आनुवांशिक गुणमा आउने ह्रास, सरुवा रोगको जोखिम पनि अर्ना संरक्षणका चुनौती हुन्।
अर्ना नदी तटको डाेल तथा सिमसार क्षेत्रमा बस्छन्, जहाँ बाढीको जोखिम हुन्छ। अर्नाकै विषयमा विद्यावारिधि गरेका तथा विभागका निमित्त महानिर्देशक डा. कँडेल भन्छन्, “नदीमा बाढी आउँदा अर्नालाई बाढीले बगाउने सम्भावना हुन्छ। हरेक वर्ष पाडा र माउ समेत कोशीले बगाएको छ।”
२०७२ सालमा सिन्धुपाल्चोकको जुरेमा गएको पहिरोले थुनिएको भोटेकोशी नदी एकै पटक फुटेको भए त्यसले कोशीटप्पु वन्यजन्तु आरक्षमा रहेका सम्पूर्ण अर्नालाई नोक्सान गर्न सक्ने कँडेलको भनाइ छ। सप्तकोशीमा हरेक १०/१५ वर्षको फरकमा नदीले गर्ने धार परिवर्तन र नदीले ल्याउने अत्यधिक बालुवा र गेग्र्यानका कारण कोशीटप्पुमा रहेका अर्ना बाढीको जोखिममा छन्। सन् १९८७ र १९८८ मा गरिएको अध्ययन अनुसार, १६ पाडामध्ये ८ वटा पाडा मनसुनको बाढीमा परेर मरेका थिए।
कोशीटप्पुमा बाढीको जोखिम रहेकै कारण चितवन राष्ट्रिय निकुञ्जका साथै बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा समेत अर्नाको वासस्थान वृद्धि गर्ने विभागको योजना छ। बर्दिया राष्ट्रिय निकुञ्जमा कर्णाली नदीले बनाएको बगर र त्यस आसपासको क्षेत्र अर्नाको राम्रो वासस्थान हुनसक्ने कँडेल बताउँछन्।