म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेमा महिलाले गाउँभरि ढुङ्गाको सिढीसहितको पदमार्ग निर्माण गरेका छन् ।
जनजागृति आमा समूहको नेतृत्वमा नाचगान गरेर जुटाएको पैसाले एक किलोमिटर पदमार्ग निर्माण गरिएको समूहकी सदस्य मायादेवी पाइजाले बताइन् ।
डेढ मिटर चौडाइ भएको पदमार्ग निर्माणमा रु नौ लाख ६३ हजार ८७० खर्च भएको छ ।
त्यसका लागि आमा समूहको कोषमा रहेको रु तीन लाख ५८ हजार ९३० र चन्दाबाट थप रु तीन लाख ६० हजार ४४० जुटाइएको थियो ।
गाउँका ४३ घरधुरीले रु ४६ हजार ५०० बराबरको श्रमदान गरेका थिए भने नपुग रु एक लाख ९८ हजार गाउँपालिकाले अनुदान उपलब्ध गराएको थियो।
गाउँमा आउने लाहुरेलाई स्वागत, किरिया, विवाह, छेवारमा नृत्य देखाएर कोषमा जम्मा गरेको पैसा खर्चेर बाटो बनाएको पाइजाले बताइन् ।
आर्थिक स्रोत र श्रमदान जुटाउन महिलाले नै नेतृत्व गरेका थिए । पदमार्ग निर्माण उपभोक्ता समितिमा पदाधीकारी र सदस्य पनि सबै महिला छन् ।
नीहरुले यसअघि पनि रघुगङ्गा गाउँपालिकाको तिप्ल्याङदेखि दोसल्लेसम्म दुई किलोमिटरभन्दा बढी घोडेटो बाटो बनाएका थिए ।
सिँढीसहितको पदमार्ग बनेपछि भिरालो बाटोमा चिप्लिएर लड्ने, दुर्घटना हुने जोखिम घटेको छ ।
बालबालिका र वृद्धवृद्धाले पनि सजिलै हिँड्डुल गर्न पाएका छन् ।