सरकारले आउँदो १ भदौदेखि अन्तर्राष्ट्रिय हवाई उडान खुला गर्ने निर्णय गरे पनि उडान तालिका स्वीकृत नगर्दै विदेशी वायुसेवाहरुले धमाधम टिकट बिक्री गर्न थालेका छन्।
कोरोनाभाइरस संक्रमणको महामारी शुरु भएपछि बन्द गरिएका अन्तर्राष्ट्रिय तथा आन्तरिक हवाई उडान १ भदौदेखि खुला गर्ने निर्णय गरे पनि सरकारले अहिलेसम्म कुनै विदेशी वायुसेवाको उडान तालिका स्वीकृत गरेको छैन।
१ भदौपछि सातामा सात वटा उडान गर्ने प्रस्ताव गरेको कतार एअरवेजले उडान तालिका स्वीकृत नहुँदै धमाधम टिकट बिक्री गरिरहेको छ। कतार एअरवेजले १ भदौदेखि दोहा—काठमाडौं दैनिक एक उडान गर्नेगरी २० साउनमा नेपाल नागरिक उड्डयन प्राधिकरणसमक्ष आवेदन दिएको छ।
प्राधिकरणले सातामा कति उडान स्वीकृत गर्ने भन्ने टुंगो ल गाएको छैन। तर, कतारले १० दिनदेखि नै दैनिक एक उडान गर्नेगरी साताको सातवटै उडानका लागि टिकट बिक्री गरिरहेको छ।
कतार एअरवेजका एक अधिकारीले बन्दाबन्दी अगाडि हुँदै आएका दैनिक चार उडानलाई आधार मानेर अब दैनिक एउटा उडानको अनुमति पाइने विश्वासका आधारमा टिकट बिक्री शुरु गरिएको बताउँछन्। उनले भने, ‘‘कतारले १० दिन अगाडिबाटै टिकट जारी गर्न थालिसकेकोले १ भदौदेखि नियमित उडान शुरु हुँदा कम्तीमा १० दिनका लागि यात्रु क्षमता पूरा भइसकेको छ।’’
अब टिकट लिन चाहने यात्रुले १० भदौ पछाडिको मात्रै पाउने उनको भनाइ छ। सरकारले केही गरी उडान तालिका घटाइदिएमा वा १ भदौदेखि उडान समय परिवर्तन भएमा सोही अनुसार यात्रु टिकटको व्यवस्थापन गरिने उनले बताए।
सरकारले ११ चैत २०७६ देखि गरेको बन्दाबन्दीपछि सबै उडान ठप्प छन्। अब १ भदौदेखि उडान खुला गर्ने सरकारको निर्णयपछि आन्तरिक र अन्तर्राष्ट्रिय वायुसेवाले उडान तालिका प्रस्ताव गरेका छन्।
सरकारले ११ चैत २०७६ देखि गरेको बन्दाबन्दीपछि सबै उडान ठप्प छन्। अब १ भदौदेखि उडान खुला गर्ने सरकारको निर्णयपछि आन्तरिक र अन्तर्राष्ट्रिय वायुसेवाले उडान तालिका प्रस्ताव गरेका छन्।
कतार एअरवेजले टिकट बिक्री भएअनुसार उडान नभएमा वा कम क्षमतामा उडान गर्नुपर्ने भएमा यात्रुलाई सोही अनुसार पछिल्ला उडानमा सार्दै लगिने जनाएको छ। कतारले १ भदौदेखि १५ भदौसम्म साँझ सवा सात बजे र १६ भदौदेखि भने राती ९ बजे काठमाडौं आइपुग्ने गरी उडान अनुमति मागेको छ।
एरोलिना ट्राभलका प्रवन्ध निर्देशक यमबहादुर खड्का भन्छन्, ‘‘अन्य वायुसेवाको टिकट एजेन्सीहरुले यात्रुलाई टिकट बिक्री गर्ने सिस्टममा अझै राखेका छैनन्। तर, कतार एयरवेजको भने धमाधम बिक्री गर्न दिइएको छ।’’
याे पनि पढ्नुहाेस्– सात विदेशी वायुसेवा मात्रै नेपाल आउन इच्छुक, राष्ट्रिय ध्वजावाहक पाँच गन्तव्यमा उड्ने
यो वायुसेवाले बन्दाबन्दी भन्दा पहिलेको तुलनमा ५० प्रतिशतसम्म महंगोमा ट्राभल एजेन्सी मार्फत टिकट बिक्री गरिरहेको छ।
सी लिंक ट्राभलका प्रवन्ध निर्देशक राजु ढकालले पनि सरकारले न्युनतम उडान दिने आधारमा कतारले टिकट जारी गरेको उल्लेख गर्दै अन्य वायुसेवाको सिस्टममा भने अहिलेसम्म टिकट नदेखिएको बताए। बन्दाबन्दी अघिको तुलनामा टिकटको मूल्य बढी भएको उनले पनि उल्लेख गरे
ढकालले भने, ‘‘उडान शुरु हुनासाथ बाहिरबाट नेपाल आउने यात्रुको संख्या उल्लेख्य हुने अनुमानका आधारमा कतारले टिकट बेच्न दिएको छ।’’
ढकालका अनुसार विदेशी वायुसेवाले टिकट बिक्री शुरु गरेको भए पनि कोरोनाभाइरस संक्रमणको दर बढिरहेकाले १ भदौदेखि नै उडान शुरु होला भन्नेमा चाहिँ अन्योल छ।
सरकारले ११ चैत २०७६ देखि गरेको बन्दाबन्दीपछि सबै उडान ठप्प छन्। अब १ भदौदेखि उडान खुला गर्ने सरकारको निर्णयपछि आन्तरिक र अन्तर्राष्ट्रिय वायुसेवाले उडान तालिका प्रस्ताव गरेका छन्।
सरकारले ११ चैत २०७६ देखि गरेको बन्दाबन्दीपछि सबै उडान ठप्प छन्। अब १ भदौदेखि उडान खुला गर्ने सरकारको निर्णयपछि आन्तरिक र अन्तर्राष्ट्रिय वायुसेवाले उडान तालिका प्रस्ताव गरेका छन्।
सो तालिकालाई सरकारले स्वीकृति दिएपछि मात्र टिकट जारी गर्नुपर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्री बताउँछन्। क्षेत्री भन्छन्, ‘‘अहिलेसम्म विभिन्न स्वदेशी तथा विदेशी वायुसेवाले एक सातामा गर्ने उडान तालिका प्रस्ताव मात्रै गरेका छन्। त्यसलाई सरकारले स्वीकृति दिएपछि प्राधिकरणबाट उडान अनुमति दिनुपर्छ।’’
क्षेत्रीले प्राधिकरणले अनुमति दिनुभन्दा अगाडि कुनै पनि वायुसेवाले टिकट बिक्री गर्न नपाउने समेत बताए। त्यो तालिकालाई सरकारले स्वीकृति दिएपछि सम्बन्धित वायुसेवाले प्रस्ताव गरे अनुसार उडान अनुमति दिइने क्षेत्री बताउँछन्।
अर्थात् यी वायुसेवाले माग गरेअनुसारको तालिका सबै स्वीकृत नहुन पनि सक्छ। त्यहीकारण तालिका र उडान समय एकीन गरेर मात्रै टिकट बिक्री गर्नुपर्ने हुन्छ।
स्वीकृतिविना टिकट काटेको जानकारी छैन
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेल उडान स्वीकृतिविना विदेशी वायुसेवाले टिकट काटेको आफूलाई जानकारी नभएको बताउँछन्।
पोखरेल भन्छन्, ‘‘अहिलेसम्म कुनै पनि आन्तरिक र अन्तर्राष्ट्रिय वायुसेवालाई नियमित उडानको अनुमति दिइएको छैन। पर्यटन मन्त्रालयसँग भएको छलफलमा पनि अझै दुई चार दिन अवस्था हेरेर मात्रै उडान स्वीकृति दिइने कुरा भएको छ।’’
कोरोना संक्रमण दर बढ्दै गएकोले उडान समय सर्न पनि सक्ने भएकाले केही दिनको अवस्था हेर्न खोजिएको हो।
सम्बन्धित वायुसेवा कम्पनीले सरकारको निर्णय अनुसार १ भदौपछि कुनै पनि वेला उडान गर्न सक्ने गरी तयारी गरिरहेको जानकारी भने प्राधिकरणलाई दिएका छन्। ‘‘हामीले टिकट काट् नभनेकोले उडान तालिका परिवर्तन भए वा अन्य कारणले उडान हुन नसके त्यसको जिम्मेवारी सम्बन्धित वायुसेवाले नै लिनुपर्छ,’’ पोखरेलले भने।
१३ वायुसेवाले मागे १६५ उडान
नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने र बाहिरका वायुसेवाले सेवा दिने गरी २३ साउनसम्ममा १३ वायुसेवाले सातामा १६५ वटा उडानको अनुमति मागेका छन्। यस्तो उडान अनुमति माग गर्नेमा नेपालबाट बाहिर जाने नेपाल वायुसेवा निगम र हिमालय एअरलाइन्स तथा ११ वटा विदेशी वायुसेवा छन्।
नेपालबाट उडान गर्ने हिमालय एअरलाइन्सले सातामा २१ वटा उडानको अनुमति मागेको छ। हिमालयले चीनको चोङचिङमा १, कतारको दोहामा ५, युएईको आबुधावीमा ४, साउदी अरबको दमामामा ७ र मलेसियाको क्वालालम्पुरमा ४ वटा उडान हरेक सातामा गर्ने गरी अनुमति मागेको छ।
राष्ट्रिय ध्वाजाबाहक नेपाल वायुसेवा निगमले सातामा ५७ वटा उडानको अनुमति मागेको छ। निगमले तत्काल हङकङमा ३, दोहामा ७, युएईको दुबईमा ७, क्वालालम्पुरमा ७ र जापानको नारितामा साताको ३ उडान अनुमति मागेको छ। निगमले भारतको दिल्लीमा १४, बैङ्लोरमा ३, मुम्वाइमा ७, चीनको ग्वान्झाओमा ३ र थाइल्याण्डको बैंककमा ३ वटा उडान गर्न अनुमति मागेको छ।
निगमका प्रवक्ता अर्चना खड्का भारतमा १५ भदौसम्म अन्तर्राष्ट्रिय उडान बन्द गरेको भएपनि त्यसपछि हुने उडानको लागि अनुमति भने मागिरहेको बताउँछिन्।
उनी भन्छिन्, ‘‘निगमले उडान गर्ने नियमित उडानका गन्तव्यको लागि बन्दाबन्दी अवधि अघिकै अवस्थामा उडान तालिका स्वीकृत गराएर राख्न लागिएको हो।’’ तत्काल यात्रु आउने अपेक्षा कम भएको र पूर्ण क्षमतामा जहाज सञ्चालन नभएसम्म अनुमति मागेका गन्तव्य सबैमा उडान भने हुँदैनन्। खड्काका अनुसार तत्कालको लागि निगमले पाँच गन्तव्यमा मात्रै उडान गर्नेछ।
उडान तालिका स्वीकृत नभएकाले टिकट जारी भने गर्न नपाएको निगमले जनाएको छ। सरकारले उडान तालिका स्वीकृत नगरेसम्म टिकट जारी गर्न नमिल्ने भएकाले अहिलेसम्म बुकिङ खुला पनि नभएको खड्का बताउँछिन्। १ भदौदेखि नै उडान हुने अवस्थामा जहाज भर्नको लागि बुकिङ खुला गरेर टिकट जारी गर्न ढिलो भइसके पनि त्यसका लागि अनुमति पर्खिरहेको निगमको भनाइ छ।
नेपालमा उडान गर्न चाहने टर्कीको टर्किस एअरले १, ओमानको सलाम एअरले ७, भारतको इन्डिगोले ७, चीनको चाइना साउदर्नले १, एअर चाइनाले २ उडानको अनुमति मागेको छ। कुवेतको जजीरा एअरले २, युएईको फ्लाई दुबईले ७, मलेसियाको मलेसियन एयरलाइन्सले ५, मलेसियाकै मलिन्दो एअरले १४ र युएईको एअर अरेवियाले सातामा ३५ वटा उडान अनुमति मागेको प्राधिकरणले जानकारी दिएको छ।