सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई हावाहुरीको मौसम शुरु भइसकेकाले सम्भावित आगलागीबाट हुने धनजनको नोक्सानी कम गर्न २४ सै घण्टा बारुणयन्त्रको व्यवस्था गर्न निर्देशन दिएको छ ।
मन्त्रालयको वातावरण तथा विपद् व्यवस्थापन शाखाका शाखा अधिकृत रीनु थपलियाले हावाहुरीको मौसम शुरु भइसकेकाले सबै स्थानीय तहलाई ६ बुँदे निर्देशन जारी गर्दै बारुणयन्त्र सञ्चालनका लागि चौबीसै घण्टा जनशक्तिको उचित व्यवस्थापन गरी तयारीको अवस्थामा राख्न निर्देशन दिइएको जानकारी गराए ।
उनले हावाहुरीबाट आगलागीको सम्भावना बढी हुने र जसले जिउधनको क्षति हुने भएकाले पूर्व सजकता अपनाउन स्थानीय तहलाई निर्देशन दिइएको पनि बताए ।
हावाहुरीबाट बच्नका लागि दमकल (बारुणयन्त्र) मर्मतसम्भार गर्नुपर्ने अवस्था भए तत्काल मर्मतसम्भार गरी चालू अवस्थामा राख्नुपर्नेे आगलागी तथा डढेलोका घटना भएको सूचना पाउनासाथ बारुणयन्त्र र जनशक्ति परिचालन गरी क्षति हुन नदिनेतर्फ सजकता अपनाउन स्थानीय तहलाई निर्देशन दिइएको छ ।
यस्तै हावाहुरीका कारणले आगलागी तथा डढेलोको प्रकोप हुन सक्नेबारे स्थानीयलाई जनचेतना जगाउने तथा सजग गराउने, स्थानीय विपद्
व्यवस्थापन समिति, वडा विपद् व्यवस्थापन समिति, समुदाय, स्वयंसेवक, नागरिक समाज, निजी क्षेत्र र नागरिकलाई विपद् व्यवस्थापन
सम्बन्धमा तयारी अवस्थामा राख्ने र आवश्यकताअनुसार जिल्ला विपद् व्यवस्थापन समिति तथा सरोकारवाला निकायसँग अग्नि नियन्त्रण
सम्बन्धमा समन्वय र सहकार्य गर्नसमेत स्थानीय तहलाई निर्देशन दिइएको छ ।
चैत र वैशाखमा देशभरि नै हावाहुरी लाग्ने भएकाले ठूलो भौतिक र जिउधनको क्षति हुने गर्दछ ।