ब्लग आइतबार, साउन १८, २०७७

आधार स्कूलमा दलित बालबालिका पढाउने त्यो संघर्ष

भैरव रिसाल

आधार स्कूलमा दलित बालबालिका पढाउने त्यो संघर्ष

२०१२ सालताका भक्तपुरको दधिकोटमा सञ्चालित आधार स्कूलमा दलित समुदायका बालबालिकालाई पढाउने अभियानमा लाग्दा गाउँमा ठूलै संघर्ष गर्नुपरेको थियो।

राणा शासनको उत्तराद्र्धतिरको कुरा हो, मेरो बसोबास रहेको भक्तपुरको दधिकोट प्रतिष्ठित व्यक्तिहरू नभएको गाउँ थियो। छिमेकी गाउँ सिस्नेरीमा भने राणा शासनमै कर्णेल भएका मान्छे थिए।

यता कटुञ्जेमा ढुङ्गेल, तिमल्सिना, थापा आदि पढेलेखेका। कोही पाठशालाका पण्डित, कोही अदालतका डिठ्ठा, कोही सेनाका अफिसर थिए। अर्को गाउँ गुण्डुमा पनि कार्कीहरू सेनामा अफिसर थिए। तर, दधिकोटका सेनामा सुवेदारसम्म मात्र भएका व्यक्ति थिए। गतिला व्यक्तित्व नहुँदा केहीमा पनि नामै नआउने परिचय विहीन गाउँ थियो।

पाठशाला पनि पायक पर्ने ठाउँमा थिएन। कि लुभू, कि ठिमी, कि भक्तपुर जानुपर्ने। मेरो बा पुरेत भएकाले म लुभू भाषा पाठशालामा भर्ना भएँ। लुभूबाट ९ कक्षादेखि रानीपोखरी संस्कृत प्रधान पाठशालामा पढ्न थालें। तीनधारा पाकशालामा पनि प्रवेश पाएँ।

राणा शासन समाप्त भयो। हामीले संस्कृत छात्र संघ खोल्यौं। जसले मेरो नेतृत्व विकास गर्‍यो।

सात अक्षरको बूटी !

२००२/०३ सालतिर भारतमा एउटा शिक्षा पद्धति विकास गरिएछ, आधार शिक्षा। त्यो पढाइ श्री ३ पद्यशमशेरलाई मन परेछ र नेपालमा पनि स्थापित गरिएछ। कक्षा ८ सम्म मात्र पढाइ हुने त्यो स्कूलको सम्पूर्ण खर्च सरकारले व्यवस्थापन गथ्र्यो।

त्यस्तो आधार स्कूल कटुञ्जेमा पनि स्थापना भएछ। त्यहाँ स्कूल राम्ररी नचलेपछि भक्तपुरको टुँडिखेलमा सारिएछ। त्यहाँ पनि नचलेपछि सरकारलाई घाँडो भएपछि स्कूल लैजान चाहने गाउँमा पठाउने निर्णय भएछ। तब २०१२ सालतिर दधिकोट र सिरुटारका पद्यबहादुर बुढाथोकी, टंकनाथ न्यौपाने लगायतले स्कूल दधिकोट ल्याएछन्। मानबहादुर शंखदेवको कच्ची घर भाडामा लिइ पढाइ शुरु भयो। कटुञ्जेका ढुण्डीराज पाध्ये अध्यक्ष रहेको विद्यालय संचालक समितिको बैठकमा अब म पनि डाकिन थालें।

स्कूल स्थापना भएकै वर्षको कुरा हो, संचालक समितिको बैठकमा दलित समुदायका केटाकेटीलाई पनि पढाउनुपर्ने प्रस्ताव राखें। त्यो प्रस्तावको उग्र विरोध भयो। प्रस्तावको पक्षमा कसैले चुँ सम्म गरेनन्। मिटिङमा पुरुष मात्र थिए र दलित समुदायका कोही पनि उपस्थित थिएनन्। प्रस्तावको विरोध भएकोमा म भने आफ्नो प्रस्तावमा दम रहेछ भनेर फुरुङ्ग भएँ।

बैठकमा सहभागीहरूको रिस केही मत्थर भएपछि अध्यक्षज्यूसँग विनम्रतापूर्वक समय मागें। त्यसपछि ऋग्वेदको एउटा ऋचा वा कण्डिका पढें, ‘ब्राम्हणाय शूद्राय, श्वाय, चारणायच...।’ एउटै ठाउँमा ‘ब्राम्हणाय शूद्राय’ शब्दले चमत्कार गर्‍यो। सबै सहभागी अब के गर्ने भन्नेमा जिल्ल परेर मुखामुख गरे।

संचालक समितिका अध्यक्ष ढुण्डीराजले मलाई छोरा भन्नुहुन्थ्यो। बैठकमा उहाँले भन्नुभयो, “छोराले वेदकै प्रमाण ल्याएपछि अब कसको के लाग्छ।” सिद्धान्ततः अब कटुञ्जे आधार स्कूलमा दलित केटाकेटीहरूले पनि पढन पाउने भएँ। तर, व्यावहारिक रूपमा भने चुनौती खडा भयो।

सो स्कूलका दुई जना टहलुवामध्ये एक जना कटुञ्जेकै ढुङ्गेल थरका व्यक्ति थिए । उनले ‘अब विद्यार्थीलाई पानी खुवाउन सक्तिनँ, दमै–कामीका छोराछोरीले छोएको पानी कसले खान्छ र’ भन्न थाले। त्यसपछि दलितका केटाकेटीका लागि खानेपानीको भाँडो बेग्लै राखेर काम चलाउने सहमति भयो।

यसरी विकल्पको व्यवस्था गरेर भए पनि दलितका सन्तानले पढ्न पाउने व्यवस्था गरियो। तर दलितका नानीहरू पढ्न आए पो ! बल्लतल्ल कुश्ले समुदायका तीन जना बालक भर्ना हुन आए।

संचालक समितिको त्यो बैठकमा मात्र मेरो विरोध भएको होइन रहेछ। बाको कानमा पनि कुरो परेछ । कम्युनिष्ट नेता तुलसीलाल अमात्यसँगको सम्पर्क र सम्पर्कमा हुनुहुन्थ्यो बा। यसैले त्यो घटनालाई गम्भीरतापूर्वक लिनुभएन।

गाउँगाउँमा सनसनी भने ल्याएछ। बा जजमानहरूकोमा पुरेतको काम गर्नुहुन्थ्यो। केही कट्टर जजमानले बासँग भनेछन्, ‘पुरेतबाको छोरो स्कूलमा दमै–कामीका छोराछोरी पढाउने भन्ने, अब कसरी पुरेत लगाउने ?’ बाले पनि ‘इच्छा लागे लगाउने, नत्र अर्कै पुरेत खोजे हुन्छ’ भन्ने ठाडो जवाफ दिनुभएछ।

जजमानहरूले पुरेत भने फेरेनछन्। स्कूल पनि दलितहरूका लागि खुल्यो। यसरी वेदको त्यो ‘ब्राम्हणाय शूद्राय’ भन्ने सात अक्षरले त्यहाँ अचूक बूटीकै काम गर्‍यो।

दलित समुदायका हेडसर

दलित अधिकारका सन्दर्भमा धेरै संघर्षहरू भए त्यो वेला। बल्लतल्ल दलित समुदायका एक व्यक्ति प्राथमिक विद्यालयका हेडसर भए, अविन कुमार परियार। शुरुशुरुमा केही अभिभावकलाई यो कुरा पाच्य भएन। उनीहरूलाई चिमोटेको विषय थियो, ‘दमै हेडसर भएको ठाउँमा कसरी छोराछोरी पढाउने ?’ तर, अलि समयपछि त्यस्तो मानसिकता हरायो।

हेडसर दलित र अन्य शिक्षक गैरदलित समुदायका थिए। उनीहरूबाट काम लिन निकै कठिनाइ भो । केही शिक्षकको त अविन कुमार ‘बालीघरे’ परेछन्। गाउँमा दमै हेडसर भनेर निकै ठूलो वर्ग संघर्ष भयो। तर, नेपाली समाज जति छिटो प्रतिक्रिया जनाउँछ, उसैगरी समयक्रममा पचाउँछ पनि। झण्डै एक दशक अविन कुमारकै नेतृत्वमा विद्यालय चल्यो।

समाजमा परिवर्तन ल्याउन निकै कठिन हुने। मलाई लाग्छ, अविन कुमार परियार हेडसर बन्न पनि कटुञ्जे आधार स्कूलमा दलित पढाउने अभियानले सञ्जीवनीको काम गरेको थियो।

प्रतिकृया दिनुहोस