व्यक्तित्व शुक्रबार, साउन १६, २०७७

जसको एउटा समाचारले पूरै गाउँ परिवर्तन भयो

मुकेश पोखरेल

जसको एउटा समाचारले पूरै गाउँ परिवर्तन भयो

मुख्य राजमार्गसँग गाभर भ्याली जोड्ने गोरेटो बाटो मात्र थियो। स्थानीयले सडक खन्दै गर्दा बाँकेका तत्कालीन एसपी विक्रमसिंह थापा पुगेपछि भागाभाग भयो। वास्तवमा उनी कृष्ण चौधरी (३७) ले लेखेको समाचार पढेर गाभर पुगेका थिए।

कृष्णले २०६८ सालमा आफ्नै गाउँ गाभरबारे समाचार लेखेका थिए। समाचारमा हाल वैजनाथ गाउँपालिकामा पर्ने गाभर क्षेत्रको पर्या–पर्यटन विकास र होमस्टे सञ्चालनको संभावना उल्लेख थियो। “बाघ अवलोकन तथा हात्ती सफारीका लागि आउने प्रकृतिप्रेमीका लागि गाभर भ्याली उत्कृष्ट गन्तव्यका रूपमा विकास गर्न सकिन्छ। नेपालगञ्ज र कोहलपुरसँग नजिक भएको संस्कृति र प्रकृतिको आधार बनाएर होमस्टेको विकास गर्न सकिन्छ भन्ने मेरो समाचारको सार थियो”, उनी भन्छन्।

सरकारले २०६७ सालमा बाँके जिल्लाको वन क्षेत्रलाई समेटेर राष्ट्रिय निकुञ्ज घोषणा गरेको थियो। २०६७ मै होमस्टे कार्यविधि आएको थियो। यही कारण कृष्णलाई समाचार लेख्न प्रेरणा मिलेको थियो।

समाचार लेखेपछि नेपालगञ्जबाट गाभर उपत्यका हेर्न आउनेको संख्या बढ्यो। कोहलपुरदेखि सात किलोमिटर उत्तर गएर मुख्य राजमार्गभन्दा एक किलोमिटर भित्र पसेपछि गाभर उपत्यका पुगिन्छ। राजमार्गदेखि गाउँ पुग्न साइकल र पैदल हिंड्न मिल्ने गोरेटो मात्र भएपछि उनकै अग्रसरतामा सडक खनिएको थियो।

“सडक खन्दै गर्दा प्रहरीको हवल्दारसमेत नजाने ठाउँमा एसपी नै पुगेपछि त मानिस डराए नि ! सडक बनाउन लाग्दा हामीलाई पक्राउ गर्न आएको हो कि भन्ने भयो”, उनी सुनाउँछन्। तर, समाचार पढेर एसपी थापा गाभर भ्यालीको सौन्दर्य हेर्न गएका थिए। उनले स्थानीयलाई थप हौसला दिए।

समाचार लेखेपछि नेपालगञ्जबाट गाभर उपत्यका हेर्न आउनेको संख्या बढ्यो। कोहलपुरदेखि सात किलोमिटर उत्तर गएर मुख्य राजमार्गभन्दा एक किलोमिटर भित्र पसेपछि गाभर उपत्यका पुगिन्छ। राजमार्गदेखि गाउँ पुग्न साइकल र पैदल हिंड्न मिल्ने गोरेटो मात्र भएपछि उनकै अग्रसरतामा सडक खनिएको थियो।

तस्वीरहरुः मुकेश पोखरेल

उनको पत्रकारिता जीवनको एउटा संयोगले गाउँको मुहार फेरिन थाल्यो। उनी पत्रकारितामा लागेको सात वर्ष भएको थियो। नेपालगञ्ज बसेर गरेको पत्रकारिताबाट साँझ–बिहान आफ्नो गुजारा चलिरहेको थियो। तर, त्यही पेशाबाट परिवार चलाउन सक्ने आशा मरिरहेको थियो। उनी अब के गर्ने भन्ने अन्योलमै थिए।

आफू अप्ठ्यारो परिस्थितिमा रहेका बेला उनले गाउँको समाचार लेखेका थिए। त्यो समाचारले उनको जिन्दगीमा फरक लय समात्यो। उनको पेशा मात्र परिवर्तन भएन, गाउँ नै आत्मनिर्भर हुन थाल्यो।

विस्तारै गाभर उपत्यकामा ग्रामीण भेगसँग रमाउने उद्योगी व्यापारी आउन थाले। नेपालगञ्जमै बसेर पत्रकारिता गरिरहेका कृष्णले होमस्टे खोल्ने अवधारणा अघि बढाए। गाउँलेको भेला गराए। २०७० सालमा पाँच परिवार होमस्टे खोल्न राजी भए।

कोरोनाभाइरसको महामारीले अन्यत्र होटल व्यवसाय ठप्प छन्। गत १ असारदेखि पुनः सेवा सञ्चालन गरेको गाभरका होमस्टेमा भने पाहुना पुग्न थालिसकेका छन्। “सधैं बन्द गरेर पनि भएन, हाम्रो त जीविकोपार्जनको माध्यम नै यही हो, सुरक्षाका उपाय अपनाएर सञ्चालन गर्न शुरू गरेका छौं, पाहुनाहरू राम्रै आउनुभएको छ।”

तर, होमस्टेको शुरूआत गर्ने उनी मात्र भए। “होमस्टे खोल्ने निर्णय त अरूले पनि गर्नुभयो, तर आँट गर्न सक्नुभएन” उनी भन्छन्, “मैले सञ्चालन गरेको होमस्टेमा पाहुनाहरू राम्रै आउनुभयो। दुई वर्षपछि राम्रो हुँदोरहेछ भनेर अरूले पनि शुरू गर्नुभयो।”

होमस्टे शुरू गरेको दुई वर्षपछि २०७२ सालमा मात्र उनी त्यही व्यवसायलाई प्रवद्र्धन गर्न श्रीमतीसहित गाउँ फर्किए। उनी गाउँ फर्केपछि गाभरको मुहार नै परिवर्तन भयो। उनी भन्छन्, “पाहुनाहरू आएर पैसा कमाउन थालेपछि यो व्यवसाय ठीक रहेछ भनेर सबै जना आकर्षित हुनुभयो।”

अहिले गाभर उपत्यकामा १७ घरमा होमस्टे सञ्चालन छ। होमस्टेको नेतृत्वकर्ता उनै छन्। १० घरले होमस्टेका साथै कटेज बनाएका छन्। अहिले गाभरमा मानिसको भीडभाड हुन्छ।

कोरोनाभाइरसको महामारीले अन्यत्र होटल व्यवसाय ठप्प छन्। गत १ असारदेखि पुनः सेवा सञ्चालन गरेको गाभरका होमस्टेमा भने पाहुना पुग्न थालिसकेका छन्। “सधैं बन्द गरेर पनि भएन, हाम्रो त जीविकोपार्जनको माध्यम नै यही हो, सुरक्षाका उपाय अपनाएर सञ्चालन गर्न शुरू गरेका छौं, पाहुनाहरू राम्रै आउनुभएको छ”, उनी भन्छन्।

शुक्रबार र शनिबार मानिसहरूको बढी भीड हुन्छ। दुई दिन परिवारका सदस्यहरूले काम नभ्याउँदा बाहिरकालाई पनि लगाउनुपर्ने उनी बताउँछन्। उनको घरमा ६ जना सदस्य छन्।

पाहुना थपिंदै गएपछि ठूलो लगानी गरेर संरचना वृद्धि गर्ने क्रम बढेको छ। कृष्णले अहिले ५० लाख लगानी गरेर कटेजका विभिन्न संरचना बनाएका छन्। गाभरका अन्य होमस्टेमा पनि कटेज राखिएको छ। सबैले होमस्टेबाट प्राप्त भएको कमाइ नै लगानी गरेको कृष्ण बताउँछन्।

पाहुना थपिंदै गएपछि ठूलो लगानी गरेर संरचना वृद्धि गर्ने क्रम बढेको छ। कृष्णले अहिले ५० लाख लगानी गरेर कटेजका विभिन्न संरचना बनाएका छन्। गाभरका अन्य होमस्टेमा पनि कटेज राखिएको छ। सबैले होमस्टेबाट प्राप्त भएको कमाइ नै लगानी गरेका छन्।

कृष्णले गाभर उपत्यका विकासका लागि अग्रणी भएर काम गरेका छन्। वैदेशिक रोजगारमा जाने युवालाई उनले गाउँमै होमस्टे सञ्चालन गर्न लगाए। भिसा रद्द गरेर होमस्टेमा लागेका तीन जना युवा होमस्टेबाट भएको कमाइले दङ्ग छन्।


यो पनि पढ्नुहोस्— वैदेशिक रोजगारीको भिसा त्यागेर घरैमा लाखौं कमाउँदै


होमस्टे र कटेज समेत सञ्चालन गर्ने परिवारको मासिक कमाइ एक लाख हुने सोही ठाउँका सन्तोष जैसी बताउँछन्। उनी भारतबाट फर्केर होमस्टेमा रमाएका छन्।

गाउँमा होमस्टे फस्टाएपछि बाख्रा, कुखुरा तथा व्यावसायिक रूपमै तरकारी उत्पादन गर्ने पनि बढेका छन्। जसले स्थानीयस्तरमा रोजगारीका अवसरहरू सिर्जना भएका छन्।

त्यसबाहेक गाउँमा सडक, पार्क लगायत अन्य विकास निर्माणका कामले पनि गति लिएका छन्। २० बिघा क्षेत्रफलमा पार्क निर्माण भएको छ।

प्रतिकृया दिनुहोस