ब्लग आइतबार, साउन ११, २०७७

अतिक्रमणले मेटिएका राजकुलो: ब्यूँतेलान् फेरि ?

भैरव रिसाल

अतिक्रमणले मेटिएका राजकुलो: ब्यूँतेलान् फेरि ?
सिद्ध पाेखरी, भक्तपुर । तस्वीर: हनिडाेज

काठमाडौं उपत्यकाका प्रमुख राजकुलोहरू जनजीविकाका लागि दैनिक पानीको खनखाँचो धान्ने स्रोत त थिए नै, कृषि लगायत उत्पादनमूलक अर्थतन्त्रका आधार पनि थिए।

काठमाडौं खाल्डोमा झण्डै २०२० सालसम्म पानी आपूर्तिको मूल स्रोत राजकुलोहरू थिए। यी राजकुलाका मुहान ठूल्ठूला जलाधार क्षेत्रलाई मानिएको देखिन्छ । काठमाडौंका लागि शिवपुरी क्षेत्र, पाटनका लागि टीका भैरव लेले क्षेत्र र भादगाउँ (भक्तपुर) का लागि नगरकोट। उपत्यकामा बुढानीलकण्ठ राजकुलो, टीका भैरव राजकुलो र खरिपाटी राजकुलो मुख्य थिए।

भैरव रिसाल

बुढानीलकण्ठ उत्तरको शिवपुरी जलाधार क्षेत्रबाट यति ठूलो पानी आउँथ्यो, हाल सिंहदरबार बनेको ठाउँमा त पानीघट्ट नै चल्थ्यो । अहिले त्यो राजकुलोको नाम निशान छैन । तर, एउटा टोलको नाम नै ‘घट्टेकुलो’ कायमै छ।

राज्यले कृषिलाई प्राथमिकता दिएर विशेष कुलाको व्यवस्था गरेकाले राजकुलो भनिएको रहेछ । यी कुलाको नालीबेली खोज्ने क्रममा थाहा भयो, राजकुलाहरू लिच्छवि कालमै बनेका रे । राजकुलोहरू शहरी र गाउँले बस्तीका पोखरी, ढुङ्गेधारा र इनारहरूमा पानी आपूर्ति गर्ने स्रोत रहेछन् । त्यो पानी खानेदेखि जनजीविकाको तमाम काममा उपयोग गरिन्थ्यो । अर्कातिर, किसानका निम्ति खेतबारीमा सिंचाइ गर्ने उद्देश्य पनि थियो।

टीका भैरव राजकुलोले ललितपुरका करीब ४६१ बिघा जमीनमा सिंचाइ गर्दो रहेछ । खरिपाटी राजकुलोले भक्तपुर शहर वरपरसम्मका सबै फाँटको सिंचाइ गर्दो रहेछ भने बुढानीलकण्ठ राजकुलोले त पानीघट्ट समेत चलाउने रहेछ।

जीविका र अर्थतन्त्रका स्रोत

पानी र प्राणीबीच अन्योन्याश्रित सम्बन्ध छ । त्यसमा पनि मान्छेका बस्ती नै पानी भएको ठाउँबाट शुरु भएको हो । कतै मानव बस्ती पोखरी वरिपरि भयो, कतै चाहिं बस्ती बसेपछि पोखरी बनाइएको पाइन्छ।

मान्छेको बसोबास भएपछि आगलागीको जोखिम र डर हुने नै भयो । संभावित आगलागी निभाउन पनि टोलटोलमा पोखरी बनाउने चलन नै बसेछ । गाउँमा गाईभैंसीलाई पानी खुवाउन र भैंसी आहाल बसाउन, भेडालाई नुहाइदिन र सम्भावित आगलागी हुँदा निभाउन पनि पोखरीको जोहो गरिएको हुन्थ्यो।

टोलटोलमा ढुङ्गेधारा र धेरै ठाउँमा इनारहरू बनाइएका हुन्थे । शहरका पोखरी, ढुङ्गेधारा र इनारहरूमा यिनै राजकुलाहरूले पानी पुर्‍याउँथे । राजकुलो, कुलो र पोखरी आम जनजीविकासँग जोडिएका पानीका स्रोत त हुँदै हुन्, उत्पादनमूलक अर्थतन्त्रका आधार पनि हुन् । कृषि बाली, पशुपालन, माछा पालन, तरकारी, फलफूल खेती आदिका लागि पानी मेरुदण्ड नै हो।

इनार र ढुङ्गेधाराका पानी प्रायः प्राकृतिक प्रक्रियाबाटै प्रशोधित हुन्थे । अझ सिमसार त अत्यन्त प्रदूषण भएको पानीलाई प्रशोधन गर्ने प्राकृतिक कारखाना नै रहेछ । मान्छेको बस्ती बाक्लिएपछि र कंक्रिटको संरचना बनेर जमीनमा पानी सोस्ने ठाउँ नबचेपछि प्रायः सिमसार मासिए । यसको सजीव उदाहरण सिंहदरबार उत्तरतर्फ बाँसघारी भएको क्षेत्र हो । त्यो भाग पहिले सिमसार थियो । राजकुलोहरू पनि शहरीकरण बढेसँगै अतिक्रमणमा परेर मासिंदै गए । जसले गर्दा राजकुलोको पानीबाटै अस्तित्व पाएका धेरै ढुङ्गेधारा र पोखरीहरु सुके।

आजको नेपाल र अझ यो काठमाडौं खाल्डोले राजकुलोको खाँचो अनुभव गर्न लागेको छ । अहिले स्थानीय सरकारले राजकुलोतिर पनि ध्यान दिन थालेछ । ललितपुरको गोदावरी नगरपालिकाले टीका भैरवदेखि पाटन दरबार क्षेत्रसम्म फैलिएको राजकुलोको १३ किलोमिटर भाग (नल्लु टीका भैरवदेखि ठेचोसम्म) मर्मत र सफाइ गरिसकेको छ।

टीकाभैरव राजकुलो मर्मत र सफाइको क्रममा । तस्वीर : गोदावरी नगरपालिका

लिच्छविकालीन यो राजकुलो २०४६ सालदेखि टुटेको थियो । उपत्यकाका अन्य राजकुलोले पनि यसैगरी प्राण पाउने आशा गरौं।

‘गठेचा’ को चमत्कारः अग्लो ठाउँमा पोखरी

नेपाली समाजले पोखरीलाई मान्छेको बसोबाससँग अन्तर्निर्भर गरायो । शहरको, टोलटोलको बीचमा पोखरी पाइन्छ । ठिमीको मध्य बजारमा दुई वटा विशाल पोखरी छन् । अर्को पोखरी बोडेमा, ठूलो पोखरी नगदेशमा । ललितपुरको हरिसिद्धि, थेचो, लुभू, प्याङ्गाउँ, सुनाकोठी, ठैब, कीर्तिपुरको पाँगा लगायत जहाँ बस्ती त्यहीं पोखरी, जहाँ पोखरी त्यहीं बस्ती।

पोखरी भएका ठाउँका वरिपरि र तलतिरका जमीन उर्वर हुने रहेछन् । ‘पानी पण्डित’ अर्थात् जलाधारविद् मधुकर उपाध्याले पाटनको दक्षिणपूर्व पहाडमा सुकिसकेका पोखरी पुनः स्थापनाको अभियान चलाउँदा त्यो भागमा फलफूल उत्पादनमा नयाँ युग नै आयो । पोखरी सुकेपछि ज्यामीर, भोगटे, निबुवा, कागती, अम्बा, सुन्तला स–साना फल्थे । पोखरीले पुनर्जीवन पाएपछि ती फलफूल ठूला फल्न थाले, दाना पोटिला र धेरै रसिला पनि भए।

स्थानीय जनताको सहयोगमा उपाध्याको प्रयासले पोखरी पुनःस्थापना भएपछि त्यहाँका किसानले राम्रो आम्दानी गरे। फेरि कस्तो अनौठो भने, डाँडा–डाँडामा पोखरी।

उदाहरणका लागि डाँडाको थुम्कोमा दहचोक पोखरी छ । भक्तपुरको सिद्धपोखरी पनि अग्लो ठाउँमै छ । सिमेन्ट ननिस्कदैको जमानामा ‘गठेचा’ भन्ने चिम्टिलो कालो माटो प्रयोग गरेर पानी अड्याइएको रहेछ । सिमेन्टलाई मात गर्ने कस्तो काइदाको माटो !

प्रतिकृया दिनुहोस