रिपोर्ट बुधबार, साउन ७, २०७७

सेनाको द्रव्यमोहले ‘सपिङ मल’ बन्यो त्रि-चन्द्र मिलिटरी हस्पिटल, जंगी अड्डालाई वार्षिक ४९ करोड भाडा

रामेश्वर बोहरा

सेनाको द्रव्यमोहले ‘सपिङ मल’ बन्यो त्रि-चन्द्र मिलिटरी हस्पिटल, जंगी अड्डालाई वार्षिक ४९ करोड भाडा
तस्वीरहरुः विक्रम राई

नेपाली सेनाले करिब ९० वर्ष पुरानो ऐतिहासिक त्रि–चन्द्र मिलिटरी हस्पिटल मासेर बनाएको भवन अन्ततः सपिङ मल बनेको छ। चौतर्फी विरोध हुँदाहुँदै सेनाले वार्षिक रु.४९ करोड ३३ लाख भाडामा लगाएपछि यो ठाउँ ‘होलसेल सपिङ मल’का रुपमा सञ्चालनमा आएको छ।

काठमाडौंको ‘प्राइम लोकेसन’ महांकालस्थानमा रहेको त्रि–चन्द्र मिलिटरी हस्पिटल भत्काएर बनाइएको भवन अब औपचारिक रुपमै ‘सपिङ मल’ बनेको छ।

नेपाली सेनाले ६ वर्ष अघि त्यहाँ रहेको करिब ९० वर्ष पुरानो हस्पिटल भवन भत्काएको थियो। ऐतिहासिक र पुरातात्विक महत्वको पुरानो भवन भत्काएपछि जंगी अड्डाले सैनिक कल्याणकारी कोषको रकम लगानी गरेर बहालवाला तथा भूतपूर्व सैनिक, तिनका परिवार र सर्वसाधारणका लागि समेत अस्पताल सञ्चालन गर्ने भन्दै त्यो ठाउँमा आधुनिक भवन बनायो। त्यही भवन सेनाले भाडामा दिएपछि सपिङ मलका रुपमा सञ्चालनमा आएको हो।

यो पनि पढ्नुहोस्ः

सेनाको द्रव्य मोह: ऐतिहासिक अस्पताल मासेर व्यापारिक भवन

जंगी अड्डाले ‘श्रीजयन्ती निर्माण सेवा’नामको कम्पनीलाई यो भवन भाडामा दिएको छ। ‘श्रीजयन्ती निर्माण सेवा’ सडक, पुल र जलविद्युत आयोजना निर्माणमा संलग्न रहँदै आएको ‘क’ श्रेणीको निर्माण कम्पनी हो। रोल्पाका निर्माण व्यवसायी खगेन्द्र बुढामगर यसका सञ्चालक हुन्।

काठमाडौंको न्यूरोड गेटसँगै रहेको यो भवन भाडामा लिएपछि ‘श्रीजयन्ती निर्माण सेवा’ले यसलाई ‘श्रीजयन्ती ट्रेड सेन्टर’ नाम दिएर बुकिङ खुला गरेको छ। सञ्चालक बुढामगरले यो ट्रेड सेन्टरलाई काठमाडौंको प्रमुख ‘होलसेल हब’का रुपमा विकास गर्न खोजिएको हिमालखबरलाई बताए। “सम्झौताअनुसार यहाँ खुद्रा पसल सञ्चालन गर्न नपाउने कुरा छ”, उनले भने, “त्यही भएर हामीले यसलाई होलसेल हब बनाउने निधा गरेका छौं। महाबौद्ध क्षेत्रका धेरै होलसेल पसल अब यहीँबाट सञ्चालन हुँदैछन्।”

निर्माण सम्पन्न उक्त भवनको इन्टेरियर डेकोरेसनको काम हुँदै।

गैरनाफामुलक भनिएको भवन ४९ करोड भाडामा

२०७१ सालमा ‘त्रिचन्द्र मिलिटरी हस्पिटल’ को भवन भत्काउँदा सेनाले त्यो ठाउँमा पुरानै नामको नयाँ अस्पताल बनाएर बहालवाला तथा भूतपूर्व सैनिक र तिनका परिवारसँगै सर्वसाधारणलाई पनि स्वास्थ्य सेवा उपलब्ध गराउने घोषणा गरेको थियो।

त्यसबेला सेनाले नयाँ अस्पताल ‘त्रि–चन्द्र मिलिटरी हस्पिटल (भेट्रान्स तथा सिभिल)’ का नाममा सञ्चालन हुने बताएको थियो। महांकालस्थानमा बन्ने नयाँ भवनमा सञ्चालन हुने अस्पताल सेवामा समर्पित हुने, व्यवसाय र नाफा यसको ध्येय नहुने घोषणा समेत सेनाले त्यसक्रममा गरेको थियो।

“बहालवाला तथा भूतपूर्व सैनिक र तिनमा आश्रित परिवारहरूलाई सैनिक कल्याणकारी कोषबाट उपलब्ध गराउँदै आएको निःशुल्क औषधोपचार सुविधालाई थप प्रभावकारी एवं व्यवस्थित गर्ने र सर्वसाधारण नागरिकहरूलाई सशुल्क स्वास्थ्य उपचार सेवा प्रदान गर्ने उद्देश्यले महांकालस्थानमा निर्माणाधीन ४५९ बेडको त्रिचन्द्र मिलिटरी हस्पिटल (भेट्रान्स तथा सिभिल) को निर्माण कार्य पूरा गरी सञ्चालनमा ल्याउने”, सेनाको भनाई थियो।

तर, नयाँ भवन तयार हुँदानहुँदै जंगी अड्डाले त्यसलाई भाडामा लगाउन टेण्डर आह्वान गर्‍यो।

यो पनि पढ्नुहोस्ः

सेनाले व्यापारिक कम्प्लेक्स बनाउन भाडामा दियो ऐतिहासिक त्रि–चन्द्र मिलिटरी हस्पिटल

२०७४ सालमा यो भवनको संरचना तयार भएलगत्तै सेनाले भाडामा लगाउन टेण्डर निकालेपछि चौतर्फी बिरोध भयो। त्यही विरोधका कारण सेना यससम्बन्धी निर्णय गर्न हच्कियो।

करीब तीन वर्ष यसबारे निर्णय गर्न बिलम्ब गरेको जंगी अड्डाले अन्ततः यसलाई विजनेश कम्प्लेक्सकै रुपमा भाडामा दिने निर्णय गरेको हो।

हिमालखबरलाई प्राप्त विवरणअनुसार गएको १६ माघ २०७६ मै जंगी अड्डास्थित सैनिक कल्याणकारी निर्देशनालय र श्रीजयन्ती निर्माण सेवाबीच यससम्बन्धी सम्झौतामा हस्ताक्षर भइसकेको छ। सेनाले श्रीजयन्तीलाई यो भवन सञ्चालनयोग्य बनाउन ६ महीनाको समय दिने, त्यसपछि भने नियमित रुपमा भाडा तिर्नुपर्ने सम्झौता–पत्रमा उल्लेख छ।

सम्झौताअनुसार अब केही दिनमा त्यो अवधि समाप्त हुनेछ। तर, यहीबीचमा कोरोना संक्रमणको महामारी शुरु भएको र झण्डै चार महीना बन्दाबन्दी भएकाले त्यो समयावधि केही लम्बिने निश्चित छ।

“एक दुई तला भदौ महीनाभित्रै तयार हुनेछन्, कम्तीमा चार तला चाहिँ कात्तिक–मंसीरभित्र तयार भएर सञ्चालनमा आउने छन्”, सञ्चालक बुढामगरले भने।

महांकालस्थानमा ११ रोपनी १५ आना २ पैसा १ दाम क्षेत्रफल जमीन ओगटेर बनेको छ, यो भवन। भवनको कूल क्षेत्रफल ३ लाख १५ हजार वर्गफिट छ। सम्झौताअनुसार त्यसमध्ये करीब ३० हजार वर्गफिट क्षेत्रफल पुरानै त्रि–चन्द्र मिलिटरी हस्पिटलका रुपमा प्रयोग गरिनेछ भने त्यसबाहेक २ लाख ८५ हजार वर्गफिट क्षेत्रफल सपिङ मलका रुपमा सञ्चालन हुनेछ।

निर्माण सम्पन्न उक्त भवनको इन्टेरियर डेकोरेसनको काम गर्दै श्रमिकहरू।

यो भवन सैनिक कल्याणकारी कोषको रकम खर्च गरेर बनाइएको हो। सेनामा संयुक्त राष्ट्रसंघीय मिसन जाने सैनिकहरुबाट पारिश्रमिक कटौती गरेर खडा गरिएको यो कोष सैनिक कल्याणकारी निर्देशनालय मातहत रहने गर्छ।

गएको १ साउनमा तत्कालिन सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले भवन भाडामा लगाउने सम्झौता भइसकेको जनाउँदै रकमबारे भने आफूलाई जानकारी नभएको बताएका थिए। हिमालखबरलाई प्राप्त विवरणअनुसार भवन भाडामा लिएवापत श्रीजयन्ती निर्माण सेवाले मासिक रु.४ करोड ११ लाख ११ हजार १११ सैनिक कल्याणकारी निर्देशनालयलाई बुझाउनेछ।

अर्थात् सेनाले यो भवन वार्षिक रु.४९ करोड ३३ लाख लिनेगरी भाडामा दिएको छ। यति धेरै रकम यहाँबाट उठ्छ त? भवन भाडामा लिएका बुढामगरले भने, “शुरुशुरुमा त लागत उठाउन अलि गाह्रै छ, अब लिइसकेपछि उठाउने गरी नै काम गर्नुपर्यो।”

अहिले बुकिङ खुला गरिएको यो भवनमा व्यवसाय सञ्चालनका लागि प्रतिवर्गफिट क्षेत्रफलको भाडा न्यूनतम रु.२०० देखि एक हजार १५० सम्म निर्धारण गरिएको छ।

मन्त्रीको जोडबलदेखि जर्नेलको सुरक्षासम्म

ऐतिहासिक र पुरातात्विक महत्वको भवन पुरातत्व विभागको स्वीकृतिबेगर भत्काएको सेनाले नयाँ भवन निर्माण गर्दा काठमाडौं महानगरपालिकाबाट नक्सासमेत स्वीकृत गरेको थिएन। नक्सा स्वीकृतिबेगर बनेको भवनले वैधता नपाउने भएपछि जंगी अड्डाले भवन निर्माण भइसकेपछि नक्सा स्वीकृत गरिदिन महानगरलाई पटक पटक ताकेता गर्‍यो।

यो पनि पढ्नुहोस्ः

सेनाको रुचि व्यापारिक कम्प्लेक्स सञ्चालनमै

निर्माण सम्पन्न उक्त भवनको इन्टेरियर डेकोरेसनको काम गर्दै श्रमिकहरू।

यो भवन काठमाडौं उपत्यकाको ‘सिटी कोर’ भनिने क्षेत्रमा छ, जहाँ पाँच तलाभन्दा अग्ला भवन निर्माण गर्न पाइँदैन। तर, सेनाले बनाएको भवन बेसमेन्टसहित ९ तलाको छ। मापदण्डविपरीत भवन बनेको भन्दै महानगरपालिकाले यसको नक्सा स्वीकृत गर्न मानेको थिएन।

सेनाले निकै नै ताकेता गरेपछि काठमाडौं महानगरपालिकाले गत वर्ष यसको नक्सा स्वीकृत गरिदियो, तर यो भवन व्यापारिक प्रयोजनमा लगाउन नपाउने सर्त राखेर। त्यो सर्तसमेत नमानेर सेनाले भवनलाई व्यापारिक प्रयोजनमा लगाएको हो।

पछिल्लो समय निरन्तर बढ्दो सेनाको व्यापार मोहले यसमा काम गरेकै छ। यो भवन भाडा प्रकरणमा थप रोचक दृष्य देखिएको छ। किनभने भवन भाडामा दिलाउन बहालवाला एक मन्त्रीकै ठूलो जोडबल थियो। “उर्जामन्त्री वर्षमान पुन र पूर्वसभामुख ओनसरी घर्तीको यसमा ठूलो चासो थियो”, सैनिक स्रोतले भन्यो, “भवनको ठेक्का यही कम्पनीले पाउनुमा उहाँहरुको पनि ठूलो भूमिका छ।”

श्रीजयन्ती निर्माण सेवाका सञ्चालक खगेन्द्र बुढामगरले आफूले एकल रुपमा यो भवन भाडामा लिएको, यसलाई ‘श्रीजयन्ती ट्रेड सेन्टर’का रुपमा सञ्चालन गर्न भने महाबौद्धका केही व्यापारीहरुलाई पनि ‘पार्टनर’ बनाइएको बताए। “यसमा बलदेवराज महत जर्साबले सुरक्षाको जिम्मा लिइदिनुभएको छ”, उनले भने। महत नेपाली सेनाका अवकाशप्राप्त रथी हुन्।

प्रतिकृया दिनुहोस