रिपोर्ट विहीबार, साउन १, २०७७

सेनाले व्यापारिक कम्प्लेक्स बनाउन भाडामा दियो ऐतिहासिक त्रि–चन्द्र मिलिटरी हस्पिटल

हिमालखबर

सेनाले व्यापारिक कम्प्लेक्स बनाउन भाडामा दियो ऐतिहासिक त्रि–चन्द्र मिलिटरी हस्पिटल

करीब ९० वर्ष पुरानो ऐतिहासिक त्रि–चन्द्र मिलिटरी हस्पिटल भत्काएर बनाएको नयाँ भवनलाई सेनाले अन्ततः व्यापारिक कम्प्लेक्सका रुपमा भाडामा दिएको छ।

काठमाडौंको महांकालस्थानस्थित (राष्ट्रिय ट्रमा सेन्टरसँगै) मुख्य सडकमा बनेको यो भवन व्यापारिक प्रयोजनका लागि भाडामा दिने निर्णय गर्दै सैनिक मुख्यालय (जंगी अड्डा)ले सम्झौता समेत गरेपछि अहिले ‘इन्टेरियर डेकोरेसन’को काम भइरहेको छ।

२०७४ सालमा यो भवनको संरचना तयार भएलगत्तै सेनाले भाडामा लगाउन टेण्डर निकालेपछि चौतर्फी विरोध भएको थियो। त्यही विरोधका कारण सेना यससम्बन्धी निर्णय गर्न हच्केको थियो।

करीब तीन वर्ष यसबारे निर्णय गर्न विलम्ब गरेको जंगी अड्डाले भर्खरै यसको टेण्डर प्रक्रिया टुंग्याएको हो। “भवन भाडामा दिन सम्झौता भइसकेको जानकारी मैले पाएको छु, विस्तृत चाहिं मलाई थाहा छैन”, सैनिक प्रवक्ता, सहायकरथी विज्ञानदेव पाण्डेले हिमालखबरसँग भने।

यो भवन सैनिक कल्याणकारी कोषको रकम खर्च गरेर निर्माण गरिएको हो। सैनिक कल्याणकारी निर्देशनालयले नै टेण्डर सम्झौता गर्ने भएकाले यसबारे कोष र निर्देशनालयले विस्तृत विवरण सार्वजनिक गरिसकेको छैन।

जंगी अड्डा स्रोतले ४ साउनमा सैनिक कल्याणकारी निर्देशनालयले पत्रकार सम्मेलनमार्फत यसबारे विस्तृत जानकारी सार्वजनिक गर्ने हिमालखबरलाई बतायो।

यो पनि:

सेनाको द्रव्य मोह: ऐतिहासिक अस्पताल मासेर व्यापारिक भवन

११ रोपनी १५ आना २ पैसा १ दाम क्षेत्रफल जमीन ओगटेको यो भवनको कुल क्षेत्रफल ३ लाख १५ हजार वर्गफिट छ।

त्यसमध्ये करीब ३० हजार वर्गफिट क्षेत्रफल पुरानो त्रि–चन्द्र मिलिटरी हस्पिटलका रुपमा प्रयोग गरिनेछ। यसबाहेक भवनको बाँकी सबै भाग भाडामा दिइएको हो।

सेनाले भवन भाडामा लिने व्यक्ति-कम्पनीको विवरण पनि सार्वजनिक गरेको छैन। जंगी अड्डा स्रोतले भने वर्तमान क्याबिनेटका एकजना मन्त्रीका निकट रहेका व्यक्तिको कम्पनीले टेण्डर पाएको जानकारी दिएको छ। “रकम चाहिं यकिन छैन” स्रोतले भन्यो, “सैनिक कल्याणकारी कोषले वार्षिक करीब रु.४० करोड भाडा पाउने गरी सम्झौता भएको हामीले बुझेका छौं।”

अस्पताल बनाउने भन्दै ‘बिजनेश कम्प्लेक्स’

२०७१ सालमा करीब ९० वर्ष पुरानो ‘त्रिचन्द्र मिलिटरी हस्पिटल’ को भवन भत्काउँदा सेनाले त्यही नामको नयाँ अस्पताल बनाएर बहालवाला तथा भूतपूर्व सैनिक र तिनका परिवारसँगै सर्वसाधारणलाई पनि यहींबाट स्वास्थ्य सेवा दिने बताएको थियो।

त्यसबेला सेनाले नयाँ अस्पताल ‘त्रिचन्द्र मिलिटरी हस्पिटल (भेट्रान्स तथा सिभिल)’ का नाममा सञ्चालन हुने घोषणा गरेको थियो। त्यसक्रममा महांकालस्थानको अस्पताल सेवामा समर्पित हुने, व्यवसाय र नाफा यसको ध्येय नहुने घोषणा समेत गरिएको थियो, पत्रकार सम्मेलनमार्फत।

त्यसबेला सेनाले भनेको थियो, ‘बहालवाला तथा भूतपूर्व सैनिक र तिनमा आश्रित परिवारहरूलाई सैनिक कल्याणकारी कोषबाट उपलब्ध गराउँदै आएको निःशुल्क औषधोपचार सुविधालाई थप प्रभावकारी एवं व्यवस्थित गर्ने र सर्वसाधारण नागरिकहरूलाई सशुल्क स्वास्थ्य उपचार सेवा प्रदान गर्ने उद्देश्यले महांकालस्थानमा निर्माणाधीन ४५९ बेडको त्रिचन्द्र मिलिटरी हस्पिटल (भेट्रान्स तथा सिभिल) को निर्माण कार्य पूरा गरी सञ्चालनमा ल्याउने।’

१९८२ सालमा निर्मित त्रिचन्द्र मिलिटरी अस्पताल । पहिलो विश्वयुद्धबाट प्रभावित नेपाली सैनिकहरुको उपचार र स्वास्थ्य सेवाका लागि बेलायतले निर्माण गरिदिएको ऐतिहासिक महत्वको यही अस्पताल भत्काएर सेनाले बिजनेश कम्प्लेक्स बनाएको छ । तस्वीर स्रोत: मदन पुरस्कार पुस्तकालय

शुरुमा यसलाई व्यापारिक कम्प्लेक्स बनाउने निर्णय गर्दा राजेन्द्र क्षेत्री प्रधानसेनापति थिए। उनीपछि सैनिक नेतृत्वमा पुगेका प्रधानसेनापति पूर्णचन्द्र थापाले यसलाई तत्काल अघि बढाउन चाहेनन्। बरु उनले सेनाको व्यापारिक छबि हटाउने पहल गर्ने भन्दै जंगी अड्डा परिसरमै रहेको त्रिभुवन आर्मी अफिसर्स क्लबलाई ‘पार्टी प्यालेस’का रुपमा प्रयोग गर्न नपाउने निर्णय गरे।

तर, नयाँ भवन तयार हुँदानहुँदै जंगी अड्डाले त्यसलाई भाडामा लगाउन टेण्डर आह्वान गर्‍यो। ऐतिहासिक अस्पताल भवन भत्काएर बनाइएको भवनलाई व्यापारिक कम्प्लेक्स बनाउने सेनाको यो निर्णयले उसको द्रव्य मोह उजागर भएको भन्दै विरोध भएपछि केही समय जंगी अड्डा यसमा चुपचाप बस्यो।

शुरुमा यसलाई व्यापारिक कम्प्लेक्स बनाउने निर्णय गर्दा राजेन्द्र क्षेत्री प्रधानसेनापति थिए। उनीपछि सैनिक नेतृत्वमा पुगेका प्रधानसेनापति पूर्णचन्द्र थापाले यसलाई तत्काल अघि बढाउन चाहेनन्। बरु उनले सेनाको व्यापारिक छवि हटाउने पहल गर्ने भन्दै जंगी अड्डा परिसरमै रहेको त्रिभुवन आर्मी अफिसर्स क्लबलाई ‘पार्टी प्यालेस’का रुपमा प्रयोग गर्न नपाउने निर्णय गरे। त्रि–चन्द्र मिलिटरी हस्पिटल भवनबारे भएको निर्णयमा पनि पुनर्विचार गर्ने संकेत उनले त्यसबेला गरेका थिए।

तर, थापा प्रधानसेनापति रहेकै बेला यो भवन व्यापारिक कम्प्लेक्सका रुपमा भाडामा दिइएको छ।

नक्शा पास गर्दाको शर्त पनि तोडियो

यो भवन निर्माण गर्ने क्रममा जंगी अड्डाले काठमाडौं महानगरपालिकाबाट नक्शा नै स्वीकृत गरेको थिएन। नक्सा स्वीकृत नभई बनेको भवनले वैधता नपाउने भएपछि जंगी अड्डाले भवन निर्माण भइसकेपछि नक्सा स्वीकृत गरिदिन महानगरलाई ताकेता गरेको थियो।

तर, काठमाडौंको ‘सिटी कोर’ क्षेत्रमा निर्मित भवनले निर्धारित मापदण्डसमेत उल्लंघन गरेको भन्दै महानगरपालिकाले नक्सा स्वीकृत गर्न मानेन।
सिटी कोर क्षेत्रमा पाँच तलाभन्दा अग्ला भवन निर्माण गर्न नपाइने मापदण्ड छ। तर, सेनाले बनाएको यो कम्प्लेक्स बेसमेन्टसहित ९ तलाको छ।

यो पनि:

सेनाको रुचि व्यापारिक कम्प्लेक्स सञ्चालनमै

सेनाले निकै ताकेता गरेपछि काठमाडौं महानगरपालिकाले गत वर्ष यसको नक्शा स्वीकृत गर्यो। तर, नक्शा स्वीकृत गर्दा महानगरले शर्त राखेको थियो– भवन भाडामा लगाउन नपाइने। काठमाडौं महानगरपालिकाका एक अधिकारी भन्छन्, “जनप्रतिनिधिले समेत छलफल गरी नगर कार्यपालिकाबाट निर्णय गरेर नक्शा स्वीकृत गर्दा यो भवन भाडामा लगाउन पाइने छैन भनेर प्रष्ट सर्त राखिएको थियो।”

तर, सेनाले यो शर्त पनि नमानेर भवन भाडामा लगाएको छ।

 

प्रतिकृया दिनुहोस