समाचारमंगलबार, ५ चैत्र , २०७५

चितवनमा भएका छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु, पाँच घाइते

रासस

चितवनमा भएका छुट्टाछुट्टै घटनामा तीनजनाको मृत्यूभएको छ ।

सवारी दुर्घटनामा दुईजना र गैडाको आक्रमणबाट एकजनाको मृत्यू भएको प्रहरीले जनाएको छ ।

मुग्लिनबाट नारायणगढतर्फ जाँदै गरेको ना६ख १४४ नम्बरकाे ट्रक त्रिशुली नदी किनारमा खस्दा एकको मृत्यु भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ । मृतकको परिचय खुलेको छैन ।

उक्त ट्रक नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत इच्छाकामना–५ स्थित २ नं पुलबाट आज बिहान ७ बजे त्रिसुलीमा खसेर भएको दुर्घटनामा अन्य चार घाइते भएका छन् । घाइतेलाई उद्धार गरी उपचारका लागि भरतपुर अस्पताल लगिएको छ ।

चितवनमै गए राति बा ९१प ३४८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई केन्द्रीय बस टर्मिनल चोकको डिभाइडरमा ठोक्किँदा खैरहनी नगरपालिका–१३ का ३४ वर्षीय कुमार अधिकारीको मृत्यु भएको छ ।

अधिकारीको उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

गम्भीर घाइते मोटरसाइकल चालक धादिङ कयपुर–५ का ३८ वर्षीय सोमनाथ सेढाइँको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

त्यस्तै, गैँडाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा घाँस काट्न गएकी रत्ननगर नगरपालिका–६ की ५५ वर्षीय जानकी चौधरीको मृत्यु भएको हो ।

गैँडाको आक्रमणबाट घाइते चौधरीको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।

प्रतिकृया दिनुहोस