कला/साहित्य मंगलबार, साउन ६, २०७७

‘अबको तीज नो व्रत प्लिज’ गीत हटाउन धम्की, गायिका पुगिन् प्रहरीमा

शुष्मा बराली

‘अबको तीज नो व्रत प्लिज’ गीत हटाउन धम्की, गायिका पुगिन् प्रहरीमा
गीतको भिडियोमा गायिका सोफिया थापा ।

गायिका सोफिया थापाको ‘अबको तीज, नो व्रत प्लिज’ बोलको गीत विवादित बनेको छ । गीत आइतबार (४ साउन) मात्रै हाइलाइट्स नेपालको यूट्यूब च्यानलबाट सार्वजनिक भएको थियो।

गीतले हिन्दु संस्कार र तीजको मर्ममाथि प्रहार गरेको भन्दै यूट्यूब र सामाजिक सञ्जालमा समेत आलोचना भइरहेको छ । गीत हटाउन धम्की दिंदै विभिन्न व्यक्तिबाट फोन र फेसबूकमा धम्कीपूर्ण मेसेज आइरहेको गायिका थापाले बताइन्।

विश्व हिन्दु युवा संघ अन्तर्राष्ट्रिय समितिको नामबाट विज्ञप्ति निकालेर गीत हटाउन दबाब दिइएको उनको भनाइ छ।

“उक्त संगठनका व्यक्तिहरुले समूह बनाई युट्युबमा नराम्रा कमेन्ट गर्दै धम्की दिइरहेका छन्”, उनले भनिन्, “गीतमा सुन्नै नसकिने अपाच्य शब्द त प्रयोग गरेको छैन, तैपनि यसरी गाली खानुपरेको छ।” गीतको यूट्यूब भिडियो धेरै नकारात्मक प्रतिक्रिया आएका छन्।

गीत सार्वजनिक भए लगत्तैदेखि हटाउन धम्की आइरहेको र नहटाए भौतिक आक्रमण गर्ने चेतावनी दिएर मानसिक दबाब दिएको उनले बताइन् ।

गीतले लैंगिक चेतना जगाउँदै परिवर्तनको बोली बोलेकोमा गलत अर्थ लगाएर खेदो खनिएको उनको भनाइ छ।

“तीजको नाममा गरिने देखावटी तामझामले निम्त्याउने पारिवारिक कलह र दरको नाममा महीना दिन अगाडिदेखि गरिने अनावश्यक खर्चको विरोधमा रहेको गीतको भावलाई अनर्थ लगाइयो”, थापा भन्छिन्, “हिन्दु नारीको तीजको महत्व मलाई थाहा छ, धम्की र दबाब आउँदैमा गीत हटाउँदिनँ।”

आफू हिन्दु परिवारमा हुर्केको र हिन्दु धर्म–संस्कारप्रति निकै आस्थावान् रहेको बताउँदै उनले भनिन्, “गीतमा प्रयोग गरिएका कुन चाहिं शब्दले धर्मको नियम उल्लंघन गर्‍यो, म नै चकित छु।”

पप शैलीको गीतमा गायिका थापाकै शब्द र संगीत छ।

प्रहरीमा उजुरी

यसैबीच, गीतको विषयमा धम्की आउने क्रम नरोकिएपछि गायिका थापाले प्रहरीमा उजुरी दिएकी छिन्।

६ साउनसम्म गीत नहटाए भौतिक आक्रमण गर्ने धम्की आएकाले ज्यानको सुरक्षा गरिदिन माग गर्दै काठमाडौं प्रहरीमा उजुरी दिएको उनले बताइन्।

प्रतिकृया दिनुहोस