अन्तर्वार्ता/विचार मंगलबार, साउन ६, २०७७

यस कारण याे वर्ष पहिरोको जोखिम बढी, कसरी थाहा पाउने पूर्व संकेत?

लक्ष्मी बस्नेत

यस कारण याे वर्ष पहिरोको जोखिम बढी, कसरी थाहा पाउने पूर्व संकेत?
३१ जेठ पर्वतमा गएको पहिरो । तस्वीरः विपद व्यवस्थापन प्राधिकरण

जोखिमयुक्त ठाउँमा बस्ती हुनु तथा प्राकृतिक र मानवीय कारणले चलायमान जमीन वर्षाले गलाएर पहिरोको जोखिम बढाएकाले सजगता आवश्यक छ।

यस वर्ष ३० जेठमा मनसुन शुरु भएयता ४ साउनसम्म ५० जिल्लामा पहिरोका २१० वटा घटना भएको छ। जसमा ११० जनाको मृत्यु भएको छ। यस्तै ती घटनामा ४३ जना बेपत्ता र २९० परिवार प्रभावित भएका छन्। देशका अधिकांश ठाउँमा ४ साउनदेखि शुरु भएको भारी वर्षा ८ गतेसम्म रहने र यसले पहिरोको जोखिम बढ्ने विज्ञहरुले बताइरहेका छन्। पहिरोको किसिम, जोखिम र यसबाट बच्न अपनाउनुपर्ने सावधानी लगायत विषयमा खानी तथा भूगर्भ विभागका सिनियर जियोलोजिस्ट शिवकुमार बास्कोटासँग गरिएको कुराकानी उनकै शब्दमाः

यस वर्ष प्रि–मनसुन र मनसुनमा औसतभन्दा बढी वर्षा भएकाले क्षतिको जोखिम बढी छ। खासगरी, लगातारको वर्षाले माटो गलेका कारण पहिरोको जोखिम उच्च छ।

तनहुँको ऋषिङ गाउँपालिका–८ भैंसीकिलेमा सडकबाट खसेको पहिरो । डोजर प्रयोग गरी सडक खनिएका कारण पहिरो खस्दा एकै परिवारका पाँच जनाको निधन भएको थियो । तस्वीर: रासस

हामीकहाँ दुई कारणले पहिरोको जोखिम बढी छ। एक, धेरै बस्ती पहिरोको जोखिम हुने ठाउँमा छन् वा पुराना ठूला पहिरोबाट बनेका ठाउँहरुमा बस्ती बसेको छ। दोस्रो, हाम्रा जमीन प्राकृतिक र मानवीय कारणले चलायमान भइरहेका कारण कमजोर छन्। जस्तै, २०७२ सालको भूकम्प र त्यसपछिका परकम्पले जमीनलाई असर पारेको छ। यस्तै, मानवीय कारणमा सडक निर्माण गर्दा प्रयोग गरिने डोजरका कारण जमीन थिलथिलो बनेको छ।

यो अवस्थामा जमीन कमजोर बनाउन वर्षाले झन् मद्दत गरेको छ। भूकम्प वा अन्य कारणले थर्किएर जमीन ठाउँठाउँमा चिरा परेको हुन्छ, त्यहाँबाट पानी पस्छ र भित्रभित्रै गलेर पहिरो जान्छ। पहिरोको जोखिमको दृष्टिकोणले काठमाडौं आसपास खासगरी भूकम्प प्रभावित १४ जिल्ला बढी जोखिममा छन्। पछिल्लो समय विकासका संरचनाहरूले पनि पहिरो जाने क्रम बढेको छ।

त्यस्तै, पुरानो पहिरो जुन बसिसकेको हुन्छ, त्यो फेरि विभिन्न कारणले चलायमान हुन पुगेको छ। भूकम्प जस्ता प्राकृतिक कारणले वा मानवीय कारणले जमीन बढी नै कमजोर भएको र वर्षाले त्यसलाई भासिन र बगाउन सहयोग पुग्ने भएकाले यो वर्ष पहिरोको जोखिम बढी छ भनेका हौं।

अहिले संखुवासभादेखि ओखलढुंगासम्म, रामेछाप, दोलखा, पश्चिममा तनहुँ, स्याङ्जा, कास्की, पर्वत, बाग्लुङ, म्याग्दी, प्रदेश–५ का रुपन्देही लगायत जिल्लाहरु, कर्णालीको कालिकोट, जाजरकोट, जुम्ला, दैलेख, सुदूरपश्चिमको कञ्चनपुर, दार्चुलामा यो वर्ष प्रि–मनसुनदेखि नै बढी पानी परिरहेको छ। अझै ठूलो वर्षा हुने देखिएकाले ती ठाउँ पहिरोको जोखिममा छन्।

याे पनि पढ्नुहाेस्– कसरी ठ्याक्कै मिल्न थाल्यो मौसम पूर्वानुमान ?

जोखिम क्षेत्रको नक्शांकन

खानी तथा भूगर्भ विभागले भौगर्भिक नक्शांकन गरेको छ। पहिलो चरणमा केही जिल्लामा कुन कुन ठाउँमा पहिरो गएको छ भन्ने पनि नक्शांकन गरेका छौं। अब दोस्रो चरणमा पहिरो गएको ठाउँ नजिकै बस्ती छ कि छैन, जोखिमको अवस्था कस्तो छ भन्ने अध्ययन तथा विश्लेषण गरी नक्शांकन गरिनेछ।

जस्तै, २८ असारमा पहिरो गएर जनधनको क्षति भएको म्याग्दीको जोखिमको नक्शांकन स्थानीय सरकार आउनुभन्दा अगावै तयार भइसकेको हो। तत्कालीन जिल्ला विकास समितिमा पठाइएको त्यो नक्शाले म्याग्दीको आधाभन्दा बढी बस्ती पहिरोको जोखिममा छ भन्ने देखाउँछ।

यस्तो नक्शांकन सबै जिल्लाको हुनुपर्छ। हामीले प्रदेश–१, वागमती प्रदेश र प्रदेश–५ मा कहाँ–कहाँ पहिरो गएको छ भनेर लगत संकलन गरिसकेका छौं। प्रदेश २ मा सामान्यतयाः पहिरो जाँदैन भनेर नगर्ने भनिएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशको पनि अब यो वर्षमा सक्छौं। तर, त्यो लगतबाट सबै जोखिमको तस्वीर नआउने भएकाले फेरि अर्को चरणमा कति पहिरो बस्ती नजिकै छन्, कति सक्रिय वा निस्क्रिय पहिरो हो भन्ने विश्लेषण गर्नुपर्छ।

एकै ठाउँमा बाढी, पहिरो, भूकम्प लगायत विभिन्न किसिमको जोखिम हुने भएकाले अबको नक्शांकनमा बहुजोखिमलाई केलाउनुपर्छ। हाम्रा धेरै बस्ती वर्षौं पहिले पहिरो गएका ठाउँमा बसेका कारण सधैं जोखिममा छन्। त्यसैले यो जोखिमबारे बुझेर समुदाय स्तर नै यस विरुद्ध लड्नुपर्छ। मुख्यतः विज्ञहरूले स्थानीय सरकारका जनप्रतिनिधिलाई बुझाउने र त्यसपछि जनप्रतिनिधिहरूले समुदाय स्तरमा जनचेतना फैलाउनुपर्छ।

भेल पहिरो झन् खतरा

पहिरोको जोखिम दुई कारणले बढ्छः पहिलो, निरन्तर पानी पर्दा र दोस्रो छोटो समयमै हुने भारी वर्षा। सामान्य पहिरोभन्दा भेल पहिरो बढी खतरनाक हुन्छ, त्यसले बढी क्षति गर्छ। भेल पहिरोमा ५०/१०० वर्ष वा त्योभन्दा पनि अगाडि गएको पहिरो फेरि सक्रिय हुन्छ। यस्तो पहिरोमा माथिबाट सानो भाग खस्छ, अलि तल गएर जम्मा हुन्छ र त्यहाँ भएका ढुंगा, माटो, रुखका बुट्यान, जरा आदि मिलेर तीव्र दबाबले तलतिरको जमीनलाई बगाउँदै लैजान्छ। यसको दबाबबाट ठूल्ठूला रुखका जराले समातेको जमीन समेत बग्ने भएकाले बढी क्षति गर्छ।

३१ जेठमा पर्वतको कुश्मा नगरपालिका–३ मा खसेको भेल पहिरो नै हो। त्यो पहिरो ठूलो नभए पनि भेल पहिरो भएकै कारण धेरै क्षति (९ जनाको मृत्यु) भयो। त्यहाँ माथिदेखि तलसम्म २ सय मिटर जति बगेको छ। मसहित एक टोली त्यो पहिरोको अध्ययन गर्न जाँदा वर्षौ अगाडि त्यहाँ पहिरो गएको ठाउँ रहेको थाहा भयो। तर, त्यहाँ पहिला कहिले पहिरो गयो ठ्याक्कै यकिन गर्न सकिएको छैन।

बझाङको केदारस्यूँमा २० असारमा गएको पहिरो । तस्वीरःः आशिसमान सिंह

बझाङको केदारस्यूँमा २० असारमा गएको पहिरो (जसमा ७ जनाको मृत्यु भएको थियो, एक बेपत्ता छन्) पनि भेल पहिरो हो। (२० असारमा गएको पहिरोमा ७ जनाको मृत्यु भएको थियो भने एकजना हराएका छन्।)

अहिले चाहिं बढी क्षति गर्ने खालको पहिरो जाने जोखिम बढी छ। त्यसको मुख्य कारण जमीनले लिन सक्ने क्षमताको पानी प्रि–मनसुनमै परिसक्यो। त्यसपछिको पानीले माटोको तौल बढाइदियो र बग्न सहयोग पुग्यो।

पहिरोका पूर्व संकेत

मौसम, वर्षा र बाढी जस्तो पहिरोको पूर्वानुमान गर्न सकिंदैन। यसैले स्पष्ट रूपमा पूर्व संकेत पाउन सकिंदैन। तर, पहिरो जानेवाला छ भनेर केही न केही कुरा थाहा हुन सक्छ। त्यस्ता केही पूर्व संकेत यस्ता छन्ः

- जमीन मुनिबाट कट्कट् गरेर अस्वाभाविक आवाज आउनु।

- घरका झ्याल–ढोका लगाउन अप्ठ्यारो हुनु। बेलुका सजिलै गरी लगाएको चुकुल बिहान खोल्न गाह्रो हुनु।

- बिजुलीको पोल ढल्किने वा बाङ्गो हुनु।

- जमीन चिरा परेको वा भासिएको हुनु।

- पानीका मूलहरु आकस्मिक रुपमा बढ्ने, सुक्ने वा धमिलो आउनु।

- साना खोल्सा, ठूला खोला एक्कासी सुक्नु वा बढ्नु।

डोजर वा एक्साभेटर प्रयोग गरेर नयाँ संरचना निर्माण गरिएको ठाउँको आसपास पनि जोखिम हुनसक्छ। त्यस्ता ठूला उपकरणले जमीन चलायमान भएर कमजोर पार्ने भएकाले प्रयोग गर्नुअघि समुदायमा आधारित जोखिम मूल्यांकन गर्नुपर्छ।

जोखिम भइहाले सम्पर्क गर्न सुरक्षा निकाय वा उद्धार टोलीहरुको फोन नम्बरहरु राख्नुपर्छ।

स्थानीय सरकारले यस्तै विपद्को वेला तत्काल जानकारी लिने र दिने गरी हटलाइन नम्बर तथा आकस्मिक उद्धार टोली, एम्बुलेन्स सबैलाई तयारी अवस्थामा राख्नुपर्छ। जोखिम र सतर्कता अपनाउने विषयमा आफ्ना क्षेत्रका बासिन्दालाई जानकारी दिनुपर्छ।

बच्ने उपाय

पहिरोको जोखिमबाट बच्न केही सतर्कता अपनाउन सकिन्छ। वर्षायाममा भलको व्यवस्थापन राम्रोसँग गर्नुपर्छ। समुदाय वा घर नजिकै जमीनमा चिरा परेको छ भने चिम्ट्याइलो माटो हालेर पुर्ने वा प्लास्टिकले छोप्ने गरिहाल्नुपर्छ।

पहिरोको जोखिम भएको बस्ती हो भने झनै चनाखो हुनुपर्छ। मौसम कस्तो हुन्छ, कति जोखिम छ भनेर जानकारी दिने सरकारी निकायहरुमा फोन गरेर सोध्न सकिन्छ। भारी वर्षा हुँदैछ भन्ने थाहा पाएपछि त्यो समय सुरक्षित ठाउँमा गएर बस्नुपर्छ।

मुख्य कुरा, आफू बसेको ठाउँ बाढी, पहिरो वा अन्य विपद्को दृष्टिकोणले कति जोखिम हो भनेर थाहा पाउनुपर्छ र त्यसै अनुसारको सतर्कता अपनाउनुपर्छ।

प्रस्तुतिः लक्ष्मी बस्नेत

प्रतिकृया दिनुहोस