रिपोर्ट शुक्रबार, चैत १४, २०७६

कसरी ठ्याक्कै मिल्न थाल्यो मौसम पूर्वानुमान ?

मुकेश पोखरेल

कसरी ठ्याक्कै मिल्न थाल्यो मौसम पूर्वानुमान ?
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको मौसम पूर्वानुमान कक्ष ।

“रेडियोले घाम लाग्ने भनेको छ, छाता बोकेर नहिंडे भिजिन्छ है !” १० वर्षअघिसम्म यस्तै ठट्टा चल्थ्यो । रेडियो नेपालले हरेक दिन बिहान ७ बजेको समाचारको अन्त्यमा दिने मौसम सम्बन्धी पूर्वानुमान श्रोताले विश्वासै गर्दैनथे । रेडियो नेपाललाई जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले मौसम सम्बन्धी जानकारी दिन्छ ।

अहिले अवस्था फेरिएको छ । महाशाखाले गएको ३० फागुनमा भोलिपल्ट (१ चैत) बाट लगातार तीन दिन पश्चिम नेपालमा चट्याङ र असिनासहित वर्षा हुने जनाएको थियो । १ चैतमा कपिलवस्तु र दाङ आसपास तथा २ र ३ चैतमा अर्घाखाँची, गुल्मी र पाल्पामा चट्याङ र असिनासहित भारी वर्षा भयो ।

वायुमण्डलमा विकास हुने छिनछिनको मौसमी तथ्यको जानकारी लिन सन् २०१० देखि नयाँ प्रविधि प्रयोग हुन थालेकाले पूर्वानुमानमा सुधार भएको महाशाखाका वरिष्ठ मौसमविद् बरुण पौडेल बताउँछन् । उनी भन्छन्, “विकसित देशमा पनि मौसम शतप्रतिशत मिल्दैन, हामीले गर्ने मौसम पूर्वानुमान ८० देखि ८५ प्रतिशतसम्म मिल्छ ।” महाशाखाले अहिले तीन दिनसम्मको मौसम पूर्वानुमान सम्बन्धी सूचना दिन्छ ।

पूर्वानुमान मेल खान थालेपछि स्थानीयले महाशाखामा फोन गरेर जानकारी लिने क्रम बढेको छ । स्थानीयलाई मौसमी सूचना उपलब्ध गराउन भ्याई नभ्याई हुने महाशाखाकी मौसमविद् मञ्जु बासी बताउँछिन् । विराटनगर, भैरहवा, पोखरा र काठमाडौंबाट टेलिफोन गरी बारम्बार मौसमी सूचना लिनेसँग त महाशाखाका कर्मचारी परिचित नै भइसकेका छन् ।

आधुनिक प्रविधिले पूर्वानुमान सहज

महाशाखालाई आधुनिक प्रविधि मार्फत मौसमको सूचना लिन चीन र जापानले सघाउँछन् । जापानको ‘हिमावारी–८’ भू–उपग्रहले बादल, त्यसको दिशा, तापक्रम, आद्र्रता र हावाको गतिसहितका तस्वीर हरेक १० मिनेटमा उपलब्ध गराउँछ ।

त्यसैगरी चीनको ‘एफवाई–टुजी’ भू–उपग्रहले मनसुनको समयमा हरेक आधा घण्टामा र अरू वेला एक घण्टामा वायुमण्डलको मौसमी अवस्था र तथ्य विवरण उपलब्ध गराउँछ । वरिष्ठ मौसमविद् पौडेलका अनुसार भू–उपग्रहले ‘रिसिभर’ मार्फत उपलब्ध गराएका मौसमी तस्वीर महाशाखाको कम्प्युटरमा ‘डिस्प्ले’ हुन्छन् । ती सूचनालाई गणितीय प्रविधि मार्फत विश्लेषण गरेर पूर्वानुमान गरिन्छ । यो प्रविधि अत्याधुनिक मौसम मापन प्रणाली हो ।

त्यसबाहेक नेपालका विभिन्न ठाउँमा रहेका मौसम मापन केन्द्रले प्रदान गर्ने सूचनालाई पनि आधार बनाइन्छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पूर्व ताप्लेजुङदेखि पश्चिमको डडेलधुरासम्म १५ वटा मौसम मापन केन्द्र छन् । मौसम मापन केन्द्र ‘म्यानुअल’ हुन् । ती केन्द्र वरपरको हावाको दिशा, बादलको प्रकार, घामको अवस्था, मानिसले नै मापन गरेर हरेक तीन घण्टामा काठमाडौंमा जानकारी पठाउँछन् ।

त्यसैगरी विभिन्न ठाउँमा ७० वटा स्वचालित मौसम केन्द्र स्थापना गरिएको छ भने अरू १८ वटा स्थापनाको प्रक्रियामा छन् । स्वचालित केन्द्रमा जडान गरिएको सेन्सरले त्यस वरपरको मौसमी अवस्थाको सूचना स्वतः उपलब्ध गराउँछ । वरिष्ठ मौसमविद् पौडेल भन्छन्, “भू–उपग्रह, स्वचालित तथा म्यानुअल मौसमी केन्द्रबाट प्राप्त हुने तथ्यहरूको विश्लेषण गरेर मौसम पूर्वानुमान गरिन्छ ।”

त्यसबाहेक एक वर्षअघि सुर्खेतमा हुरी, बतास र चट्याङबारे जानकारी दिने मौसमी राडार स्थापना गरिएको छ । यस्ता राडार पाल्पा र उदयपुरमा पनि स्थापना गर्ने तयारी विभागको छ । सुर्खेतको राडारले कर्णाली र सुदूरपश्चिमलाई मात्र समेट्छ । पाल्पा र उदयपुरमा राडार स्थापना गरेपछि देशभरको हुरी, बतास र चट्याङको तत्कालैको अवस्था पूर्वानुमान गर्न सकिने पौडेल बताउँछन् ।

त्यसैगरी काठमाडौं बाहिर सुर्खेत, पोखरा, काठमाडौं, धरान, विराटनगर, ओखलढुङ्गा र सिमरा लगायत ९ ठाउँमा चट्याङ ‘सेन्सर’ र काठमाडौंसहित दिपायल, जुम्ला, सुर्खेत ६ ठाउँमा मौसमी क्यामरा जडान गरिएको छ । सेन्सर र क्यामेराले तत्कालै परेको चट्याङको अवस्था, दिशा र गति तथा भइरहेको वर्षाबारे सञ्जालमा सूचना पठाउँछन् ।

मौसम पूर्वानुमान पछिल्लो समय कसरी मिल्न थाल्यो त ? जल तथा मौसम विज्ञान विभागकी वरिष्ठ मौसमविद् इन्दिरा कँडेलका अनुसार, मौसमी केन्द्रले सम्बन्धित ठाउँको तापक्रम, हावाको दिशा, आद्रता, वर्षाको बारेमा जानकारी गराउँछ । स्वचालित मौसमी केन्द्रले उपलब्ध गराउने तापक्रम, हावाको दिशा, आद्रता र वर्षाको अवस्था काठमाडौंमै बसेर हेर्न सकिन्छ । त्यसबाहेक १० मिनेट र आधा घण्टामा भू-उपग्रह मार्फत प्राप्त हुने तस्वीरले बादलको अवस्था, गतिको बारेमा जानकारी दिन्छ ।

प्राप्त तथ्यलाई शक्तिशाली कम्प्युटरको प्रयोग गरी गणितीय मौसम पूर्वानुमान प्रविधिमा आधारित रहेर मौसम पूर्वानुमान गरिन्छ । कँडेल भन्छिन्, “प्रविधिले बादललाई ट्र्याक गर्न सजिलो बनाएको छ । तीन घण्टा अघि एक ठाउँमा देखिएको बादल कता गयो, त्यसको अवस्था कस्तो छ भनेर देखिन्छ।”

मौसमविद् पौडेलका अनुसार स्थानीयस्तरमा विकसित हुने मौसमी प्रणालीले नजिकै पानी पर्ने र घाम लाग्ने हुन्छ । उनी भन्छन्, “डाँडाकाँडा र स्थानीयस्तरमा विकसित हुने मौसमी प्रणालीलाई राडार, भू–उपग्रहले समेट्न सक्दैन । त्यसकारण प्रि–मनसुनमा भने अनुमान नमिल्न पनि सक्छ।”

हेरेकै भरमा पूर्वानुमान !

नेपाल २०२३ सालमा मात्र विश्व मौसम सङ्गठनको सदस्य बनेको हो । मौसम पूर्वानुमान गर्न भने १ पुस २०२५ देखि शुरू गरेको हो । त्यतिवेला प्रविधिको अभावमा आँखाले देखिने मौसमी अवस्थाको अवलोकन गरेर सीमित ज्ञानका आधारमा पूर्वानुमान गरिन्थ्यो । त्यसअघि भारतले नेपालका विभिन्न ठाउँमा जल तथा मौसम केन्द्रहरू स्थापना गरेको थियो । ती केन्द्र मार्फत मौसमी सूचना लिएर भारतले नै नेपाललाई हवाई उडानका लागि मौसमी सूचना दिन्थ्यो ।

नेपालको मौसम प्रणाली विश्लेषण गर्न प्रविधिको प्रयोग हुन थालेको धेरै भएको छैन । फिनल्याण्डको सहयोगमा सन् २०१० देखि शक्तिशाली कम्प्युटरको प्रयोग गरी गणितीय आधारमा मौसम पूर्वानुमान शुरू भएको हो । विकसित मुलुकहरूले सन् १९५० देखि नै प्रयोगमा ल्याएको यस्तो प्रविधि विकासशील देशमा भने सन् १९९० पछि विस्तार भएको थियो ।

त्यसअघि २०४४ सालमा जल तथा मौसम विज्ञान विभागको स्थापना भएपछि मौसमी विवरण लिन विश्व मौसम सङ्गठनको सहयोगमा भू–उपग्रह राखिएको थियो । उक्त भू–उपग्रहले हरेक १२ घण्टामा वायुमण्डलमा रहेको मौसमको तथ्यहरूको श्यामश्वेत प्रिन्ट पठाउँथ्यो ।

भू–उपग्रहले पठाउने श्यामश्वेत तस्वीर र नाङ्गो आँखाले देख्ने वरिपरिको बादलको अवस्थाका आधारमा मौसमविद्हरूले मौसम पूर्वानुमान गर्थे । जसले गर्दा पूर्वानुमान मेल खाने संभावना धेरै न्यून हुन्थ्यो । त्यही कारण रेडियो नेपालले दिने मौसम सम्बन्धी सूचना श्रोताले विश्वास गर्दैनथे ।

जल तथा मौसम विज्ञान विभागकी वरिष्ठ मौसमविद् इन्दिरा कँडेल अहिले भू–उपग्रहले अत्याधुनिक उपकरणबाट वायुमण्डलको ठूलो क्षेत्रको मौसमी अवस्थाको सूचना उपलब्ध गराउने हुनाले पूर्वानुमानमा सजिलो भएको बताउँछिन् ।

उनी भन्छिन्, “हिजो नाङ्गो आँखाले देखिने सीमित क्षेत्रको मौसमी अवस्था हेरेर पूर्वानुमान गरिन्थ्यो । आज प्रविधिको सहायताले संसारका विभिन्न ठाउँमा विकसित भएको मौसमी अवस्थाको सूचना डिजिटल माध्यमबाट लगातार उपलब्ध हुन्छ ।” अत्याधुनिक प्रविधिको प्रयोगकै कारण पूर्वानुमान मेल खान थालेको उनी बताउँछिन्।

प्रतिकृया दिनुहोस