व्यक्तित्व शनिबार, साउन ३, २०७७

पूर्व गोर्खा सैनिकको अनुभव– बेलायतबाट स्वतन्त्र भएपछि भारतीयले साह्रै हेपे

मुकेश पोखरेल

पूर्व गोर्खा सैनिकको अनुभव– बेलायतबाट स्वतन्त्र भएपछि भारतीयले साह्रै हेपे
तस्वीर: मुकेश पाेखरेल

बेलायतले राज गरेको भारतमा गोर्खा सेनामा सामेल भई युद्ध लडेका र भारतको स्वतन्त्रतापछि हेपिएको महसूस गरेर गोर्खा पल्टनमा विद्रोह गरेका नारायणसिंह थापा सकेसम्म भारतीय भूमि टेक्दैनन्।

मूल घर स्याङ्जा भएका सुभानसिंह थापाले नेपाल एकीकरणका बखत बलभद्र कुँवरको नेतृत्वमा पश्चिमको काँगडा किल्लामा अंग्रेज फौजसँग लडेका थिए। सन् १८१६ को सुगौली सन्धि अघि उनले शहादत पाए।

बेलायती साम्राज्यवाद विरुद्ध नेपालका लागि लडेका सुभानसिंहका छोरा र नाति भने पहिलो र दोस्रो विश्वयुद्धमा बेलायतका तर्फबाट लडे। सुभानसिंहका उनै नाति पूर्व गोर्खा सैनिक नारायणसिंह थापा (९३) भैरहवामा बस्छन्।

थापाको सक्रिय जीवन र स्मरणशक्ति उनको उमेरको तुलनामा धेरै कान्छो लाग्छ। उनीसँग युद्धका रोचक सम्झना मात्र छैनन्, लडाइँ लडेको भूमिमा भोग्नुपरेको हेपाइसम्मका अनुभूति अटेसमटेस छन्।

बेलायती साम्राज्यवाद विरुद्ध नेपालका लागि लडेका सुभानसिंहका छोरा र नाति भने पहिलो र दोस्रो विश्वयुद्धमा बेलायतका तर्फबाट लडे। सुभानसिंहका उनै नाति पूर्व गोर्खा सैनिक नारायणसिंह थापा (९३) भैरहवामा बस्छन्।

रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–८ शान्तिनगरस्थित निवासमा उनी खूब चाख दिएर राष्ट्रिय अखबारहरू पल्टाइरहेका हुन्छन्। दैनिक पत्रिका पढेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घटनाक्रममा आफूलाई अद्यावधिक राख्छन्।

नारायणसिंहका अनुसार, हजुरबुवा मारिएको केही समयपछि नै नेपाल सरकार र बेलायतको इष्ट इण्डिया कम्पनी सरकारबीच सुगौली सन्धि भयो। लडाइँ रोकिएपछि अंग्रेजका तर्फबाट गल्ला आएर नारायणसिंहका बुवा करवीरसिंहलाई स्याङ्जाबाट देहरादुन लगे। अंग्रेज फौजमा भर्ना भएका करवीर प्रथम विश्वयुद्धमा बेलायतका तर्फबाट लडे।

नारायणसिंहको जन्म र हुर्काइ भारतमै भयो। पारिवारिक विरासत पछ्याउँदै उनी सन् १९४२ मा बेलायती गोर्खा सेनामा भर्ती भए। ६ महीनाको तालिमपछि जापान विरुद्ध लड्न बर्मा पुगे।

जापानी सेनाको घेरामा तीन दिन

एशियामा एकछत्र शासन जमाएको बेलायतलाई जापानले चुनौती दिन थालेको थियो। चीनलाई आफ्नो कब्जामा राखेको जापान बर्मा हुँदै भारततर्फ अघि बढेको थियो। थापाका अनुसार, जापानी सेना आसामसम्म आएका थिए।

उनी सम्झन्छन्, “आसामसम्म हामीलाई जहाजमा लगियो, जापानी सेनासँग लड्दै हामी सन् १९४३ मा बर्मा पुग्यौं।”

उनको अनुभवमा, रासन र गोलीगट्ठा आपूर्तिमा जापानी सेनालाई परेको अप्ठ्यारो र भौगोलिक प्रतिकूलताकै कारण बेलायती सेनाले उनीहरूलाई आसामबाट पछि हट्न बाध्य पार्दै बर्मातर्फ लैजान सफल भएको हो।

लडाइँमा खाने, लगाउने र बस्ने कुनै टुङ्गो हुँदैनथ्यो। आकाशबाट वेलावेला जहाजले खानाका पोका खसाल्थ्यो, त्यसैबाट उनीहरू निर्वाह गर्थे। “कपडा फेर्ने भन्ने पनि हुँदैनथ्यो, जहाजले खसालेपछि लगाइन्थ्यो”, थापा भन्छन्।

नारायणसिंह थापा।

बेलायतका तर्फबाट युद्ध लडेका थापा जापानी सेनाको कुशलताको प्रशंसा गर्छन्। एकदिन बेलायती सेनाको एउटा ट्याङ्कर जाँदैथियो। रूखमा लुकेर बसेका जापानी सैनिकहरूले ट्याङ्करलाई ताकेर गोली हाने। “जापानी सेनाको निशाना फरक खाँदैनथ्यो, ट्याङ्करको चालक पक्लक्कै ढलेका थिए”, उनी भन्छन्।

लडाइँमा खाने, लगाउने र बस्ने कुनै टुङ्गो हुँदैनथ्यो। आकाशबाट वेलावेला जहाजले खानाका पोका खसाल्थ्यो, त्यसैबाट उनीहरू निर्वाह गर्थे। “कपडा फेर्ने भन्ने पनि हुँदैनथ्यो, जहाजले खसालेपछि लगाइन्थ्यो।”

युद्ध जंगलमा हुन्थ्यो, एकले अर्कोलाई देख्दैनथे। दुवै तर्फबाट अनुमानकै भरमा गोलाबारी हुन्थ्यो।

एक पटक उनको पल्टन तीन दिनसम्म जापानी सेनाको घेरामा पर्‍यो। त्यसवेला बेलायती सैनिकहरू भोकभोकै परे। जंगलमा जहाजले संकेतका आधारमा खाना फाल्थ्यो। बेलायती सेनाका जवानहरूले संकेतका लागि आगो बालेर धुवाँको मुस्लो त निकाल्थे, तर हावाले धुवाँ जापानी सेना भएतिर पुर्‍याउँथ्यो र खानाको पोका पनि त्यतै खस्थ्यो।

“गोली वर्षिने डरले जहाजले माथिबाट सामान फाल्थ्यो, त्यसको फाइदा जापानीले उठाए”, उनी भन्छन्।

थापाका अनुसार, जापानी सेनासँग दुई वर्षसम्म चलेको युद्धमा दुवैतर्फ ठूलो हताहती भएन। सन् १९४५ मा जापानको हिरोसिमा र नागासाकीमा अमेरिकाले एटम बम खसालेपछि जापानीहरू पछि हटे र युद्ध रोकियो।

युद्ध रोकिए पनि बेलायती फौज सन् १९४८ सम्म बर्मामै बस्यो।

भारतको भूमि नै नटेक्ने कसम !

नारायणसिंहका लागि पैतृक थलो नेपाल जति आत्मीय थियो, जन्मे–हुर्केको र कर्मथलो समेत रहेको भारत पनि प्यारो लाग्थ्यो। तर, उनको त्यो भावना भारतीय फौजमा रहेकै समयमा मर्न पुग्यो।

सन् १९४७ मा बेलायतको शासनबाट भारत स्वतन्त्र भएपछि गोर्खा सेनालाई बेलायतले तीन वटा प्रस्ताव राखेको थियो– नेपाल फर्कने, भारतीय सेनामा समायोजन हुने वा बेलायत जाने। थापाले भारतप्रतिको मायाले भारतीय सेनामै रहने विकल्प रोजे।

तर, भारतीय सेनामा रहेका गोर्खा सैनिकहरूमाथि भारतीयले फरक व्यवहार गर्न थाले। त्यसका कारण सेनामा वेलावेला विद्रोहको प्रयास समेत भएको थापा बताउँछन्। “बरु ब्रिटिशहरूले हामीलाई सम्मान गर्थे, भारतीयहरूले त गुलाम नै सम्झे”, उनले सुनाए।

सन् १९४७ मा बेलायतको शासनबाट भारत स्वतन्त्र भएपछि गोर्खा सेनालाई बेलायतले तीन वटा प्रस्ताव राखेको थियो– नेपाल फर्कने, भारतीय सेनामा समायोजन हुने वा बेलायत जाने। थापाले भारतप्रतिको मायाले भारतीय सेनामै रहने विकल्प रोजे।

थापा कडा मिजासका थिए। पल्टनमा पनि स्वाभिमानलाई उपल्लो स्थानमा राख्थे। उनी एक जना कर्णेलसँग घम्साघम्सी परेको प्रसंग सम्झन्छन्।

एक पटक थापाले पल्टनमा आफूभन्दा जुनियरहरूलाई पढाउँदै थिए। त्यसै वेला पल्टनकै कर्णेल त्यहाँ आइपुगे। उनका अनुसार, ती कर्णेललाई धेरै पढेकोमा घमण्ड थियो। त्यो सेखी झार्न उनी कर्णेललाई हत्तपत्त गन्दैनथे। “कर्णेल त्यहाँ आएर मेरो सलाम खोजेको थियो, तर मैले नदेखे झैं गरिदिएँ”, उनी भन्छन्।

थापाका अनुसार, कर्णेललाई बीए पास गरेको घमण्ड थियो। कुरै कुरामा कर्णेलले ‘बीए पास गरेको छु’ भने। उनले जवाफ फर्काए– ‘बीए पास गरेर त कर्णेल भयौ, म नगरेर लेसनायक भएँ।’ त्यसपछि कर्णेलसँग विवाद बढ्न थाल्यो।

सिंह थरका कर्णेल एकदिन थापालाई पिट्न लट्ठी बोकेर आए। उनले लट्ठी खोसेर भाँचिदिए। त्यसपछि त के चाहियो, अर्को दिन कर्णेलले उनको हर्कतप्रति आपत्ति जनाउँदै पेशी तोक्यो। थापा पनि के कम, कर्णेलले तोकेको पेशीमा जाँदा कम्मरमा खुकुरी बोकेर गए। “मेरो उद्देश्य खुकुरीले काट्ने थिएन, तर्साउन त्यसो गरेको थिएँ”, उनी आफ्नो पट्ठो उमेरको खरोपन सम्झँदै भन्छन्, “कर्णेलले बढी गरे मलाई २८ दिनसम्म थुन्न सक्थ्यो, थुने थुनोस् भनेर निडर भएर गएको थिएँ।”

“मेरो उद्देश्य खुकुरीले काट्ने थिएन, तर्साउन त्यसो गरेको थिएँ”, उनी आफ्नो पट्ठो उमेरको खरोपन सम्झँदै भन्छन्, “कर्णेलले बढी गरे मलाई २८ दिनसम्म थुन्न सक्थ्यो, थुने थुनोस् भनेर निडर भएर गएको थिएँ।”

पल्टनका मेजरसहित अन्य अधिकृत थापाको पक्षमा भएका कारण पेशीका दिन त उनले त्यहाँबाट छुटकारा पाए। पल्टनमा भने कर्णेल विरुद्धको विद्रोह झन् उग्र बन्दै गयो। उनी विद्रोहमा सामेल हुन्थे। त्यही बहानामा उनीसहित तीन जनालाई गिरफ्तार गराइयो। पेन्सन हुने समयभन्दा तीन वर्ष अगावै उनी सेवाबाट निकालिए। त्यसपछि त भारतप्रति उनको वितृष्णा झन् चुलियो।

ती घटनादेखि विरक्तिएर उनी आइन्दा भारतको भूमिमा पाइला नराख्ने गरी नेपाल पसे। “भारत नै टेक्दिनँ भनेर कसम खाएको हुँ, तर त्यो चल्दो रहेनछ”, उनी भन्छन्। काम–व्यवहार परेर आफ्नो कसम वेलावेला तोडे पनि त्यहाँ भोग्नुपरेको हेपाइ र दुव्र्यवहार सम्झँदा भारतप्रति उनको तिक्तता कायमै छ।

थापा भन्छन्, “भारतले अपमान गरेकै कारण त्यस विरुद्ध लड्न यो मधेशमा आएर बसेको हुँ।”

प्रतिकृया दिनुहोस