रिपोर्ट शनिबार, साउन ३, २०७७

७० जिल्लामा मिचाहा वनस्पतिको प्रकोप

मुकेश पोखरेल

७० जिल्लामा मिचाहा वनस्पतिको प्रकोप
तस्वीरहरुः वनस्‍पति विभाग

वनमारा, गन्धे झार, जलकुम्भीजस्ता मिचाहा वनस्पतिको फैलावटका कारण वन्यजन्तुको आहार विनाश मात्र होइन, बालीनालीको उत्पादकत्व समेत घटाइरहेको छ ।

नेपालका ७० भन्दा बढी जिल्लामा मिचाहा प्रजातिका वनस्पतिको प्रकोप देखिएको छ।

वनस्पति विभागले हालै सार्वजनिक गरेको ‘नेपालमा फैलिएका वाह्य मिचाहा प्रजाति’ पुस्तकका अनुसार, नेपालमा हालसम्म १५ वानस्पतिक परिवार अन्तर्गत २४ जाति र २६ प्रजातिका मिचाहा वनस्पति पाइएका छन्।

आलस खेतमा भेडेकुरो ।

मिचाहा प्रजातिमा सबैभन्दा बढी एस्टरेसीआई परिवार अन्तर्गत कालो वनमारा, सेतो वनमारा, लहरे वनमारा, सेतो गन्धे झार, नीलो गन्धे झार, कालो करो, फूली झार, भेंडेकरो, पातीझार लगायतका प्रजाति पर्दछन् । जसमध्ये सेतो वनमारा २३, जलकुम्भी १५, वनफाँडा ३४, लहरे वनमारा १२ र सेतो गन्धेझार ५२ जिल्लामा फैलिइसकेका छन्।

वनस्पति विभाग अन्तर्गतको जैविक विविधता तथा साइटिस शाखाकी प्रमुख मधुदेवी घिमिरेका अनुसार मिचाहा वनस्पतिहरु एकवर्षीय र बहुवर्षीय छन् । उनको भनाइमा, मिचाहा प्रजातिका वनस्पतिहरु रैथाने वनस्पति भन्दा छिटो वृद्धि र परिपक्व हुन्छन्। जरा, काण्ड, पात बीउ आदिबाट सजिलै उत्पादन र पुनः उत्पादन हुनसक्छ।

कृषि वन क्षेत्रमा कालो वनमारा।

“यी मिचाहा प्रजातिहरुको रोग प्रतिरोधात्मक क्षमता बढी हुने भएकाले प्रतिकूल हावापानीमा पनि छिटो फैलन सक्छन्” घिमिरे भन्छिन्, “यस्ता प्रजातिको विकास र वृद्धि वनस्पति खाली क्षेत्र, खोला तथा नदी किनारमा बढी हुन्छ।”

धेरै मिचाहा प्रजातिको उद्गमस्थल दक्षिण अमेरिका रहेको पाइन्छ । अमेरिकाको रैथाने मिचाहा करौंते घाँस नेपालमा पहिलोपटक सन् १८२० मा पाइएको थियो । त्यसको पाँच वर्षपछि मेक्सिकोको सेतो वनमारा पनि देखियो।

विश्वव्यापीकरण, तीव्र औद्योगिकीकरण र बढ्दो जनसंख्याको चापलाई सन्तुलनमा राख्न छिटो बढ्ने वनस्पति आयात गर्ने क्रममा यी मिचाहा प्रजाति एक देशबाट अर्को देशमा भित्रिएका हुन्।

चौतर्फी असर

वाह्य मिचाहा वनस्पति जैविक विविधता तथा पारिस्थितिकीय प्रणालीका लागि ठूलो खतरा बनेका छन्।

उखु बालीमा लहरे वनमारा ।

वनस्पतिविद् डा. तीर्थबहादुर श्रेष्ठ मिचाहा वनस्पतिले प्रकृतिको पारिस्थितिकीय प्रणालीमा अवरोध पुर्‍याउनुका साथै वन्यजन्तुको आहारा विनाश पनि गरिरहेको बताउँछन् । “हामीले जैविक विविधता संरक्षण गरिरहेको निकुञ्ज क्षेत्रमै मिचाहा प्रजातिको प्रकोप बढिरहेको छ”, उनी भन्छन्।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक डा. रामचन्द्र कँडेलका अनुसार, वाह्य मिचाहा प्रजातिले चितवन र बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रको घाँसे मैदान क्षेत्रमा ठूलो असर गरिरहेको छ।

मकै र तोरी बारीमा नीलो गन्धे झार।

विभागले गएको वर्ष तराईका राष्ट्रिय निकुञ्जहरुमा रहेका २ हजार हेक्टर क्षेत्रफलको घाँसे मैदान व्यवस्थापन र झाडी सरसफाइ गरेको थियो । जसमध्ये चितवनमा ७५० हेक्टर र बर्दियामा ३ सय हेक्टरमा सफाइ गरिएको थियो।

“वनमाराका लहराले वन्यजन्तुको चरण क्षेत्र ढाक्दा वन्यजन्तु आवतजावत र बसोबास क्षेत्र साँघुरिंदै गएको छ । त्यसैले पनि विभागले वेलावेला सरसफाइ गर्नुपरेको छ”, कँडेल भन्छन्।

मकै बालीमा जल जम्बु ।

मिचाहा प्रजातिले वन क्षेत्र मात्र नभई कृषि र मानिसको स्वास्थ्यमा पनि प्रत्यक्ष असर पुर्‍याइरहेको छ । ठूलो चरिअमिलो, कालो वनमारा, कुरो, भेंडे कुरो, नीलो गन्धे लगायतका मिचाहा प्रजातिले उत्पादकत्व घटाउन थालिसकेका छन्।

चाँडै बढ्ने, फैलने यस्ता वनस्पतिले बालीका लागि आवश्यक प्रकाश र तापक्रम सोस्न अवरोध पुर्‍याउनुका साथै पानीको स्रोतलाई समेत सुकाउने गर्दछ।

प्रतिकृया दिनुहोस