रिपोर्ट बुधबार, असार ३१, २०७७

के प्रधानमन्त्री भारतलाई चिढ्याउन चाहन्छन् ?

सइन्द्र राई

के प्रधानमन्त्री भारतलाई चिढ्याउन चाहन्छन् ?

प्रधानमन्त्री केपी शर्मा ओलीले हिन्दू पौराणिक ग्रन्थ रामायणमा वर्णन गरिएको रामको जन्मभूमिबारे दिएको विवादास्पद अभिव्यक्तिबारे प्रष्टोक्ति दिंदै परराष्ट्र मन्त्रालयले ३० असारमा वक्तव्य जारी गर्‍यो। वक्तव्यमा ‘प्रधानमन्त्रीको अभिव्यक्ति राजनीतिक नभएको’ प्रष्टीकरण दिइएको छ।

एक दिन पहिले प्रधानमन्त्री ओलीले दिएको अभिव्यक्ति सच्याउँदै भारतको विहारमा रहेको अयोध्या नै वास्तविक भएको परराष्ट्रको वक्तव्यमा उल्लेख छ। त्यसका लागि परराष्ट्र मन्त्रालयले सन् २०१८ मा रामायण सर्किट उद्घाटन गरिएको, दुवै मुलुकका प्रधानमन्त्री उपस्थित भएर रामजानकी विवाह उत्सव मनाएको र अयोध्या–जनकपुर बस सेवा सञ्चालन गरिएको तथ्य समेत अगाडि सारेको छ। वक्तव्यमा त्यही नै शब्द उल्लेख नभए पनि परराष्ट्रले अप्रत्यक्ष रूपमा प्रधानमन्त्री ओलीले बोलेका कुरामा सांकेतिक क्षमायाचना गरेको छ।

यसबाट प्रश्न उठ्छ, आखिर किन यस्तो बोले प्रधानमन्त्री ओलीले? धर्मनिरपेक्ष भारतका करोडौं हिन्दूको आस्थामा चोट पुर्‍याउने गरी त्यसरी बोल्नुको उद्देश्य के हो?

परराष्ट्र मामिलाका जानकार दिनेश भट्टराई प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति र परराष्ट्रको प्रष्टोक्ति दुवैले मुलुकको विश्वसनीयतामाथि गम्भीर प्रश्न उठेको बताउँछन्। भट्टराई भन्छन्, “मुलुकको प्रमुख कार्यकारीकै अभिव्यक्ति राजनीतिक नहुने हो भने देशको तर्फबाट कसको बोलीलाई राजनीतिक र आधिकारिक मान्ने?”

उनी कूटनीतिमा प्रमुख कार्यकारीको अभिव्यक्ति अन्तिम र निर्णायक हुने बताउँछन्।

भारतमा नेपाली राजदूत भएर काम गरिसकेका दीपकुमार उपाध्याय पनि प्रधानमन्त्रीको अभिव्यक्तिले देशकै प्रतिष्ठामा आँच पुगेको बताउँछन्। “दुनियाँमा नेपालका प्रधानमन्त्री तथ्य विना जे पनि बोल्छन् भन्ने सन्देश गयो। यसबाट नेपालप्रतिको कूटनीतिक विश्वसनीयतामाथि नै शंका पैदा हुनसक्छ”, उपाध्याय भन्छन्।

आदिकवि भानुभक्तको जन्मजयन्तीका अवसरमा २९ असारमा बालुवाटारस्थित आफ्नै निवासमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले ‘नेपालकी जानकीसँग विवाह गर्ने रामको जन्म भारतको अयोध्यामा नभएर नेपालकै पर्सास्थित ठोरीमा भएको’ बताएका थिए। प्रधानमन्त्री ओलीले नेपाली इतिहास वर्णन गर्ने क्रममा अयोध्या नेपालमै रहेको र भारतमा रहेको अयोध्या नक्कली भएको मात्र बताएनन्, भारतले ‘सांस्कृतिक हस्तक्षेप’ गरेको आरोप समेत लगाएका थिए।

उनको यस्तो अभिव्यक्ति लगत्तै भारतको सत्तारुढ दल, भारतीय जनता पार्टी (भाजपा) ले वक्तव्य मार्फत आपत्ति जनायो। उसले दुवै देशका हिन्दूहरूको आस्था जोडिएका रामको जन्मबारे कहिल्यै प्रश्न नउठेको, बरु दुवै देशलाई जोड्ने काम गरेको तथ्य अघि सार्दै प्रधानमन्त्री ओलीको अभिव्यक्तिको विरोध गर्‍यो।

नेपालमै पनि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)कै नेता, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, परराष्ट्र मामिलाका जानकारहरू र पूर्व परराष्ट्रमन्त्रीहरूले समेत आपत्ति जनाए। नेकपा उपाध्यक्ष वामदेव गौतमले त प्रधानमन्त्री ओलीले आत्मालोचना सहित वक्तव्य फिर्ता लिनुपर्ने माग नै गरे।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आज विज्ञप्ति प्रकाशन गरी प्रधानमन्त्री असंवेदनशील भएको बताएको छ। विज्ञप्तिमा भनिएको छ– ‘नक्शा अनुरूपको जमीनमा हक स्थापित गर्न गम्भीर कूटनीतिक पहलकदमी भन्दा अयोध्याबारे विवादास्पद मत व्यक्त गर्नुको अर्थ विषयको गम्भीरताप्रति प्रधानमन्त्री गम्भीर हुनुहुन्न भन्ने पुष्टि त भएको छ नै, अपरिपक्व टिप्पणी मार्फत उहाँले संवेदनशील विषयमा असंवेदनशील व्यवहार प्रस्तुत गर्नुभएको छ।’

“प्रधानमन्त्रीको अभिव्यक्तिले दुई देशका सरकारबीचको तिक्ततापूर्ण सम्बन्धलाई जनताको तहमा पुर्‍याइदिएको छ”, नेकपा विदेश विभागका उपप्रमुख राम कार्की भन्छन्। उनी धार्मिक मिथकबारे प्रधानमन्त्रीको हैसियतमा यस्तो अभिव्यक्ति दिनुलाई अनुचित मान्छन्। कार्की भन्छन्, “हिजोसम्म हामीसँग भारतको सरकार उत्तेजित थियो, तर यो अभिव्यक्तिले जनताको तहमा समेत आक्रोश बढाउन सक्छ।”

तेस्रो पटक ओलीको खेलाँची

२०७२ सालमा भारतले नेपालमाथि गरेको अमानवीय नाकाबन्दी विरुद्ध लिएको अडानले प्रधानमन्त्री ओलीको ‘राष्ट्रवादी नेता’को छवि निर्माण गरेको थियो। त्यसयता उनका कतिपय कदम ‘राष्ट्रवादी’ देखिने चाहनाबाट प्रभावित देखिंदै आए। यसबाहेक आफूलाई अप्ठेरो पर्दा उनले ‘राष्ट्रवाद’कै सहारा लिन थाले। त्यसका लागि सार्वजनिक रूपमा चर्को स्वरले भारतको विरोध गर्न शुरू गरे। यहाँसम्म कि पछिल्लो पटक त उनले आफूलाई भारतले प्रधानमन्त्रीबाट हटाउन खोजेको विवादास्पद अभिव्यक्ति पनि दिए।

प्रधानमन्त्री ओलीले यस्ता अभिव्यक्ति मार्फत आफूलाई निकै हलुका बनाएको टिप्पणी भए पनि धेरैले आफ्नो राजनीतिक लाभका निम्ति उनले दिने गरेका यस्ता अभिव्यक्तिलाई खास महत्व दिने गरेका थिएनन्। तर, यसबाट हौसिएका प्रधानमन्त्री ओलीले भारतको विरोध गर्ने नाममा भारतीय जनताको आस्थामाथि चोट पुग्ने कुरा गर्न थाले।

त्यसको शुरूआत उनले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने क्रममा संसद्बाट गरे। गएको ६ जेठमा संसदमा बोल्दै ओलीले भारतको नामै लिएर ‘सत्यमेव जयते कि सिंहमेव जयते?’ भन्ने प्रश्न गरेका थिए। भारत सरकार र प्रधानमन्त्री नरेन्द्र मोदीप्रति कटाक्षका निम्ति उनले यस्तो बोले पनि त्यसले भारतीय जनताको आस्थामा प्रहार गर्छ भन्ने प्रधानमन्त्री ओलीले हेक्का नै राखेनन्।

पूर्वराजदूत दिनेश भट्टराई देशको प्रधानमन्त्री नै भारतीय जनतालाई निरन्तर चिढ्याउनतिर लाग्नु देशकै लागि राम्रो नहुने बताउँछन्। “सत्यमेव जयतेबारे उट्पट्याङ बोल्नुभो। फेरि, महामारी जस्तो संवेदनशील विषयमा भारतलाई जोड्नुभो। अहिले अयोध्या र रामबारे झन् आपत्तिजनक बोल्नुभो”, भट्टराईले भने, “आफूलाई कडा राष्ट्रवादी देखाउने प्रधानमन्त्रीमा सवार भूतले देशलाई राम्रो गर्दैन।”

त्यति मात्र होइन, संसद्बाटै उनले भारतीयलाई चिढ्याउने अर्को अभिव्यक्ति दिए। नेपाल र भारत दुवै कोरोनाभाइरस संक्रमणको महामारीसँग जुधिरहेका वेला प्रधानमन्त्री ओलीले चीनमा देखिएको कोरोनाभाइरस भन्दा भारतबाट आएको भाइरस कडा भएको टिप्पणी गरे। ‘भारतबाट आएको भाइरस कडा खालको छ। दुबई, इटली, चीनको वुहानबाट आएका भाइरस कमजोर खालका थिए’, प्रधानमन्त्रीको भनाइ थियो।

कोरोनाभाइरसबारे दिएको यस्तो अभिव्यक्तिको भारतका सञ्चारमाध्यमहरूले चर्को आलोचना गरे।

तर, प्रधानमन्त्री ओलीले यसको परवाह गरेनन्। बरु २९ असारमा उनले राम र अयोध्याबारे झन् विवादास्पद अभिव्यक्ति दिए, जसबाट निम्तिने असर र प्रभावको हेक्का राखेर परराष्ट्र मन्त्रालयले तत्काल वक्तव्य जारी गर्नुपर्‍यो।

प्रधानमन्त्री ओलीले भारतको सरकार मात्र होइन, जनस्तरलाई समेत चिढ्याउने यस्ता अभिव्यक्ति त्यसवेला दिएका छन् जतिवेला नेपालले नयाँ नक्शा जारी गरेपछि नेपाल–भारतबीचको सम्बन्ध नै चिसिन पुगेको छ। भारतले नेपाली भूभाग लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई समेटेर आफ्नो राजनीतिक नक्सा जारी गरेपछि नेपालले औपचारिक रूपमै आपत्ति प्रकट गरेको थियो।

त्यसपछि भारतले लिपुलेक हुँदै तिब्बतको मानसरोवर पुग्ने सडक निर्माण गरेर उद्घाटन गरेपछि नेपालले पनि भारतद्वारा अतिक्रमित लिम्पियाधुरासहितको भूभाग समेटेर नयाँ पूर्ण नक्सा जारी गर्यो र त्यसलाई संविधानकै अंग बनायो। यीनै घटनाक्रमले चिसोपन बढेको द्विपक्षीय सम्बन्धको संवेदनशीलतालाई बुझेर यो चिसोपन कम गर्न सुझबुझ देखाउनुपर्ने वेला प्रधानमन्त्री ओली दुई देशबीचको जनस्तरकै सम्बन्ध समेत खल्बल्याउन उद्यत भएका छन्। यस्तो किन त?

सत्तारुढ नेकपाकै नेताहरू प्रधानमन्त्री ओलीका अभिव्यक्तिले मुलुकको विश्वसनीयतामाथि नै प्रश्न उठेको बताउँछन्। यसबारे प्रतिक्रिया दिने अवस्था समेत नरहेको टिप्पणी गर्दै नेकपा स्थायी कमिटी सदस्य बेदुराम भुसालले भने, “प्रधानमन्त्रीले यस्तो विषय उठाइदिनुभयो, जसले मुलुक, पार्टी र प्रधानमन्त्रीलाई समेत ठूलो क्षति पुग्यो।”

आफू मात्रै राष्ट्रवादी भएको देखाउने होडमा प्रधानमन्त्रीले गम्भीर गल्ती गरेको बताउँदै उनले भने, “अहिलेको अजेण्डा भारतसँग वार्ता हो। हामीले नक्शा जारी गरिसकेका छौं। अब कूटनीतिक पहल मार्फत भूमि फिर्ता ल्याउने हो।”

परराष्ट्र मामिलाका जानकार एवं पूर्वराजदूत भट्टराई देशको प्रधानमन्त्री नै भारतीय जनतालाई निरन्तर चिढ्याउनतिर लाग्नु देशकै लागि राम्रो नहुने बताउँछन्। “सत्यमेव जयतेबारे उट्पट्याङ बोल्नुभो। फेरि, महामारी जस्तो संवेदनशील विषयमा भारतलाई जोड्नुभो। अहिले अयोध्या र रामबारे झन् आपत्तिजनक बोल्नुभो”, भट्टराईले भने, “आफूलाई कडा राष्ट्रवादी देखाउने प्रधानमन्त्रीमा सवार भूतले देशलाई राम्रो गर्दैन।”

पूर्व राजदूत उपाध्याय त प्रधानमन्त्रीको अभिव्यक्ति र कार्यशैलीले सीमा नाघेको र अब यसबारे नेकपाले निर्णय गर्ने बेला आएको बताउँछन्।

 

प्रतिकृया दिनुहोस