टिप्पणी विहीबार, साउन १, २०७७

मेरो १० वर्षे नाति- आफ्नो थाल आफैं माझ्छ, सुक्खा फोहोर छुट्याएर राख्छ !

मधु राई

मेरो १० वर्षे नाति- आफ्नो थाल आफैं माझ्छ, सुक्खा फोहोर छुट्याएर राख्छ !

घरायसी कामले लैङ्गिक विभेद हटाउन पनि धेरथोर मद्दत गर्छ। स्कूले शिक्षामा लैङ्गिकता सम्बन्धी आधारभूत ज्ञान हासिल गरेका बालबालिका विशेषगरी छोराहरूले छोरी पनि समान हुन् भनेर बुझ्छन्। सोही अनुरूप व्यवहार गर्न सिक्छन्। छोरीहरू पनि छोरासरह हुर्कने वातावरण तयार हुन्छ।

मधु राई

बन्दाबन्दी शुरू भए यता ४ कक्षामा पढ्ने १० वर्षीय नातिको दैनिकी पनि फेरिएको छ। बिहान उठेर खाजा खाएपछि उसले अघिल्लो दिनको दैनिकी लेख्नुपर्छ। घरमा श्रीमानबाहेक हामी सबै दैनिकी लेख्छौं।

उसलाई शुरूमा नेपाली भाषा सुध्रन्छ भनेर लेख्न फकाउनु परेको थियो। अहिले आफैं लेख्छ। त्यसबाहेक आइतबारदेखि शुक्रबारसम्म बिहान साढे ९ देखि साढे १२ बजेसम्म अनलाइन कक्षामा बस्छ। दिउँसो एकछिन टिभी हेरे पनि छिमेकी साथीहरूसँग खेल्ने गर्छ। यसले उसलाई सामाजिकीकरणको सीप सिकाउँदैछ।

बिहान होस् कि बेलुकी ऊ आफूले खाएको थाल आफैं धुने गर्छ। शनिबार बिहान र बेलुकी घरधन्दा गर्न भान्सामा सघाउँछ। त्यति मात्र हैन वेलावेला अम्लेट बनाउँछ, दिउँसो भात भुटेर खाने गर्छ। शनिबार घरधन्दा सकेर कहिलेकाहीं सुक्खा फोहोर छुट्याउने गर्छ भने बेलुकीपख बिरुवामा पानी हाल्छ।

वास्तवमा औपचारिक शिक्षा ग्रहण गर्ने पहिलो थलो विद्यालय हो। तर, जीवनोपयोगी सीप सिक्ने पहिलो थलो घर हो र अभिभावक सहजकर्ता। 

ठूलाहरूले गरेको काम देखेर सानाहरू आफैं अग्रसर हुने गर्छन्। त्यति मात्र हैन जीवनोपयोगी सीपले बालबालिकामा मानवीय गुणको विकास गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्छ भन्ने विभिन्न अनुसन्धानले देखाएका छन्। यस्ता मानवीय गुणको विकास गर्न अभिभावक स्वयंमा यस्तो गुण हुन आवश्यक छ।

घरायसी कामले लैङ्गिक विभेद हटाउन धेरथोर मद्दत गर्छ । स्कूले शिक्षामा लैङ्गिकता सम्बन्धी आधारभूत ज्ञान हासिल गरेका बालबालिका विशेषगरी छोराहरूले छोरी पनि समान हुन् भनेर बुझ्छन् । सोही अनुरूप व्यवहार गर्न सिक्छन् ।

यस्तै बालबालिकाले ग्रहण गर्ने स्कूले शिक्षासँगै मानवीय गुण जस्तै दयालु, सहयोगी र भावुक बनाउन पनि जरूरी छ भनेर बालमनोवैज्ञानिक तथा शिक्षाका सरोकारहरूले बताउने गरेका छन्। विद्यालयभन्दा घरपरिवारमा बालबालिकाहरूले जीवनोपयोगी सीपसँगै यस्ता मानवीय गुण ठूलाले गर्ने व्यवहारबाट सिक्छन्। घरायसी काममा सघाउने बालबालिकाले जीवनोपयोगी धेरै सीप सिक्न सक्छन्।

यो पनि पढ्नुहाेस्: बालबालिकालाई अनलाइन शिक्षाको बोझ

घरायसी कामले बालबालिकालाई स्वाबलम्बनको पाठ पनि सिकाउँछ। त्यसकारण अभिभावकले बालबालिकालाई घरायसी काममा संलग्न गराउन उनीहरूलाई मनपर्ने परिकार बनाएर खुवाउनुपर्छ। र ती परिकार बनाउँदा उनीहरूलाई पनि सहभागी गराउनुपर्छ।

मेरो नातिलाई मोमो धेरै मनपर्छ। उसलाई सिकाउन र ऊसँग समय बिताउन केही सातायता हरेक शनिबार मोमो बनाउन थालेका छौं। उसले रोटी बनाउनुअघि डल्ला बनाइदिने गर्छ।

यसो गर्दा उनीहरूले सानै उमेरमा मोमो कसरी पाक्दो रहेछ भन्ने आधारभूत ज्ञान हासिल गर्छन्। बालबालिकामा तयारी खाजाप्रतिको आकर्षण पनि घट्छ। उनीहरूले तयारी खाजाभन्दा घरमा बनेको खाजा मीठो र स्वस्थकर हुन्छ भन्ने थाहा पाउँछन्। यसले एकातिर बालबालिकाको स्वास्थ्यमा सकारात्मक असर पर्छ भने अर्कातिर आफ्ना आमाबाबुप्रति गर्व गर्छन्। यसका साथै उनीहरूले प्रत्यक्ष र परोक्षरूपमा आत्मनिर्भरताको पाठ सिक्छन्। छोराछोरी वा नातिनातिनासँग अभिभावकको सम्बन्ध प्रगाढ पनि बन्छ।

घरायसी कामले लैङ्गिक विभेद हटाउन पनि धेरथोर मद्दत गर्छ। स्कूले शिक्षामा लैङ्गिकता सम्बन्धी आधारभूत ज्ञान हासिल गरेका बालबालिका विशेषगरी छोराहरूले छोरी पनि समान हुन् भनेर बुझ्छन्। सोही अनुरूप व्यवहार गर्न सिक्छन्। छोरीहरू पनि छोरासरह हुर्कने वातावरण तयार हुन्छ।

यो पनि पढ्नुहाेस्: बालबालिकालाई अनलाइन शिक्षाको बोझ

गाउँघरमा अझै पनि घरका ठूलालाई सानाले सघाउने चलन भए पनि शहरी क्षेत्रमा कतिपय हुनेखाने घरपरिवारमा छोराछोरी वा नातिनातिनालाई पाहुनासरह हुर्काउने चलन बढ्दैछ। विशेषगरी कतिपय गृहिणी आमा र हजुरआमाले प्राथमिक तह पढ्ने छोराछोरी र नातिनातिनालाई खानासमेत खुवाइदिन्छन्। ‘आफैं त राम्ररी खाँदै खाँदैन खुवाइ दियो भने मात्र खान्छ’ भन्ने आमा र हजुरआमाहरू हाम्रै टोलछिमेकमा छन्।

उमेर अनुसार बालबालिकाले गर्र्न सक्ने काम पनि गर्न नदिएर पाहुना जस्ता हुर्किएका बालबालिकाको जीवनशैली अस्वस्थकर त हुन्छ नै शारीरिक तौल पनि असामान्य रूपले वृद्धि हुन्छ। यसरी तौल बढ्नु भनेको ठूलो हुँदै जाँदा शारीरिक समस्या बढ्नु हो भनेर अभिभावकले बुझ्न जरूरी छ।

घरपरिवारमा आफ्ना अभिभावकबाट परनिर्भरताको पाठ सिक्दै हुर्केका बालबालिकालाई विद्यालयमा पनि जीवनोपयोगी सीप सिक्न प्रेरित गरेको पाइँदैन। यसो हुनुमा शिक्षक मात्र हैन् जीवनोपयोगी सीपबारे चर्चा समेत नगर्ने पाठ्यसामग्री पनि दोषी छ। बालबालिकालाई स्कूले जीवनमा जीवनोपयोगी सीप सिकाउन वर्तमान शिक्षा पूर्णतया असफल छ। जसका कारण पछिल्लो समय शैक्षिक विसंगतिहरू बढ्दै गएको छ।

जापानमा औपचारिक शिक्षासँगसँगै जीवनोपयोगी सीप सिकाउन शिक्षक र विद्यालयहरू लागिपरेको समाचार तथा जानकारीमूलक सामग्री पढ्न पाइन्छ। उमेर अनुसारको शारीरिक श्रम गर्न सिकाउने जापानलगायत बहुसंख्यक विकसित मुलुकको शिक्षा पद्धतिले त्यहाँको बालबालिकालाई आत्मनिर्भर र स्वावलम्बी बनाउँछ। त्यहीकारण उनीहरू आफ्नै देशमा भविष्य खोज्छन्।

हाम्रोमा निजी विद्यालयको १३ वर्षे र सामुदायिक शिक्षाको १० वर्षे स्कूले शिक्षाले हाम्रा बालबालिकालाई सही मार्गनिर्देशन गर्न सकेको छैन। विशेषगरी घरपरिवारमा जीवनोपयोगी सीप सिक्ने अवसरबाट वञ्चित बहुसंख्यक बालबालिकाहरू स्कूले शिक्षापछि झनै अन्योलमा पर्छन्।

समग्रमा वर्तमान शिक्षाले बालबालिकालाई जीवनोपयोगी सीप सिक्न अभिप्रेरित गर्न विकसित मुलुकको अभ्यास गर्न जरूरी छ। यसका साथै घरायसी काममा सघाउन शिक्षकले विद्यार्थीलाई प्रोत्साहित गर्न जरूरी छ। त्यति मात्र हैन, विद्यालय व्यवस्थापनले शिक्षक र अभिभावकलाई जीवनोपयोगी सीपसम्बन्धी अभिमुखी वा तालिम दिन जरूरी छ।

याे पनि पढ्नुहाेस्

भान्साबाटै मल

घरायसी फोहोरबाट बनाउन सकिन्छ घर सजावटका सुन्दर वस्तु

प्रतिकृया दिनुहोस