टिप्पणी विहीबार, असार १८, २०७७

घरायसी फोहोरबाट बनाउन सकिन्छ घर सजावटका सुन्दर वस्तु

मधु राई

घरायसी फोहोरबाट बनाउन सकिन्छ घर सजावटका सुन्दर वस्तु
खेर जाने फाेहरबाट बनेका सजावटका सामान । तस्वीरहरु: मधु राई

हामीकहाँ जनचेतनाको कमी भएर फोहोरको दीगो र वैज्ञानिक व्यवस्थापन हुन नसकेको होइन संवेदनशील हुनुपर्ने विषयलाई अधिकांशले वेवास्ता गरेकाले यस्तो अव्यवस्था निम्तिएको हो ।

  • घर र विद्यालयबाट निस्कने कागजजन्य फोहोर पुनः प्रयोग गरी शैक्षिक एवं सजावटका सामग्री बनाउन थालेको ठ्याक्कै एक दशक भयो।
  • यसैगरी भान्साबाट निस्कने फोहोर जम्मा गरी जैविक मल बनाएर कौसी र करेसाबारीमा प्रयोग गर्न थालेको पनि पाँच वर्ष भइसकेको छ।
  • सबै खालका फोहोर घरमै दिगो र वैज्ञानिक तरिकाले व्यवस्थापन गर्न थाले यता फोहोर संकलन गर्न आउनेहरूलाई तिर्नुपर्ने मासिक शुल्क पनि बचत भएको छ।
  • फोहोरको प्रकृति हेरी त्यसको व्यवस्थापन गर्न थालेपछि यससम्बन्धी अरू सीप सिक्ने अवसर प्राप्त हुँदै गएको छ।
  • फोहोरबाट बनाइएको जैविक मल प्रयोग गरी उत्पादन गरेको ताजा तरकारी खान पाइएको छ।
मधु राई

शुरूआत कसरी गर्ने ?

फोहोर व्यवस्थापनको पहिलो कदम भनेको फोहोरलाई छुट्याउन सक्नु हो। त्यसका लागि भान्सामा बिर्को भएको प्लाष्टिक बाल्टी वा झोला चारवटा राख्नुपर्छ। पहिलो बाल्टी वा झोलामा कागजजन्य फोहोर; दोस्रोमा प्लाष्टिकका पातला झोला (पोलिथिन ब्याग); तेस्रोमा आँटा, दाल र तेलको प्याकेट (बाक्ला पोलिथिन ब्याग); र चौथोमा काम नलाग्ने फोहोर अर्थात् छिटो नकुहिने औषधिका फायल, मञ्जनको ट्यूब, कोलिन, हर्पिक, लाइजोललगायत अगरबत्तीको खोल आदि राख्नुपर्छ।

यस्तै तरकारी तथा फलफूलको बोक्रा र पाकेको फोहोर (उब्रेको तरकारी, दाल, भात आदि) राख्न दुईवटा प्लाष्टिकको खाली बट्टालाई पनि पुनः प्रयोग गर्न सकिन्छ । यसका लागि दहीका बट्टा उपयोगी हुनसक्छन्। एउटामा काँचो तरकारी र फलफूलको बोक्रा, अर्कोमा पाकेको फोहोर राख्ने गर्नुपर्छ।

याे पनि हेर्नुहाेस्– भान्साबाटै मल

कुन फोहोर कसरी व्यवस्थापन गर्ने ?

कागजजन्य फोहोरः घर वा विद्यालयबाट दैनिकजसो निस्कने पत्रपत्रिका, विद्यार्थीको अभ्यासपुस्तिका आदिलाई स–साना टुक्रा पारी ठूलो मुख भएको भाँडा वा बाल्टीमा चार–पाँच दिन भिजाउनुपर्छ ।

काैसी खेतीमा प्रयाेग गरिएका प्लाष्टिकका बट्टा ।

यसरी भिजाएको कागज गलेर लतक्क भएपछि खस्रो भुईंमा आँटा जस्तै मुछ्नुपर्छ । राम्ररी मुछिएपछि हत्केलामा राखेर डल्लो बनाउँदै पानी निथार्नुपर्छ । त्यसपछि मैदाको गम बनाई आफूलाई मनपर्ने सामग्रीको आकारमा ढालेर उपयोग गर्न सकिन्छ । यसरी बनाइएका सामग्रीलाई आकर्षक बनाउन रङ्गीचङ्गी कागज टाँसेर वा रङ्ग्याएर अन्तिम रूप दिनुपर्छ।

फलफूल, तरकारीलगायत प्लाष्टिकका चरा र जनावरहरू हेर्दै वास्तविक झैं देखिने सामग्री बनाउन सकिन्छ। यस्ता शैक्षिक एवं अन्य सामग्री टिकाउ, हलुका र त्यत्तिकै आकर्षक पनि हुन्छन्।

सबै खालका फोहोर एकै ठाउँमा मिसाउने गरेकाले हामी प्रत्येकलाई फोहोर व्यवस्थापन गर्ने काम बोझ बन्दै गएको हो तर सामान्य प्रयत्न गरे यसबाट मुक्त हुन सकिन्छ।

प्लाष्टिकजन्य फोहोरः यसमा दुई खालका प्लाष्टिकहरू पर्छन् । पहिलोमा दैनिक उपभोग्य सामानस“गै भित्रिने रङ्गीविरङ्गी झोलाहरू हुन् । यस्ता झोलाबाट कपडा सुकाउँदा चाहिने डोरी बनाउन सकिन्छ । त्यसका लागि पहिले यसलाई कपाल बाटेजस्तै गरी बाट्नुपर्छ । यसरी तयार भएको डोरीबाट चकटी वा गुन्द्री पनि बनाउन सकिन्छ । यस्तै दोस्रोमा आँटा, दाल र तेल आदिको खोलहरू पर्छन्। यी प्लाष्टिक केही बाक्ला हुन्छन् । यसलाई पनि पुनः प्रयोग गर्न सकिन्छ।

फाल्नुपर्ने प्लाष्टिक र कागजबाट बनाइएका खेलाैना ।

मिनरल वाटर र चिसो पेय पदार्थको बोतल आदिलाई जैविक मल बनाउने उपकरणका रूपमा पुनः प्रयोग गर्न सकिन्छ।

यस्ता सामग्री प्रयोग गरी जैविक मल बनाउने तरिका पनि हेरौं । यसका लागि बोतलको पिंधमा दुई इञ्चजति छाडेर खोल्न र बन्द गर्न मिल्ने गरी अलिकति बाँकी राखी गोलाकार पारेर काट्नुपर्छ । यसरी काट्दा मूल अंशबाट पूरै छुट्टिने गरी काट्न भने हुँदैन । यस्तो बोतलको बिर्कोमा स–साना प्वाल बनाइदिनुपर्छ । त्यसपछि मुखपट्टि अलिकति पुरानो पत्रिका राखेर भान्साबाट निस्किएको तरकारी र फलफूलको बोक्रा हाल्नुपर्छ । दुई इञ्च जति बाँकी रहेपछि त्यहाँ माटो हालेर त्यही माटो मात्र भिज्ने गरी पानी हाल्नुपर्छ । आँटा वा तेल आदिका बाक्ला पोलिथिन ब्यागको मुख काटेर ती बोतललाई छोपिदिनुपर्छ। यसले त्यहाँ नचाहिने पानी पस्न दिंदैन । यसरी तयार गरिएको बोतलको मुख बिरुवाको जरा नजिक गमलै पिच्छे गाडिदिनुपर्छ । (हे. तस्वीर) 

यो पनि पढ्नुस् : बालबालिकालाई अनलाइन शिक्षाको बोझ

उपरोक्त विधि अपनाउँदा एकैपटक धेरै काम नलाग्ने फोहोरजन्य वस्तु जस्तै प्लाष्टिकका खोल, मिनरल वाटर र चिसो पेय पदार्थको बोतललगायत भान्साबाट निस्कने तरकारी र फलफूलको बोक्रा आदिको दिगो र वैज्ञानिक व्यवस्थापन सहज तवरले हुनसक्छ।

पाकेको (दाल, भात, तरकारी आदि) फोहोरलाई खाली गमलामा केही माटो मिसाई वा ठूला गमलाको एकछेउमा पुर्दै जानुपर्छ। यस्तो फोहोर पुरेको केही समयपछि माटोमा परिणत हुन्छ।

कागजबाट बनाइएका सामग्री ।

काम नलाग्ने फोहोरः यसमा नकुहिने खालका फोहोर पर्छन् । औषधिको फायल, मञ्जनको ट्यूब, सौन्दर्य प्रसाधनका सामग्रीको खाली बट्टालगायत खाद्य सामग्रीको स–साना प्लाष्टिकको खोल आदि पर्छन्। यसलाई कागजको ठूलो प्याकेट जस्तै डिटर्जेन्टको बट्टा वा अगरबत्तीको बट्टामा भरेर माथिबाट सेतो कागज टाँस्नुपर्छ, यसो गर्दा यो सफा देखिन्छ।

यो पनि पढ्नुस् – ‘जुम एप’ बाटै कौसी खेती तालिम, फल्न थाले तरकारी

अब यसलाई शैक्षिक सामग्रीका रूपमा प्रयोग गर्न सकिन्छ । त्यस्ता बट्टामा क, ख, ग ...; ए बी सी डी ..., विभिन्न आकारहरू जस्तै त्रिभुज, वर्गाकार, गोलाकार चिह्न आदि बनाउनुपर्छ। विभिन्न जनावर र पुतलीको चित्र पनि कोर्न सकिन्छ। त्यस्तै हिसाब गर्ने चिह्नहरू जोड, घटाउ, गुणा, भागा आदि बनाएर राख्न पनि सकिन्छ । टी–म्याट बनाउन सकिन्छ । यी सामग्री बालबालिकालाई सिकाउने उद्देश्य पूरा गर्न साह्रै उपयोगी हुन्छन्।

नकुहिने फाेहाेरबाट बनाइएका शैक्षिक सामग्री ।

यस्तै सामग्रीको प्रयोग गरेर बालबालिकालाई घर, गाडी, साइकल आदि पनि बनाउन सकिन्छ । यसरी कामै नलाग्ने फोहोर पनि यस्ता विधि अवलम्बन गरेर दिगो र वैज्ञानिक व्यवस्थापन गर्न सकिन्छ।

विशेषगरी भातभान्सा भन्ने बित्तिकै महिलाहरू बढी संलग्न हुनुपर्ने हाम्रो सामाजिक संरचनाका कारण उनीहरूलाई उत्प्रेरित गर्न सके अरूलाई पनि फोहोरको दिगो र वैज्ञानिक व्यवस्थापन गर्न बाध्य पार्न सकिने रहेछ।

पुनः प्रयोग कसरी ?

  • गमलाको पिंधमा स–साना ढुङ्गा राखेपछि छिटो नकुहिने खालका फोहोर राख्ने र त्यसपछि मात्र माटो हालेर बिरुवा रोप्ने हो भने यसको दिगो र वैज्ञानिक व्यवस्थापन गर्न सकिन्छ।
  • मिनरल वाटर, पेय पदार्थ, कोलिन र हर्पिक आदिका खाली बोतल ‘सेल्फ वाटरिङ सिस्टम’ विधिबाट बिरुवामा पानी हाल्न र जैविक मल बनाउने कामका लागि पुनः प्रयोग हुनसक्छ।
  • तेलका साना तथा ठूला जारलाई बिरुवा उमार्ने गमला बनाउन सकिन्छ । प्लाष्टिकका पुराना कुर्सी, बाल्टी र फलाम कबाडी संकलकलाई बिक्री गरी अर्थोपार्जन गर्न पनि सकिन्छ।
  • यस्तै सूतीका पुराना कपडालाई मसिनो टुक्रा पारी कुहिने फोहोरसँग मिसाउँदा चाँडै कुहिन्छ । बाक्लो तन्नालाई सिमेन्टसँग मिसाई गमलाको आकार दिएर बिरुवा उमार्न उपयोग गर्न सकिन्छ।

प्रतिकृया दिनुहोस