कला/साहित्य सोमबार, असार २९, २०७७

प्रेम र युद्धको लय

सविना देवकोटा

प्रेम र युद्धको लय

लोग्ने नहुनुको पीडा स्वास्नीलाई, छोरो नहुनुको पीडा बाआमालाई जति हुन्छ, एउटा नागरिक नहुनुको पीडा देशलाई हुन्छ कि हुँदैन?

सविना देवकोटा

अधिकांश युद्धले हजारौं निर्दोषहरुको आहुति माग्छ। कयौंलाई बेपत्ता पारिन्छ। १० वर्षे सशस्त्र द्वन्द्वकालमा बेपत्ता पारिएका अमन शर्माकी श्रीमती माला क्षत्रीले भोग्नुपरेको जीवन एक प्रतिनिधि कथा हो। त्यसैको औपन्यासिक दस्तावेज हो, अमला अधिकारीको ‘आलय’ उपन्यास।

सिन्धुलीको तिकर्नी बिसे गाउँ। कहिल्यै बिजुली, सडक, सिडिओ, मोटर नपुगेको गाउँमा युद्ध भने पुग्छ। गाउँका युवायुवती, गोठाला, स्कूले नानी कुखुराका चल्ला हराएझैँ हराउँछन्। होमिन्छन् युद्धमा। युद्धले कयौंको अस्तित्व केवल तस्वीरमा सीमित बनाइदिन्छ। कतिलाई सम्झनामा सीमित बनाइदिन्छ।

युद्धले कोरलेको कुरुपताको छायाँ पनि पर्न नदिई हुर्किन्छे, बुलबुल। आमा मालाले ऊ १८ वर्ष हुँदासम्म बेपत्ता बाबु अमनको खबर लुकाउँछे। छोरीसँग एउटै झूट बारबार दोहोर्‍याउँछे, “तिम्रो बाबा तिम्रो बिहेको दिन आउनुहुन्छ।”

भोलिपल्ट बुलबुलको विवाह हुने दिन। अर्थात् तस्वीरका बाबा प्रकट हुने दिन। यसैको संघारमा उपन्यास शुरु हुन्छ।

आफ्नो विवाह हुने कुराले भन्दा पनि बाबासँग भेट हुने कुराले बुलबुल प्रफुल्लित छे। पुरानो गाविसको वडा नं ४ बाट गाउँपालिका वडा नं ११ भएको बाबालाई कसले बताइदिने? एकाबिहानै ‘बा लिन जान्छु’ भनी निस्किएकी आमाले ठीक गरिन् भन्ने उनलाई लाग्छ।

आमा अबेरसम्म फर्किन्नन्। ऊ आफै साँझको बत्ती बाल्नतिर लाग्छे। त्यही क्रममा खोपीमाथिको पर्दा उघार्दा बुलबुलले बाबाको फोटो फ्रेम र आमाको पुरानो डायरी भेट्टाउँछे। जहाँबाट उपन्यासले कौतूहलताको बीउ रोपेर पाठकलाई डोर्‍याउन थाल्छ।

उपन्यासको कथानकताको विकास नै डायरीले गर्छ। सुत्केरी अवस्थादेखि मालाले आँसु पिएर रातदिन तर्सँदै, झस्कँदै काखको सन्तान हुर्काउँछिन्। उनलाई तर्साउन बन्दुकको नालबाट पड्केको गोलीको आवाज मात्रै आइपुग्दैन, हुलाकघर जलेको खबर पनि आइपुग्छ। चौतारीमा वरपीपल ढलेको, ढुकुटीमा धान रित्याइएको, युद्धपर्चा बोकेर नानीहरु हिंडेको खबर आइपुग्छ। तर, बगरमा सँगसँगै गिट्टी कुट्दाकुट्दै बेपत्ता पारिएका अमन न घर आइपुग्छन् न खबर आउँछ।

तत्कालीन सशस्त्र संघर्षरत र सत्ता पक्षबीच शान्ति सम्झौतामा हस्ताक्षर भएसँगै १० वर्षे द्वन्द्वले पूर्णविराम पाउँछ। मालाको उल्झनले भने पूर्णविराम पाउँदैन। उनले जीवन जहाँजहाँ चुहिंदै जान्छ, हरसम्भव टाल्दै जान्छिन्।

उनी घरको छानो लगाउँछिन्। हल गोरु नारछिन्। अभाव र आतर्नादले सुम्पिदिएको हर जिम्मेवारीमा प्राण भर्छिन्। अभावले नै उनलाई पुरुषले जत्तिकै गर्न सकिने रहेछ भन्ने बोध गराउँछ।

मालालाई एक प्रेमिल आमा, विश्वासिली बुहारी, बुद्धिमानी शिक्षिका र दृढ प्रेमिकाको रुपमा चित्रण गरिएको छ। सशक्त नारी पात्र मालाको भोगाइ र उनको जीवन्त संघर्षले उपन्यासलाई नारीवादीको न्यानो बर्को ओडाइदिएको छ।

प्रत्येक नागरिकलाई द्वन्द्वकालमा कहाँ, के, कसरी, किन भएको भन्ने थाहा पाउने अधिकार छ। तर विडम्बना, माला क्षत्रीसँग आफ्नी छोरीलाई बेपत्ता पारिएका बावुको खबर दिन कुनै सूचना छैन। कुनै समाचार छैन। मालाका बाआमासँग आफ्नो छोराको हत्याको कुनै कारण छैन। बरु उल्टै आफ्नै छोराको हत्यारालाई भोट दिन बाध्य बनाइन्छन्।

यद्यपि मालाको भूमिकालाई खलल पुर्‍याउन उपन्यासमा युद्ध जत्तिकै कडा भएर आउँछन् खलनायक पात्रहरुः सावित्री र मालाकी दिदी। उनीहरुले मालालाई बेपत्ता श्रीमानकाे नाममा जवानी खेर नफाली पोइल जान बारम्बर आग्रह मात्रै गर्दैनन् दबाब पनि दिन्छन्।

बदलामा उनी प्रतिवाद गर्छिन्, “उज्यालो दिने निहुँले तँ जलाउन नआइज। पानी पिलाउने निहुँले विष पनि नपिला।” उपन्यासमा उनलाई आदर्श पात्र बनाइएको छ।

उपन्यासले मालाको मात्रै नभएर अरु द्वन्द्वपीडित महिलाको कथा पनि पस्किएको छ। ‘एकल नारी राष्ट्रिय प्रतिष्ठान’को कार्यक्रममा सहृदयी भएर संवादकै रुपमा पस्किन सकिने सहायक कथाहरुलाई समाचार बनाएर पत्रिका पढाइएको छ। यहाँ माला र अन्य द्वन्द्वपीडित महिलाबीचको भावनात्मक गाँठो बाँध्न चुकेको महशुस हुन्छ।

रत्यौली, लोकगीतलगायतका घटनाक्रम मार्फत ग्रामीण जीवनको परिवेशलाई टपक्कै टिपेर लेखिएको उपन्यासको भाषा आकर्षक छ।झर्रा शब्द एवम् काव्यिक लेखनले पुस्तकलाई अत्यन्तै पठनीय बनाएको छ। गाउँले जीवन र परिवेशका मौलिक बिम्बहरुले उपन्यासलाई थप जीवन्त तुल्याएको छ।

उपन्यासमा केही त्यस्ता सशक्त संवाद पनि छन् जसले समग्र उपन्यासलाई नै काँध हाल्न सक्छन्। जस्तैः

–देशलाई विकास चाहियो, मेरै खेत मास्नुपर्ने! देशलाई आगो चाहियो, मेरै चुलो निभ्नुपर्ने! हजारौं छोराहरुलाई पिंजडाबाट निकाल्नुपर्‍याे, मेरै छोरोले दुनियाँ छोड्नुपर्ने!

–जति कुदेको देखिएपनि सेकेन्ड सुई आफ्नै अक्षभरि घुम्ने हो। साठी सेकेन्ड पुगेपछि उसको ठाउँमा मिनेट आइपुग्छ। मिनेटले जति नै चुरीफुरी गरे पनि साठी मिनेटपछि घन्टा आइपुग्छ। समय परिवर्तन हुन्छ बा!

प्रत्येक दिनका डायरी पढ्दै गर्दा बुलबुलले महशुस गर्ने मनोभाव उतारिएको मनोवाद भने केही गह्रुङ्गो लाग्छ। डायरी मार्फत बाबाबारे पटकपटक खोलिएको रहस्यको प्रतिक्रिया स्वरुप १८ वर्षीया बुलबुलको माध्यमबाट पस्किएको दार्शनिक मनोवाद केही बोझिलो पनि छ। उमेर र भावको असमञ्जस्य देखिन्छ।

उनी घरको छानो लगाउँछिन्। हल गोरु नारछिन्। अभाव र आतर्नादले सुम्पिदिएको हर जिम्मेवारीमा प्राण भर्छिन्। अभावले नै उनलाई पुरुषले जत्तिकै गर्न सकिने रहेछ भन्ने बोध गराउँछ।

प्रसङ्गवश, उपन्यासलाई रफ्तार दिने क्रममा केही सूक्ष्म घटनाहरु प्रस्तुत गर्न चुकेको पनि छ। रातारात माला र अमनले बिहे गरेपछि माइती घरको प्रतिक्रिया के थियो? मालाका श्रीमान् मात्रै बेपत्ता भएका थिएनन्, उनका दाजु पनि मारिएका थिए। आफ्नो छोरो मार्नेहरु निसङ्कोच समाजमा सभ्य मान्छे भएर हिंडेको सहन नसकी सरकारसँग मालाका बाले उजुरी गर्दै बाआमा नै अनशन बसेको घटना उपन्यासले पस्किंदा पनि माला माइती पुगेको कुनै दृश्य आउँदैन। अनशनकै क्रममा बाले प्राण गुमाउँदा पनि माला माइती गएको देखिंदैन।

युद्धको कथा लेख्दालेख्दै आलय प्रेमको कथा हुन पुगेको छ, जसरी युद्धमा हिंड्दा पनि मालाकी एक बालसखा मुमताज प्रेमको सपना देख्छिन्। प्रेमको कथा लेख्दालेख्दै पनि आलय पुनः युद्धको कथा हुन पुगेको छ, जसरी छोरी बुलबुलसँगको प्रेमकै ओत लाउनका लागि माला आफ्नो मनको अन्तर्द्वन्द्व डायरीका पानाहरुमा अक्षर बनेर चुहिन्छे। त्यसैले युद्धका बीच प्रेमले जोडिएको घरको प्रतीक स्वरुप उपन्यासको नाम आलय न्यायोचित छ। ध्वनिका हिसाबले लयात्मक पनि छ।

युद्ध साहित्यको चुनौती भन्नु नै पाठकलाई कुनै आग्रह पूर्वाग्रहविना तत्कालीन कालखण्डको भ्रमण गराई त्यतिखेरको जीवनलाई अनुभूति गराउन सक्षम हुनु हो। उपन्यास यस अर्थमा सफल छ। उपन्यासको अन्त्यमा आमा–छोरीको मिलनको अमूर्त अनि धमिलो झलकले उपन्यासलाई‘ओपन एन्डिङ’ उत्कर्षतर्फ डोर्‍याउँछ।

सास र लाशको ठेगान चाहिएको भन्दै मालाका बाआमाले अनशन बसेको र अनशनका क्रममा बाको मृत्यु भएको परिघटनाले न्यायको खोजीमा अनशन बसेका गंगामाया र नन्दप्रसाद अधिकारीको स्मरण गराउँछ। नन्दप्रसादले अनशनकै क्रममा ज्यान गुमाएका थिए।

द्वन्द्वपीडितहरुको सवालमा सत्य निरुपण अधिकार अन्तर्गत एउटा अन्तर्राष्ट्रिय मान्यता छ, ‘प्रत्येक नागरिकलाई द्वन्द्वकालमा कहाँ, के, कसरी, किन भएको भन्ने थाहा पाउने अधिकार छ।’ तर विडम्बना, माला क्षत्रीसँग आफ्नी छोरीलाई बेपत्ता पारिएका बावुको खबर दिन कुनै सूचना छैन। कुनै समाचार छैन। मालाका बाआमासँग आफ्नो छोराको हत्याको कुनै कारण छैन। बरु उल्टै आफ्नै छोराको हत्यारालाई भोट दिन बाध्य बनाइन्छन्। यसरी आलयले राजनीति र परिवर्तनका नाममा आफ्नो स्वाभिमान बेच्न बाध्य निरीह जनतालाई चित्रण गर्न सफल भएको छ।

दशक लामो हिंसात्मक द्वन्द्वमा १७ हजारभन्दा धेरैले ज्यान गुमाए, १३ सय ५० भन्दा धेरै बेपत्ता पारिए। हजारौं घाइते भए, लाखौं विस्थापित भए।विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको १४ वर्ष र सत्य निरुपण तथा मेलमिलाप आयोगको स्थापना भएको पाँच वर्ष बितिसक्दा पनि पीडितहरु युद्धले दिएको घाउसहित आफ्नो पीडा र पहिचान दबाएर बाँच्न बाध्य छन्। आलय त्यसैको औपन्यासिक दस्तावेज हो। द्वन्द्वको घाउ बोकेका, देखेका र महशुस गरेका सबैले ‘आलय’मा आफूलाई ओत लगाउन सक्छन्।

पुस्तक: आलय, लेखक: अमला अधिकारी, विधा: उपन्यास, प्रकाशक: साङ्ग्रिला पुस्तक प्रा.लि., मूल्य: रु.३९५, पृष्ठ: २४३

प्रतिकृया दिनुहोस