ब्लग शनिबार, असार २७, २०७७

पञ्चायतकालमा राजाको भाषण काटकुट पार्दा

भैरव रिसाल

पञ्चायतकालमा राजाको भाषण काटकुट पार्दा
राजा वीरेन्द्र । तस्वीर: रोयटर्स
भैरव रिसाल

दरबारबाट समाचारका लागि लामा भाषण र मन्तव्यहरू आएपछि हामी अघिल्ला दुई–तीन अनुच्छेद पूरै काट्थ्यौं र पछिल्ला भागमा समाचारको गुदी खोज्थ्यौं।

मैले २०१३ सालदेखि हालखबर दैनिकबाट पत्रकारिता यात्रा शुरू गरेको हुँ । त्यहाँ काम गरेको चार वर्षमै पत्रिका बन्द भयो । त्यसपछि केही वर्ष सरकारी नोकरी गरें । २०२० सालदेखि सरकारी समाचार संस्था राष्ट्रिय समाचार समिति (रासस) मा प्रवेश गरेर २०४२ सम्म काम गरें।

पत्रकारिता कर्मको दौरान राजदरबारबाट राजाले देश–विदेशमा गरेका लामा–लामा भाषण आउँथे । हामी पत्रकार ती भाषणका पहिलो, दोस्रो र प्रायः तेस्रो अनुच्छेद खर्र काट्थ्यौं । त्यसभन्दा पछिल्लो अनुच्छेदमा आँखा लगाउँथ्यौं । किनकि, भन्न खोजिएको मुख्य कुरो प्रायः सबभन्दा पछाडि हुन्थ्यो।

पत्रकार भएर त्यो अधिकार उपयोग गर्न पाउँदा म यो पेशाप्रति गर्व गर्थें । त्यस्तो असाधारण अधिकार मैले धेरै दशक उपभोग गरें।

राजाका ती भाषण कसरी तयार हुँदा रहेछन् ? यो उमेरमा आएर जिज्ञासा लाग्यो । राजा वीरेन्द्रका तत्कालीन प्रमुख सम्वाद सचिव डा. चिरन शमशेर थापासँग सोधें।

खासगरी अन्तर्राष्ट्रिय मञ्चमा गरिने भाषणको मस्यौदा परराष्ट्र मन्त्रालयबाट तयार भएर आउँदो रहेछ । त्यो मस्यौदाबारे शुरूमा दरबारमा अन्तर्राष्ट्रिय मामलामा राजाले पत्याएका मान्छेहरूसँग राय लिइन्थ्यो रे । सम्वाद सचिव त राय सुझाव दिने भइगए । विभिन्न चरण पार गर्दै हातमा आएपछि राजाले हेर्थे र आवश्यक परे परिमार्जन पनि गर्थे रे । डा. थापाका अनुसार, प्रोफेसर सरदार यदुनाथ खनाल र जनरल पद्मबहादुर खत्रीहरूबाट आएका मस्यौदामा भने प्रायः परिमार्जन हुँदैन थियो।

यसरी तयार पारिएको राजाका र सरकार प्रमुखका भाषण पूर्वाग्रहरहित आँखाले हेरिन्थ्यो र काटकुट पारेर सम्पादन गरिन्थ्यो । प्रायः गाल परेन । यस्तो सम्पादकीय स्वतन्त्रता पत्रकारिताको मुटु नै हो । त्यसैले समाजमा पत्रकारको आफ्नै स्वतन्त्र भूमि र निर्बाध क्षितिज छ भन्दा गर्व लाग्छ।

‘एशियामा शान्तिका लागि चीन–अमेरिका सम्बन्ध महत्वपूर्ण’

वीरेन्द्र १७ माघ २०२८ देखि राजा भएका हुन् । उनी राजा भएदेखिका भाषण, मन्तव्य, वक्तव्य, सन्देश आदि समेटेर पाँच वटा सँगालो सूचना विभागले प्रकाशन गरेको थियो । चौथो र अन्तिम भाग बाहेक मेरा हातमा तीन वटा फेला परे।

“विभिन्न राष्ट्रहरूबीच सहयोगकै खाँचो पर्छ । यदि त्यो सम्भव छैन भने सहअस्तित्व एउटा अपरिहार्य आवश्यकता हो।”

तिनै ठेली पल्टाउने क्रममा राजा वीरेन्द्रले उत्तर अफ्रिकी देश अल्जेरियाको राजधानी अल्जियर्समा २०३० भदौमा आयोजित असंलग्न राष्ट्रहरूको चौथो शिखर सम्मेलनमा दिएको मन्तव्यमा आँखा गयो । वीरेन्द्र राजा भएपछि असंलग्न राष्ट्रहरूको शिखर सम्मेलनमा उनको त्यो पहिलो सहभागिता थियो।

सम्मेलनमा वीरेन्द्रले विश्व शान्तिको र विश्व विकासको आवश्यकतामा जोड दिंदै लामो भाषण गरे । उनले ‘असंलग्न राष्ट्रहरूको शीर्षस्थ सम्मेलनलाई विश्वको सर्वोच्च शिखर सगरमाथाको देशबाट शुभकामना र शान्तिको सन्देश ल्याएको छु’ भनेर सहभागीहरूको ध्यान आकृष्ट गरे।

मन्तव्यका क्रममा उनले भनेका थिए, “विभिन्न राष्ट्रहरूबीच सहयोगकै खाँचो पर्छ । यदि त्यो सम्भव छैन भने सहअस्तित्व एउटा अपरिहार्य आवश्यकता हो।”

विकासविना शान्ति सम्भव नभएको र विकसित राष्ट्रहरूले आफ्नो राष्ट्रिय उपजको एक प्रतिशत उपलब्ध गराउने प्रण पूरा नगरेको भन्दै उनले सम्पूर्ण निरस्त्रीकरणको खाँचो रहेको औंल्याएका थिए।

राजा वीरेन्द्रले त्यस बखत एशियामा शान्ति स्थापनाको लागि चीन र अमेरिकाबीचको सम्बन्ध महत्वपूर्ण भएको समेत उल्लेख गरेका रहेछन् । उनले मन्तव्यमा भनेका थिए, “महाद्वीपका विशाल देश जनवादी गणतन्त्र चीन र पृथ्वीको आधा पाटो संयुक्त राज्य अमेरिका बीचको सम्बन्धलाई सामान्य तुल्याउने प्रक्रियाले निःसन्देह महत्वपूर्ण ठाउँ लिएको छ । यी ठूला मुलुकहरूबीचको सम्बन्धमा सुधारबाट एशियामा शान्ति स्थापना गर्न मद्दत मिल्नेछ भन्ने हामी आशा राख्छौं।”

प्रतिकृया दिनुहोस