ब्लग शनिबार, असार २७, २०७७

‘महान्’ चन्द्रशमशेर, जसका कारण आमैहरूले फाउको जीवन पाए

गोपाल गडतौला

‘महान्’ चन्द्रशमशेर, जसका कारण आमैहरूले फाउको जीवन पाए

राणाशासनको त्यो कठोर घडीमा एक शासकको मन–मगजमा कुन ग्रन्थि सल्बलायो कुन्नि ! र, उनी सती प्रथा उन्मूलनका लागि आदेश नै जारी गर्न पुगे। 


स्कूल पढ्दा हाजिरीजवाफ प्रतियोगितामा प्रश्न त्यही आयो भने फ्याट्ट दिने जवाफ यही हुन्थ्यो– श्री ३ चन्द्रशमशेर जबरा। यो उत्तरको प्रश्न हुन्थ्यो- नेपालमा सती प्रथा कसले उन्मूलन गरेको हो ? कहिलेकाहीं प्रश्न अर्काे पनि हुन्थ्यो, नेपालमा सती प्रथा कहिले उन्मूलन भएको हो ? घोकेको उत्तर एकै सासमा भनिन्थ्यो– १९७७ साल असार २५ गते।

हामीले हाजिरीजवाफमा धेरै पटक प्राप्ताङ्क बढाउन दिएका यी उत्तरहरू पति बितेका हरेक महिलाका लागि खासमा प्राणदाता र प्राण दान पाएको मिति हो। भलै राणाशासन एउटा निरंकुश र कठोर नै किन नहोस्।

साहित्यकार कृष्ण धरावासीको कथासंग्रह ‘झोला’ को शीर्ष कथा झोलाले सती प्रथाकै कारुणिक चित्रण गरेको छ। धरावासीले पर्वते जनजीवनमा एउटी विधवा महिलालाई चितामा पतिको शवको टाउको काखमा राखेर बालिन्थ्यो भन्ने दृष्टान्त सजीवसँग प्रस्तुत गरेका छन्। “रुँदै त्यो कथा छिचोलेको थिएँ”, त्यसै कथालाई फिल्ममा उतारेका मेरा मित्र यादव भट्टराईले कुनै भेटमा भनेको सम्झन्छु, “जिउँदो माहिलालाई जलाउने त्यो आततायीपूर्ण सामाजिक बानीबारे आमा, पत्नी, दिदीबहिनी र छोरीहरूलाई बुझाऔं है।”

फिल्ममा रजस्वला नहुँदै विवाह भएकी महिलाको बूढो र रोगी पतिको निधन भएपछि उनलाई पनि निर्वस्त्र पोलिएको दृश्य दमक चित्र मन्दिरमा हेरेका मेरी आमा र विधवा हजुरआमा भोलि—पर्सिपल्टसम्म कथाका केस्रा केलाउँदै रोएका थिए। चिताबाट उम्किएकी महिला कैयौं दिनपछि गोठालो छोरोसँग भेटिएर विरानो ठाउँमा जान्छन्। दुःखबाट शुरू भएर दुःखैमा हुर्किएको कथाले सय वर्षअघिको नेपाली समाजको अँध्यारो पाटोलाई मसिनोसँग केलाउँछ।

गाउँघरमा अझै पनि एक सय वर्ष बाँचेका मानिसहरू भेटिन्छन्। यस हिसाबले हेर्ने हो भने यो बढीमा दुई पुस्ता अघिको आम नेपाली भोगाइ थियो। त्यो युगमा आफ्नो आयु पूरा बाँच्न पाउनु पनि सानो अवसर थिएन।

कहिल्यै नचिनेको मान्छे चितामा बल्न लागेको देखियो भने त ‘कठै पोल्यो होला’ भन्ने लाग्छ र आँखा रसाउँछन्, त्यस बखत आफ्नी जिउँदी आमाको मुखमा दागबत्ती दिने छोराहरूको मुटु कति पाषाण होला ! कस्तो मनोविज्ञान र चेतनाले उनीहरू हात अगाडि सार्थे होला र बत्तीस नसा छिनाएर आफूलाई जन्माउने आमाहरूको ‘ऐया आत्था’ सुन्थे होला। आगोले त जे भेटे पनि भष्म पारिदिन्छ, जलाउनु उसको धर्म हो। तर विधर्मी त मान्छे हुन्। कुन युगमा, कुन सनकको भरमा यस्तो थिति बसालियो होला ?

राणाशासनको त्यो कठोर घडीमा एक निरंकुश शासकको मन–मगजमा कुन ग्रन्थि सल्बलायो र उनी सती प्रथा उन्मूलनका लागि आदेश नै जारी गर्न पुगे ? कुन उत्प्रेरणाले उनले नेपाली समाजको थाप्लोमा रहेको त्यो रीतिमाथि गजबार लगाए होलान् ? यो एक जायज प्रश्न र खोजको विषय समेत हो। धन्न आजका सरकारका उधारो योजना र घोषणा जस्तै रहेन चन्द्रशमशेरको त्यो उर्दी। नत्र हाम्रा थुप्रै आमैहरू पूरा आयु बाँच्न कहाँ पाउँथे र !

भारत पश्चिम बंगालको सिलिगुढीबाट छापिने हाम्रो पहाड दैनिक अखबारको लागि झापाबाट समाचार लेख्ने म र नियमित लेख लेख्ने साहित्यकार धरावासी एक दिन सिलिगुढीबाट फर्कंदा अबेर भएपछि शनिश्चरेस्थित उनकै घरमा बास बसेको थिएँ। भित्तामा उनकी दिवंगत आमाको तस्वीर छेउमा राणा प्रधानमन्त्री चन्द्रशमशेरको श्यामश्वेत तस्वीर पनि थियो। कुराकानीमा धरावासीले विधवाहरूलाई बाँच्ने अवसर दिने चन्द्रशमशेरलाई ‘महान्’ भन्दा शब्दको दुरुपयोग भएको मान्नुहुन्न भनेको सम्झन्छु।

एक वर्षअघि हिमाल मा सम्पादकबाट पाएको एउटा असाइनमेन्ट पूरा गर्न जाने क्रममा बूढानीलकण्ठस्थित एकल महिलाको कार्यालयमा लिली थापासँग भेट भएको थियो। द्वन्द्व र कालगतिले मरेका पतिका एकल महिलालाई छहारी दिइरहेको संस्थाकी प्रमुखले कुराकानीको बिट मार्ने वेला भन्दै थिइन्, “हामीलाई बाँच्ने ढोका खोलिएको एक सय वर्ष पुग्ने भएकोले आघौं सालको असार २५ धुमधामसँग मनाउनुपर्छ है।” तर, कोरोनाभाइरसको महामारीले विशेष कार्यक्रम गर्ने योजना यसपालि अधुरै भएछ।

विधवाले विवाह गर्न पाउनुपर्छ भनेर राखिएको माग राजादेखि रङ्कसम्मका कसैले पनि नसुन्दा विद्रोह स्वरुप सहयोद्धाहरूसहित जलसमाधि लिएकी योगमायाको बारेमा फाट्टफुट्ट चर्चा हुन थालेको छ। यो दृष्टान्तले हाम्रा विधवा हजुरआमाहरूले सिन्दूर पुछिएपछि पनि बाँच्न पाउनका लागि इतिहासमा गरिएको ठूलो सङ्घर्षको प्रसादस्वरुप नयाँ जिन्दगी पाएको बुझाउँछ।

हजुरआमा, बडिआमाहरू

११ वर्षअघि ११ पुस २०६६ को साँझ हजुरबुबा नरपति रिजालको मुटुको चाल अचानक बन्द भयो। झापाको भद्रपुरबाट धरान पुर्याएको केही क्षणपछि उहाँ परलोक हुनुभयो। त्यसयताका हरेक दशैंमा हाम्रा निधारमा टीका टाँसिदिने वेला हजुरआमाको अनुहार उति उज्यालो हुँदैन। उडेको रंगका कपडामा बेरिएको उहाँको पातलो र होचो शरीर काँपिरहेको हुन्छ। हजुरबुबा छउन्जेल हजुरआमाले अक्षताको थाली मात्र समाउनुहुन्थ्यो, टीको लगाइदिने काम हजुरबुबा गर्नुहुन्थ्यो। म गमिरहेको हुन्छु, त्यसयताको यो ११ वर्ष उहाँ चन्द्रशमशेरले फाउमा हालिदिएको उमेर बाँचिरहनुभएको छ।

२५ असारसँग साइनो जोडिएका यस्ता अनेक आमैहरूका मुजा परेका अनुहार आँखामा आउँछन्। मोरङको मंगलबारेमा दुईवटी बडिआमा अझै बूढो कायाले घरसंसारमा सयर गरिरहेका, टाट्नामा बाख्रालाई घाँस हालिरहेका छन्। ८० छिचोलेका यी आमैहरू बाँच्न पाउनुको कारण इतिहासको कालरात्रिमा फाटेको त्यही सानो बादलबाट चिहाएको किरणको प्रताप न हो !

पल्लो टोलकी फूलमायाका श्रीमान् राजु धिमालले आत्महत्या गरेको दशक पुग्न लाग्यो। तर, फूलमाया हातमा नाति खेलाउँदै विधवा बुढ्यौली बाँचिरहेकी छिन्। जितेन्द्र बराल दाइका बाबु बितेको २५ वर्ष भइसक्यो, बराल्नी बडिआमा फिक्का रङका सारी लगाएर अझै टोलमा हिंडेको देख्छु। दश वर्षकी नहुँदै विधवा भएकी न्यौपाने थरकी एक जना वृद्धा केही वर्ष अघिसम्म झापाको सतासीधामस्थित आश्रममा बस्थिन्।

हाल क्यानाडामा रहेको एकजना पूर्व भुटानी शरणार्थी मित्र इन्द्र तिम्सिनाको बेलडाँगी ३ शिविरमा रहेको छाप्रोमा पुग्दा नातिनातिना खेलाउँदै घाम तापिरहेकी हजुरआमासँग कैयौं पटक भेट भएको थियो। मैले करीब २० वर्षअघिदेखि जान्दा नै उनी एकल थिइन्। टाढाका आफन्तहरूसँग रहेकी आचार्य थरकी एकल महिला शरणार्थी त अझै बेलडाँगी शिविरमा एक्लै छिन्।

यस्ता कैयौं आमैहरूको आयुको स्रोत चन्द्रशमशेर राणा शासनको उत्तरार्धतिर थिए। समयको वेगले हुर्‍याएर केही दशकपछि राणाशासनलाई समाप्त पारिदियो। तर, त्यस अन्धकार युगमा विधवाहरूका नाममा जारी उर्दीले मुलुकलाई लगाएको गुण थोरै थोरै भए पनि आयुको रुपमा हाम्रा आमैहरूका भागमा आइपुगेको हो।

प्रतिकृया दिनुहोस