कला/साहित्य शनिबार, असार २७, २०७७

‘शहीद’ समाचार, नाला बनेको वागमती र कोटेश्वरको केटो

शेखर खरेल

‘शहीद’ समाचार, नाला बनेको वागमती र कोटेश्वरको केटो

नोवल पुरस्कार विजेता टर्किस लेखक ओह्रान पामुकले ‘इस्तानबुल’ शीर्षकको निबन्धमा लेखेका छन्, “मेरो निम्ति संसारको केन्द्र भन्नु नै इस्तानबुल हो, जहाँ म जन्मिए र हुर्किएँ। त्यसैले मेरा लेखनका पात्र यसै शहरका गल्ली, चोक, मस्जिद, मान्छे र भुस्याहा कुकुर आदि हुन्।” पामुक झैं राजेन्द्र पराजुलीका निम्ति संसारको केन्द्र अर्थात् इपिसेन्टर कोटेश्वर हो।

शेखर खरेल

संयोग नै मान्नुपर्छ, राजेन्द्र पराजुलीको संस्मरण सँगालो ‘कोटेश्वरको केटो’ को ‘कहीं नटिक्ने मान्छे’ पढ्दै गर्दा पराजुली स्वयं बाह्रखरी (अनलाइन तथा प्रकाशन) बाट सेवानिवृत्त हुँदै थिए। २०५६ सालदेखि पेशागत रूपमा सञ्चारमाध्यम (प्रचलित भाषामा मिडिया) सँग आबद्ध उनले वितेको दुई दशकभन्दा बढी अवधि दर्जनभन्दा बढी मिडियामा काम गरिसकेका छन्। पत्रकारितालाई पेशा बनाउने नियत बोकेका उनको नियतिचाहिं आफूले काम गरेका मिडियाबाट वहिर्गमित हुनु नै हो।

टेलिभिजन, छापा, रेडियो वा डिजिटल जुनसुकै सञ्चारमाध्यम भए पनि वहिर्गमनको कारण र कारक लगभग समान देखिन्छ, जुन स्वयं उनको परिभाषामा ‘स्वाभिमान’ र रोजगारदाता मिडिया हाउसको शब्दमा ‘केटाकेटीपन’ हो। यसबारे विस्तृत व्याख्या उनले ‘मृत समाचार’ शीर्षकको संस्मरणमा गरेका छन्।

‘मृत समाचार’ पत्रिका (मिडिया) का सम्पादक र प्रकाशकका स्वार्थ अनि सम्झौतापरस्त मानसिकताका कारण समाचार कसरी मारिन्छन् भन्ने पराजुलीको बकपत्र हो। उनीद्वारा लिखित एवं सम्पादित समाचार र सम्पादकीय अनेक पटक र त्यो पनि अलग–अलग मिडियामा ‘शहीद’ भएका छन्। एकपटक उनी एउटा नाम चलेको जुस उद्योगले मिति गुज्रेको मात्र नभएर लेउ र झ्याउ समेतको उत्पादन बजारमा बिक्री गरिरहेको बारे खोजमूलक सामग्री तयार गर्छन्। त्यसलाई समाचारपत्रको निश्चित पृष्ठ र स्थानमा प्रकाशन निम्ति दाखिला गर्दै घर फर्कन्छन्। तर, भोलिपल्ट बिहान उनको खोजमूलक समाचार नभएर त्यसै उत्पादनको विज्ञापन छापिएको हुन्छ।

आफ्ना मृत समाचारका फेहरिस्तमा पराजुलीले मिडिया हाउस, प्रकाशक र सम्पादकको नाम किटेका छैनन्। तैपनि पराजुलीसँगको निकटको संगत र पत्रकारिता सेरोफेरोको जिजीविषाका कारण त्यस लेउ र झ्याउयुक्त विषाक्त पेयलाई विज्ञापनमा ‘क्यास’ गर्ने प्रकाशक र सम्पादकका तस्वीर मेरो मानसपटलमा नाचिरहे। त्यसै वेला मैले अर्को अनुहार पनि सम्झिएँ, जसले एउटा सनसनीपूर्ण समाचार (स्कूप) आफ्ना साहुलाई समेत सुइँको नदिएर पर्दाफास गरेका थिए, जसकारण उक्त पत्रिकाले वार्षिक १५ करोड भारतीय रुपैयाँको विज्ञापन गुमाउनुपरेको थियो।

नेपाल लिटरेचर फेस्टिभलमा सहभागी हुन काठमाडौं आएका बखत ‘आउटलूक’ म्यागेजिनका संस्थापक सम्पादक विनोद मेहताका अनुभव सुन्ने अवसर मिलेको थियो। उनले नीरा राडिया नामकी विचौलिया मार्फत प्रतिष्ठित व्यापारिक घराना टाटा समूहले ‘२ जी’ मोबाइल फ्रिक्वेन्सीका लागि नेता, कर्मचारी र पत्रकारसम्मको समूहलाई आर्थिक प्रलोभनमा दुरुपयोग गरेको स्कूप सावधानी र साहसका साथ भण्डाफोर गरेको वृत्तान्त होटल र्‍याडिसनको ‘सुरापान सत्र’ मा सुनाएका थिए। त्यतिवेला मेरो उनीप्रतिको सम्मान सगरमाथा झैं चुलिएको थियो। यता, पत्रिका टिकाउने नाममा पराजुलीको समाचार जसरी ‘शहीद’ गरियो, त्यो हाम्रो पत्रकारिताको तथाकथित निष्पक्षता र व्यावसायिकताको ‘लिटमस टेस्ट’ हो।

‘कोटेश्वरको केटो’ राजेन्द्र पराजुलीको पत्रकारिताको व्यावसायिक अनुभूतिको सँगालो मात्र भने होइन। उनले जीवन निर्वाह निम्ति रोजेको पत्रकारिता पेशाको दुईदशक अवधिको तीतोमीठो अनुभूति संग्रहको एक हिस्सा मात्र हो, जसमा मीठा कम तर तीता धेरै प्रसङ्ग छन्। कविता, निबन्ध, समालोचना र आख्यान, साहित्यका बहुलविधामा कलम चलाउँदै एक ‘भर्सटाइल’ लेखकको छवि निर्माण गरेका उनले यस संग्रहमा आफ्नो बाल्यकालदेखिको लगभग आधा शताब्दी लामो समयरेखा कोरेका छन्।


नोवल पुरस्कार विजेता टर्किस लेखक ओह्रान पामुकले ‘इस्तानबुल’ शीर्षकको निबन्धमा लेखेका छन्, “मेरो निम्ति संसारको केन्द्र भन्नु नै इस्तानबुल हो, जहाँ म जन्मिए र हुर्किएँ। त्यसैले मेरा लेखनका पात्र यसै शहरका गल्ली, चोक, मस्जिद, मान्छे र भुस्याहा कुकुर आदि हुन्।” पामुक झैं पराजुलीका निम्ति संसारको केन्द्र अर्थात् इपिसेन्टर कोटेश्वर हो। उनको लेखनको भावभूमि हो अहिले त्रिभुवन विमानस्थलको धावनमार्गले चर्चेको क्षेत्र, जहाँ उनी जन्मिए, गोठालो भए र बाल्यकालका उत्सवपूर्ण दिनहरू व्यतीत गरे।

भौगोलिक रूपमा ‘कोटेश्वरको केटो’ को परिधि मनोहरा र वागमती नदीबीचको उर्वर जमीन हो, जहाँ उनले चियापसले हरि दाइ, अल राउण्डर हेडमास्टर रामदत्त उपाध्याय, दौंतरी कृष्ण मिजार आदिलाई उभ्याएका छन्। एक गिलास चियाका निम्ति उनीभित्रको हुटहुटीदेखि नाङ्गा गोडामा चप्पल भिर्ने उत्कट अभिलाषाले त्यतिवेलाको काँठ क्षेत्रको जिजीविषा र एउटा निम्नमध्यम वर्गीय बालकको मनोदशा चित्रित गर्छ। ३ बाट ४ कक्षा उक्लिंदा प्रथम भएर आमाबाट पुरस्कारस्वरूप पाएको चप्पल पहिलो दिनमै चुडिंदाको बालमनोविज्ञानले कताकता इरानी फिल्ममेकर माजिद माजिदीको ‘चिल्ड्रेन अफ हेभन’ को बालक पात्र अलीको सम्झना गराउँछ।

‘अनुहारहरू’ संभवतः संस्मरणको प्रेमिल खण्ड हो, जसमा पराजुली आफू तीन वर्ष मात्र हुँदा गुमाएका पितादेखि साहित्यिक विरादरीका संगातिसँगका सम्झना र संगत उधिन्ने कोशिश गर्छन्। कवितामा अराजक तर व्यवहारमा सौम्य र कूटनीतिक विप्लव ढकालबारेको व्यक्तिचित्र ‘प्याराडक्स जिन्दगी’ हो भने ‘फिलिली...’ मदिराले प्लवित उनी र आख्यान पुरुष ध्रुवचन्द्र गौतम झरीयामको एक रात काठमाडौंका बदनाम ढलमा फिलिली हुन पुगेको परिहासपूर्ण वर्णन छ। त्यसैगरी ‘कवि श्यामलको नृत्य’ मा साहित्यकार श्यामल र ‘एक भुलक्कड यारको संस्मरण’ मा आख्यानकार नयनराज पाण्डेसँगका सम्बन्धका उतारचढाव वर्णित छन्।

स्थान र पात्रसँगै पराजुलीले केही यात्रा वृत्तान्तलाई संस्मरणमा समेटेका छन्। नयाँदिल्लीको ‘सुफियान साँझ’, गोवाको ‘समुद्र नाङ्गै देखिन्छ’, राराताल यात्राको ‘स्वर्ग जाने बाटो’ रमाइला किस्सा हुन्। तर, ‘ओरालो झर्दा’ शीर्षकको दार्जीलिङको साहित्यिक यात्राको भयानक सडक दुर्घटनामा घनिष्ट मित्र विनय रावललाई गुमाउँदाको प्रसङ्ग संस्मरणभित्रको सर्वाधिक पीडादायी पठन–अनुभूति रह्यो।

समग्रमा ‘कोटेश्वरको केटो’ शहरोन्मुख उपत्यकाको काँठ क्षेत्रको एक बालकको निर्वाहमुखी जीवनदेखि उपभोक्तावादी शहरी पुस्तासम्मको दीर्घ संक्रमणका श्यामश्वेत संस्मरण हो। अनि यसै संक्रमणबीच निर्मित ती केटा अर्थात् आजका स्थापित लेखक राजेन्द्र पराजुलीका नोस्टाल्जिया अनि निजत्व पनि हो। त्यसैगरी अहिले नदीबाट नालामा बदलिएको वागमतीमा खोजिरहेको बाल्यकालको आफ्नै निश्छल अनुहार हो।

पुस्तकः कोटेश्वरको केटो लेखकः राजेन्द्र पराजुली विधाः संस्मरण प्रकाशकः फिनिक्स बुक्स पृष्ठः २०५ मूल्यः रु. ३५०

प्रतिकृया दिनुहोस