टिप्पणी विहीबार, साउन १, २०७७

यसरी प्रमाणित हुन्छ महाकाली नदी नै पश्चिमी सीमा भएको नेपाली तथ्य

हिमालखबर

यसरी प्रमाणित हुन्छ महाकाली नदी नै पश्चिमी सीमा भएको नेपाली तथ्य

प्रमाणित तथ्य के हो भने इस्वीपूर्व ५०० पछि यस भूभागमा धेरै राज्यहरू खडा भए। हाल कति विलाए कति गाभिए तर नेपाल यथावत् छ । 

लक्ष्मीप्रसाद खतिवडा (पीएचडी)

दक्षिणएशियाको भूसांस्कृतिक पहिचान धेरै पुरानो हो। यस भूक्षेत्रलाई प्राचीन साहित्यमा भरतवर्ष (भारतवर्ष होइन) र अङ्रेजीमा इन्डियन कन्टिनेन्ट भनिन्छ। यस भूभागमा धेरै राज्य र राजारजौटाहरु थिए। समयक्रममा कोही गाभिए कोही फुटे र हाल अफगानिस्तान सहित ८ देश अस्तित्वमा छन्।

यस आलेखमा दक्षिणएशियाकै सबभन्दा पुरानो देश नेपाल र भारतको सम्बन्धका बारेमा चर्चा गरिनेछ।

प्राग्तिहासिक आयाम

देशको नामकरण र इतिहास केलाउँदा इस्वीको चौथो शताब्दीबाट नेपालको इतिहास थालनी गरिन्छ भने इस्वीपूर्व चौथो शताब्दीका चन्द्रगुप्त मौर्यबाट भारतको इतिहासको थालनी गरिन्छ।

तर बुद्ध, चन्द्रगुप्त मौर्य र उनका नाती अशोक नेपाल र भारत दुवै देशका इतिहासका थालनी विन्दु हुन्। बुद्ध र चन्द्रगुप्त मौर्य जन्मले र आशोक कर्मले नेपालको इतिहासका धरोहर हुन्।

दक्षिणएशियाकै पुरानो देश नेपालको इतिहास वैदिक साहित्यबाटै थालनी हुन्छ। वैदिक साहित्य संस्कृत साहित्य हो। त्यसैले संस्कृतको नियम अनुसार नेपाल शब्दको उत्पत्ति केलाउँदा नेपालीहरू नीप जातिभित्र पर्छन् (दिवाकर आचार्य, नीपजन र नेपाल)।

वैदिक साहित्यका काण्ववंशीय नीपातिथि र मेधातिथि कोशल, मल्ल र बिज्जी अर्थात् नेपालका वैदिक ऋषिहरु हुन्। यसलाई वैदिककालीन नेपाल भन्न सकिन्छ।

नेपाल शुक्ल यजुर्वेदीय नीपहरुको भूभाग थियो भने मगध वा हालको बिहारमा कीकट जातिको बसोबास थियो।

किं ते कृण्वन्ति कीकटेषु गावो नाशिरं दुह्रे न तपन्ति घर्मम्। आ नो भर प्रमगन्दस्य वेदो नैचाशाखं मघवन्रन्धया नः॥ (ऋग्वेद मण्डल ३ शूक्त ५३ मन्त्र १४)

कीकटवासीहरू दूध दुहेर खाँदैनथे र निशाचर धर्म मान्दथे। उत्तर वैदिक कालमा मगधमा मागध, मन्दग, पाणीय (पाण्डेय?), भल्ल, वसु, रीक्ष आदि जातिको बसोबास थियो (सत्येन्द्र कुमार पाठक)।

नेपालमा काण्व समुदाय र मगधको कीकट समुदायको सम्बन्ध वैदिककालीन हो। कीकट वा मगधको प्रभाव उत्तरतर्फको देश नीप आलयमा पर्ने नै भयो। आज एकअर्कालाई उत्तर र दक्षिणबाट आएको 'म पुरानो बासिन्दा हुँ' भन्ने घमण्ड इतिहास नबुझ्नेहरुलाई खेल्ने खेलाउने हतियार बनेको छ। वैदिककालमा तराइका कपिलवंशीय राज्य (कोशल जनपदमा पर्ने निगलीहवा, कपिलवस्तु र पिपलिवन) मा गएर काण्व ऋषिले गुरुकुलमा प्रवचन दिन्थे।

वैदिक ऋषिका अलाबा काण्व वंशले शुङ्ग वंशपछि मगधमा शासन गरेको इतिहास पनि छ (कण्व वंश, भारतकोश)। वैदिक महाजनपदमध्ये उत्तर पश्चिममा पाञ्चाल, पश्चिममा कोशल, दक्षिण पश्चिममा मल्ल र दक्षिणमा विज्जी वा वज्झी हालको नेपालको भूमि हो। वैदिक महाजनपद भारतको पेवा इतिहास होइन। त्यतिबेला नेपाल र भारतको राजनीतिक सिमाना थिएन। यसको प्राक् इतिहास लेख्नै बाँकी छ।

नेपाल र भारत प्राचीन आर्यावर्तका भूभाग हुन्। ऋग्वेदको नदीसूक्त (१०।७५) अनुसार कुभा (काबुल नदी) देखि अरब सागर र गङ्गादेखि बङ्गालको खाडीसम्म वैदिक भूमि भनेको छ। उपनिषद्कालमा आर्यावर्तको केन्द्र काशी (वनारस) र विदेह (जनकपुर) थियो (वशिष्ठधर्मसूत्र, १।८, ९; बौधायन धर्मसूत्र १।१।२७)।)

मध्यकालीन इतिहास

मध्यकालीन इतिहासमा आर्यावर्तका पाँच खण्ड १ उदीची २ प्रतीची ३ प्राची ४ दक्षिण र ५ मध्य खण्ड पर्छन्। पाँच खण्डमध्ये उत्तर वा उदीचीलाई आर्यावर्त भनेको छ। आर्यावर्तको मध्यखण्डलाई मध्यदेश भनिन्थ्यो जुन भूभाग हालको नेपालको मधेश नामले चिनिन्छ।

मध्यकालको यस भरतवर्ष (भारतीय उपमहाद्वीप) लाई भारत आफ्नो एकलौटी साम्राज्यको जस्तै व्यवहार गर्छ। यस भूभागका सबै भाषा, संस्कृति, ऐतिहासिक धरोहरलाई भारतीय आफ्नै पेवा सम्झन्छ।

इस्वीपूर्व ५०० पछि यस भूभागमा धेरै राज्यहरू खडा भए। हाल कति विलाए कति गाभिए तर नेपाल यथावत् छ। नेपालको पिपलिवनमा जन्मिएका मौर्य वंशीय राजा चन्द्रगुप्त मौर्य र उनका नाति अशोक यस कालका महत्वपूर्ण राजा थिए जसको साम्राज्य अफगानिस्तानदेखि बङ्गदेश (बङ्गलादेश) र नेपालदेखि दक्षिण कर्नाटकसम्म थियो (मुक्त ज्ञानकोश; भारतका इतिहास)।

पिपलिवन (पिप्पलिवाहन) वरपरको क्षेत्रमा मौर्य, शाक्य र कोलीय राज्यहरू थिए। लगभग इस्वीपूर्व ३५० मा हालको नेपालको पिपलिहवा (पिपलिवन) मा मौर्य वंश कुलमा चन्द्रगुप्त मौर्यको जन्म भएको थियो (श्रीवास्तव कानु, हिन्दुस्तान न्युज एक्सप्रेस, सन् २०१८-७-२६)।

आज लुम्बिनी भनेर चिनिएको क्षेत्र मध्यकालमा रुमिनदेइ (रुपन्देही) थियो (राधाकुमुद मुखर्जी; अशोक)। चिनियाँ यात्री ह्वेन त्साङ र फाहियानको चिनी लिपिको प र म को रोमन लिप्यन्तणले गर्दा रुपन्देही चैँ रुमिनदेही भएको हुनसक्छ।

आजको सिद्धार्थनगर (लुम्बिनी विकास क्षेत्र समेत) रुमिनदेइ वा रुपन्देही हो। ह्वेन त्साङद्वारा उल्लिखित न्यग्रोधवन यही हो ( ऐतिहासिक स्थानावली, विजयेन्द्र कुमार माथुर; वैज्ञानिक तथा तकनीकी शब्दावली आयोग, भारत सरकार)।

पिपलिवन अर्थात् वरपीपल जाति (फाइकसिस स्पेसिज) को पूजा गर्ने चलन हिन्दु र बौद्ध धर्ममा अझै पनि छँदैछ। अत: लुम्बिनीमा जन्मेका बुद्ध र पिपलिवनमा जन्मेका चन्द्रगुप्त मौर्य नेपाली इतिहासका धरोहर हुन्। भारतीय झण्डाको शक्तिको प्रतीक मानिएको चक्रका जन्मदाता सम्राट अशोक चाहिँ कर्मले नेपाली इतिहासका धरोहर हुन्।

मध्यकालीन इतिहासमा आर्यावर्तका पाँच खण्ड १ उदीची २ प्रतीची ३ प्राची ४ दक्षिण र ५ मध्य खण्ड पर्छन्। पाँच खण्डमध्ये उत्तर वा उदीचीलाई आर्यावर्त भनेको छ। आर्यावर्तको मध्यखण्डलाई मध्यदेश भनिन्थ्यो जुन भूभाग हालको नेपालको मधेश नामले चिनिन्छ। मध्यकालको यस भरतवर्ष (भारतीय उपमहाद्वीप) लाई भारत आफ्नो एकलौटी साम्राज्यको जस्तै व्यवहार गर्छ। यस भूभागका सबै भाषा, संस्कृति, ऐतिहासिक धरोहरलाई भारतीय आफ्नै पेवा सम्झन्छ।

जीवनको उत्तरार्द्धकालमा अशोक बुद्ध धर्मबाट प्रभावित भएका थिए। अशोकले हालको नेपालको निगलिहवा र बुद्धको जन्मस्थान रुमिनदेइ (लुम्बिनी) मा अशोकस्तम्भ खडा गरेर (स्मिथ विन्सेन्ट, सन् १८९७ ; द बर्थप्लेस अफ बुद्ध, डा. फुहरर, १९२१) नेपालको इतिहासलाई बुद्धसँग र इस्वीपूर्व चौथो शताब्दीसम्म इतिहास जोडेका छन्।

नेपालमा गोपाल, महिषपाल, किरातहरु उत्तरमा र दक्षिणमा मौर्य, कोलिय र शाक्यवंशको बसोबास रहेको देखिन्छ। मौर्यकालमा मिथिला र वैशाली मगध राज्यमा समाहित थिए। वैशालीबाट काठमाण्डु आएर सन् ४०० तिर लिच्छविहरुले नेपालको शासन सत्ता लिएको भन्ने इतिहासलाई आधार मान्दा इस्वीपूर्व ३०० देखि इस्वीको ४०० सम्म नेपाल भारतको राजनीतिक सम्बन्ध र सीमारेखा छुट्याउन गाह्रो छ।

पुरानो नक्शामा लिम्पियाधुराबाट शुरु भएको नदीलाई महाकाली नदीको शिर मानिएको थियो । जुन भारतले आफ्नो भूमि दाबी गरेको लिपुलेकबाट करीब ३५ कि.मी. पश्चिम उत्तरमा पर्दछ ।

आधुनिक इतिहास

कर्णाटकबाट निर्वासन भएका नान्यदेवले सन् १०६७ मा तिरहुत (मिथिला) लाई स्वतन्त्र राज्य घोषणा गरी सिम्रोनगढलाई राजधानी बनाए। सिमरौनगढ राज्य पूर्वमा महानन्दा नदी (पश्चिम बङ्गाल), दक्षिणमा गङ्गा, पश्चिममा गण्डकी र उत्तरमा हिमालयसम्म थियो भनेको पाइन्छ (चन्द्रेश्वरप्रसाद नारायण सिंह, मिथिला अण्डर द कर्नाटस् १९७९ )।

१३ औं शताब्दीमा गयासुद्दीन तुगलकले सिम्रौणगढ ध्वस्त पारे। सिमरौनगढका अन्तिम राजा हरिसिंह देव तलेजु भवानी (यसमा विद्वानहरुको एकमत छैन) बोकेर भक्तपुरमा शरण लिन आउँदा बाटोमै मृत्यु भएर रानी देवलदेवी र छोरा जगतसिंह भक्तपुरका राजा रुद्र मल्लकहाँ आएको भन्ने इतिहास छ (मिलन बगाले; भक्तपुरलाई सिकाएको सिम्रौनगढ, हिमालखबर, असार २१, २०७६)।

दक्षिणतिरको नेपाल भारत सम्बन्धका जोड घटाउ पछि पश्चिमतर्फ हेरौँ। ७ औँ देखि १२ औं शताब्दीबीचमा पश्चिमी नेपालको डोटी परगन्ना र कुमाउँ कत्युरी राजाको अधीन थियो |  

कत्युरी अधिराज्य विक्रम सम्बत् १२८० चन्दवंशीको उदय भन्दा पहिले पूर्वमा नेपालदेखि पश्चिममा काबुल, अफगानिस्तान, दक्षिणमा कर्नाटकसम्म फैलिएको थियो (बद्रीदत्त पाण्डे, हिस्ट्री अफ कुमाउँ, १९९३)। कार्तिकेयपुर, बैजनाथपुर, जुम्ला, डोटी बोगटानलाई राजधानी बनाउँदै चन्द, पाल र मल्लहरुले शासन गरे। सन् १७९० मा नेपाल (गोरखा?) ले कुमाऊँ विजय गरी सन १८१५ सम्म शासन गर्यो।

पृथ्वीनारायणले उपत्यका विजय गरेपछि नेपालको इतिहासलाई निरन्तरता दिँदै गोरखा राज्य नामकरणको सट्टा नाम नेपाल नै राखे। उनले नेपाल मण्डलभित्रको कला, संस्कृति, सभ्यतालाई निरन्तरता दिएर नेपाल राष्ट्रको गरिमालाई उँचो बनाए।

तिब्बतसँगको ब्यापार, इसाई धर्म प्रचार र उपनिवेश विस्तारमा अवरोध गरेकोमा इष्ट इन्डिया कम्पनी र पश्चिमाहरूले पृथ्वीनारायण विरुद्ध विषवमन गरे। पृथ्वीनारायण शाह र उनकै विरासतको नेपाल राज्यबाट दक्षिण एशियाको पहाडी हिमाली क्षेत्रको प्राकृतिक सम्पत्तिमाथि आँखा गाडेको इष्ट इन्डिया कम्पनीले नेपाल बिरुद्ध युद्ध छेड्यो।

यो दर्दनाक युद्ध साम्य पार्न नेपालले असमान सुगौली सन्धि गर्नुपर्यो। सन् १८१५ डिसेम्वर २ मा भएको उक्त सन्धिको भूभाग नै हालको लिपुलेक, कालापानी, लिम्पियाधुराको रुपमा खील पल्टेर दुख दिइरहेको छ।

सिमाना: महाकाली कि शारदा ?

ऐतिहासिक दस्तावेज हेर्दा नेपाल भारतको पश्चिम सिमाना शारदा (महाकाली) नदी हो। महाकाली त पछि नामकरण भएको हो। शारदा (श्यामा वा काली) नदीको मुहान लिम्पियाधुरा हो भनेर भारतीयहरुले भनेका छन्।

काली नदी जसलाई शारदा नदी, कुटियाङ्दी नदी वा महाकाली नदी भनेर चिनिन्छ सो नदी पिथौरागढको लिम्पियाधुराबाट निस्कन्छ र यो नै महाकाली नदीको हेडवाटर स्ट्रिम हो (काली रिभर, उत्तराञ्चल, एसियन पब्लिक स्कुल, देहरादुन)। लिम्पियाधुराको शिरबाट निस्केको शारदा (श्यामा नदी वा कुटियाङ्दी) नदी जसलाई पछि महाकाली भनियो’का सहायक नदीहरुमा धौली गङ्गा, गोरी गङ्गा, लिपु नदी (खा याङ्दी), टिङ्कर खोला, चमेलिया आदि पर्दछन्।

जोलिङ्कङ ग्लेसियरबाट बगेको हिमपानी शारदा नदीको पार्वती (गौरी कुण्ड) मा मिसिने ऐतिहासिक तथ्यलाई ढाकछोप गर्न भारतले कालापानी भनिने ठाउँमा मानव निर्मित पार्वती ताल र पार्वती मन्दिर खडा गरेर त्यही कृत्रिम तालबाट बग्ने पानीलाई महाकालीको उद्गम भनेको छ। कालीको मुहान कालापानी हो भनेर महाकाली नदीको एकीकृत विकाससम्बन्धी शारदा बाँध, टनकपुर बाँध तथा पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको प्रतिवेदनले समेत भनेको र स्कूल कलेजमा पनि यस्तै पढाइ हुँदै आएको छ। यो सच्याउन वास्ता नगरिएकाे गम्भीर त्रुटि हाे।

मुख्य नदी (खोला) मापन गर्ने वैज्ञानिक विधि अनुसार नदीको लम्बाइ, नदीको जलप्रवाह, नदीका जलाधार क्षेत्र र नदीका शाखा प्रशाखा नदी मापनका विश्वव्यापी मान्यता हुन्। ऐतिहासिक, भौगोलिक, कार्टोग्राफिक, भू-सांस्कृतिक, राजनीतिक हरेक हिसाबले लिम्पियाधुराबाट बगेको शारदा नदी (पछि महाकाली) नेपाल भारतको सीमा हो भन्ने कुराको पुष्टि हुन्छ।

प्रमाणमा पुराणः इतिहास कि अन्धविश्वास?

स्कन्द पुराणले पनि शारदा नदी (वर्तमान महाकाली नदी) को मुहान पत्ता लगाउन मद्दत गर्छ। स्कन्द पुराणको मानस खण्डमा कैलाश मानसरोवरको वर्णन गरिएको छ। स्कन्द पुराण मानस खण्डमा पाँच हिमालको वर्णन छ।

खण्डा पञ्च हिमालयस्य कथिता नेपाल कूर्मांचलौ। केदारोथ जलंधरोथ रुचिर काश्मीर संज्ञोन्तिम।

नेपाल खण्ड, कुर्माञ्चल (कुमाउँ), केदार (केदार खण्ड), जलन्धर खण्ड र काश्मीर गरी हिमालयका पाँच खण्डमध्ये शारदा (श्यामा नदीदेखि) पूर्वको भाग नेपाल खण्ड (नेपाल मण्डल) हो। जोलिङ्कङ (आदि कैलाश) पर्वत (जोलिङ्कङ ग्लेसियर) बाट बगेको हिमपानी शारदा नदीको पार्वती सरोवर (गौरी कुण्ड) भएको ठाउँमा पुग्छ।

गौरी कुण्डमा नुहाएर आदि कैलाश (छोटा कैलाश) दर्शन गरेर मानस ताल (मानसरोवर) दर्शन गर्न जाने कुरा स्कन्द पुराण मानसखण्डले बताउँछ। तर कतिपय विद्वान् विश्लेषकहरुको दिमागमा स्कन्दपुराण इतिहास होइन अन्धविश्वास हो भन्ने मानसिकताले जरो गाडेको छ। वेद पुराणकै प्रमाण पेश गरेर भारतले नीम र हलेदोको पेटेन्ट राइट अमेरिकाबाट खोस्यो। वेद पुराण अन्धविश्वास भए भारतले यस्तो काम गर्न सक्थ्यो ?

दक्षिणएशिया र मध्यएशियाका हिमनदी कुन कुन हुन् र ती कुन कुन हिमग्लेसियरबाट शुरु हुन्छन् भन्ने कुरा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था इसिमोडलाई राम्ररी थाहा छ। काजकस्तानदेखि बर्मासम्मका हिमाल र हिमग्लेसियरको अभिलेख इसिमोडमा जति सन्सारको अर्को कुनै संस्थासँग नहोला। इसिमोडलाई सोधौँ, शारदा (महाकाली नदी) को हिमग्लेसियर कुन हो भनेर। 

ब्रिटिश इन्डिया, नेपाल र भारत

सन् १८१६ को मार्चमा सहमति भएको सुगौली सन्धिको पाँचौं बुँदामा नेपाली पक्षले काली (शारदा) नदी पश्चिमको भूभागप्रति कुनै किसिमको सरोकार नराख्ने भनिएको छ। महाकाली नदीभन्दा पश्चिम भन्ने सन्धिको भाषालाई बेवास्ता गरी २०५३ असोज २४ गते महाकाली नदीको एकीकृत विकाससम्बन्धी शारदा बाँध, टनकपुर बाँध तथा पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको प्रतिवेदनले महाकाली नदी साझा हो पानी आधा आधा हो भनियो।

एच जी वाल्टनको सम्पादनमा सन् १९११ मा प्रकाशित भएको अलमोडा गजेटियरको पाना नंबर २ मा कुमाउँ डिभिजनमा पर्ने अल्मोडा जिल्लाको सिमाना ३०’४९ उत्तर अक्षांशको तिब्बती हिमालबाट शारदा नदीले अल्मोडा र नेपाललाई छुट्याउँछ भनेको छ।

मूल कपीमा यस्तो लेखेको छ (शारदा रिभर सेपरेट्स अल्मोडा फ्रम नेपाल; अन द नर्थ, वाटर पारटिङ रिज सेपरेट्स अल्मोडा फ्रम टिबेट) ।

ओपन स्ट्रिटको ३०’४९ अक्षांशको विन्दु तलको नक्शामा हेर्नुहोला।

ओपन स्ट्रिट म्याप ३०’४९ अक्षांश

तर नेपाल सरकारका थुप्रै आधिकारिक अभिलेखसमेत सत्यतथ्यको कसीमा खरो उत्रन सकेका छैनन्। २०५३ असोज २४ गते महाकाली नदीको एकीकृत विकाससम्बन्धी शारदा बाँध, टनकपुर बाँध तथा पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत प्रतिवेदन (डीपीआर) तयार गर्न संसदीय अनुगमन संयुक्त समिति गठन भएको थियो।

१९१६ मा नेपालका प्रधानमन्त्री चन्द्रशमशेर राणाले अन्यत्र सट्टाभर्ना पाउने गरी शारदा ब्यारेज बनाउन भारतलाई चार हजार २९ एकड जमीन उपलब्ध गराए तर सट्टाभर्ना अहिलेसम्म पाएको छैन . महाकाली नदीको एकीकृत विकाससम्बन्धी शारदा बाँध, टनकपुर बाँध तथा पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत प्रतिवेदन (डीपीआर) मा यो कुरा किन उठाइएन ?

समितिले लिम्पियाधुरा क्षेत्रको स्थलगत भ्रमण गरी ऐतिहासिक तथ्यहरुको विस्तृत अध्ययन गरेर प्रतिवेदन पेश गर्‍याे। प्रतिवेदनले भन्छ; वास्तवमा लिम्पियाधुराको शिर महाकाली नदीको उद्गमस्थललाई कालापानी भनिन्छ (महाकाली नदी र लिम्पियाधुराको प्रसङ्ग, रासस २०७७ वैशाख ३१ गते)।

१९१६ मा नेपालका प्रधानमन्त्री चन्द्रशमशेर राणाले अन्यत्र सट्टाभर्ना पाउने गरी शारदा ब्यारेज बनाउन भारतलाई चार हजार २९ एकड जमीन उपलब्ध गराए तर सट्टाभर्ना अहिलेसम्म पाएको छैन (ऋषिराज लुम्साली, नयाँ पत्रिका, २०७६ कार्तिक २६)। महाकाली नदीको एकीकृत विकाससम्बन्धी शारदा बाँध, टनकपुर बाँध तथा पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत प्रतिवेदन (डीपीआर) मा यो कुरा किन उठाइएन ?

प्रजातन्त्र प्राप्तिको ३१ वर्षपछि नेपालको सीमाको खोजी भएको छ। नेपाल  भारत सम्बन्ध इतिहास काल गणनाको २०४ वर्ष पछि नयाँ मोडमा उभिएको छ। ऐतिहासिक दस्तावेज राम्ररी खोतलेर लेख्ने, बोल्ने बानी बसालौँ। नेपाल-भारत सम्बन्ध कलहमा परिणत नहोस्।

-लक्ष्मीप्रसाद खतिवडा (पीएचडी) दक्षिणएशियाको प्राचीन ज्ञान पद्धति विषयका अध्येता हुन् ।

प्रतिकृया दिनुहोस