रिपोर्ट बुधबार, असार २४, २०७७

जाँचिएका सबैमा कोरोना संक्रमणको अत्यासलाग्दो तथ्यांक सार्वजनिक हुनुमा मन्त्रालय नै दोषी

रामु सापकोटा

जाँचिएका सबैमा कोरोना संक्रमणको अत्यासलाग्दो तथ्यांक सार्वजनिक हुनुमा मन्त्रालय नै दोषी
कोभिड–१९ बारे स्वास्थ्य मन्त्रालयको नियमित राष्ट्रिय अद्यावधिक विवरण सार्वजनिक गर्दै प्रवक्ता जागेश्वर गौतम (दायाँ) । साथमा सांकेतिक भाषामा विवरणलाई उल्था गर्दै दिनेश श्रेष्ठ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १७ असार र १९ असारमा सार्वजनिक गरेको तथ्याङ्कमा महाराजगञ्जको त्रिवि शिक्षण अस्पताल, ललितपुरको पाटन अस्पताल, धनगढीको पशुपन्छी अन्वेषण प्रयोगशालाबाट जाँच गरिएका सबैमा एकै पटक कोरोनाभाइरस (कोभिड–१९) संक्रमण देखियो।

‘१९ असारमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल मार्फत २४ घण्टाभित्र जाँच गरिएका ९६ जना कोरोना संक्रमितहरुमध्ये ९६ जनालाई नै कोरोनाभाइरसको संक्रमण देखियो’, मन्त्रालयद्वारा जारी तथ्याङ्कमा भनिएको थियो।

यस्तै सोही मितिमा विगत २४ घण्टाभित्र पाटन अस्पताल मार्फत कोरोनाभाइरस परीक्षण गरिएका २०७ र धनगढीको प्रयोगशाला मार्फत जाँचिएका ६५ जनामध्ये शतप्रतिशतमा संक्रमण भेटिएको बताइएको थियो।

विज्ञहरुका अनुसार, जाँच गरिएकामध्ये सबैमा कोभिड–१९ देखिनुको अर्थ कोरोनाभाइरस संक्रमण समुदायस्तरमै फैलिसकेको भन्ने लाग्छ, जुन एकदमै डरलाग्दो अवस्था हो।

के नेपालमा कोरोना संक्रमणको अवस्था तथ्याङ्कले भनेझैं ‘डरलाग्दो’ नै हो त?

स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा. समिर अधिकारी स्वयं भने यो स्वीकार गर्दैनन् । उनको भनाइमा अहिलेसम्म जाँच गरिएका सबैमा कोरोनाभाइरस संक्रमण देखिएको छैन । उनका भनाइमा, मन्त्रालयमा शुरुमा संक्रमण नेगेटिभ देखिएकाहरुको संख्या मात्र आउने तर पोजेटिभ देखिएकाहरुको नाम, ठेगाना र उमेर लगायतको विवरण र प्रमाणित सूचना पठाउनुपर्छ।

त्यसो भए कहाँ भयो लापरवाही ? कसले गर्‍यो त यस्तो गम्भीर गल्ती?

हिमालखबर स्रोतका अनुसार, तथ्याङ्कको सही विश्लेषण गरेर मात्र सार्वजनिक गर्ने यो काममा स्वास्थ्य मन्त्रालयबाटै गल्ती भएको छ । मन्त्रालयकै कारण समुदायमा भय फैलिने यस्तो सूचना जनमानसमा पुगेको छ । यो गल्तीमा हतारमा तथ्याङ्क संकलन गर्ने प्रवृत्ति जिम्मेवार देखिएको छ।

स्वास्थ्य मन्त्रालयले प्रत्येक दिन दिउँसो एक बजेभित्र सबै प्रयोगशाला तथा अस्पतालहरुलाई कोरोनाभाइरस जाँचको नतिजा पठाउन निर्देशन दिएको छ । मन्त्रालयको निर्देशन पालना गर्ने क्रममा अस्पताल र प्रयोगशालाहरुले अपूर्ण विवरण पठाउने र त्यसैलाई विश्लेषण नगरी ‘प्रेस ब्रिफिङ’मा प्रस्तुत गरिंदा यस्तो ‘दुर्घटना’ हुनपुगेको देखिन्छ।

स्वास्थ्य मन्त्रालयमा विज्ञका रुपमा कार्यरत वंशाणुविद् बलराम गौतमका अनुसार, अस्पताल वा प्रयोगशालाले कोरोना संक्रमण नतिजाको तथ्याङ्कलाई सबैभन्दा शुरुमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा पठाउँछन्।

अनि महाशाखाले उक्त तथ्याङ्क स्वास्थ्य मन्त्रालयको हेल्थ इमेर्जेन्सी अपरेशन सेन्टरमा पठाउँछ । सेन्टरबाटै आएको तथ्याङ्कलाई मन्त्रालयले ‘प्रेस बिफ्रिङ’मा सार्वजनिक गर्छ।

१७ असार र १९ असारमा पनि मन्त्रालयले यही प्रक्रिया अनुसार नै कोरोनाभाइरस संक्रमण बारेका तथ्याङ्क अद्यावधिक गरेको हो।

तर, गल्ती कहाँनेर भयो त ? वंशाणुविद् गौतमका अनुसार, २४ घण्टामा कोरोना जाँचिएका मध्ये संक्रमण नदेखिएका नेगेटिभ र संक्रमण देखिएका पोजेटिभ केसका तथ्याङ्क फरक–फरक मितिमा पठाएका जाँचिएका सबैमा संक्रमण देखिएको आशयको तथ्याङ्क सार्वजनिक हुन पुगेको हो।

“जाँचिएका सबैमा कोरोनाभाइरस संक्रमण देखिएको छैन, तथ्याङ्क संकलन र विश्लेषणको कमी नै यसो हुनुको मुख्य कारण हो”, गौतम भन्छन्।

प्रयोगशाला विज्ञ डा.उमेशप्रसाद गुप्ता मन्त्रालयले सार्वजनिक गरेका गलत तथ्याङ्क बारे छानबिन गरिनुपर्ने बताउँछन् । “भोलि फेरि हुनसक्ने गल्ती सुधार गर्न पनि मन्त्रालय वा प्रयोगशाला कहाँबाट चुक भएको हो पत्ता लगाउनुपर्छ”, उनी भन्छन्।

त्रिवि शिक्षण अस्पतालका कोरोना प्रयोगशालाका प्रा.डा. निरञ्जन साह भने प्रयोगशाला गलत नभएको बताउँछन् ।

“१७ असारमा कुल २४९ जनामा कोरोना जाँच गरिएकोमा ११४ जनामा पोजेटिभ र बाँकीमा नेगेटिभ देखिएको थियो, हामीले त्यही विवरण नै मन्त्रालयलगायत माथिका सम्बन्धित निकायमा पठाएका हौं”, उनी भन्छन् । तर, मन्त्रालयले कुल जाँचिएका व्यक्तिको संख्या नराखी पोजेटिभ देखिएकाको संख्या मात्र भनेको उनको भनाइ छ।

प्रतिकृया दिनुहोस