अपांगता भएकाहरूको पीडा– यसै त कष्टकर जीवन, महामारीले झनै गाह्रो !
सामान्य अवस्थामा नै संघर्ष गर्दै आएका अपांगता भएकाहरूलाई कोरोनाभाइरसको महामारी र बन्दाबन्दीले आर्थिक कठिनाइ मात्र पारेको छैन, मानसिक समस्या पनि थपेको छ।
काठमाडौं कपनका दिलराज परियार र सुष्मा बलामी दृष्टिविहीन जोडी हुन् । कोरोनाभाइरस महामारी रोकथामका लागि बन्दाबन्दी (लकडाउन) गरिनुअघि उनीहरू चावहिल र सुन्धाराको सडकमा बसेर गीत गाएर आम्दानी गर्थे।
तर, लकडाउनपछि आम्दानीको बाटो बन्द हुँदा गाह्रो भएको सुष्मा बताउँछिन् । बन्दीबन्दीले घरैमा सीमित बनाउँदा दैनिक गुजारा चलाउन र दुई छोरालाई होस्टलमा राख्न कठिन भएको उनको भनाइ छ । “पहिले सडकमा गाएर दैनिक ५०० रुपैयाँसम्म कमाउँथ्यौं, तर बन्दाबन्दीले कोठाभाडा तिर्न र दुई छाक जोहो गर्नै नसक्ने गरी बिजोग बनायो।”
सुर्खेतकी दृष्टिविहीन माया खड्का (४९) ले गाउँघरमा नै काम गरेर गुजारा गर्दै आएकी थिइन् । तर, बन्दाबन्दीपछि मानिसहरूले काममा नबोलाउँदा जीवन धान्न मुश्किल परेको उनी बताउँछिन् । “अर्काको घरमा घरायसी, खेतबारी, बस्तुभाउको काम गरेर ज्यान पालेकी थिएँ, संक्रमण सर्ने डरले नआउनू भनेपछि गएकी छैन”, माया भन्छिन्।
अपांग महिला संघकी अध्यक्ष टीका दहाल अपांगता भएका व्यक्तिहरूले जिन्दगी चलाउन शरीरले सकेको काम गर्दै आएकोमा बन्दाबन्दीले त्यो बाटो नै बन्द गरिदिंदा धेरैको बिचल्ली भएको बताउँछिन्। “अपांगता भएकाहरूको जीवन बन्दाबन्दी अघि पनि यसै कष्टकर र संघर्षमय थियो, उनीहरूलाई बन्दाबन्दीले थप कष्ट थपिदिएको छ”, उनी भन्छिन्।
बन्दाबन्दी पछिल्लो समय केही खुकुलो पारिए पनि अपांगता भएका व्यक्तिहरू घर बाहिर गएर नियमित काम गर्न सक्ने अवस्था अझै नरहेकाले आधा पेट खाएर बाँच्नुपर्ने अवस्था रहेको दहाल बताउँछिन्।
समाजले लगाउने दुर्बल र अक्षमको वचनवाणबाट आहत भई आफ्नो लागि आफैंले सकेजति काम गर्दै आएका अपांगता भएकाहरूलाई यो महामारीले आर्थिक चोट मात्र दिएको छैन, मानसिक असर पनि गरेको छ।
होचापुड्का संघमा आबद्ध गोंगबुकी कृष्णमाया सुनुवार (२९) कार्यक्रमहरूमा नृत्य गरेर जीविकोपार्जन गर्थिन् । बन्दाबन्दीले बाँच्नै सकस पारेको उनको भनाइ छ । “७० वर्षीया आमासँग बस्दै आएकी छु, नाच्ने कर्म महामारी र बन्दाबन्दीले बिथोलेपछि घरभाडा, खाद्यान्न र औषधि उपचार खर्च जुटाउन समस्या भएको छ”, उनले भनिन्।
बन्दाबन्दीमा परिवारका सदस्य र टोल–समाजका मानिसहरू घरमै बसेका कारण यो अवधिमा आफ्नो शारीरिक बनोटमाथि खिसीटिउरी पनि धेरै सुन्नुपरेको उनको पीडा छ।
‘खाद्यान्नभन्दा स्वास्थ्य सामग्री आवश्यक’
अपांगताको प्रकार अनुसार समस्या पनि फरक–फरक हुन्छन् । लगनखेल मानभवनका कृृत शेखर अमात्य (१४) लाई अटिजमको समस्या छ । स्नायु र नसाको स्वाभाविक विकासक्रम नहुँदाको यो अवस्थामा उनले दैनिक बिहानै उठेर हिंड्नुपर्ने हुन्छ । तर, कोरोनाभाइरसको संक्रमण जोखिम र बन्दाबन्दीका कारण उनले घरभित्रै बस्नुपर्ने बाध्यता छ।
कृतकी आमा डा.सुनिता मलेकू अमात्य शारिरीक रूपमा नदेखिने तर मानसिक रूपमा समस्या हुने अटिजमका बिरामीलाई बन्दाबन्दीले धेरै समस्या पारेको बताउँछिन् । “आफूले भनेको अरुले नबुझ्नु र अरुले भनेको कुरा बुझ्न नसक्दा धेरै समस्या उत्पन्न हुने भएकाले अटिजमका बिरामीलाई विशेष हेरचाह गर्नुपर्छ”, उनी भन्छिन्।
अटिजम भएका व्यक्तिका लागि बनाइएका ‘केयर सेन्टर’ बन्द भएपछि परिवारलाई सम्हाल्न गाह्रो भएको उनले देखेकी छन् । अटिजमसँग नै सम्बन्धित डा. मलेकू अटिजमको समस्या भएका बालबालिकालाई यो वेला घरपरिवारले वातावरण सहज बनाउनुपर्ने सुझाव दिन्छिन् । “बन्दाबन्दीमा घरभित्रै थुनिएर बस्दा यस्ता समस्या भएका बालबालिकामा आक्रोश र चिडचिडापन बढ्न सक्छ, यो अवस्था आउन नदिन समय व्यवस्थापन गर्नुपर्छ”, उनी भन्छिन्।
अपांग महिला संघकी अध्यक्ष टीका दहाल महामारीपछिको असहज अवस्थाले अपांगता भएका व्यक्तिहरू आर्थिक, सामाजिकसँगै मानसिक रूपमा कमजोर हुने भएकाले मनोबल खस्किने बताउँछिन् । उनी भन्छिन्, “अपांगता भएका व्यक्तिहरूमा रोगसँग लड्ने क्षमता कम हुन्छ भन्ने मानसिकताले कोरोनाभाइरस लाग्छ र रोग लागिहाले अपांगतामैत्री क्वारेन्टिन नभएकाले यत्तिकै ज्यान जाने हो कि भन्ने चिन्ता बेग्लै छ।”
अपांगता भएकामध्ये विशेष गरी स्पाइनल कर्ड इन्जुरी भएका, ह्वीलचियर प्रयोगकतर्ता र बौद्धिक अपांगता भएका व्यक्तिहरू बन्दाबन्दीपछि बढी अप्ठ्यारोमा परेको दहाल बताउँछिन् । तीमध्ये पनि महिलाहरूले झनै समस्या भोग्नुपरेको उनको भनाइ छ । “उनीहरूलाई राहतको नाममा उपलब्ध हुने खाद्यान्नभन्दा डाइपर, प्याड र औषधि महत्वपूर्ण हुन्छ”, उनी भन्छिन्।