ब्लग मंगलबार, असार २३, २०७७

राष्ट्रिय सभामा दुई वर्षमा के के काम भए ? कुन सांसदले कति पटक आफ्ना कुरा राखे ?

लक्ष्मी बस्नेत

राष्ट्रिय सभामा दुई वर्षमा के के काम भए ? कुन सांसदले कति पटक आफ्ना कुरा राखे ?

संघीय संसद् सचिवालयले प्रकाशन गरेको ‘राष्ट्रिय सभाको दुई वर्ष’ पुस्तकमा को सांसदले कुन वेला र कति पटक बोले भन्नेदेखि बोलेका विषय र संसदीय समितिहरूले गरेका कामको विवरण समेटिएको छ।

२४ माघ २०७४ मा ५६ जना निर्वाचित र ८ फागुनमा राष्ट्रपतिबाट ३ जना मनोनीत भएर राष्ट्रिय सभा गठन भएको थियो । २१ फागुनमा बसेको पहिलो बैठकको अध्यक्षता ज्येष्ठ सदस्य तारादेवी भट्टले गरेकी थिइन् । राष्ट्रिय सभाका यी शुरूआती घटनाक्रमदेखि दुई वर्षसम्म भएका काम–कारबाही समेटेर संघीय संसद् सचिवालयले ‘राष्ट्रिय सभाको दुई वर्ष’ पुस्तक प्रकाशन गरेको छ।

२० फागुन २०७६ सम्मको गतिविधि समेटिएको पुस्तकमा सांसदहरूले बोलेका विषयदेखि कसले कति पटक बोले भन्नेसम्म विवरण सारसंक्षेपमा राखिएको छ । त्यस्तै, राष्ट्रिय सभा अन्तर्गतका चार वटा समितिको काम, समितिहरूले सरकारलाई दिएका सुझाव तथा निर्देशनहरूको कार्यान्वयन अवस्था पनि समेटिएको छ।

शून्य र विशेष समय

२१ फागुन २०७४ देखि २० फागुन २०७६ सम्म १५५ दिनमा राष्ट्रिय सभाका १७७ वटा बैठक बसेको थियो । संसद् बैठकमा सांसदहरू बोल्न शून्य र विशेष समय छुट्याइएको हुन्छ । शून्य समयभन्दा विशेष समयलाई सांसदहरूले प्राथमिकता दिएको देखिएको छ।

दुई वर्षको अवधिमा शून्य समयमा ४४ सांसद र विशेष समयमा ५२ सांसदले बोलेका छन् । सबैका लागि बराबर अर्थात् एक मिनेटको समय दिइने शून्य समयमा सांसदहरूले समसामयिक विषय तथा जनताका समस्याबारे बोल्ने गरिएको छ । राष्ट्रिय सभामा सामान्यतया मंगलबार, बुधबार र बिहीबार शून्य समय उपलब्ध गराइएको हुन्छ । यस्तै, समसामयिक विषयमा सदस्यहरूले दर्ता गराउने विभिन्न प्रस्ताव (गैरसरकारी कार्य) का लागि आइतबार र नियमित विशेष समयका लागि सोमबार तय गरिएको छ।

पुस्तकमा कुन सांसदले कुन समयमा कति पटक बोले भनेर छुट्टै राखिएको छ । शून्य समयमा तीन पटकभन्दा कम बोल्ने सांसदको संख्या १९ छ भने एक पटक मात्रै बोल्नेको संख्या १० छ । सत्तारुढ नेकपाका सांसद खेमराज नेपाली, राजपाका वृशेषचन्द्र लालले दुई वर्षमा शून्य समयमा एक पटक मात्र बोलेका छन् । विशेष समयमा भने नेपालीले ११ पटक र लालले २१ पटक बोलेका छन्।

शून्य समयमा एक पटक मात्र बोल्ने अन्य सांसद नरपति लुवार, प्रमिला कुमारी, महेशकुमार महरा, बिना पोखरेल, सरिता प्रसाईं, शेरबहादुर कुँवर, सिंगबहादुर विश्वकर्मा, सुमनराज प्याकुरेल छन्।

शून्य समयमा नबोल्ने र विशेष समयमा पनि एक पटक मात्र बोल्नेहरूमा दीनानाथ शर्मा र परशुराम मेघी गुरुङ छन् । दुवैले तेस्रो अधिवेशनमा बोलेका थिए । नेकपा सांसद शर्मा मुख्य सचेतक हुन् भने नेकपाकै सांसद गुरुङ राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिका सदस्य हुन्।

विशेष समयमा सबैभन्दा धेरै पटक बोल्ने नेकपाका सांसद रामनारायण बिडारी हुन् । प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रहेका उनले शून्य समयमा तीन पटक र विशेष समयमा ३० पटक बोलेका छन् । बिडारीपछि विशेष समयमा रामप्रित पासवानले २८ पटक बोलेका छन्। उनको कार्यकाल गएको फागुनमा सकिएको छ।

त्यस्तै, डा. विमला राई पौड्याल र वृशेषचन्द्र लालले २१/२१ पटक, कोमल ओली, राधेश्याम अधिकारी र रामलखन चौधरी २० पटक बोलेका छन् भने रमेशप्रसाद यादवले १८ तथा जितेन्द्र देव, शेरबहादुर कुँवर र प्रमिला कुमारीले १५/१५ पटक बोलेका छन्।

तस्वीर: रासस

सांसदहरूको अनुभव

गएको फागुनमा १९ जना सांसदको पदावधि सकियो । राष्ट्रिय सभाका एक तिहाइ सांसदहरुको पदावधि दुई वर्षमा सकिने संवैधानिक प्रावधान अनुसार उनीहरूको पदावधि सकिएको हो । पदावधि सकिनेहरुको अनुभव पनि पुस्तकमा (पृष्ठ ९३–१२२ सम्म) राखिएको छ।
सांसदहरूले सरकारले राष्ट्रिय सभाले उठाएका विषयलाई सम्बोधन गर्न प्राथमिकता नदिएको, राष्ट्रिय सभालाई बौद्धिकहरूको थलो बनाउन निश्चित योग्यतामा आधारित बनाइनुपर्ने जस्ता सुझाव दिएका छन्।

राष्ट्रियसभा अन्तर्गत चार वटा ‘मिनी संसद्’ अर्थात् संसदीय समिति छन् । उनीहरूले गरेका काम पनि पुस्तकमा समेटिएको छ । संसदीय समितिहरूले सरकारलाई संसद्प्रति उत्तरदायी एवं जवाफदेही बनाउने एवं सरकारले गरेका कामहरूको अनुगमन मूल्यांकन गर्ने गरेका छन् । समितिले सरकारलाई दिएका मुख्य सुझाव र निर्देशन तथा तिनको कार्यान्वयनको अवस्था पनि सारसंक्षेपमा राखिएको छ।

कानून निर्माणको हिसाबले २१ फागुन २०७४ देखि २० फागुन २०७६ सम्म संघीय संसद्‌मा ९७ वटा विधेयक दर्ता भएकोमा राष्ट्रिय सभामा ३० र प्रतिनिधि सभामा ६७ वटा उत्पत्ति भएका छन् । तीमध्ये ६५ वटा विधेयक पारित भएका छन् । जसमध्ये मौलिक हकलाई कार्यान्वयन गर्ने १६ वटा, अन्य नयाँ विधेयक ४१ वटा तथा प्रचलित कानून संशोधन गर्ने २४ वटा विधेयक छन्।

पुस्तकका आखिरी पृष्ठहरूमा सांसदहरूको संक्षिप्त परिचय पनि राखिएका छन् । गएको फागुनमा नयाँ आएका १९ जना सांसदको नामावली पनि समेटिएको छ । संसदीय अभ्यास तथा संसदीय काम–कारबाहीबारे जानकारी लिन पुस्तक उपयोगी हुने राष्ट्रिय सभाका सचिव एवम् पुस्तकका सम्पादक राजेन्द्र फुयाँलले बताए।

पुस्तक : राष्ट्रिय सभाका दुई वर्ष । प्रकाशक : संघीय संसद् सचिवालय, सिंहदरबार । पृष्ठ : २८२ +१८ । सम्पादक : राजेन्द्र फुयाँल

प्रतिकृया दिनुहोस