रिपोर्ट सोमबार, असार २२, २०७७

के महामारीकै बीच होला त रातो मत्स्येन्द्रनाथको जात्रा ?

नुनुता राई

के महामारीकै बीच होला त रातो मत्स्येन्द्रनाथको जात्रा ?
रातो मत्स्येन्द्रनाथकाे रथ निर्माण।

काठमाडौं उपत्यकामा भव्य रूपमा मनाइने अधिकांश जात्रा यो वर्ष सामान्य पूजामा सीमित हुँदा ललितपुरको रातो मत्स्येन्द्रनाथ र मीननाथ रथ जात्राका लागि रथ निर्माण थालिएको छ। दुवै जात्राको तयारी ढिलो गरी शुरू गरिएको हो।

सामान्य अवस्थामा रातो मत्स्येन्द्रनाथ र मीननाथ जात्राको तयारी २७ चैतदेखि गरिन्छ। उक्त दिन रथ बनाउने साइत–पूजा गरेपछि भोलिपल्टबाट रथ बनाउन थालिन्छ। उपत्यकाकै सबैभन्दा लामो रातो मत्स्येन्द्रनाथ जात्रा वैशाखशुक्ल प्रतिपदादेखि शुरू भई असारशुक्ल चौथीमा समाप्त हुन्छ। 

यो वर्ष १२ वैशाखमा देउता विराजमान गराई १५ वैशाखबाट रथ तान्ने साइत थियो। तर, कोरोनाभाइरसको संक्रमण रोक्न गरिएको बन्दाबन्दीले रथ नै बनाइएन। अरू जात्रा रोकिए पनि यी जात्राको तयारी थालिएको ललितपुर गुठी संस्थान प्रमुख राजन भुजु बताउँछन्।

२७ चैतमा रथ बनाउने साइत–पूजा मात्रै भएको थियो। अहिले पुल्चोकको रथखेलमा १० असारबाट रातो मत्स्येन्द्रनाथको रथ बनाउन थालिएको छ । मीननाथ जात्राको लागि टंगालमा १७ असारबाट रथ बनाइँदैछ। रथ बन्न १५ दिन लाग्ने भुजु बताउँछन्। दुवै रथ एकै दिन रथखेलबाट तानिन्छ। त्यसका लागि उपयुक्त साइतमा मीननाथको रथ रथखेल ल्याइन्छ।

बन्दाबन्दी खुकुलो भएकाले परम्परालाई निरन्तरता दिन जात्राको तयारी थालिएको भुजु बताउँछन् । उनी भन्छन्, “रथ बनाउन शुरू भइसकेको छ । अहिलेको अवस्था कायम हुन्छ वा फेरिन्छ भन्ने निश्चित नभएकाले हतार नगरेका हौं।”

रातो मत्स्येन्द्रनाथ जात्राका लागि रथ निर्माण गरिंदै ।

मच्छिन्द्रनाथ गुठीसँग सम्बन्धित ज्योतिषीले रातो मच्छिन्द्रनाथलाई रथमा विराजमान गराउन २४ असारको साइत निकालेका छन्। सो दिन ४ बजेर ४२ मिनेटमा मच्छिन्द्रनाथलाई रथमा विराजमान गराइने छ।

हाल तःबहालस्थित पाटीमा रहेका मच्छिन्द्रनाथलाई चार जना पुजारीले बाजागाजा, पूजापाठ र नीतिनियमका साथ ल्याएर पुल्चोकमा रहेको रथमा विराजमान गराउने प्रचलन छ। तर, यो वर्ष रथ तान्ने वा नतान्ने छलफलकै क्रममा रहेको गुठी संस्थान ललितपुरका कर्मचारी रोशन ढुंगाना बताउँछन्।

ललितपुरका अन्य जात्रा भने यो वर्ष स्थगित भए। गोदावरी नगरपालिका–११ स्थित चापागाउँको प्रसिद्ध बज्रबाराहीदेवीको खटजात्रा, बुलु जात्रा, गणेश जात्रामा सामान्य पूजा मात्र गरियो। प्रत्येक चैत शुक्ल चतुर्दशीदेखि पूर्णिमाको अघिल्लो दिन बुलु जात्रा, पूर्णिमादेखि दुई दिनसम्म खटजात्रा र पछिल्लो दिन गणेश जात्रा मनाउने प्रचलन रहेको वडाध्यक्ष नीलबहादुर देशार बताउँछन्। उनी भन्छन्, “यो वर्षको अवस्थालाई हेरेर विधि पुर्‍याएर सामान्य रूपमा पूजा गरेर सम्पन्न गर्‍यौं।”

सेतो मत्स्येन्द्रनाथको जात्रा स्थगित

काठमाडौंको सेतो मत्स्येन्द्रनाथको जात्रा भने यो वर्ष स्थगित भएको गुठी संस्थान काठमाडौं प्रमुख हरिप्रसाद सुवेदी बताउँछन्। गएको १६ चैतबाट शुरू हुने जात्रा बन्दाबन्दीका कारण स्थगित भएको हो।

यो जात्रामा आर्या अवलोकितेश्वरको मूर्तिको रथयात्रा गरिन्छ । मूर्तिलाई जमलमा बनाइएको रथमा प्रतिस्थापन गराइएपछि नगर परिक्रमा गरिन्छ । अन्तिम दिन लगनटोलस्थित मच्छिन्द्रनाथकी आमालाई तीन पटक परिक्रमा गराएपछि रथयात्रा सम्पन्न हुन्छ ।

दिवंगत पितृको सद्गतिको कामना गर्दै बौद्धस्थित चैत्यमा दीप प्रज्ज्वलन गर्ने तामाङ समुदायको तेमाल जात्रा पनि स्थगित भएको छ। प्रत्येक वर्ष चैत शुक्लचतुर्दशी बेलुकीदेखि बौद्ध चैत्यमा दीयो बालिन्छ । यसो गर्दा दिवङ्गत पितृको आत्माले शान्ति पाउने बौद्ध समुदायमा धार्मिक विश्वास छ।

भदौमा काठमाडौं उपत्यकामा इन्द्रजात्रा र गाईजात्रा मनाइन्छ । ती जात्रा मनाउन गुठी संस्थान काठमाडौंले सरोकारवालाहरूसँग छलफल थालेको छ।

पूर्णिमाका दिन बिहानसम्म बौद्ध चैत्यमा बत्ती बाली बालाजु बाइस धारा स्नान गरेर जामाचो, स्वयम्भू लगायत तीर्थस्थल पुग्ने प्रचलन छ। तर, यो वर्ष बौद्ध चैत्यमा लामा गुरुले पूजा पाठ लगायत नित्य कर्म मात्रै गरेका छन् ।

भक्तपुरको बिस्केटमा पूजा मात्र

भक्तपुरको ऐतिहासिक बिस्का (बिस्केट) जात्रा आठ रात नौ दिन चल्छ। यो जात्रामा हजारौं सहभागी हुन्छन् । हरेक वर्ष २७ चैतबाट शुरू हुन्छ। २७ गते भैरवनाथको रथ तान्ने, ३० गते लिंगो उठाउने र १ वैशाखमा लिंगो ढाल्ने गरिन्छ।

यो वर्ष बिस्का जात्रामा विधिपूर्वक पूजा मात्र गरिएको गुठी संस्थान भक्तपुर प्रमुख आनन्द कर्माचार्य बताउँछन् । त्यस्तै तलेजु मन्दिरमा हुने ठाः पूजा (बलि दिएर गरिने पूजा) पनि यसपटक स्थगित भयो । त्यहाँ सामान्य पूजा मात्रै गरिरहेको कमाचार्य बताउँछन्।

भक्तपुरको मध्यपुर थिमीमा मनाइने सिन्दुरे जात्रा पनि यो वर्ष सामान्य विधि गरेर सम्पन्न भएको मध्यपुर थिमी नगरपालिकाकी उपमेयर अञ्जनादेवी मधिकर्मी बताउँछिन् । यो जात्रामा विभिन्न टोलका गणेश मन्दिरको रथले बालकुमारी मन्दिर परिक्रमा गरिन्छ।

२७ चैतदेखि हुने सिन्दुरे जात्राको मुख्य दिन २ वैशाखमा पर्छ। त्यस्तै बोडेमा हुने जिब्रो छेड्ने जात्राको पनि सामान्य पूजा मात्र गरिएको उपमेयर मधिकर्मी बताउँछिन्।

भदौदेखिका जात्रा हुनसक्ने

भदौमा काठमाडौं उपत्यकामा इन्द्रजात्रा र गाईजात्रा मनाइन्छ । अझै केही समय बाँकी भएकाले अवस्था सुध्रिंदै गए ती जात्रा मनाउन सकिने गुठी संस्थान काठमाडौं प्रमुख सुवेदी बताउँछन् । उनी भन्छन्, “भदौमा हुने इन्द्रजात्राबारे छलफल चल्दैछ। टुंगो लागिसकेको छैन । अझै समय भएकोले सम्भवतः हुन्छ होला।”

काठमाडौं बाहिर हुने जात्रा भने रोकिइसकेका छन् । नुवाकोटमा हुने भैरवीको धामी जात्रा तथा सिन्दुरे जात्रा स्थगित भयो। वैशाख शुक्लपूर्णिमादेखि शुरू हुने जात्रा तीन दिनसम्म चल्छ।

नुवाकोटको भैरवी मन्दिरबाट भैरवीको मूर्तिसहितको रथपछि धामी हुन्छन् । यो जात्रा देवीघाट अवस्थित जालपादेवी मन्दिर, तलेजु भवानीको मन्दिर हुँदै फेरि भैरवी मन्दिरमा रथको मूर्ति पुनस्र्थापन गरेर विसर्जन गरिन्छ। तीनदिने जात्राको अघिल्लो दुई दिनलाई धामी जात्रा र अन्तिम दिनलाई सिन्दुरे जात्रा भनिन्छ।

प्रतिकृया दिनुहोस