समाचार शुक्रबार, असार १९, २०७७

गृह मन्त्रालयको एसएमएस सिस्टम अमेरिकाबाट ह्याक भएको खुलासा

दीपक खरेल

गृह मन्त्रालयको एसएमएस सिस्टम अमेरिकाबाट ह्याक भएको खुलासा
गृह मन्त्रालय

गृह मन्त्रालयको सर्ट म्यासेजिङ सिस्टम (एसएमएस) अमेरिकाको भर्जिनिया राज्यबाट ह्याक भएको खुलेकोे छ।

प्रहरीको साइबर ब्यूरोले गरेको अनुसन्धानमा ह्याकरले भर्जिनियाबाट अमेजनको इन्टरनेट प्रोटोकल (आईपी) प्रयोग गरी गृहको सिस्टममा अनधिकृत प्रवेश गरेर गलत सन्देश प्रवाह गरेको खुलेको हो । ब्यूरोले गृहमा बुझाएको प्रतिवेदनमा ती ह्याकरका विषयमा अमेजनसँग सोधपुछ गर्दै पत्राचार गरिएको उल्लेख छ । अमेजनले पत्रको जवाफ लेख्दै यस विषयमा संवेदनशील भएर अनुसन्धान गरिरहेको जनाएको छ।

गएको ३ असारमा गृह मन्त्रालयको सिस्टमबाट मातहतका कार्यालय र कर्मचारीहरुमा गलत सन्देशसहितको सूचना प्रवाह भएको थियो । चीन र भारतबीच लद्दाखको गलवान उपत्यकामा भएको भिडन्तपछि भारतको पक्षमा लेखिएको सन्देश गृहका अधिकारीहरुको मोबाइलमा पठाइएको थियो । गृहले ५ असारमा प्रेस विज्ञप्ति जारी गर्दै एसएमएस सिस्टम ह्याक भएको सार्वजनिक गरेको थियो।

यस्तो गलत सूचना प्रवाह भएको केही मिनेटमै गृहले सिस्टम बन्द गरेर अनुसन्धान थालेको थियो।

गृहको सिस्टमबाट प्रवाह भएको सन्देश नेपाली भाषामा थियो । नेपाल–चीन सम्बन्धमै असर पुग्ने सन्देश प्रवाह भएपछि गृहले यसको अनुसन्धानको जिम्मा साइबर ब्यूरोलाई दिएको थियो ।

साइबर ब्यूरोले प्रारम्भिक अनुसन्धान प्रतिवेदन गृहमा बुझाएको प्रहरी प्रवक्ता डीआईजी निरजबहादुर शाहीले बताए । उनले यस विषयमा अनुसन्धान जारी रहेको बताए।

गृहले आफू मातहतका कर्मचारी र देशभर रहेका जिल्ला प्रशासन तथा इलाका प्रशासन कार्यालयहरुमा अत्यावश्यक छोटो सूचना प्रवाह गर्न एसएमएस सिस्टम बनाएको छ।

ब्यूरो प्रमुख, एसएसपी नविन्द अर्यालले गृहको सिस्टम ह्याक घटनाले नेपालमा रहेका दूरसंचार सेवा प्रदायक र इन्टरनेट सेवा प्रदायकहरु समेत सचेत हुनुपर्ने अनुसन्धानले देखिएको बताए । उनले भने, "इन्टरनेट सेवा प्रदायकहरुले यस्ता ह्याकरहरुलाई रोक्न आफ्नो सिस्टम बलियो बनाउनुपर्छ।"

प्रतिकृया दिनुहोस