समाचार मंगलबार, असार १६, २०७७

घेरिए प्रधानमन्त्री, मागियो राजीनामा

सइन्द्र राई

घेरिए प्रधानमन्त्री, मागियो राजीनामा
मंगलबार बसेकाे नेकपा स्थायी कमिटी बैठक। तस्वीरः प्रधानमन्त्रीकाे सचिवालय

गएको १० असारबाट शुरू भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको मंगलबारको बैठक पूरापुर एकतर्फी बन्यो। कुर्सी व्यवस्थापन परिवर्तन देखि बैठकको निष्कर्ष समेत प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा रहेन।

याे पनि पढ्नुहाेस्ः नेकपामा कुर्सीमा समानता, सचिवालयका नेताहरु पनि स्थायी कमिटी सदस्यसँगै

१४ असारमा बालुवाटारमा आयोजित मदन भण्डारी फाउण्डेसनको कार्यक्रममा प्रधानमन्त्री ओलीले दिएको अभिव्यक्तिकै कारण मंगलबारको बैठक नियमित अजेण्डामा समेत प्रवेश हुन सकेन। बैठक समापन गर्दै अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री ओलीबाट चित्तबुझ्दो जवाफ नआएकाले सचिवालय बसेर यसबारे थप छलफल गरिने सारांश सुनाएका थिए।

अर्थात्, बैठकभर जति नेताहरुले प्रधानमन्त्री ओली सँग जवाफ मागेका थिए, दाहालले त्यसैलाई अनुमोदन गरिदिए। स्थायी कमिटीका एक नेताका अनुसार, बैठकमा बोल्नेहरुले एक स्वरले दुवै पदबाट ओलीको राजीनामा मागेका थिए।

कार्यसूची प्रभावित

दुई दिन स्थगित गरेर मंगलबार राखिएको बैठकको कार्यसूचीमा सीमा समस्या र समाधान बारे छलफल हुनुपर्ने थियो। तर, बैठक नियमित अजेण्डामा प्रवेश गर्नै पाएन। शुरुमै बैठकको अध्यक्षता गर्दै दाहालले सार्वजनिक रुपमा प्रधानमन्त्रीबाट आएको अभिव्यक्तिबारे प्रष्ट्याउन आग्रह गरे।

याे पनि बढ्नुहाेस्ः प्रधानमन्त्रीको राजीनामा : प्रम स्वयंले अजेण्डा दिए, स्थायी कमिटीले छलफल थाल्याे

प्रधानमन्त्री ओलीको जवाफ पाउनु पहिले नै दाहालले भारतले नभई आफूले प्रधानमन्त्रीबाट राजीनामा मागेको समेत संस्मरण गराए। गएको १७ वैशाखको सचिवालयमा दुवै पदबाट राजीनामा मागिएको जानकारी दाहालले बैठकलाई गराएका थिए।

प्रधानमन्त्री ओलीले दिल्लीका सञ्चार माध्यमहरुको भाषा र बैठकमा उठ्ने कुरा कसरी मिल्यो ? भन्ने प्रतिप्रश्न गरे। यसपछि बोलेका एकपछि अर्का नेताहरुले दुवै पदबाट राजीनामाको विकल्प नरहेको बताएका थिए। मंगलबार प्रधानमन्त्री ओली निकट कोही पनि नेताले बोलेनन्। प्रधानमन्त्री सहित १८ जना बोलेका मध्ये सवै एउटै कित्तामा उभिएका थिए।

याे पनि पढ्नुहाेस्ः  नेकपा बैठकः ‘रिहर्सल’ देखियो, पर्दा खुल्न बाँकी

बरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री ओलीमा अहंकार र दम्भ देखिएको बताएका थिए। “तपाइँले कसलाई भारतको एजेन्ट भन्न खोज्नु भएको हो? के हामी एजेन्ट भयौं?”, खनालले प्रश्न गरेका थिए। पार्टीले भन्दा दुवै पद छोड्नुपर्ने खनालको भनाइ थियो।

अर्का, बरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेकपा सानोतिनो मेहनत नबनेकाले यसलाई असफल हुन नदिने बताएका थिए। तर, ओली दुवै पदबाट अयोग्य भइसकेको बताएका थिए। “पहिलो पुस्ताले त्याग, बलिदान र निष्ठाले निर्माण गरेको पार्टी दोस्रो पुस्ताले यो अवस्थामा ल्याएको हो। अहिले पार्टी कसरी मरेतुल्य बन्यो”, नेता नेपालले प्रश्न गरेका थिए।

“नेतृत्वले सवैलाई एकताबद्ध बनाएर लैजानुपर्छ। तर, आफूलाई मन नपरेको नेतालाई खुल्याउनेहरुलाई प्रोत्साहन गर्न नियुक्ति दिन थालियो”, नेता नेपालको भनाइ थियो।

एमाले ब्यूताउन लागेको आरोप

उपाध्यक्ष वामदेव गौतमले त बैठकमा अजेण्डा नै थपिदिए। गौतमले दुई दिन अगाडि अर्थात् प्रधानमन्त्रीले सार्वजनिक अभिव्यक्ति दिएकै दिन नेकपा एमाले दर्ताका लागि निर्वाचन आयोगमा आवेदन दिइएको प्रशंग सुनाए। ”अहिले एमाले किन र कुन प्रयोजनको लागि दर्ता गरिदैछ?”, गौतमको प्रश्न थियो।

याे पनि पढ्नुहाेस्ः एमाले दर्ता प्रक्रिया प्रधानमन्त्रीकै निर्देशनमाः वामदेव गौतम

गौतमको प्रश्नबारे जवाफ दिन प्रधानमन्त्रीलाई दाहालले आग्रह गरेका थिए। प्रधानमन्त्री ओलीले भने आफू एमाले दर्ता गराउनेतिर नलागेको सुनाए। “म यही पार्टीको नेता र प्रधानमन्त्री हुँ। किन अर्को पार्टी चाहियो?”, प्रधानमन्त्रीको संक्षिप्त जवाफ थियो।

तर, गौतमले नयाँ पार्टी बनाउन प्रधानमन्त्रीले नै निर्देशन दिएको प्रमाणित गर्न आफू जहाँसुकै बयान दिन तयार भएको बताएका थिए। बैठकमा तत्कालीन माओवादी तर्फका भन्दा एमाले तर्फका नेताहरुले चर्कोगरी प्रस्तुत भएका थिए। प्रवक्ता नारायणकाजी श्रेष्ठले भने प्रधानमन्त्रीको अभिव्यक्तिले पार्टी र मुलुकका लागि समेत हित नगर्ने बताएका थिए।

प्रधानमन्त्री ओलीलाई बचाउ गर्नेगरी उनी पक्षका कोही पनि नेता मंगलबार बोलेनन्। प्रधानमन्त्री इतर समूहका नेताहरुले भने नेपालको भूमि फिर्ता ल्याउन सक्ने सामथ्र्य र नैतिकता गुमाएकाले दुवै पदबाट राजीनामा दिनुपर्ने तर्क गरेका थिए।

याे पनि पढ्नुहाेस्ः ‘अध्यक्षद्वयले खुलेर कुरा राख्नुभएको छ, नेकपा फुटतिर जाँदैन’

“आफ्नै पद खोस्न भारत सक्रिय भयो भनेपछि अब कसरी उहाँले कुटनैतिक प्रयास गर्नुहुन्छ? स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले राजीनामा मागिएको सन्दर्भबारे हिमालसँग भने। नक्सा जारी भइसकेपछि अब कुटनैतिक माध्यम नै प्रभाबित पार्नेगरी सार्वजनिक अभिव्यक्ति दिएकाले दुबै पद छोड्नुपर्ने उनी बताउँछन्।

बैठकमा स्थायी कमिटीका अष्टलक्ष्मी, भीम रावल रावल, युवराज ज्ञवाली, वेदूराम भुसाल, रघुजी पन्त, गणेश शाह, गोकर्ण बिष्ट, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, पम्फा भुसाल र भीम आचार्यले पनि राजीनामा नै मागे। अर्को बैठक बुधबार बिहान ११ बजे बोलाइएको छ।

याे पनि पढ्नुहाेस्ः दाहालले भने- आलोपालो प्रधानमन्त्री छोडेर गल्ती गरेको महशुस हुन थाल्याे

याे पनि पढ्नुहाेस्ः नेताहरु मिलाउन विष्णु पौडेलको दौडधुप

 

 

प्रतिकृया दिनुहोस