रिपोर्ट आइतबार, असार १४, २०७७

वन्यजन्तुका मुख्य कारोबारी कुन्जोक, जो १५ वर्षसम्म अन्तर्राष्ट्रिय बैठकको अजेण्डा बने

दीपक खरेल

वन्यजन्तुका मुख्य कारोबारी कुन्जोक, जो १५ वर्षसम्म अन्तर्राष्ट्रिय बैठकको अजेण्डा बने
सेनाले रसुवामा बरामद गरेको आखेटोपहार, पक्राउ परेका अभियुक्त र कुन्जोक ।

भारत र नेपालमा मात्र होइन, दुर्लभ वन्यजन्तुको अवैध कारोबारको चर्चा हुँदा एकै व्यक्ति तर फरक फरक (कोन्चोक, कुन्चोक, कोन्जोक र कुन्जोक) नाम सधैं चर्चामा हुन्थ्यो । अन्तर्राष्ट्रिय बैठकहरुमा यही नाम पटकपटकको अजेण्डा बन्ने गर्दथ्यो । अन्ततः ११ असारमा उही कुन्जोक काठमाडौंमा पक्राउ परेका छन्।

सन् १९९९ अन्त्य र २००० को सुरुवातमा दुर्लभ वन्यजन्तुको छाला र अंगको अवैध शिकार, ओसारपसार र कारोबारमा संलग्न गिरोह विरुद्धको कारबाहीमा उत्तरप्रदेशस्थित भारतीय सुरक्षाकर्मीले ठूलो परिमाणमा आखेटोपहार बरामद गरे । दर्जनौं व्यक्ति पक्राउ परे।

खागा र गाजियाबाद सिजरका नामले चर्चित दुबै अपरेशनमा पक्राउ परेका अधिकांश अभियुक्तले आफ्ना नेपाली सहयोगीको नाम लिए । उनी थिए– कुन्जोक । तर, उनको थप परिचय भने खुलेन । बयानका अनुसार, उनै नेपालीले भारतमा संकलित आखेटोपहार चीनको स्वशासित तिब्बतसम्म पुर्‍याउन सहयोग गर्थे । त्यसपछि वन्यजन्तुको संरक्षणका अभियन्तादेखि अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) सम्म कुन्जोकको चर्चा हुन थाल्यो।

कसरी पक्राउ परे कुन्जोक ?

१६ भदौ २०६२ मा रसुवाको साविक स्याफ्रु गाविस– ९ मा ५ थान बाघको छाला ३६ थान चितुवाको छाला २३८ थान ओतको छाला र ११३ केजी बाघको हड्डीसहित छवाङ भन्ने उटुक लामा तामाङ, कारसाङ भन्ने रिसाङ लामा, मिङमार लामा, बलराम श्रेष्ठ र थोप्तेन तामाङलाई सेनाको दुर्गा बक्स गणले नियन्त्रणमा लियो।

ना २ ख ९४९७ नम्बरको ट्रकमा ती अवैध सामग्री तिब्बततर्फ लैजाँदै गर्दा लाङटाङ राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको सेनाले उनीहरुलाई पक्राउ गरेको थियो।

निकुञ्जका चिफ वार्डेनले थोप्तेन तामाङलाई सफाइ, छवाङ र रिसाङलाई १५ वर्ष जेल, एक लाख जरिवाना र बलराम र मिङमारलाई ५ वर्ष जेल फैसला सुनाए। हिरासतमा रहेका उनीहरुले पुनरावेदन र त्यसपछि सर्वोच्च अदालतमा निवेदन दिए । पुनरावेदनले छवाङ र रिसाङलाई ७ वर्ष जेल र अन्यलाई निकुञ्जकै फैसला सदर गरेको थियो । सर्वोच्चले पनि पुनरावेदनकै फैसला सदर गर्‍यो।

रसुवामा बरामद आखेटोपहार।

निकुञ्जको अनुसन्धानमा पक्राउ परेकाहरुले बयानका क्रममा अवैध वन्यजन्तुका मुख्य कारोबारी कुन्जोक लामा भनिने कुन्जोक छिरिङ तामाङ, निटुप भनिने नुटुप लामा र दान्डुप लामा भएको बताए । त्यसयता कुन्जोकसँगै तीनैजना फरार थिए।

२० असार २०६९ मा लाङटाङ निकुञ्जले तीनैजना फरारको खोजतलासका लागि केन्द्रीय अनुसन्धान ब्यूरोलाई पत्राचार गरेको थियो।
झण्डै आठ वर्ष लामो खोजीपछि ब्यूरोले ११ असारमा बौद्धबाट पक्राउ गर्‍यो। हुम्लाका कुन्जोक नेपाल आउँदा बौद्धमा बस्ने कुरा प्रहरीलाई अनुसन्धानकै क्रममा थाहा भइसकेको थियो।

“वन्यजन्तुको चोरीशिकारी र आखेटोपहारको अवैध कारोबार र ओसारपसारमा कुन्जोक मुख्य नाम हो,” ब्यूरोका डीआईजी सहकुल थापा भन्छन्, “लोडु डिमेपछि वन्यजन्तुको अवैध चोरी शिकारी रोक्न कुन्जोकको गिरफ्तारीले मद्दत पुग्ने विश्वास छ।”

कुन्जोकलाई रसुवा जिल्ला अदालतले १४ असारमा पुर्पक्षका लागि थुनामा पठाएको छ।

कुन्जोक र लोडुको ‘कनेक्सन’

२८ पुस २०६९ मा प्रहरीले नुवाकोटबाट बरामद गरेको आखेटोपहार तस्करीमा मुछिएका थिए– जिमी शेर्पा भनिने लोडु डिमे ।

२८ पुस २०६९ मा काठमाडौंबाट रसुवातर्फ जाँदै गरेको बा २ ख ७५०४ नम्बरको गाडी नुवाकोटमा खानतलासीका क्रममा प्रहरीले बाघको छाला पाँच थान र विभिन्न हड्डीहरु बरामद गर्‍यो । प्रहरी अनुसन्धानमा ती सबै लोडु डिमेद्वारा नै परिचालित पाइएको थियो ।

प्रहरीले घटनाको तेस्रो दिन बौद्धस्थित डिमेको घरमा छापा मारेर ३९ लाख नेपालीसहित भारतीय, चिनियाँ, अमेरिकी मुद्रा तथा मानव जस्तो देखिने हड्डीको खप्पर चार थान बरामद गरेको थियो। । साथै विभिन्न जातका वन्यजन्तुका हड्डीका टुक्रा दश थान, वन्यजन्तुको छालाबाट बनेको लुगा १२ थान बरामद गरियो ।

नुवाकोटमा बरामद आखेटोपहार सार्वजनिक गर्दै तत्कालीन प्रहरी अधिकारीहरु।

नुवाकोट प्रहरीले डिमे, उनकी श्रीमती डिकी, गाडी चालक नकुल तामाङ र सवारी धनी सुकबहादुर तामाङलाई प्रतिवादी बनाएर मुद्दा जिल्ला वन कार्यालय नुवाकोटमा बुझाएको थियो ।

जिल्ला वन कार्यालयले १३ असार २०७० मा डिमेलाई फरार रहेकै अवस्थामा रु. एकलाख जरिवानाको आदेश गरेको थियो । यस्तै अन्यको हकमा डिकी र सुकबहादुरलाई जनही रु. ६० हजार र चालक नकुललाई १ लाख धरौटीमा रिहाको आदेश गरेको थियो। सोही मुद्दामा पुनरावेदन अदालत पाटनको संयुक्त इजलासले १२ फागुन २०७१ मा डिमेलाई मुख्य दोषी ठहर गर्दै रु.एक लाख जरिवानासहित ५ वर्षको कैद सजायको फैसला सुनाएको थियो ।

डिमेलाई अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को सहयोगमा केन्द्रीय अनुसन्धान ब्यूरोले भारतको दिल्लीबाट २१ फागुन २०७४ मा पक्राउ गरेर कैद भुक्तानका लागि नुवाकोट पठाएको थियो । तर, पुनरावेदन अदालत पाटनबाट ५ वर्ष कैद सजाय पाएका डिमे २९ असार २०७५ मा सर्वोच्च अदालतलको आदेशबाट रु. ४५ हजार नगद बुझाएरै रिहा भए ।

यतिबेला ब्यूरो डिमे र कुन्जोकबीचको सम्पर्क केलाउन थालेको छ ।

डिमेसँग १४ मंसीर २०५६ मा काठमाडौंबाट जारी भएको नेपालको अंगीकृत नागरिकता रहेको प्रहरी अनुसन्धानबाट खुलेको थियो । भारत, देहरादूनमा जन्मिएका उनी भारतकै प्रहरीको समेत अनुसन्धान घेरामा रहेका कुख्यात अपराधी हुन ।

नेपाललाई संकलन केन्द्र बनाएर भारत, बंगलादेश र श्रीलंकाबाट वन्यजन्तुका आखेटोपहार र त्यसबाट बनेका सामग्री चीन र युरोप पठाउन डिमे सक्रिय रहेको प्रहरी अनुसन्धानमा खुलेको थियो ।

“दुवैैको अपराध शैली एकै प्रकारको छ र दुवैै भारतीय प्रहरीले चलाएका कारबाहीमा आइरहने नाम हो,” डीआईजी थापा भन्छन्, “हामी यो सञ्जाल भत्काउने अभियानमा छौं ।”

हाल नेपालमा नरहेका डिमेको भारतमा करोडौंको व्यापार र लगानी रहेको अनुसन्धानमा खुलेको छ । डिमेले भारतका राजनीतिक नेतृत्वको सहयोगमा प्राविधिक क्षेत्रमा लगानी गरेका छन् ।

अनुसन्धानमा डिमेको दिल्लीमा मात्र चारवटा फ्ल्याट र घरसमेत रहेको जनाइएको छ । हिमालखबरलाई प्राप्त विवरण अनुसार डिमेको नोयडा सेक्टर–२९ को गंगा सपिङ कम्पलेक्स, नोयडाकै सेक्टर–४, सेक्टर–७ र दिल्लीको सीआर पार्क कालाजीमा घर र कार्यालय रहेको छ ।

इन्टपोलको सहयोगमा पक्राउ परेका लोडु डिमे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा।

डिमेले संयुक्त लगानीमा हिभिगो इनोभेसन, प्रोफिट मिसाइल, अन्तर्राष्ट्रिय ब्रान्ड क्रेजी मन्चको शाखा, फेसन टीभी शैलुन तथा स्पा, नेट फोर्स इन्फोटेक र इन्टरस्लाइस आइटेस नामक कम्पनी संचालन गरिरहेका छन् ।

भारतीय केन्द्रीय अन्वेषण ब्यूरो (सीबीआई) र अनुसन्धान एजेन्सीले डिमे भारतको मध्यप्रदेशमा बाघको चोरीशिकारीमा संलग्न रहेको आशंकामा अनुसन्धान गरिरहेको समयमा इन्टरपोलले पक्राउ गरेको थियो ।

 

प्रतिकृया दिनुहोस