ब्लग शनिबार, असार १३, २०७७

शाही शासनका वेला तुलसी गिरीको कथन– म फसिसकें !

भैरव रिसाल

शाही शासनका वेला तुलसी गिरीको कथन– म फसिसकें !

राजा ज्ञानेन्द्रले प्रजातन्त्रबाट पछाडि फर्केर कठोर कदम चाल्ने छनक देखेपछि पूर्वपञ्च नवराज सुवेदीले त्यस्तो गर्न नहुनेमा सजग गराएछन्, तर ज्ञानेन्द्रले सकारात्मक रूपमा लिएनछन्।

राजदरबार हत्याकाण्डपछि २२ जेठ २०५८ मा ज्ञानेन्द्र शाह राजा भए । राजा भएको केही महीनापछि उनले पूर्वपञ्च नवराज सुवेदीसँग भेटेछन् । लामो कुराकानीमा शासन सञ्चालनमा अब कसरी अघि बढ्ने भनेर सल्लाह लिनेदिने काम भएछ ।

सुवेदीले ज्ञानेन्द्रसँग भनेछन्, “मेरो विचारमा सरकारबाट बहुदललाई पूर्णरूपमा सहयोग गरिबक्सनुपर्छ । राजसंस्था प्रजातन्त्र विरोधी होइन भन्ने साबित हुन सक्यो भने मात्र यो संस्था सदाको लागि बलियो हुनेछ।”

भैरव रिसाल

आफ्नो पुस्तक ‘इतिहासको एक कालखण्ड’ (२०६९ साल) मा सुवेदीले त्यो प्रसंगबारे लेखेका छन् । राजा ज्ञानेन्द्रले भने रे “नवराज, तिमीले बुबा र दाजु दुवैलाई सहयोग गर्‍यौ । मलाई पनि सहयोग गर्नुपर्छ । हुन त सूर्यबहादुर (थापा) ले तिमीलाई ठूलै देशमा राजदूत बनाउने प्रस्ताव गरेका छन् । तर, तिम्रो आवश्यकता यहाँ मलाई पर्छ । मलाई सहयोग गर्न तयार होऊ।”

त्यो कुरा सुन्दा ज्ञानेन्द्र प्रजातन्त्रबाट पछाडि फर्कन लागेको गन्ध सुवेदीले पाएछन्। तब सुवेदीले निडरतापूर्वक भनेछन्, “सरकार, २०१७ साल र अहिले धेरै फरक छ । जनस्तरमा सरकारपट्टि जनताको विश्वास अझै बढ्न सकेको छैन । त्यसमा पनि दरबार हत्याकाण्डको पछाडि सरकारको पनि हात छ भन्ने हल्ला एकातिर चलाएका छन् । यस्तो स्थितिमा सरकारबाट कुनै कदम चालिबक्सनु हुँदैन । अन्यथा राजसंस्था नै नरहन सक्छ । राजसंस्था बलियो बनाउनेपट्टि जानु नै सरकार र हामी जस्ता कार्यकर्ताको प्रमुख कर्तव्य देख्छु।”

सारमा सुवेदीले बहुदललाई पूर्णरूपमा सहयोग गर्न नै सुझाव दिएछन् । तर, त्यो कुरा ज्ञानेन्द्रलाई ठीक लागे जस्तो देखिएन । ज्ञानेन्द्रले कुरा सुनेर भने रे, “तिमीसँग म पछि–पछि पनि भेट्छु । तिमीलाई लागेको कुरा प्रमुख सचिवलाई भन्ने गर।”

त्यसपछि राजा ज्ञानेन्द्र र सुवेदीबीच कुरा भएन रे ।

२०५९ जेठमा प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिशमा निर्वाचित संसद् भंग गरेका ज्ञानेन्द्रले त्यसै वर्षको १८ असोजमा शासन सत्ता हातमा लिएर प्रत्यक्ष शासन गर्न थाले । २८ जेठ २०६० मा सूर्यबहादुर थापाको प्रधानमन्त्रीत्वमा ७ सदस्यीय मन्त्रिमण्डल बन्यो । सूर्यबहादुरले त्यो मन्त्रिमण्डलमा सुवेदीलाई मन्त्री बस्न भन्दा उनी मानेनछन्।

२८ जेठ २०६१ मा फेरि शेरबहादुर देउवा प्रधानमन्त्री बने । तर, देशमा अशान्ति, भ्रष्टाचार बढ्दै गएको भन्दै राजाले त्यसै वर्षको १९ माघमा विशेष कदम चाल्दै देउवालाई अपदस्थ गरेर सम्पूर्ण शासन आफ्नो हातमा लिए । ज्ञानेन्द्रले भोलिपल्टै रमेशनाथ पाण्डेलाई मन्त्रीको पहिलो वरीयतामा राखेर आफ्नै अध्यक्षतामा मन्त्रिपरिषद् गठन गरेका थिए।

यो शाही कदमको राजनीतिक दलहरूले विरोध गर्न लागे । तब आफ्नै अध्यक्षतामा गठित मन्त्रिपरिषद्मा ज्ञानेन्द्रले ३ फागुन २०६१ मा पुराना पञ्च तथा प्रधानमन्त्री भैसकेका डा. तुलसी गिरी र कीर्तिनिधि विष्टलाई उपाध्यक्षमा राखे।


प्रकाशचन्द्र लोहनी झण्डै प्रधानमन्त्री ?

सुवेदीकै पुस्तकमा गरिएको रहस्योद्घाटन अनुसार, राजा ज्ञानेन्द्रले २०६१ सालमा देउवालाई हटाउने कुरा भइरहँदा डा. प्रकाशचन्द्र लोहनीलाई प्रधानमन्त्री बनाउनेबारे भित्रभित्रै कुरा बढाएका रहेछन् । ज्ञानेन्द्र र डा.लोहनीबीच विभिन्न चरणमा कुराकानी भएपछि प्रधानमन्त्री बनाउने निर्णय पनि भएछ।

सुवेदी र डा. लोहनी तँ तँ–म म को तहका साथी रहेछन् । सुवेदीले यसबारे लोहनीसँग सोध्दा लोहनीले कुरा नखोली ‘हेर्दै जाऊँ, के हुन्छ’ मात्र भने रे । तर, लोहनीको हाउभाउ र फूर्तिफार्ती हेर्दा उनी नै उम्मेदवार हुन् भन्ने छनक सुवेदीले बुझेका थिए।

तर, ज्ञानेन्द्रले डा. लोहनीलाई प्रधानमन्त्री नबनाएर आफ्नै अध्यक्षतामा मन्त्रिपरिषद् गठन गरे । लोहनीलाई प्रधानमन्त्री बनाउने निर्णय अन्तिममा कसले काट्यो भन्ने थाहा पाउन नसकेको सुवेदीले लेखेका छन् । ‘डा. लोहनी प्रधानमन्त्री बनेका भए शायद इतिहास अर्कै हुने थियो कि ?’, सुवेदीले संभावनातर्फ इंगित गरेका छन्।

“जनतालाई प्रधानमन्त्री बनाउन राजालाई दबाब देऊ । राजा आफैं प्रधानमन्त्री बन्नुभएन । राजाको इच्छामा जसलाई दिए पनि हुन्छ, नत्र राजाले भाग्ने समय पनि पाउँदैनन्।”

एकदिन तत्कालीन अमेरिकी राजदूत मोरियार्टीले नवराजसँग भने रे, “जनतालाई प्रधानमन्त्री बनाउन राजालाई दबाब देऊ । राजा आफैं प्रधानमन्त्री बन्नुभएन । राजाको इच्छामा जसलाई दिए पनि हुन्छ, नत्र राजाले भाग्ने समय पनि पाउँदैनन्।”

भारतका प्रधानमन्त्री मनमोहन सिंहले पनि बाङ्लादेशको ढाकामा आयोजित सार्क शिखर सम्मेलन (२६–२७ कात्तिक २०६२) मा ज्ञानेन्द्रसँग भेट हुँदा यसै भनेका थिए रे । तर, कसैको कुरा पनि नसुनेको दरबार जे भएको छ, ठीक भएको छ भन्नेमा अडिग रह्यो।

पूर्व प्रम डा. तुलसी गिरीका साथ पूर्व राजा ज्ञानेन्द्र ।

राजसंस्थालाई दशा !

पूर्वपञ्च नवराज सुवेदीलाई ज्ञानेन्द्रको शाही कदम चित्त बुझिरहेको थिएन । उनले सायद सम्भावित दुर्घटनाको अन्दाज गरेका थिए । उनले डा. तुलसी गिरीलाई भनेछन्, “दाइ, यो के गरेको ? ठीक भैरहेको छैन । सक्नुहुन्छ भने राजालाई सम्झाउनोस्, सक्नुहुन्न छोड्नोस् । यो झमेलामा किन फस्नुहुन्छ ?”

जवाफमा डा. गिरीले भने रे, “तिम्रो कुरा ठीक हो नवराज । तर फसिसकें । अब राजीनामा दिन पनि सक्दिनँ । हुँदा हुँदा अब त सरकारले हाम्रो कुरा सुन्न पनि छाडिबक्स्यो । रमेशनाथ पाण्डेकै बोलवाला बढी छ।”

राजा ज्ञानेन्द्रको शासनकालमा शेरबहादुर देउवा दुई पल्ट प्रधानमन्त्री भए । उनी राजा र राजसंस्थाप्रति सकारात्मक थिए । उनैको प्रधानमन्त्री पद खोसुवा भयो । उनलाई थुनियो पनि । सुवेदीले पुस्तकमा लेखेका छन्, “राजसंस्थालाई दशा लागेको– त्यस्तो व्यक्तिलाई थुन्ने काम भयो । त्यसको परिणाम, पछि राजसंस्था हटाउने कुरा उठ्दा त्यसको प्रतिवाद गर्ने व्यक्ति निस्केन।”

सुवेदीका अनुसार, ज्ञानेन्द्र पञ्चायत नै नभए पनि त्यस्तै प्रकारको व्यवस्था गरी शासन गर्न चाहन्थे । जुन कुरा समयको गतिसँग मेल नखाएर राजसंस्था नै बढारिएको उनले लेखेका छन्।

प्रतिकृया दिनुहोस