रिपोर्ट शुक्रबार, असार १२, २०७७

उद्धारको नाममा म्यानपावर कम्पनीको मोलमोलाइ !

रामु सापकोटा

उद्धारको नाममा म्यानपावर कम्पनीको मोलमोलाइ !
आशियाना इन्टरनेशनलका प्रबन्ध निर्देशक कालु गुरुङ र आशियाना इन्टर नेशनलका एजेन्ट माेहन बुढाथाेकी ।

वैदेशिक रोजगारीका लागि दुबई पुगेका झापाका एकै परिवारका दुई दाजुभाइले सम्झौता अनुसारको सेवा–सुविधा त पाएनन् नै, स्वास्थ्य समस्याका कारण बिचल्लीमा परेर स्वदेश फर्काउन आग्रह गर्दा म्यानमावर कम्पनीले रकम मोलमोलाइ गर्‍यो।

कक्षा १० पास गरेपछि विर्तामोड झापाका सञ्जय राजवंशी (२३) र उनका भाइ प्रेम (२०) घरमा आमाबाबुलाई सघाउँदै बसिरहेका थिए । भर्भराउँदो उमेरमा यसरी बसेर भविष्य नबन्ने देखेपछि उनीहरूले वैदेशिक रोजगारीमा जाने निधो गरे।

गएको २७ फागुनमा म्यानपावर कम्पनी मार्फत दुवै दाजुभाइ संयुक्त अरब इमिरेट्स (यूएई) को दुबई उडे । फर्निचरका सामान बनाउने  दुबईको जेलाबीस्थित पान इमेरिट्स फोन फिनिसिङ कम्पनीमा उनीहरु गएका थिए । तर, पहिलो गाँसमै ढुंगा लाग्यो, उनीहरूले सम्झौता अनुसारको काम र सेवा–सुविधा पाएनन् । त्यसमा पनि काम शुरू गरेको दिनमै सञ्जयलाई पेट दुख्ने समस्याले सताउन थाल्यो । उनी अल्सरका बिरामी थिए।

त्यसयता कामविहीन बस्नुपर्दा, उपचारको व्यवस्था मिलाउनदेखि नेपाल फर्किने प्रयास गर्दासम्म दुई दाजुभाइले चार महीनायता अनेक हैरानी उठाउनुपर्‍यो।

सञ्जय राजवंशी (बीचमा) र उनका भाइ प्रेम (नीलो सर्टमा)

सम्झौता अनुसारको काम पाएनन्, उद्धार गरिमाग्दा मोलमोलाइ !

उनीहरूलाई पठाउने म्यानपावर कम्पनी काठमाडौंको आशियाना इन्टरनेशनलले दुबईको कम्पनीमा आठ घण्टा मात्र काम गर्नुपर्ने भनेको थियो । यस्तै, खान र बस्न निःशुल्क व्यवस्था हुने बताइएको थियो । तर, दैनिक १३ घण्टासम्म खट्नुपर्ने र खान–बस्न शुल्क तिर्नुपर्ने भयो।

सम्झौता अनुसारको काम नपाएपछि उनीहरूले कामै गर्न छाडे । “भने अनुसारको काम र सेवा–सुविधा नभएपछि हामीले काम छाड्यौं र भीसा रद्द गरेर बसेका हौं”, सञ्जय भन्छन्।

उपचार व्यवस्था मिलाउन साथीभाइले दुबईस्थित नेपाली दूतावास र रोजगारदाता कम्पनीसँग हारगुहार गरे । अन्ततः रोजगारदाता कम्पनी उपचार व्यवस्था मिलाउन सहमत भयो।

बल्लतल्ल उनलाई ७ जूनमा अस्पताल भर्ना गराइयो । तर, सञ्जय उपचारको नाममा आफूलाई एक सातासम्म स्लाइन र केही एन्टीबायोटिक मात्र दिएर राखिएको बताउँछन्। “रोजगारदाता कम्पनीले बीमा नगरिदिएका कारण अस्पतालले राम्ररी उपचार गरिदिएन”, उनी भन्छन्।

चार हजार दिरामको बिल कम्पनीलाई बुझाउँदा कम्पनीले केही मात्र बेहोरेको र बाँकी रकम नेपाली कामदार साथीहरूसँग सापटी लिएर आफैंले तिर्नुपरेको भाइ प्रेम बताउँछन्।

कम्पनीमा प्रेमले जम्मा चार दिन गरेका थिए भने सञ्जय एक्कासी बिरामी परेपछि एक दिन पनि काम गर्न नपाउँदा उनीहरूले कम्पनीबाट पारिश्रमिक वापत रकम नै पाएनन्।

सम्झौता अनुसार नभएर काम छोडेको र सञ्जयलाई स्वास्थ्य समस्या थपिएपछि दाजुभाइ नै नेपाल फर्कन खोजे । उनीहरूले उद्धारका लागि म्यानपावर कम्पनीलाई आग्रह गरेका थिए । “तर, कम्पनीले उद्धार त परको कुरा, हाम्रो समस्या सुन्न समेत चाहेन”, सञ्जय भन्छन्।

विर्तामोडस्थित राजवंशी दाजुभाइको घर ।

अन्ततः विभिन्न व्यक्तिहरूको सहयोगमा दाजुभाइ नै १० असारमा नेपाल फर्किएका छन्।

उनीहरू गएको पान इमेरिट्स फोन फिनिसिङ कम्पनीमा कार्यरत अन्य साथीहरू पनि सम्झौता अनुसारको सेवा–सुविधा नपाएको, १२/१३ घण्टासम्म काममा खट्नुपरेको भन्दै नेपाल फर्किन खोजिरहेका छन् । तर, उनीहरूलाई फर्काउन दुबईस्थित नेपाली दूतावासले पहल गरेको छैन।

यो कम्पनी कोरोनाभाइरसको महामारीमा एक दिन पनि बन्द भएको छैन । कामदारले बिदाविना लगातार काममा खट्नुपरेको छ।

जति वेला राजवंशी दाजुभाइ उद्धारको पर्खाइमा दुबईमा आत्तिरहेका थिए, उनीहरूलाई पठाउने म्यानपावर कम्पनी आशियाना इन्टरनेशनलसँग उद्धारको आग्रह गरिंदा रकमको मोलमोलाइ गर्न थाल्यो । पैसा दिए मात्र छोराहरूलाई नेपाल फर्काउने भन्दै मोलमोलाइ गरेको सञ्जयका बुवा नारायण राजवंशीले बताए।

उनी भन्छन्, “म्यानपावर कम्पनीका एजेन्ट मोहन बुढाथोकीले पटक पटक फोन गरेर रु. २ लाख ७० हजार मागेका थिए, नदिए छोराहरू नेपाल फर्कन पाउँदैनन् भनेर धम्क्याए।”

उनका अनुसार, बिरामीको उपचार खर्च र प्लेन टिकटका नाममा रकम मागिएको थियो। जबकि, रोजगारदाता कम्पनीले उद्धार गर्दा लाग्ने जहाजको खर्च आफैं बेहोरिदिने बताएको थियो।

श्रम मन्त्रालयको वैदेशिक रोजगार शाखाका प्रमुख उमेश ढुङ्गाना उद्धारको नाममा म्यानपावर कम्पनीले रकम असुल्ने काम गैरकानूनी भएको बताउँछन्।

झापामा कार्यालय खोलेर अवैध कारोबार

दुबई जाने क्रममा आशियाना इन्टरनेशनललाई सञ्जयले रु.१ लाख १० हजार र प्रेमले रु. १ लाख १५ हजार गरी कुल दुई लाख २५ हजार बुझाएका थिए।

यो रकम कम्पनीले झापा विर्तामोडस्थित आफ्नो कार्यालयबाट लिएको थियो। जबकि, कुनै पनि म्यानपावर कम्पनीले शाखा कार्यालय खोलेर वैदेशिक रोजगारी सम्बन्धी काम गर्न पाउँदैन।

अर्कातिर, १४ जून २०१९ मा नेपाल र यूएई सरकारबीच भएको श्रम सम्झौता अनुसार नेपाली कामदारले रोजगारीका लागि यूएई जान कुनै शुल्क नै तिर्नुपर्दैन । म्यानपावर कम्पनीको सेवा शुल्कसहित जहाजको टिकट खर्च, भीसा शुल्क, स्वास्थ्य जाँच शुल्क, बीमा शुल्क रोजगारदाता कम्पनीले नै बेहोर्नुपर्ने व्यवस्था छ।

तर, आशियाना इन्टरनेशनलले राजवंशी दाजुभाइबाट अवैध रूपमा रकम असुल्यो । उक्त कम्पनीका एजेन्ट मोहन बुढाथोकी उनीहरूको घरमै पुगेर दुबईको पान इमेरिट्स फोन फिनिसिङ कम्पनीमा राम्रो काम र तलब पाइने लालसा देखाएका थिए। जसमा राजवंशी परिवार सजिलै पर्‍यो।

एजेन्ट बुढाथोकीले दुबई जान अन्तर्वार्तामा पास हुनुपर्ने बताएका थिए । म्यानपावर कम्पनीले विर्तामोडको सीपी होटललाई अन्तर्वार्ता दिने स्थान तोकेको थियो।

अन्तर्वार्तामा सहभागी हुन होटल परिसर पुगेका करीब ८० जना युवाको लाममा राजवंशी दाजुभाइ पनि मिसिए। होटलमा दुबईको कम्पनीको मुख्यालयमा काम गर्ने भारतीय नागरिक सुनील कुमार अन्तवार्ता लिन बसेका थिए।

आशियाना इन्टरनेशनल र सञ्जय राजवंशीको पासपोर्ट

 

सुनीलले अन्तर्वार्ताका क्रममा व्यक्तिगत परिचय र अन्य सामान्य विषय सोधेपछि पास भएको भन्दै राजवंशी दाजुभाइलाई एजेन्ट बुढाथोकीसँग सम्पर्क गर्न भने। बुढाथोकीले दुवै जनाको गरी कुल रु.२ लाख २५ हजार दिए मात्र दुबई पठाउने प्रस्ताव राखे।

विदेशिने बाहेकको विकल्प नदेखेपछि उनीहरूको परिवारले जसोतसो ऋणपान गरेर भए पनि रकम जम्मा गर्ने निधो गरे।

दुबई जान काठमाडौं हिंड्ने २२ फागुनको साँझ राजवंशी दाजुभाइ रकम लिएर विर्तामोड चोकमा रहेको आशियानाको कार्यालयमा पुगे । त्यहाँ एजेन्ट बुढाथोकीले उनीहरुबाट रकम बुझेर गन्दै नगनी हतारमा झोलामा राखे । उनले रकम बुझाएको बिल समेत दिएनन्।

बुढाथोकीले पान इमेरिट्स फोन फिनिसिङ कम्पनीमै कार्पेन्टरको काम गर्न जान लागेका अन्य युवाहरुबाट रु.१ लाख ५० हजारका दरले रकम असुलेका थिए।

उनीहरुले दुबई पुगेपछि आफूहरूले भनेजस्तो सेवा–सुविधा नपाएको भन्दै एजेन्ट बुढाथोकीलाई फोन मार्फत गुनासो गरेपछि उनले स्वदेश फर्काउने आश्वासन दिएका थिए। तर, त्यसका लागि कुनै पहल नगरेका उनले त्यसपछिका दिनमा फोन नै उठाउन छाडेको राजवंशी दाजुभाइ बताउँछन्।

उता, स्वदेश फर्कन नपाएपछि दुबईको जेलाबीस्थित कम्पनीको क्याम्पमा उनीहरू भोकभोकै बस्न बाध्य भए । सञ्जय बिरामी परेर छट्पटाउन थाले।

आशियाना इन्टरनेशनलका प्रबन्ध निर्देशक कालु गुरुङले हिमालखबरसँग कुरा गर्दै राजवंशी दाजुभाईलाई आफ्नो कम्पनीले नै विदेश पठाएको र उनीहरूले दुबई गएर काम नगरेपछि समस्या उत्पन्न भएको बताए। तर, उनीहरूबाट कुनै रकम नलिएको गुरुङको भनाइ छ।

“दुबई पठाउन हामीले उनीहरुबाट रकम असुलेका छैनौं, मोहन बुढाथोकी भन्ने व्यक्तिलाई म चिन्छु, तर उनले रकम लिएका छैनन्”, उनी भन्छन्।

नगद बुझेको कागज नदिएर प्रमाण बाँकी नराखेको कम्पनीले रकम नै नलिएको दाबी गरिरहँदा राजवंशी परिवारमा भने छोराहरूलाई दुबई पठाउन लिएको ऋण कसरी तिर्ने भन्ने समस्याले घेरेको छ । अरुको खेत अँधिया गरेर परिवार पाल्दै आएका उनीहरूका अभिभावकले दुई छोरालाई विदेश पठाउन गोरु बेचेर रु.७० हजार, धान बेचेर ५० हजार जम्मा पारेका थिए भने रु.१ लाख ऋण खोजेका थिए।

प्रेम भन्छन्, “ऋण तिर्ने कुनै स्रोत छैन, म्यानपावर कम्पनीले हामीबाट अवैध रूपमा असुलेको रकम फिर्ता गर्नुपर्छ।”

प्रतिकृया दिनुहोस