दस्तावेज शनिबार, असार १३, २०७७

‘एकीकरणपछि लिम्बूहरूलाई फकाउन गोर्खाली भारदारले मीत लगाए’

हिमालखबर

‘एकीकरणपछि लिम्बूहरूलाई फकाउन गोर्खाली भारदारले मीत लगाए’
स्केच: भानु भट्टराई

अरुणपूर्व भेटिएका दुई इतिहास टिपोटले पृथ्वीनारायण शाहको नेपाल एकीकरणका क्रममा भएका विविध पाटा उधिनेका छन् ।

नेपाल एकीकरणका क्रममा पृथ्वीनारायण शाहले लिम्बूवान्‌मा हमला गरेको र लिम्बू शासकबाट राज्य खोसेको बुझाइ कताकतै पाइन्छ। तर, ऐतिहासिक प्रमाणहरु हेर्दा त्यस्तो देखिंदैन। पृथ्वीनारायणले एकीकरण गर्नुअघि पल्लो किराँत विजयपुर अन्तर्गत लिम्बूवान् सेन राजाहरुको अधीनस्थ थियो। पृथ्वीनारायणले हमला गरेको बखत लिम्बू राजा थिए भन्ने इतिहासले देखाउँदैन।

बरु, सेन राज्यकालमा थुम-थुमका प्रशासकहरुको हालीमुहाली देखिन्छ, जसमा लिम्बूहरुकै बाहुल्य थियो। त्यसैका आधारमा पृथ्वीनारायणले पल्लो किराँत नेपालमा गाभेका बखत त्यहाँ लिम्बूहरु नै राजा थिए भन्ने गलत बुझाइ कताकता देखिन्छ।

अर्कातिर, पृथ्वीनारायण शाहले नेपाल एकीकरणका क्रममा जेजति राज्य आफ्नो अधीनमा ल्याए, त्यसमध्ये पल्लो किराँत लिम्बूवान्‌का सुभाहरुलाई दिइएको जति अधिकार अन्यत्र कहीं दिएको देखिंदैन। जसले पृथ्वीनारायणले लिम्बूहरुलाई विशेष महत्व दिएर फकाएरै आफ्नो हातमा लिएको प्रकाशित लालमोहरबाट पुष्टि हुन्छ।

सेन राज्य विजयपुर जितिसक्दा पनि पृथ्वीनारायणले उक्त राज्य अन्तर्गतका थुमथुमका लिम्बू प्रमुखहरुसँग सन्धि गरेका थिए। उनीहरुलाई सेन कालमा खाईपाई आएका सबै अधिकार यथावत् राख्ने गरी दुई वटा तसल्ली मुलुकी लालमोहर जारी गरिएको थियो। शक्तिशाली रहेका ती लिम्बू प्रमुखहरुलाई हातमा लिएपछि मात्र एकीकरण पूरा हुने बुझाइले फकाएर सुशासन कायम गर्न खोजेको देखिन्छ।

पल्लो किराँत अर्थात् पूर्व लिम्बूवान् अरुणवारि उल्लेख भएका दुई वटा ऐतिहासिक टिपोटले मुख्य रुपमा यिनै विषयलाई चहकिलो पार्छन्। प्रचलित व्याख्या र सोचलाई चिर्दै यिनले नयाँ भाष्य बनाउन मद्दत गर्छन्।

यस लेखमा चर्चा गर्न लागिएको दुई वटा इतिहास टिपोटमध्ये एउटा टिपोट पाँचथर उम्लाबुङ (हाल फाल्गुनन्द गाउँपालिका–१, नवमीडाँडा) मा सुवेदार जहामान लिम्बूले तयार पारेका हुन्, जसमा वि.सं. १८२४ देखि १९९५ सम्मका घटना विवरण छन् । जहामानका नाति स्व. यामबहादुर लिम्बूको घरमा रहेको पाँच हात लामो काँचो बेरुवा कागजमा लेखिएको टिपोटमा विशेष गरी पल्लो किराँत लिम्बूवान्सँग सम्बन्धित इतिहास उल्लेख छन्।

लक्ष्मण लावती

अर्को टिपोट तेह्रथुमको म्याङलुङ निवासी लिलाबहादुर तुम्बाहाम्फेसँग रहेको र तेह्रथुम आठराई निवासी भगीराज इङनाम मार्फत हात परेको हो । जसमा वि.सं. १८३१ देखि १९६० सम्मको लिम्बूवानका घटनाहरूको टिपोट छ।

काँचो बेरुवा कागजमा लेखिएका यस प्रकारका इतिहास टिपोट गाउँघरमा अझै पनि कहीं कतै सुरक्षित अवस्थामा रहे पनि पुर्खाको निशानी भनेर हत्तपत्त देखाउन चाहँदैनन् । पुराना अक्षरमा लेखिएका शब्दहरू पढ्न नजान्नु र देखाउन नचाहनुले त्यस्ता सामग्री अप्रकाशित अवस्थामा रहेकाले तिनबारे खोज्नु, प्रकाशन गर्नु आवश्यक छ।

उल्लिखित इतिहास टिपोटका विषयलाई यहाँ थप चर्चासहित क्रमबद्ध रूपमा प्रस्तुत गरिएको छ।

१८२४ सालमा झाँगाझोलीमा लिम्बू कांशो राई र राम मगर रघुराना काटाकाट भयाको हो...

यो इतिहास टिपोटमा लिम्बू कांशो राई भनेको लिम्बूवान् सेनाका सरदार कांशोरे र राम मगर भनेको रामभद्र मगरलाई भनिएको देखिन्छ । अर्का पात्र रघुराना र काटाकाट भएको विषय समेत उल्लेख हुनुले वि.सं. १८२४ सालमा गोर्खाली सेना र लिम्बूवान् सेनाबीच युद्ध भएको पुष्टि हुन्छ।

हज्सन पाण्डुलिपिको पृष्ठ १३२–१३४ मा लिम्बू सरदार कांशोरे र गोर्खाली सेनाका सरदार रघुरानाबीच युद्ध हुँदा रघुराना काटिएपछि गोर्खाली सेनाले कांशोरेको हत्या गरेको उल्लेख छ। लडाइँ भएको साल उल्लेख नभएको उक्त पाण्डुलिपिमा लडाइँ भएको स्थान भने चैनपुरदेखि माथि दुम्जादेखि तल पारापुक्सीमा भनिएको छ।

दुम्जादेखि तल झाँगाझोली नै पर्छ। पारापुक्सी भन्ने ठाउँको नाम फेरिइसकेको हुनुपर्छ वा पुरानो झाँगाझोली तल सुनकोशी–तामाकोशी दोभान पूर्वी किनारको पकरवासलाई भनिएको हो कि ?

डा. भगेश्वर पंगेनीका अनुसार, गोर्खाली सेनापति कहरसिंहको नेतृत्वमा झाँगाझोली पामाखाम र रावा क्षेत्रहरू कब्जा गरेपछि फेदाप आक्रमण गरेको देखिन्छ। इमानसिं चेम्जोङका अनुसार, झाँगाझोलीमा किराँती सरदार साइकश्यान सेरिङ मारिए। आङदेम्बे वंशावली २०६६ अनुसार, वि.सं. १८२४ मा लिम्बू, राई, कान्छो, रामभद्र मगर काटाकाट भएको हो । यसले पनि झाँगाझोलीमा त्यसवेला लडाइँ भएको थप पुष्टि गर्छ।

इतिहासकार बाबुराम आचार्यका अनुसार, मकवानपुरका ठकुराइ (ठकुरी राजाहरूको आधिपत्य भएका क्षेत्र) उन्मुलनको दौरान पृथ्वीनारायण शाहले सुनकोशीको दायाँतर्फ दुम्जादेखि झाँगाझोलीका बस्ती र सिन्धुलीगढीमा आक्रमण गर्ने योजना बनाएका थिए । तर, अंग्रेजहरूसँगको समस्याका कारण त्यसलाई स्थगन गरेका थिए।

पाँचथर उम्लाबुङमा भेटिएको इतिहास टिपोट (बायाँ) र तेह्रथुमको म्याङलुङमा भेटिएको टिपोट ।

माथि उल्लिखित आधारहरू हेर्दा पृथ्वीनारायणले मकवानपुर दखल गरेको ताका झाँगाझोली हातमा नआए पनि हमलाका निम्ति त्यस ठाउँलाई प्राथमिकतामा राखेका थिए । उल्लिखित सम्बत् १८२४ मा सेनहरूले लडाइँ गर्न लिम्बूहरूलाई दूधकोशीसम्म लगेको देखिन्छ।

१८२५ सालमा कांतीपुर लीयाको हो...

टिपोटमा पृथ्वीनारायण शाहले कान्तिपुर जितेको साल लेखिए पनि महीना र गते उल्लेख छैन । पृथ्वीनारायण शाहलाई कान्तिपुर आक्रमण गर्न ज्योतिषी कुलानन्द ढकालले जुराएको साइत अनुसार १३ आश्विन, १८२५ को राति ३ बजे दखल भई कान्तिपुरका राजसिंहासनमा विराजमान भएको बाबुराम आचार्यले उल्लेख गरेका छन्।

१८२६ साल भक्तसहर गाउँ लीयाको कार्तिक शुक्ल पक्ष ११ रोजमा हो...

यस टिपोटमा भक्तशहर गाउँ भन्नाले भक्तपुर वा उसवेलाको भादगाउँलाई भनिएको कुरा गोर्खा राज्यले अधीनमा लिएको उल्लिखित साल र महीना मिलेबाट स्पष्ट हुन्छ । बाबुराम आचार्यका अनुसार, गोर्खालीसँग लगातार तीन दिनसम्म लडाइँपछि भक्तपुरका राजा रणजित मल्लले २० कात्तिक १८२६ मा आत्मसमर्पण गरेका थिए । टिपोटमा उल्लेख भएको साल र महीना मेल खाए पनि गते भने फरक परेको देखिन्छ।

१८२७ सालको साउने सक्रातीका दिन अरुन तरी आयाको हो...

किराँत राज्यहरू चौदण्डी र विजयपुर गोर्खाको अधीनमा नजाँदै बखतको कुरा हो, माझ किराँत र पल्लो किराँत लिम्बूवानको सिमाना अरुण नदी थियो । वि. सं. १८२७ को साउने संक्रान्तिमा गोर्खाली टोली अरुण नदी तरेर आएको भनिएको छ । तर, त्यो टोली लडाइँ गर्न आएको थियो वा सम्झौता गर्न ? किनभने विजयपुरमा आक्रमण गर्नुअघि त्यस अन्तर्गतका लिम्बू प्रशासकहरूलाई ३० वैशाख १८३१ मा पृथ्वीनारायण शाहले पठाएको एउटा पत्र हेर्दा उनी लडाइँ गर्नुभन्दा पनि लिम्बूहरूलाई फकाउनमै बढी केन्द्रित देखिन्छन्।

१८३० सालमा नौ किरात लीयाको हो, तीन ३ बारको दिन...

यस इतिहास टिपोटमा नौ किराँत भन्नाले नौलाख किराँत भन्न खोजिएको अनुमान हुन्छ । पृथ्वीनारायण शाहले २२ साउन १८३१ सालमा लिम्बूहरुलाई दिएको लालमोहरमा माझ किराँतलाई नौलाख किराँत भनिएको देखिन्छ । तर, नौलाख किराँत किन भनियो भन्ने आधार भेटिएको छैन।

टिपोटमा चौदण्डीमा दखल (कब्जा) गरेको साल र बार उल्लेख भए पनि महीना, गते भने उल्लेख छैन।

कप्तान कालु पाण्डेका तिथ्यावली अनुसार, २३ भदौ १८२९ सालमा दूधकोशी र सुनकोशी दोभानबाट गोर्खाली सेनाका सहयोगी हरिनन्द उपाध्यायको सहयोगमा डुंगाबाट नदी पार गरी गोर्खाली सेना माझ किराँत प्रवेश गर्‍यो। यसको झण्डै ११ महीनापछि राजा कर्ण सेन भागेर विजयपुर पलायन भएपछि ३० साउन १८३० मा चौदण्डी माझ किराँतको कब्जा पूरा भयो।

१८३१ साल श्रावण मैनामा अरुण पूर्व वीजैपुर लीयाको हो...

यस इतिहास टिपोटमा विजयपुर कब्जा भएको साल र महीना उल्लेख भए पनि गते छुटेको देखिन्छ । कप्तान कालु पाण्डेले लेखेको तिथ्यावली अनुसार ४ साउन १८३१ मा विजयपुर कब्जा भएको हो भनी बाबुराम आचार्यले उल्लेख गरेका छन् । यस मितिलाई आधार मान्दा पृथ्वीनारायण शाहले विजयपुर कब्जा गर्नुअघि ३० वैशाख १८३१ मा र विजयपुर कब्जा गरेको १७ दिनपछि २२ साउनमा लिम्बूहरूलाई पहिले सेन कालमा खाईपाई आएका सबै अधिकार र कर्तव्य यथावत् राखिदिने भन्दै विशेष महत्व दिएर दुई वटा तसल्ली मुलुकी लालमोहर जारी गरेको देखिन्छ।

मूल शासक नै बर्खास्त भइसकेको र राजधानी कब्जा गरिसकेको १७ दिनपछि विजयपुर अन्तर्गतको लिम्बूवान्को थुमथुमका लिम्बू प्रशासकहरूसँग सन्धी गर्नुपर्ने पृथ्वीनारायण शाहलाई आखिर त्यस्तो के बाध्यता थियो ? सेन कालका प्रकाशित स्याहामोहरहरू हेर्दा यी थुमथुमका लिम्बू प्रमुखहरूले स्थानीय प्रशासकका हैसियतमा स्याहामोहरहरू पाएको देखिन्छ।

बाबुराम आचार्यका अनुसार, विजयपुरका ठकुराइमा सेन राजाहरूका पुस्तैनी दीवान वा चौतारा लिम्बू हुने नियम थियो । डी.आर. रेग्मीका अनुसार, बुद्धिकर्ण राय लिम्बूहरूका प्रमुख थिए । सन् १८०२ मै नेपाल आई विजयपुरबारे लेखेका हामिल्टनका अनुसार विजयपुरमा राजा र दिवानबीच शक्ति संघर्ष चलि रहन्थ्यो। हामिल्टनका अनुसार, अन्तिम दिवान बुद्धिकर्ण रायले सेन राजा कामदत्तको हत्या गरी आफैं विजयपुरको हर्ताकर्ता बनेका थिए।

यी विभिन्न आधार हेर्दा विजयपुर अन्तर्गतका यी थुमथुमका लिम्बू प्रमुखहरू शक्तिशाली थिए र तिनलाई हात लिएपछि मात्र एकीकरण पूरा हुने पृथ्वीनारायण शाहको बुझाइ देखिन्छ।

चैनपुर धनकुटा आउँदा–पूर्व लिम्बूवान् अरुण वार लीयाको सहकाल ऐमान बोकटी सुभा भाजोकलम लेखायाको ३० साल ३१ साल...१

तेह्रथुमको म्याङलुङ निवासी लिलाबहादुर तुम्बाहाम्फेसँग सुरक्षित यस इतिहास टिपोटले गोर्खालीले अरुण पूर्वको लिम्बूवान् लिएका बखत ऐमानसिं वोकटी, सुभा कमल चैनपुर, धनकुटामा हाकिम भएर आएको भन्न खोजेको देखाउँछ।

सुभा जगजित पाण्डे श्री किर्तीसिंले खायाको चैनपुर अड्डा बाँधी कम्पनी रैथानी बसी फेदापा सामेल लि तिनीहरुबाट लिम्बुवान सामेल भयाको ३२ साल... १

पूर्वतर्फको एकीकरणका दौरान पृथ्वीनारायण शाहले विशेष निर्देशन दिंदै ५ अक्टोबर १७७४ मा अभिमानसिं बस्न्यात, पारथ भंडारी र किर्तीसिं खवासलाई लेखेको एउटा पत्र भेटिन्छ । पत्रबाट किर्तीमानसिं पल्लो किराँत कब्जा गर्ने मूल सेनापतिहरूमध्येका एक थिए भन्ने स्पष्ट हुन्छ।

त्यस्तै, यस इतिहास टिपोटमा उल्लेख भएका अर्का व्यक्ति जगजित पाण्डे र किर्तीसिं खवासलाई राजा प्रतापसिंह शाहले एउटै पत्रमा सम्बोधन गरी लेखेको देखिन्छ । बाबुराम आचार्यका यी आधारबाट वि.सं. १८३२ मा पाण्डे र खवास चैनपुरमा खटिएको पुष्टि बलियो रूपमा हुन्छ।

यस टिपोटले विजयपुर कब्जा भइसकेपछि, वि.सं. १८३२ मा पाण्डे र खवासले चैनपुरमा अड्डा बाँधेर बसेपछि मात्र लिम्बूवानको एउटा थुम फेदाप नेपालमा गाभिएको भनेकाले लिम्बुवान्का सबै थुमहरू विजयपुरका सेन राजाहरूका अधीनस्थ थिएनन् भन्ने देखाउँछ।

१८३३ सालमा सिब्या खत्रिले खायाको तेसैसालमा गोप्या फुले...१
१८३३ सालमा सिव खत्री आयाको...

यी दुई इतिहास टिपोटमा १८३३ सालमा चैनपुर धनकुटामा हाकिम भई आएको भनिएका शिव खत्री खासमा सुवेदार शिवनारायण खत्री हुन् जस्तो देखिन्छ । माझ किराँत कब्जाका दौरान धनुकाँड चलाउन सिद्धहस्त खम्बू युवाहरूले नेपाली सेनालाई पाइला–पाइलामा रोकी निकै क्षति गराएकाले पृथ्वीनारायण शाहले सुवेदार खत्रीको नेतृत्वमा थप सैनिक पठाउन विवश भएको बाबुराम आचार्यले उल्लेख गरेका छन्। यस हिसाबले पूर्वको एकीकरणमा खत्रीको योगदान देखिएको र इतिहास टिपोटमा उल्लेख भए बमोजिम १८३३ सालमा लिम्बूवान्मा हाकिम बनाएर पठाइएको देखिन्छ।

३४ सालमा लछिमा खत्री र प्रवल रानाले खायाको...१
३५ साल ३६ सालमा पुरन आलेले खायाको हो... १
३७ साल ३८ सालमा वंधु रानाले खायाको हो... १
१८३७ सालमा देसमा सुवीदार आयो फागु जौकर्न सँग मित लायेको...

यस इतिहास टिपोटमा १८३७/३८ सालमा वंधु रानाले खायाको अर्थात् त्यस बखत लिम्बूवान्को अनुगमन गर्ने हाकिम रहेको भन्न खोजेका हुन् । बाबुराम आचार्यले काजी वंधु राना पृथ्वीनारायण शाहका समयका प्रसिद्ध भारदार रहेको उल्लेख गरेका छन्।

माथि उल्लिखित पुरन आलेलाई राजा रणबहादुर शाहले लिम्बुवान् सम्बन्धी एउटा पत्र पठाएको हज्सन पाण्डुलिपिमा ‘गोर्खा खम्बूवान् लिम्बूवान् युद्ध’ नामक पुस्तकमा फेला परेकाले यस इतिहास टिपोटमा १८३५/३६ सालतिर पुरन आले लिम्बूवान् आएको पुष्टि गर्छ ।

अर्को, ‘१८३७ सालमा देसमा सुवीदार आयो फागु जैकर्न सँग मित लायेको’ भन्ने इतिहास टिपोटमा उल्लिखित व्यक्ति फागो जयकर्ण हुन् । हज्सन पाण्डुलिपि पृष्ठ १३१/१३२ मा गोर्खाली र लिम्बूबीच लडाइँ हुँदा लिम्बू सेनाको नेतृत्व जयकर्णले गरेको लेखिएको छ । यो लडाइँ लिम्बूवान् नेपालमा गाभिनु अगावै भएको हो ।

यस इतिहास टिपोटमा गोर्खाली सुवेदारले ती पूर्व लिम्बू सेनापतिसँग मित लगाएको उल्लेख हुनुले एकीकरणपछि स्थिति असहज भएकाले सहज बनाउन वा फकाउन गोर्खाली भारदार आएर मित लगाएको अनुमान गर्न सकिन्छ।

पल्लो किराँत लिम्बूवान् नेपालमा गाभिएको १९ वर्षपछि सन् १७९३ मा नेपाल आएका कर्कपेट्रिकले आफ्नो पुस्तकमा ‘लिम्बूहरूलाई नेपाल सरकारले आफ्नो वशमा राख्न गाह्रो भएको र उनीहरूबाट राज्यले पाउने उपलब्धि थोरै थियो वा कुनै कोणबाट फाइदा थिएन’ भनी लेखेका छन्। जसले माथि उल्लिखित पूर्व लिम्बू सेनापतिसँग गोर्खाली भारदारले मित लगाएको विषयलाई थप पुष्टि गर्छ।

(लावती लिम्बू जातिको मुन्धुमबारे खोज-अनुसन्धानमा सक्रिय छन् ।)

याे पनि पढ्नुहाेस्– ‘नमासिने लिम्बू’को अपूरो इतिहास


सन्दर्भ सूचीः

१. श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी, बाबुराम आचार्य, दोस्रो संस्करण २०६१
२. नेपालको संक्षिप्त वृत्तान्त, बाबुराम आचार्य, प्रथम संस्करण २०२२
३. श्री ५ प्रतापसिंह शाह, बाबुराम आचार्य, प्रथम संस्करण २०६१
४. नेपालको प्रशासनिक इतिहास भाग १, डा. भगेश्वर पंगेनी
५. नेपालको संक्षिप्त वृत्तान्त, बाबुराम आचार्य, पुनमुद्रण २०६०
६. लिम्बूवानको ऐतिहासिक अध्ययन, शिवकुमार श्रेष्ठ, पहिलो संस्करण, २०४२ 
७. लिम्बूको संक्षिप्त इतिहास तथा आङदेम्बे वंशावली, २०६६
८. हज्सन पाण्डुलिपिमा गोर्खा-खम्बूवान्-लिम्बूवान् युद्ध, अर्जुनबाबु माबुहाङ, भरत तुङघङ, २०७०
९. एन अकाउन्ट अफ द किङडम अफ नेपाल, फ्रान्सिस बुचानन हामिल्टन, दोस्रो संस्करण, सन् २०१३
१०. एन अकाउन्ट अफ द किङडम अफ नेपाल, विलियम जे. कर्कपेट्रिक, दोस्रो संस्करण, सन् २०१३
११. ल्यान्ड ओनरसिप इन नेपाल, महेशचन्द्र रेग्मी, पुन:मुद्रण, सन् २०१४

प्रतिकृया दिनुहोस