कला/साहित्य बुधबार, असार १०, २०७७

छायांकन ठप्प हुँदा संकटमा चलचित्र प्राविधिक

नुनुता राई

छायांकन ठप्प हुँदा संकटमा चलचित्र प्राविधिक

नेपाल चलचित्र प्राविधिक संघको तथ्यांक अनुसार करीब १२०० चलचित्र प्राविधिकहरू सक्रिय छन् । तर करीब ६०० मात्रै संघमा आबद्ध छन् । उपत्यका बाहिर रहेर काम गरिरहेका प्राविधिकहरू आबद्ध नभएको संघका वरिष्ठ उपाध्यक्ष विनोद लामा बताउँछन्।

चलचित्र निर्माणमा सहयोग पुर्‍याउने ड्रेस म्यान, हेयर डिजाइनर, स्पट ब्वाई, भान्सा तयार गर्ने समूहको पनि योगदान महत्वपूर्ण हुन्छ । तर तुलनात्मक रूपमा उनीहरूले कम पारिश्रामिक पाउँछन्। काम पनि अनियमित हुन्छ । चलचित्र निर्माण कम भएको अहिलेको जस्तो समयमा उनीहरू नै बढी मारमा पर्छन् ।

कोरोनाभाइरसको कारण सम्पूर्ण काम बन्द हुँदा प्राविधिकहरूलाई दैनिकी चलाउन समस्या भएको छ । संघले अहिले कलाकार तथा विभिन्न सहयोगी संस्थाहरूको सहयोगमा राहत वितरण गरिरहेको छ । केही प्राविधिकहरूसँग हिमाल कर्मी नुनुता राईले गरेको कुराकानी : 

सहयोग जुटाएर राहत बाँडिरहेका छौं 

म करीब २१ वर्षदेखि फिल्म क्षेत्रमा हेयर डिजाइनर छु । ‘फेरि तिम्रो याद आयो’ चलचित्रबाट प्रवेश गरेकी मैले १०० भन्दा बढी चलचित्रमा कलाकारहरूको कपाल बनाइदिइसकेकी छु । शुरूमा महिला कलाकारहरूको मात्रै कपाल मिलाउनुपथ्र्यो । तर आजभोलि पुरुष कलाकारको पनि मिलाउने प्रचलन छ ।

यो क्षेत्रमा लागेदेखि मैले अहिले जस्तो जटिल परिस्थिति कहिल्यै अनुभव गरेकी थिइनँ । हुन त योभन्दा अघि पनि लामो समय काम विना बसेकी थिएँ । तर मैले काम नपाउँदा अरू साथीले पाउँथे । सापट मागेर चलाउन सकिन्थ्यो । अहिले त सबै बेरोजगार छन् । कोसँग माग्ने ?

गीता पौडेल, हेयर डिजाइनर ।

गएको वर्ष तुलनात्मक रूपमा फिल्म कम निर्माण भएकाले पनि प्राविधिकहरू थप मारमा परेका छौं । फिल्म कम बनेपछि काम पनि स्वतः कम हुन्छ ।

चलचित्र प्राविधिक संघले समस्यामा परेका प्राविधिकहरूलाई कलाकार तथा विभिन्न दाताहरूको सहयोगमा राहत उपलब्ध गराइरहेको छ । म पनि संघकी कोषाध्यक्ष भएकोले प्राविधिक साथीहरूको चूलो निभ्न नदिनको लागि खटिइरहेकी छु । राहत दीर्घकालीन उपाय नभए पनि तत्काललाई भर हुन्छ । अहिले बाँचौं र बचाऔं भन्ने अभियानमा छौं ।

भूकम्प आएको वर्ष पनि केही समय गाह्रो भएको थियो । कतिपयले चार महीनापछि काम थालेका थिए भने केहीले डेढ महीनादेखि नै नयाँ काम शुरू गरेका थिए । तर त्यसवेला अहिलेको जस्तो अन्योलको स्थिति थिएन ।

दैनिक संक्रमितको संख्या बढिरहेकोले अझै कम्तीमा ६ महीना अथवा एक वर्ष अघि सामान्य अवस्थामा फर्किन सक्ने स्थिति देखिंदैन । अहिलेको अवस्थाले धेरै प्राविधिकहरू विस्थापित हुने सम्भावना छ । मेरो विचारमा कतिपय प्राविधिक साथीहरूले विकल्प सोचिरहनुभएको छ ।

यो संकट टार्न अब छायांकन शुरू भएपछि आलोपालो काम गर्नुपर्छ । आलोपालो अर्थात् एउटा प्रोजेक्टमा काम पाएकाहरूले अर्को प्रोजेक्टमा काम नपाएकाहरूका लागि छोडिदिनुपर्छ । यसरी हातेमालो गरेर जान सके सबैलाई सहज हुन्छ ।

अरू काम जानेको छैन, व्यवसाय गर्न पैसा छैन

म करीब दुई दशकदेखि चलचित्र क्षेत्रमा छु । मेरो जिम्मेवारी चलचित्रमा अभिनय गर्ने कलाकारहरूको पहिरन मिलाउनु हो । पात्र अनुसारको पहिरन तयार गर्नुपर्छ ।

अहिलेसम्म ७० भन्दा बढी चलचित्रमा काम गरिसकेको छु । ड्रेस म्यानले चलचित्रका सबै कलाकारका पहिरन तयार गर्नुको साथै महिला कलाकारले प्रयोग गर्ने टीका, चुरा, धागो समेत तयार गर्नुपर्छ । एउटा सामान समयमा तयार नहुँदा सबै काममा प्रभाव पर्छ । यति धेरै जिम्मेवारीका साथ काम गर्ने ड्रेस म्यानको पारिश्रामिक तुलनात्मक रूपमा कम छ ।

जीवनकुमार पोखरेल, ड्रेस म्यान ।

यो महामारीले म जस्ता न्यून आयस्रोत भएका प्राविधिक समस्यामा छौं । चलचित्र प्राविधिक संघले कलाकारहरूको सहयोगमा खाद्यान्न वितरण गरिरहेकाले केही राहत मिलेको छ । फिल्मकर्मीहरूले काम गर्न नसक्ने भनेपछि छायांकन अनिश्चितकालका लागि सरिरहेको छ । निर्माता र निर्देशकहरूले अब एक वर्ष काम गर्न नसक्ने बताइसकेका छन् । त्यसले गर्दा चिन्ता बढेको छ ।

जानेको एउटा यही काम हो । अरू काम जानेको छैन । व्यवसाय गर्न पैसा छैन । मलाई लाग्छ, म जस्ता प्राविधिकहरू अधिकांशले पैसा सञ्चित गरेका छैनन् । कतिपय फिल्मबाट सम्झौता अनुरूपको पारिश्रमिक समेत पाइँदैन । विभिन्न किस्तामा दिन्छन् । कतिपयले दिंदै दिंदैनन् । त्यसरी नदिएकाहरूबाट उठाउने हो भने मेरो करीब पाँच लाख उठ्छ । त्यति मात्रै होइन कतिपयले त चोर समेत बनाउँछन् । पैसा दिने वेला तैंले यो कपडा चोरिस्, हराइस् भन्छन् । सेफ्टी पिनले वा महिला कलाकारको हिलले टेकेर च्यातिएको दोष पनि हामीमाथि नै लगाउँछन् । अनि पैसा दिंदैनन् ।

काम सकिएपछि अधिकांशले वास्ता गर्दैनन् । हाम्रो कामलाई सम्मान गर्ने, माया गर्ने निर्देशक, निर्माताहरू औंलामा गन्न सकिने संख्यामा हुनुहुन्छ । हामी जस्ता प्राविधिकलाई माया गर्ने उहाँहरूको मायाले नै यो क्षेत्रमा लागिरहन हौसला मिल्छ ।

म बन्दाबन्दी हुनुअघि सुटिङकै क्रममा चलचित्रको टिमसँग रामेछाप पुगेको थिएँ । फिल्मको सुटिङ शुरू भएको ६ दिनमा लकडाउन भएपछि सबै फर्केर आयौं । अब कहिले शुरू हुन्छ निश्चित छैन । सकारात्मक आश लिएर बसेको छु ।

चलचित्र नपाए जे पाइन्छ त्यही काम गर्छु

म स्पट ब्वाई भएको करीब १० वर्ष भयो । अहिले मामा हरिबहादुर थापा र हरि लामाको टीममा आबद्ध छु । हरिबहादुर मामाले भान्सा हेर्नुहुन्छ । मैले त्यहाँ सबै काम गर्नुपर्छ । भान्साको कामदेखि लिएर कलाकारलाई चिया, नास्ता दिने, कुर्सी ल्याउने, खाना दिने सबै ।

काम शुरू गरेदेखि अहिलेसम्म बेरोजगार बस्नु परेको छैन । अहिले नै हो लामो समय काम नगरी बसेको । राम्रो राम्रो प्रोजेक्टमा काम गरिरहेको भएर अहिलेसम्म पारिश्रामिक लिनको लागि समस्या पनि भएको छैन । तुलनात्मक रूपमा अरूको भन्दा थोरै पारिश्रमिक भए पनि नियमित काम पाउँदा समस्या हुँदैन ।

दीपक श्रेष्ठ, स्पट ब्वाई ।

चित्तबुझ्दो पारिश्रामिक पाएकोले सकेसम्म यही क्षेत्रलाई निरन्तरता दिने योजना बनाएको छु । काम पनि मामाहरूको समूहसँग गर्ने भएकोले व्यक्तिगत रूपमा खोज्नुपर्दैन ।

सिन्धुपाल्चोक घर हो । अहिले आमाबुवा पनि यतै हुनुहन्छ । कोटेश्वरमा आमाबुवासँगै बस्छु । घरबेटीले एक महीनाको घरभाडा छूट दिएर धेरै राहत मिलेको छ । चलचित्र प्राविधिक संघको खाद्यान्न सहयोग पनि पाएको छु । अझै लामो समय बेरोजगार बस्नुपर्‍यो भने मात्रै विकल्प खोज्नुपर्छ । सकेसम्म यही काममा फर्किने सोच हो । यो क्षेत्र छोड्न नपरोस् भन्ने छ । हुँदै भएन भने त जस्तो काम पाइन्छ त्यस्तै गर्नुपर्ला ।

जस्तो अवस्था आउँछ, त्यस्तै सहने

करीब ३८ वर्षदेखि चलचित्रकर्मीहरूलाई खाना पकाइरहेको छु । अहिले ६५ वर्षको भएँ । हाम्रो पुख्र्यौली घर दोलखा हो । तर म सानै छँदा कालेम्पोङ बसाइँ गएका थियौं । अहिले पनि दाइ–भाइ उतै छन् । २०३७ सालमा तुलसी घिमिरे निर्देशित नेपाली चलचित्र ‘बाँसुरी’ को सुटिङ कालेम्पोङमा भएको थियो । त्यो फिल्मको सुटिङ हेर्न गएपछि मेरो यात्रा मोडिएको हो ।

कुलबहादुर महत (जेठा दाइ), हेड कुक ।

पहिलो दिन सुटिङ हेर्न गएको मलाई भोलिपल्ट निर्देशक घिमिरेले बोलाउन पठाए । त्यसवेला निर्देशक घिमिरेले भने, “हामी खाना त आफैं पकाउँछौं । पस्केर दिन सक्नुहुन्छ ?” अनि म बाँसुरी टीमसँगै बसें । फिल्मको सुटिङ सकिएपछि तुलसी घिमिरेसँगै नेपाल आएँ । त्यसपछि अहिलेसम्म म नेपालमा नै सक्रिय छु ।

म असनमा भाडामा बस्छु । आम्दानी अनुसार खर्च गरे बाँच्न मात्रै गाह्रो हुँदैन । त्यसमाथि मैले लामो समय यो क्षेत्रमा काम गरेको र आर्थिक अवस्था कमजोर भएको भन्दै चलचित्र विकास बोर्डमा रहेको चलचित्रकर्मी कल्याणकारी कोषले मासिक पाँच हजार दिन्छ । त्यसले पनि धेरै राहत मिलेको छ ।

अहिलेको अवस्थाबाट आत्तिएर नयाँ काम गर्ने उमेर नभएकोले पनि परिस्थितिको सामना गर्नुको विकल्प छैन । म सामान्य अवस्थामा पनि वर्षको दुई वटा फिल्ममा भन्दा बढी काम नगर्ने मान्छे । अहिले अप्ठ्यारो अवस्था आयो भनेर काम गर्न सक्ने उमेर पनि छैन । त्यसैले जस्तो अवस्था आउँछ, त्यस्तै सहने हो ।

छायांकन शुरू नभए इन्ष्टिच्यूट खोल्छु

म मेकअप आर्टिष्टको रूपमा चलचित्र क्षेत्रमा सक्रिय भएको ४० वर्षभन्दा बढी भयो । पहिला शाही नेपाल चलचित्र संस्थानमा कार्यालय सहयोगी थिएँ । त्यसवेला बन्ने नेपाली चलचित्रमा आवश्यक मेकअप आर्टिष्ट संस्थानले भारतबाट ल्याउने प्रचलन थियो । नेपालमा मेकअप आर्टिष्ट नै थिएनन् । ती भारतीय मेकअप आर्टिष्टको सहयोगीको रूपमा मलाई खटाइन्थ्यो ।

सन्तु तामाङ, मेकअप आर्टिष्ट ।

सहयोगीको रूपमा काम शुरू गरेको चार वर्षपछि म पनि मेकअप आर्टिष्ट भएँ । अन्य फिल्ममा काम गर्न थालेपछि ११ वर्ष खाएको स्थायी जागिरबाट राजीनामा दिएँ । त्यस यता २०० भन्दा बढी चलचित्रमा मेकअप आर्टिष्टको काम गरिसकेको छु ।

मेरो काम कलाकारलाई सुन्दर बनाउन मात्रै नभएर विभिन्न प्रकारका हतियारबाट लागेको चोट, आगोले पोलेको दाग, गोली लागेको जस्ता ‘इफेक्ट’ बनाउनु पनि हो । मैले काम शुरू गरेपछि लामो समय कामविहीन बस्नुपरेको अहिले पहिलो पटक हो । अहिले बेरोजगारसँगै कहिलेदेखि काममा फर्किन सकिन्छ भन्ने अन्योलले समस्या भएको छ ।

धेरै समय यस्तै भइरह्यो भने परिवार पाल्न, घरभाडा, बच्चा पढाउन समस्या हुन्छ । म चलचित्र प्राविधिक संघको संस्थापक अध्यक्ष पनि हुँ । अहिले संघले समस्यामा परेका प्राविधिकहरूलाई सहयोग गरिरहेको छ ।

केही समयको गाह्रोले यो क्षेत्र नै छोड्ने भन्ने हुँदैन । केही समयपछि सहज हुने आशा छ । विकल्प सोचिसकेको छैन । विकल्प सोच्नै परे पनि यही क्षेत्रसँग सम्बन्धित काम गर्छु । मेकअप इन्ष्टिच्यूट खोल्न सकिन्छ ।

प्रतिकृया दिनुहोस