कोभिड-१९ शुक्रबार, असार ५, २०७७

डाइपर लगाएर काम गर्छन् कोरोना प्रयोगशालाका प्राविधिक

लक्ष्मी बस्नेत

डाइपर लगाएर काम गर्छन् कोरोना प्रयोगशालाका प्राविधिक
सञ्जय चाैधरी, सुर्खेत । 

कोरोनाभाइरस परीक्षण गर्ने प्रयोगशालामा खट्ने प्राविधिकहरूले पीपीई लगाएर ड्यूटी गरुन्जेल शौचालय जान नमिल्ने भएकाले कोही पानी कम खान्छन् भने कोही डाइपर लगाउँछन्। महीनावारी भएका वेला महिलाहरुले लामो समय प्याड नफेरी काम गर्नुपर्ने बाध्यता छ।

रौतहटका सञ्जय चौधरी सुर्खेत प्रादेशिक अस्पतालको पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा माइक्रोबायोलोजिष्टका रूपमा कार्यरत छन्। कोरोनाभाइरस संक्रमण फैलिएयता १९ चैतदेखि पीसीआर परीक्षणका लागि ल्याइएका स्वाबको नमूनाबाट रिपोर्ट निकाल्न व्यस्त छन्।

स्वाबको नमूना परीक्षण गर्न शुरु गरेपछि नतिजा निकाल्न कम्तीमा ५/६ घण्टा लाग्छ, पोजेटिभ आएकालाई कहिलेकाहीं दोहोर्‍याएर पनि गर्नुपर्छ। त्यो काम गरुञ्जेल पीपीई लगाइराख्नुपर्छ। ड्यूटी शुरू गर्ने वेला पीपीई लगाउनुपर्ने तर त्यसअघि नै तयारी गर्नुपर्ने चौधरी बताउँछन्। कस्तो तयारी ?

उनी भन्छन्, “अलि अगाडिदेखि नै पानी कम खाने र शौचालय गएर मात्र ल्याबमा छिर्ने।” ल्याबमा पीपीई सेट लगाएर काम गर्दा शुरूका दिनहरूमा ५/६ घण्टासम्म पिसाब रोक्न उनलाई धेरै गाह्रो हुन्थ्यो। अहिले भने बानी परेको चौधरी बताउँछन्।

“ल्याबमा गएपछि पिसाब आउला भनेर अलि अगाडिदेखि नै पानी कम खान्छु। शुरूका दिनहरूमा ५/६ घण्टासम्म पिसाब रोक्न धेरै गाह्रो हुन्थ्यो। अहिले भने बानी परिसक्यो ।"

- सञ्जय चौधरी, माइक्रोबायोलोजिष्ट, पशुपक्षी रोग अन्वेषण प्रयोगशाला, सुर्खेत

उनी कार्यरत प्रयोगशालामा उनी जस्तै काम गर्ने ६ जना पुरुष छन्। “हिजोआज करीब ७ देखि ८ सयसम्म नमूना आउने गरेकाले कामको चाप धेरै बढेको छ”, उनी भन्छन्। संक्रमण दर बढेर स्वाब संकलन बढ्दै जाँदा देशभरि नै पीसीआर परीक्षण गर्ने प्रयोगशालाहरूमा कार्यरत कर्मचारीको ड्यूटी बिहान ६/७ बजेदेखि रातको १/२ बजेसम्म पनि हुने गरेको छ।

धनगढीस्थित सेती प्रादेशिक अस्पतालको पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा कार्यरत मेडिकल टेक्नोलोजिष्ट कञ्चन विष्टले पनि यस्तै अवस्थामा काम गरेको साढे दुई महीना नाघ्यो। पीपीई सेट लगाएर लगातार ८/९ घण्टा काम गर्ने गरेको विष्ट बताउँछिन्। ड्यूटी शुरू भएपछि शौचालय जान नमिल्ने समस्या पुरुषको जस्तै हो, तर महिलालाई महीनावारीको वेला सरसफाइका दृष्टिले संक्रमणको जोखिम बढी हुने उनको चिन्ता छ।

कञ्चन विष्ट, धनगढी । 

"कोरोना महामारीपछि ल्याबमा काम गर्न थालेयता मलाई दुई पटक महीनावारी भयो। त्यस क्रममा लामो समय ड्यूटीमा रहनुपर्दा एक पटकमा तीन वटासम्म प्याड लगाएर काम गरें । महीनावारी हुँदा चाहिं एकदम गाह्रो हुन्छ ।”

- कञ्चन विष्ट, मेडिकल टेक्नोलोजिष्ट, पशुपक्षी रोग अन्वेषण प्रयोगशाला, धनगढी

कोरोना महामारीपछि ल्याबमा काम गर्न थालेयता विष्ट दुई पटक महीनावारी भइन्। त्यस क्रममा एक पटकमा तीन वटासम्म प्याड लगाएको उनले बताइन्। “अचेल स्वाबको नमूना धेरै आउने भएर कामको चाप बढेको छ, महीनावारी हुँदा चाहिं एकदम गाह्रो हुन्छ”, उनी भन्छिन्।

सोही प्रयोगशालामा काम गर्ने माइक्रोबायोलोजिष्ट आनन्द मण्डल कहिलेकाहीं डाइपर लगाउने गरेको बताउँछन्। “काम गर्दागर्दै बीचमै ट्वाइलेट जानुपर्ने आपत् आउला कि भनेर डाइपर लगाउँछु, काम नसकुञ्जेल ढुक्क भइन्छ”, उनी भन्छन्।

मण्डलका अनुसार, पीपीई सेट लगाएर काम गर्दा कोरोनाभाइरसको संक्रमणबाट जोगिए पनि त्यस बाहेकका स्वास्थ्य जोखिम धेरै छ। शुरुशुरुमा त अक्सिजन नै कम हुने, पानी कम खानुपर्ने, ल्याबमा पसेपछि खाना–खाजाको टुङ्गो नहुने भएकाले स्वास्थ्यमा असर पर्ने उनी बताउँछन्।

“काम गर्दागर्दै बीचमै ट्वाइलेट जानुपर्ने आपत् आउला कि भनेर डाइपर लगाउँछु, काम नसकुञ्जेल ढुक्क भइन्छ ।”

- आनन्द मण्डल, माइक्रोबायोलोजिष्ट, पशुपक्षी रोग अन्वेषण प्रयोगशाला, धनगढी

प्रदेश–१ को एक प्रयोगशालामा कार्यरत एक माइक्रोबायोलोजिस्टलाई मधुमेहको समस्या छ। चिकित्सकका अनुसार उनले पानी खाइरहनुपर्छ, पिसाब लागिरहन्छ। पिसाब आउला कि भनेर डाइपर लगाउने गरेका उनले झण्डै तीन महीनादेखि अनियमित खानपानमा काम गरिरहेका छन्। ती माइक्रोबायोलोजिस्ट भन्छन्, “यस्तो संकटको वेला काम नगरी बस्ने कुरा भएन, काम गर्दा कोरोनाभाइरसको जोखिमभन्दा पनि भइरहेको रोग बढ्ला कि भन्ने डर छ।”

महिलालाई झनै समस्या

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, देशभरका २१ वटा प्रयोगशालामा पीसीआर विधिबाट नमूना परीक्षण भइरहेको छ। अधिकांश प्रयोगशालाका प्राविधिक र चिकित्सकको भोगाइ समान छ। भरतपुर अस्पतालको राष्ट्रिय पक्षी रोग अन्वेषण प्रयोगशालाकी प्रमुख, डा. नितु अधिकारीलाई यस बीचमा दुई पटक महीनावारी भयो। त्यो वेला ड्यूटीमा खट्दा उनलाई असहज मात्र भएन, लामो समय सेनेटरी प्याड फेर्न नपाएर संक्रमणको चिन्ता लागेको उनी बताउँछिन्। (हेर्नुहोस् बक्स)

भरतपुर अस्पतालको राष्ट्रिय पक्षी रोग अन्वेषण प्रयोगशालाकी प्रमुख, डा. नितु अधिकारीलाई यस बीचमा दुई पटक महीनावारी भयो। त्यो वेला ड्यूटीमा खट्दा उनलाई असहज मात्र भएन, लामो समय सेनेटरी प्याड फेर्न नपाएर संक्रमणको चिन्ता लागेको उनी बताउँछिन्।

अन्यत्रको तुलनामा काठमाडौंको अवस्था भने केही सहज देखिन्छ। टेकूस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी प्रमुख डा. रुना झा ड्यूटी समयभरि (८ घण्टा) पीपीई सेट लगाएर बस्न गाह्रो हुने भएकाले त्यसै अनुसार व्यवस्थापन मिलाइएको बताउँछिन्। उनका अनुसार, प्रयोगशालामा नमूना परीक्षण गर्नेहरूले एक पटकको नतिजा निकालिसकेपछि पीपीई फुकाल्न लगाएर अरु काममा लगाउने गरिएको छ। उनी भन्छिन्, “सामान्य अवस्थामा पनि ५ घण्टाभन्दा बढी पीपीई लगाउने गरी काम गर्दैनौं। काम गर्ने क्रममा शौचालय जानैपर्ने अवस्था आयो भने गएर अर्को पीपीई लगाउँछन्।”

अभियन्ता तथा लेखक राधा पौडेल कोरोनाभाइरसको महामारी शुरु भएसँगै प्राविधिक र स्वास्थ्यकर्मीले भोग्नुपरेका समस्याबारे विश्वव्यापी बहस भए पनि नेपाल सरकारले ध्यान नदिएको बताउँछिन्। “फ्रन्टलाइनमा काम गर्नेहरूका लागि पीपीई सेटसँगै डाइपर र सेनिटरी प्याड राखिनुपर्छ”, उनी भन्छिन्।

पीपीई सेटमै डाइपर र प्याड पनि राख्नुपर्छ भनेर नेपाल सरकार र विश्व स्वास्थ्य संगठनलाई इमेल लेखेको पनि उनले बताइन्। “शरीरमा पानीको कमी हुँदा र अनियमित खानपानले विभिन्न जटिलता निम्तिन्छ, यसैले अहिले परीक्षण र उपचारमा खटिइरहेकाहरूको विषयमा सोचिनुपर्छ”, पौडेल भन्छिन्।


‘११/१२ घण्टासम्म प्याड फेर्न पाइँदैन’

डा. नितु अधिकारी, प्रमुख, भरतपुर अस्पतालको कोभिड-१९ प्रयोगशाला

डा. नितु अधिकारी ।

भरतपुर अस्पतालको प्रयोगशालामा पाँच जना पुरुष साथीहरू र म कार्यरत छौं। पीपीई सेट निरन्तर कम्तीमा ७/८ घण्टा लगाउनुपर्छ। अहिले हामी तत्कालको जोखिम मात्र होइन, दीर्घकालीन स्वास्थ्य जटिलताको बीचमा काम गरिरहेका छौं। मुख्य कुरा, शौचालय जान नमिल्ने भएकाले दिसा–पिसाब समेत रोकेर राख्नुपर्छ। पिसाब आउला भनेर पानी कम खानुपर्छ।

यो विषय चीनको वुहानका स्वास्थ्यकर्मीहरुले पनि उठाएका थिए। तर, यति संवेदनशील समस्याबारे नेपालमा अहिलेसम्म कुनै व्यवस्था भएको छैन। यो त अस्पताल व्यवस्थापन र सरकारले बुझ्नुपर्ने हो।

पीपीई सेट लगाएर लामो समय काम गर्न निकै गाह्रो छ। अझ महीनावारी हुँदा झन् गाह्रो हुन्छ। लामो समय प्याड फेर्न नपाउँदा संक्रमणको जोखिम हुन्छ भन्ने थाहा हुँदाहुँदै एउटै प्याड बिहानदेखि बेलुकासम्म प्रयोग गर्नुपर्छ। कोरोनाभाइरस विरुद्धको लडाइँमा खट्ने अरु महिलाहरूको अवस्था पनि मेरो जस्तै होला।

पिसाब रोक्नुपर्ने समस्या त पुरुषहरुलाई पनि उस्तै हो। केहीले डाइपर लगाउनुहुन्छ। हाम्रोमा केही पुरुष साथीहरुले शौचालय जार्नुपर्ने इमर्जेन्सी परेमा पिसाब गर्ने ठाउँमा पीपीईलाई ब्लेडले काटेर पिसाब गर्ने र त्यसमा पछि टेप लगाउने गर्नुभएको छ। त्यो पनि जोखिम हो। तर, पीपीई महँगो छ, फेरिरहन संभव छैन।

महीनावारी हुँदा मलाई पाँच दिनसम्म रगत बग्छ, दुई दिन अत्यधिक पेट दुख्छ। कोभिड–१९ को परीक्षण शुरु भएयता दुई पटक महीनावारी भएँ। पेट दुख्दा अरु वेला तातोपानी खान्थे, आराम गर्थें। दुखाइ कम गर्ने औषधि कहिल्यै खाएको थिइनँ। तर, अहिले त काम गर्नैपर्ने भएकाले औषधि खाएँ। दुखाइमा काम गर्न सकिंदैन, आलोपालो काम गर्ने अवस्था समेत छैन। स्वाबको नमूना आउने क्रम दैनिक बढेको बढ्यै गर्दा कामको चाप थपिएको छ। यसले हाम्रो स्वास्थ्य समस्या थप बढाएको छ। 

पिसाब रोक्नुपर्ने समस्या त पुरुषहरुलाई पनि उस्तै हो। केहीले डाइपर लगाउनुहुन्छ। हाम्रोमा केही पुरुष साथीहरुले शौचालय जार्नुपर्ने इमर्जेन्सी परेमा पिसाब गर्ने ठाउँमा पीपीईलाई ब्लेडले काटेर पिसाब गर्ने र त्यसमा पछि टेप लगाउने गर्नुभएको छ। त्यो पनि जोखिम हो। तर, पीपीई महँगो छ, फेरिरहन संभव छैन। हाम्रो त पानी कम खाने, पिसाब रोक्ने बानी नै परिसक्यो। यो समस्या अन्य प्रयोगशालाका साथीहरुले पनि भन्नुहुन्छ।

यो समस्या हटाउन पीपीई लगाएर लामो ड्यूटी गर्ने अवस्था नहुने गरी जनशक्ति व्यवस्थापन गर्नुपर्छ। आपत् परेको समयका लागि अतिरिक्त पीपीई र पीपीई सेटमै डाइपरको व्यवस्था हुने हो भने काम गर्दा ढुक्क हुन्थ्यो। ड्युटी सकिए पनि हामीले क्वारेन्टिनमा बस्नुपर्ने भएकाले प्याड किन्न जान समेत पाउँदैनौं। फ्रन्टलाइनमा खटिनेहरूको यस्तो कठिनाइ बुझेर सहज बनाइदिनुपर्छ।

प्रतिकृया दिनुहोस