कला/साहित्य शुक्रबार, असार ५, २०७७

'बाँच्नै कठिन भए पनि कलाकारिता छाडिन्न'

नुनुता राई

'बाँच्नै कठिन भए पनि कलाकारिता छाडिन्न'
पुस्कर कार्की र प्रमिला खनाल ।

रंगमञ्चमा भविष्य खोजिरहेका युवा रंगकर्मीहरू कोरोना महामारी र बन्दाबन्दीले कला गतिविधि ठप्प बनाएपछि जीविका र करिअरको चिन्तामा छन्।

कोरोनाभाइरस संक्रमण रोकथामका लागि सरकारले ११ चैतदेखि लागू गरेको बन्दाबन्दी २९ जेठदेखि खुकुलो बनाएपछि मानिसको आवागमन पूर्णरूपमा खुला हुनुका साथै आंशिक क्षेत्र खुल्न थालेका छन्। तर, बढी भीडभाड र जमघट हुने विभिन्न क्षेत्रसँगै मनोरञ्जनका केन्द्रहरू भने तत्काल नखुलाउने निर्णय गरिएको छ।

साढे दुई महीनाभन्दा बढी समयदेखि नाटकघर र कला गतिविधि ठप्प हुँदा कलाकारहरू समस्यामा परेका छन्। महामारीको धक्काले लामो समय नाटकघरलाई सुनसान बनाउने देखिएकाले कलाकारहरू जीविकोपार्जन कसरी गर्ने र अगाडि कसरी बढ्ने भन्ने अन्योलमा छन्।

त्यसमा पनि कला क्षेत्रमा संघर्षको कदम बढाउन थालेका युवा रंगकर्मीहरूलाई करिअरको चिन्ताले सताएको छ। काठमाडौंमा कला क्षेत्रमा संघर्षरत केही रंगकर्मीहरूसँग कुरा गरेर महामारीले पारेको कठिनाइ, उनीहरूको भोगाइ र योजनाबारे जान्ने प्रयास गरेका छौं।

गाह्रो परे पनि आत्तिएको छैन : पुष्कर कार्की

अभिनयको दुनियाँमा भविष्य बनाउने सपना बोकेर आएका पुष्कर कार्कीले हालसम्म करीब एक दर्जन नाटकमा अभिनय गरिसकेका छन्। मण्डला नाटकघरबाट अभिनय सिकेका उनले ‘द एज अफ डार्कनेस’ नाटक मार्फत पहिलो पटक रंगमञ्चमा पाइला राखेका थिए।

पछिल्लो समय ‘प्रेमगीत ३’ बाट चलचित्रमा प्रवेश गरेका कार्कीको करिअरमा कोरोनाभाइरसको महामारी अवरोध बनेर आइदियो। २८ चैतमा रिलिज हुने तय भएको चलचित्र बन्दाबन्दीको कारण रोकियो। रंगमञ्चमा रुचाइएका उनलाई दर्शकले चलचित्रमा देख्न पाएनन्।

सामान्य अवस्था हुँदा बाँच्नका लागि दुःख नभए पनि अब भने गाह्रो हुन थालेको उनको भोगाइ छ। तर, पैसा कमाउन भन्दा पनि अभिनयको भोकले यो क्षेत्रमा आएकाले जस्तोसुकै अवस्था आए पनि कलाकारिता छोड्न नसक्ने उनी बताउँछन्। हुन पनि, उनी जागिर छाडेर पूर्णकालीन कलाकार भएका हुन्।

“अहिलेको अप्ठ्यारो अवस्थाले म मात्र नभई विश्वभरिकै संघर्षरत व्यक्तिहरू समस्यामा परेका छन्, यसैले आत्तिएको छैन”, उनी भन्छन्। महामारीले समग्र क्षेत्रमा अन्योल सिर्जना गरे पनि यस बीचमै सकारात्मक सोच्नुको विकल्प नरहेको बताउने उनी यो संकट टरेपछि फेरि उठेर अघि बढ्ने आशावादी सुनिए। “अहिलेको अवस्थाले अन्योलतर्फ धकेले पनि कलाकारिताको विकल्प सोचेको छैन, सामान्य अवस्था आएपछि यही क्षेत्रमा भविष्य कोर्नेछु”, उनले सुनाए।

रंगमञ्चमै टिक्ने प्रयास गर्दैछु : सरस्वती अधिकारी

सरस्वती अधिकारी ।

करीब पाँच वर्षअघि रंगमञ्चमा प्रवेश गरेकी सरस्वती अधिकारीले हालसम्म १० वटा नाटक, सडक नाटक, रेडियो नाटक लगायतमा अभिनय कला देखाइसकेकी छिन्। स्वतन्त्र कलाकारको रूपमा काम गर्दै आएकी उनी गएको वर्ष शैली थिएटरमा आबद्व भएकी थिइन्। थिएटरको संयोजक बनेको केही समयमै बन्दाबन्दी भइदिंदा दर्शकसम्म पुग्ने कोशिस बिथोलिएर ठूलो क्षति पुगेको उनी बताउँछिन्।

बन्दाबन्दीले कला गतिविधि रोकिएपछि अधिकांश कलाकारको बिजोग भएको सरस्वतीले देखिरहेकी छिन्। अवस्था सामान्य भएको वेला रंगमञ्चमा मात्रै काम गरेर गुजारा चलाउन समस्या भइरहेकोमा बन्दाबन्दीले त विस्थापित नै हुनुपर्ने अवस्थामा पुर्‍याएको उनको बुझाइ छ। काठमाडौंमै घर भएका कारण आफूलाई समस्या नपरे पनि धेरै साथीहरू चरम आर्थिक संकटमा रहेको उनी बताउँछिन्।

“यहीं नै घर भएकाले मलाई अलि सहज छ, आर्थिक संकट भोग्नु नपरे पनि करिअर संकटको समस्या भने समान छ”, सरस्वती भन्छिन्। समस्या भए पनि वैकल्पिक पेशाबारे नसोची यही क्षेत्रमा टिक्ने प्रयास गरिरहेको उनको भनाइ छ।

कोरोनाभाइरस महामारीले अन्य क्षेत्रलाई जस्तै रंगमञ्चमा पनि दीर्घकालीन असर पारेको उनी बताउँछिन्। महामारीको असर कहिलेसम्म रहन्छ भन्ने अनिश्चित रहेकाले जमघट गराई प्रत्यक्ष अभिनय गरेर देखाउनुपर्ने रंगमञ्च लामो समय पुरानो अवस्थामा फर्किन नसक्ने उनको अनुमान छ।

शैली थिएटरले नाटक मञ्चन गर्ने अवस्था नभएको समयमा पनि सिर्जनात्मक कर्मलाई निरन्तरता दिंदै विश्व बाल कविता लगायतका कार्यक्रम गरिरहेको सरस्वती बताउँछिन्।

जाने कुनै ठाउँ छैन : प्रमिला खनाल

तीन वर्षअघि रंगमञ्चमा प्रवेश गरेकी प्रमिला खनाल यो क्षेत्रमा आउनुअघि नृत्यांगना थिइन्। उनी नृत्य प्रशिक्षण पनि दिन्थिन्। तर, नाट्य कर्म बल्ल शुरु गर्दै गर्दा विश्वव्यापी महामारीको असरले अनिश्चय सिर्जना गरेको छ।

चार वटा नाटकमा अभिनय गरिसकेकी प्रमिलाको पाँचौं नाटक ‘शहीदकी छोरी’ मञ्चनको तयारी हुँदाहुँदै बन्दाबन्दी शुरू भयो। भर्खरै अभिनय क्षेत्रमा भविष्य खोजिरहेका कलाकारहरूलाई अहिलेको अवस्थाले एकदमै अन्योलमा पारेको उनी बताउँछिन्।

काम र जीविकाको हिसाबले एकदमै गाह्रो अवस्था सिर्जना भए पनि आफूसँग अन्य क्षेत्रमा जाने विकल्प नभएको उनी सुनाउँछिन्। सबै क्षेत्रमा संकट रहेको अवस्थामा नृत्य र अभिनयको मात्रै ज्ञान हुँदा कतै जान नसक्ने उनको भनाइ छ।

“महामारीको असर कहिलेसम्म रहन्छ भन्ने निश्चित छैन, यो स्थितिमा धैर्य गरेर बस्नुभन्दा के उपाय छ र”, उनी भन्छिन्, “सामान्य अवस्थाको पर्खाइमा बसेकी छु।”

सामान्य अवस्था आएपछि काम नपाइएला कि भन्ने चिन्ता उनमा छैन। उनको बुझाइमा यो लामो समयको बन्दाबन्दीमा रंगकर्मीहरूले राम्रा स्क्रिप्टहरू तयार पारेका कारण पुरानो अवस्थामा रंगमञ्च फर्किएपछि द्रुत गतिमा कला क्षेत्र अगाडि बढ्नेछ।

चिन्ता बढेको छ : सुवास सुवेदी

सुवास सुवेदी ।

६ वर्षदेखि नाट्य कर्ममा सक्रिय सुवास सुवेदीले हालसम्म मञ्चमा करीब एक दर्जन नाटकमा अभिनय पस्किसकेका छन्। रंगमञ्च, सडक नाटक, रेडियो नाटक र विद्यालयमा बालबालिकालाई पढाउन अधिकांश समय व्यस्त हुने उनी कोठाभित्रै खुम्चिएको तीन महीना हुन लागेको छ।

शैली थिएटरमा आबद्घ भएर अभिनयमा करिअर बनाउन जुटिरहेका सुवेदीलाई महामारीको गहिरिंदो असरले भविष्यको चिन्ता लाग्न लागेको छ। भन्छन्, “रंगमञ्चमा मात्र काम गरेर त पहिले पनि आर्थिक रूपमा गाह्रै थियो । स्कूल, रेडियो नाटक, सडक नाटक गरेर केही रकम बचत थियो, त्यो पनि सकिंदै गएकाले अब के गर्ने भन्ने तनाव हुन थालेको छ।”

यो क्षेत्रमा कसरी टिक्ने र दैनिकी चलाउने भन्नेबारे साथीहरूसँग नियमित छलफल गरिरहे पनि उपाय पत्ता लाग्न नसकेको सुवास बताउँछन्। विकल्प कम भएकाले वेलावेला उनलाई कलाकारिता हापेर लोकसेवा आयोगको परीक्षा तयारीमा लाग्नुपर्छ कि भन्ने पनि लाग्न थालेको छ। “तर, केही समय पर्खेर हेरुँ भन्ने पनि लाग्छ, के गर्ने भनेर पिरोल्न थालेको छ”, उनी सुस्केरा हाल्छन्।

‘अहिलेको संकट परीक्षा जस्तै’ : सगुन पोख्रेल

सगुन पोख्रेल ।

कलाकार बन्ने सपना बोकेकी बाँके कोहलपुरकी सगुन पोख्रेल अभिनय सिक्न चार वर्षअघि काठमाडौंको नाटक प्रशिक्षण केन्द्र ‘ज्ञ’ आइन्। वरिष्ठ रंगकर्मी सुनिल पोख्रेलबाट तीनमहीने प्रशिक्षण लिएपछि उनले अभिनयमै भविष्य खोजिरहेकी छिन्।

प्रशिक्षणपछि सुनीलकै निर्देशनमा ‘अ मिड समर नाइट सपना’ नाटकबाट अभिनय यात्रा शुरु गरेकी उनले यस बीचमा आधा दर्जनभन्दा बढी नाटकमा काम गरेकी छन्। बन्दाबन्दी हुनुअघि कोहलपुर पुगेकी उनी घरमै फिल्म हेर्ने, किताब पढ्ने गरेर समय कटाइरहेको बताउँछिन्।

उनी भन्छिन्, “तत्काल रंगमञ्चमा फर्किन सक्ने अवस्था छैन, त्यसैले केही सिर्जनात्मक काम गरेर यो समयको सदुपयोग गर्न सकिन्छ कि भने साथीहरूसँग छलफल भइरहेको छ।”

अहिले अवस्था असहज भए पनि सुनील पोख्रेलले प्रशिक्षणमा भने अनुसार जस्तोसुकै परिस्थितिको सामना गर्न मानसिक रूपमा तयार भएकाले नआत्तिएको सगुन बताउँछिन्। “दयाहाङ राई, सिर्जना सुब्बा लगायत कलाकारहरू लामो समयको संघर्षले अहिलको ठाउँमा स्थापित हुनुभएको हो, म पनि संघर्ष गर्न सक्छु भनेर यो समयलाई परीक्षाको रूपमा लिएकी छु”, उनी भन्छिन्।

अभिनयप्रतिको चाहनालाई परिवारले साथ दिएकाले पनि यही क्षेत्रमा संघर्ष गर्ने आँट पलाएको उनको भनाइ छ।

प्रतिकृया दिनुहोस