रिपोर्ट शनिबार, असार ६, २०७७

बास नेपालमा, आफन्त बर्मामा

मुकेश पोखरेल

बास नेपालमा, आफन्त बर्मामा
रूपन्देही सदरमुकाम भैरहवाको बर्मेली टोल । तस्वीर: मुकेश पाेखरेल

बर्मा छाडेर वर्षौंअघि आएका धेरैका आफन्त उतै छुटे । देशै फरक परेपछि हत्तपत्त भेट हुँदैन । मरिमराउमा पनि पुग्न सक्दैनन् । आफन्तको सम्झनाले मन भक्कानिन्छ।

रूपन्देही सदरमुकाम भैरहवामा सिद्धार्थ राजमार्गसँगै जोडिएको छ, ‘बर्मेली टोल’ । यो टोल यसरी चिनिएको करीब ६० वर्ष भयो । अहिले सिद्धार्थ नगरपालिका वडा नं. ८ मा पर्छ।

बर्मेली टोलकी धनकला पाण्डे (७८) का अनुसार बर्माबाट बसाइँ सरेर आएकाहरू बसेकाले बर्मेली टोल भनिएको हो । तर, अहिले यो ठाउँमा बर्माबाट आएका मानिसहरूका औंलामा गन्न सकिने घर मात्र छन्।

२०२३ सालदेखि भैरहवा बसाइँ आएका साहित्यकार बूँद रानाका अनुसार बर्माबाट आएकाहरू पछि त्यहाँबाट रूपन्देहीकै छपियातिर सरे । उनी भन्छन्, “पैसा भएका र घडेरी किन्न सक्ने केही भैरहवामै बसे, नसक्नेहरू छपियामा गएर जंगल फाँडेर बसे।”

चुडामणि र लिलावती पन्थ । तस्वीरः सागर पाण्डे

छपिया सरेर जानेका जग्गा मारवाडीहरूले किनेको उनी बताउँछन् । अहिले बर्मेली टोलमा अन्यत्रबाट आएकाहरू धेरै छन् । तर, त्यहाँका बर्मेलीको बर्मासँगको साइनो र सम्झना तोडिएको छैन।

धनकला पाण्डेको १२ वर्षको उमेरमा विवाह भएपछि श्रीमान् रेशमलालको पछि लागेर बर्मा गइन् । रेशमलाल बर्मामा खेती–किसानी गर्थे । उनले पनि त्यहाँ झण्डै १३ वर्ष बिताइन्।

बर्माको पुङछाङमा घर थियो । ३०० गाई, ५० वटा भैंसी थिए । गाई गोठ सात वटा थिए । काम गर्ने सात जना गोठाला थिए । ५० बिघा जमीनमा खेती गर्थे । अन्न प्रशस्त उब्जन्थ्यो।

२०२४ सालमा नेपाल आएका रेशमलालको दुई वर्षअघि मात्र निधन भयो । श्रीमती धनकला भन्छिन्, “बर्मा भनेपछि हुरुक्कै हुनुहुन्थ्यो । बर्मा जस्तो सुन्दर ठाउँ कहीं नभएको बताइरहनुहुन्थ्यो । बर्माको कुरा गरिरहनुहुन्थ्यो।”

चूडामणि पन्थ (८०) को स्मरणमा पनि बर्मा ताजै छ । उनले पनि १५० गाई पालेका थिए । दूधको कारोबार राम्रो थियो । दुईवटा काँधमा दूधको क्यान बोकेर एक्लै बेच्न जान्थे।

300
बर्मेली टोलकी धनकला पाण्डे ।

उनी भन्छन्, “एकपटकमा ८० वटा गाई एक्लै दुहुन्थे ।” उतिवेला बर्मामा ‘बंगाली कोर्टमा, नेपाली गोठमा’ भन्ने उखान नै चलेको थियो । बर्मामा रहेका अधिकांश नेपालीको पेशा पशुपालन र कृषि थियो । उत्पादन राम्रो हुने भएकाले नेपालीहरू कृषि र पशुपालनमा लागेको पन्थ बताउँछन्।

केही नेपाली उपल्लो तहमा समेत पुगेका थिए । तिनैमध्ये एक हिमलाल शर्मा (८०) थिए । उनले २३ वर्ष बर्मामा शिक्षण पेशा अपनाए । त्यस्तै शेरबहादुर लामा मुद्दा–मामिला हेर्न पाउने सरकारबाट तोकिएका आधिकारिक वकिल थिए । अर्का अन्तर सिंह सन् १९६० सम्म एमएससी मान्दले विश्वविद्यालयको डीन थिए।

बर्मा छोड्नुको बाध्यता
बर्माका नेपालीले सन् १९६० देखि बर्मा छोड्न थालेका हुन् । बर्मामा जन्मे–हुर्केका लीलाराम न्यौपानेको ‘जीवन र व्यक्तित्व’ पुस्तकमा उल्लेख भए अनुसार सन् १९६२ मा सैनिक जनरल नेविनले सत्ता कब्जा गरी सबै सम्पत्ति राष्ट्रियकरण गर्ने अभियान सञ्चालन गरे।

त्यसको दुई वर्ष अघिबाटै त्यहाँको राजनीतिक उथलपुथलका कारण नेपालीले बर्मा छोड्न शुरू गरेको हिमलाल शर्मा बताउँछन् । उनका अनुसार सन् १९६० देखि १९६४ सम्ममा करीब दुई लाख नेपालीले बर्मा छोडे । नेपाल आएका उनीहरूलाई विराटनगर, चितवन, कञ्चनपुर, महेन्द्रनगर, रूपन्देहीको फर्साटिकर, छपिया, भैरहवा र नवलपरासीको धनेवामा राखिएको थियो । केहीले भने भारततिर बसोबास गरे।

तत्कालीन सैनिक सरकारले बर्मेली मुद्रा २० क्याटमाथिका सबै नोट र चलअचल सम्पत्ति राष्ट्रियकरण गरेको थियो । आफूले १४ लाखका नोट सरकारलाई बुझाउनु परेको आफ्नो पुस्तकमा उल्लेख गरेका छन् । सबै सम्पत्ति राष्ट्रियकरण गरेपछि १७५ नेपाली रुपैयाँ लिएर भारतको मेघालयमा उनले व्यवसाय शुरू गरे । सैनिक सरकारको दमन बाहेक तत्कालीन राजधानी रंगुनबाहिर फैलिएको कम्युनिष्ट आन्दोलन पनि नेपाली विस्थापितको अर्को कारण थियो।

बर्मामा जमेर बसेका रेशमलाल पाण्डेले त्यतिवेला बल्ल साम्यवादको अर्थ बुझेका थिए । सबै सम्पत्ति सरकारलाई बुझाउनुपर्ने नियम उनलाई मन परेन । दुई वर्ष अघि निधन भएका उनले पाँच वर्षअघिको भेटमा भनेका थिए, “साम्यवाद भनेको अड्कलेर खान दिने र भएको सम्पत्ति सरकारलाई बुझाउने रहेछ । सात दिनका लागि चामल दिएर १० दिनका लागि पुर्‍याउन भन्थ्यो । खेती हामीले गरेर उत्पादन चाहिं उसलाई दिनुपर्थ्याे।”

पुग्ने गरी चामल नदिएपछि चना उसिनेर पनि गुजारा गर्नुपरेको उनले सुनाएका थिए । कतिपटक त दूधका क्यानमा चामल लुकाएर पनि घर ल्याए । सरकारका मान्छेले भेट्टाए कारबाही गर्थे।

जायजेथा सबै छोडेर नेपाल आउनु परेकोले यहाँ धेरैले कष्टकर जीवन विताउन बाध्य भए । श्रीमती सहित २०२२ सालमा नेपाल आएका चूडामणि पन्थले खानकै लागि लगाएका कपडा पनि बेचे । बर्माबाट आउँदा उनीसँग रु.४०० र दुई तोला सुन थियो । उनी भारतको कोलकाता हुँदै नेपाल छिरेका थिए।

उनीहरू तीन दिनसम्म धर्मशालामा बसे । त्यसभन्दा बढी धर्मशालामा बस्न पाइँदैनथ्यो । अनि दुई तोला सुन रु.४७ मा बेचे । अनि भैरहवा आएपछि बर्माबाट आएका अरू नेपालीलाई भेटे । सरकारले जिल्लाकै छपियामा बसोबासका लागि जग्गा प्रदान गर्‍यो।

बर्माबाटै आएका भैरहवाका भीम अधिकारीका अनुसार त्यहाँ कमाएको सम्पत्ति देशबाहिर लैजान प्रतिबन्ध लगाइएको थियो । मानिसहरू बर्मा छोडेर जान सक्थे, तर एक जनाले बढीमा एक तोला सुन, ४०० नेपाली रुपैयाँ, दुई जोर कपडा मात्र ल्याउन पाइन्थ्यो । उनी भन्छन्, “धेरै नेपालीको बर्मामा राम्रो बन्दोबस्ती थियो । त्यो सबै छोडेर आउँदा गाह्रो भयो । नेपाल आएकाहरू सरकारले राष्ट्रियकरण गर्दछ भनेर डराएर आएका हुन् । उता बस्नेहरू उतै जमे।”

स्व.लीलाराम न्याैपाने ।

आफन्तको सम्झना
नेपालमा रहेका धेरै बर्मेलीका आफन्त बर्मातिरै छन् । धनकला पाण्डेका देवर हरिलाल पाण्डे, नन्द र आमाजूको परिवार उतै छन् । चार पाँच वर्षमा भेटघाटका लागि आउने–जाने हुन्छ।

बर्मातिरै छुटेका आफन्तको सम्झनाले सधैं सताउने चूडामणि पन्थ बताउँछन् । उनी भन्छन्, “छुट्टिएर टाढा बस्दा पीडा हुँदोरहेछ । चाहेर पनि भनेको समयमा जान सकिन्न । एकै ठाउँमा भएको भए कति रमाइलो हुन्थ्यो।”

२०२२ सालमा नेपाल आएका उनी पछिल्लो पटक नौ वर्षअघि बर्मा गएका थिए । उनी २८ दिन बसेर फर्किए । उनका ससुराली बर्मामै छन् । आफ्ना जेठान पीताम्बर अधिकारीको मृत्यु हुँदा पुग्न सकेनन्।

उनकी श्रीमती लीलावतीले दाजुको सम्झनामा ४५ दिनसम्म परम्परा अनुसार धार्मिक कार्य गरिन्। “नाताले त नजिक हो, तर फरक–फरक देशका नागरिक भयौं। नागरिकता फरक भए पनि सम्बन्ध र माया टाढा हुन सक्दोरहेनछ”, लीलावती भन्छिन्।

माइती सबै बर्मामै भएकाले दशैं, तिहार, र तीज जस्ता चाडमा नरमाइलो लाग्ने उनी बताउँछिन् । उनले तिहारमा दाजुहरूलाई टीका लगाइदिन नपाएको धेरै वर्ष भयो । उनी भन्छिन्, “हरेक वर्ष तीज र तिहारमा मन भक्कानिन्छ।”

भैरहवाका नारायण पौडेलका चार भाइ बर्मामा छन् । उनी र अर्का एक भाइ मात्र नेपालमा छन् । अहिले पनि बर्मामा रहेका आफन्तका लागि यहाँबाट नेपाली पात्रो पठाइन्छ । पौडेलका अनुसार त्यही आधारमै त्यहाँका नेपालीभाषीहरूले तीज, दशैं, तिहार जस्ता चाड मनाउँछन्।

प्रतिकृया दिनुहोस