कला/साहित्य शुक्रबार, जेठ ३०, २०७७

संकटमा रंगमञ्च : टिकाउने कसरी ?

नुनुता राई

संकटमा रंगमञ्च : टिकाउने कसरी ?

कोरोनाभाइरसको महामारीले कला गतिविधि ठप्प भएका नाटकघरहरू तत्काल कसरी टिकेर अघि बढ्ने भन्ने चिन्तामा छन्।

कोरोनाभाइरसले जनस्वास्थ्यमा संकट मात्र निम्त्याएको छैन, बढी भीडभाड हुने ठाउँहरू सुनसान बनाएको छ। थोरै दर्शक अटाउने सीमित ठाउँ र कलाकारहरूले प्रत्यक्ष अभिनय गर्ने रंगमञ्चका गतिविधि पनि यतिवेला शून्य छन्। संक्रमण रोकथाम गर्न घोषित बन्दाबन्दी जारी नै रहँदा संक्रमणको जोखिम साम्य नहुँदा नाटकघरहरू तत्काल खुल्ने अवस्था छैन। यो अवस्थामा नेपाली रंगमञ्च अब कसरी अगाडि बढ्ला भन्ने अन्योल देखिएको छ।

संक्रमण दर बढिरहेका वेला जोखिमका बीच नाटकघर खुलाउन नसकिने सर्वनाम थिएटरका संस्थापक निर्देशक अशेष मल्ल बताउँछन्। जमघट गरेरै चलाउनुपर्ने नाटकघर भौतिक दूरी कायम राखेर संचालन गर्न सम्भव नभएकाले अवस्था सामान्य नहुँदासम्म खुलाउन नसकिने उनको भनाइ छ। “सबैको स्वास्थ्य र जीवनरक्षा नै महत्वपूर्ण कुरा हो, जीवन रहे कला त रहन्छ नै”, उनी भन्छन्।

सर्वनाम थिएटरका संस्थापक निर्देशक अशेष मल्ल ।

बन्दाबन्दी जारी भएसँगै सर्वनामले अभिनय कक्षा सञ्चालन र नाटक रिहर्सलकै क्रममा रोकेको थियो। काठमाडौं उपत्यकाका धेरै नाटकघरहरू भाडाको जग्गा वा भवनमा सञ्चालित छन्। कालिकास्थानमा प्रेक्षालय रहेको सर्वनाम थिएटरलाई भने आर्थिक भारको पिरलो छैन। “हाम्रो आफ्नै भवन र सबै कलाकार स्वयंसेवक भएकाले नाटकघर बन्द भए पनि आर्थिक भार भोग्नुपरेको छैन”, संस्थापक निर्देशक मल्ल भन्छन्।

महामारीले ठप्प बनाएको कला गतिविधिलाई कसरी अगाडि बढाउने भन्नेबारे शिल्पी थिएटर भने छलफलमा छ। शिल्पीका कला निर्देशक घिमिरे युवराजले संवाद भइरहेको र निष्कर्षमा पुगिनसकेको बताए। “मञ्चमा संभव नभए पनि खुला ठाउँमा भौतिक दूरी कायम गरेर काम गर्न सकिन्छ कि भनेर छलफल गरिरहेका छौं”, उनले भने। बत्तीसपुतलीमा रहेको शिल्पी थिएटरमा पूर्णकालीन दश जना र पार्ट टाइम दश जना कलाकार छन्।

शिल्पी रंगमञ्चका कला निर्देशक घिमिरे युवराज ।

दीर्घकालीन असरको चिन्ता

लामो समयदेखिको बन्दाबन्दीले कामकाज ठप्प भएर आर्थिक समस्या पर्न थालेपछि मानिसहरू जोखिमकै बीच बाहिर निस्किन थालेका छन्। शहरमा चहलपहल बढ्न थाले पनि सामाजिक जिम्मेवारीका कारण नाटकघर खोल्ने अवस्था नरहेको कथा घेरा समूहको कौशी थिएटरकी संस्थापक निर्देशक आकांक्षा कार्की बताउँछिन्। उनको टेकूस्थित आफ्नै घरको कौसीमा ब्ल्याक बक्स थिएटर छ।

कौसी थिएटरकी संस्थापक निर्देशक आकांक्षा कार्की ।

आकांक्षाको बुझाइमा महामारीले अन्य क्षेत्रको तुलनामा नाटकलाई ठूलो असर गरेको छ। रंगमञ्च फेरि एक पटक नराम्ररी सुस्ताउनेबारे चिन्ता गर्ने उनी निराश भने छैनन्। “अहिलेसम्म रंगमञ्चले धेरै वटा संकट झेलिसकेको छ, त्यसैले यो महामारीबाट लडेको रंगमञ्चलाई हामी रंगकर्मीहरूले फेरि उठाउन सक्नेछौं”, आकांक्षाको आशा छ।

महामारीले दर्शक र नाट्यकर्मीबीच कोरिदिएको दूरी छोट्याउने प्रयास स्वरूप कथा घेराले अहिले अनलाइन मार्फत प्लेब्याक थिएटर शुरू गरेको छ। जस अन्तर्गत हरेक बुधबार अनलाइनबाट दर्शकको भावना वा कथा सुनेर कलाकारले प्रस्तुति दिन्छन्।

मण्डला थिएटरकी अध्यक्ष सिर्जना सुब्बा कसरी अगाडि बढ्ने भनेर अलमलमै रहेको बताउँछिन्। निरन्तर छलफल भइरहे पनि कुनै निष्कर्षमा पुग्न नसकेको उनको भनाइ छ।

मण्डला थिएटरकी अध्यक्ष सिर्जना सुब्बा ।

उनको आकलनमा अझै एक वर्ष पूर्ववत् कलाकारहरूले मञ्चमा अभिनय गरेर दर्शकलाई देखाउन सक्ने अवस्था हुँदैन। “औषधी पत्ता लागे पनि यो महामारीको असरले हामीलाई लामो समय पिरोल्नेछ, एक वर्षसम्म पुरानो अवस्थामा फर्किन सकिंदैन जस्तो लाग्छ”, सुब्बा भन्छिन्।

आगामी दिनमा रंगमञ्चलाई टिकाउनु नै ठूलो कुरा हुने उनको बुझाइ छ। यसका लागि सहयोग जुटाएर काम गर्न सकिन्छ कि भन्नेबारे आन्तरिक रूपमा छलफल गरिरहेको सुब्बा बताउँछिन्। अहिलेको अवस्थामा मण्डला थिएटरलाई टिकाउन पनि ऋण लिनुपर्ने अवस्था रहेको उनी बताउँछिन्। “थिएटरमा दुई जना कर्मचारी हुनुहुन्थ्यो, आर्थिक भार भएकै कारण दुवै जनालाई वैशाखसम्मको पारिश्रमिक दिएर बिदा गर्नुपरेको छ”, उनले भनिन्।

कीर्तिपुर रंगमञ्चका संस्थापक निर्देशक केदार श्रेष्ठ ।

महामारी र बन्दाबन्दीको यो वेला योजना बनाउन बाहेक केही उपाय नभएको थिएटर मल– कीर्तिपुर रंगमञ्चका संस्थापक निर्देशक केदार श्रेष्ठ बताउँछन्। नाटक बन्द मञ्चमा देखाउन सम्भव नरहेको अहिलेको अवस्थामा खुला ठाउँमा देखाउन सकिने भए पनि त्यसको पनि सम्भावना उनी देख्दैनन्। श्रेष्ठ भन्छन्, “अहिले खुला ठाउँमा नाटक देखाउन सकिने अवस्था त छ, तर हेर्न आउने दर्शक कति होलान् र प्रभावकारिता कति होला भन्ने मुख्य कुरा हो।”

अहिले विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड अनुसार नाटक तयार हुन पनि नसक्ने उनको भनाइ छ। नाटकको अभ्यासदेखि मञ्चनसम्म सामूहिक रूपमा गर्नुपर्ने काम व्यक्तिगत दूरी कायम गर्दा सम्भव नहुने उनी बताउँछन्। “खुला ठाउँमा नाटक देखाउँदा दर्शकबीच भौतिक दूरी त कायम होला, कलाकारको भौतिक दूरी कायम राख्न सम्भव हुँदैन”, उनी भन्छन्।

अहिलेको अवस्थामा रंगमञ्च कहिलेसम्म सामान्य अवस्थामा फर्कन्छ भन्ने अनुमान गर्न गाह्रो भएको श्रेष्ठ बताउँछन्। बन्दाबन्दीकै बीच थिएटर मलले थिएटर सेन्टर फर चिल्ड्रेनसँग मिलेर १४ चैतदेखि १६ दिनसम्म भर्चुअल थिएटर फेस्टिभल ‘क्वारेन्टाइन अभियान नाट्य उत्सव’ गरेको थियो। जसमा दैनिक रूपमा फेसबुकमा नाटकको भिडियोको लाइभ स्ट्रिमिङ गरिएको थियो।

प्रतिकृया दिनुहोस