रिपोर्ट बुधबार, जेठ २८, २०७७

शिक्षकहरूको अनुभवः आत्मरक्षा र संगीत प्रशिक्षण पनि अनलाइन

नुनुता राई

शिक्षकहरूको अनुभवः आत्मरक्षा र संगीत प्रशिक्षण पनि अनलाइन

विभिन्न निजी विद्यालयहरूले अनलाइनबाटै विद्यार्थीलाई पढाइरहेका छन् । विद्यार्थीलाई खेलकुद र अन्य प्रशिक्षण पनि अनलाइनबाटै दिन थालिएको छ । संगीतको कक्षा पनि अनलाइनमै हुन थालेको छ ।

बन्दाबन्दी लम्बिंदै जाँदा प्रविधिको प्रयोगबाट भइरहेको सिकाइलाई कक्षाकोठाको विकल्पको रूपमा पनि हेर्न थालिएको छ । यसले बन्दाबन्दीमा विद्यार्थीलाई सिकाइसँग जोडिरहेको छ । शिक्षकहरूले पनि आफ्नो कामलाई निरन्तरता दिन पाएका छन् । शिक्षकहरूको अनलाइन अध्यापन र प्रशिक्षणको अनुभव सकारात्मक छ ।

अनलाइनबाटै आत्मरक्षा तालिम

आत्मरक्षा तालिम भनेकै भौतिक रूपमा उपस्थिति भएर सिकाइने कला हो । सन्जु महर्जन उपत्यकाको तीन वटा स्कूलमा आत्मरक्षा प्रशिक्षण दिन्छन् । अहिले पनि सिक्न चाहनेलाई अनलाइन मार्फत तालिम दिइरहेकी छिन् । आफूलाई पनि नयाँ अनुभव भइरहेको उनी बताउँछिन् ।

सन्जु महर्जन आत्मरक्षा प्रशिक्षक ।

महर्जनले विदेशी गुरुहरूबाट अनलाइन मार्फत नै आत्मरक्षा तालिम लिएकी थिइन् । तर, नेपालमा भने बन्दाबन्दीमा पहिलो पटक अनलाइन तालिम दिइएको हो । अनलाइन मार्फत आत्मरक्षा तालिम लिन चाहने विद्यार्थी पाउँदा उनी दंग छिन् ।

उनीसँग ७ कक्षामाथिका विद्यार्थीले व्यक्तिगत रूपमा आत्मरक्षा तालिम सिकाउन अनुरोध गर्ने गरेका छन् । उनी भन्छिन्, “सानो उमेरका बालबालिकालाई भौतिक उपस्थितिमा छोएर अनुभूत गराएर सिकाउन सजिलो हुन्छ । अलि ठूलाले भने भनेको पनि बुझ्छन् ।”

अहिले बिहान र साँझ दैनिक दुई समय आत्मरक्षा तालिम सिक्न चाहनेलाई प्रशिक्षण दिइरहेको उनी बताउँछिन् । बन्दाबन्दीमा पनि बालिका तथा महिलामाथि हिंसा भएकाले आत्मरक्षा तालिम जुनसुकै वेला पनि आवश्यक रहेको उनको भनाइ छ । अनलाइनबाट बुझाउन दुई जनाले गरेरै देखाउनुपर्छ । त्यसैले उनले अर्की प्रशिक्षक राधिका हमालसँग मिलेर सिकाइरहेकी छिन् ।

अनलाइन र अफलाइन गतिविधि सँगसँगै

धरानको युरेका सेकेन्डरी स्कूलले किन्डर गार्डेनदेखि १० कक्षासम्मका विद्यार्थीलाई अनलाइन कक्षामा जोडेको छ । तर, नियमित पाठ्यक्रमभन्दा पनि विद्यार्थीलाई व्यस्त बनाउन दैनिक क्रियाकलापसँग जोडेर सिकाइलाई निरन्तरता दिएको प्रिन्सिपल राजेन्द्र गुरुङ बताउँछन् ।

राजेन्द्र गुरुङ प्रिन्सिपल, युरेका सेकेन्डरी स्कुल धरान ।

विद्यालयले मेसेन्जर, भाइबर र ह्वाट्स एप मार्फत दैनिक एक घन्टा अनलाइन कक्षा गर्छ । बाँकी समय अफलाइन गतिविधि हुन्छ । यसमा ९५ प्रतिशतसम्म विद्यार्थी सहभागी भइरहेको गुरुङ बताउँछन् । उनी भन्छन्, “सम्बन्धित शिक्षकले केही कार्य दिन्छन् र विद्यार्थीले उक्त कार्य पूरा गरेपछि फोटो खिचेर, रेकर्ड गरेर वा भिडियो खिचेर पठाउँछन् । यसले शिक्षक र विद्यार्थीबीच सामीप्यता बढाएको छ ।”

विद्यार्थीको रुचि अनुसार कार्य गर्न दिएपछि विद्यार्थीको सहभागिता दिनप्रतिदिन बढेको उनको अनुभव छ । इन्टरनेटको पहुँचभन्दा बाहिर रहेका विद्यार्थीलाई पनि विषय शिक्षकले फोन गरेर दैनिक गृहकार्य गर्न लगाइरहेका छन् । उनी भन्छन्, “पहिला विद्यार्थी शिक्षकसँग डराउने, मनमा लागेको कुरा खुलेर गर्न नसक्ने समस्या थियो । तर, अनलाइन सिकाइ शुरू भएपछि उनीहरू डराउन छाडेका छन् । नबुझेको सोध्ने गरिरहेका छन् ।”

यसरी हुन्छ संगीतको अनलाइन कक्षा

वल्र्ड स्कूल, वेदान्त स्कूल तथा नेपाल म्युजिक सेन्टर (संगीत विद्यालय) मा संगीतका शिक्षक मदन गोपाल पनि अहिले अनलाइन मार्फत प्रशिक्षण दिइरहेका छन् । माथिल्लो कक्षालाई जस्तो तल्ला कक्षाका विद्यार्थीलाई प्रभावकारी नहुने उनी बताउँछन् । तर, माथिल्लो र तल्ला तहका बालबालिकाले नै अनलाइन सिकाइमा रमाइलो मानिरहेको उनको अनुभव छ ।

मदन गोपाल, गायक,संगीतकार तथा संगीत प्रशिक्षक ।

शुरूका दिनमा अनुशासनमा सचेत नहुँदा अनलाइन कक्षामा विद्यार्थी सोफा अथवा ओछ्यानमा पल्टेर कक्षा लिने गरेका थिए । तर, अहिले त्यो समस्या छैन । उनी अनलाइनबाट संगीत सम्बन्धी जानकारी दिंदै प्रयोगात्मक रूपमा पढाउँछन् । अनलाइन कक्षापछि विद्यार्थीले आफूले गाएका गीत रेकर्ड गरेर मेसेन्जर, भाइबर लगायत माध्यमबाट पठाएर प्रतिक्रिया माग्छन् ।

उनी भन्छन्, “विद्यार्थीहरू आफूले गाएको गीत विभिन्न माध्यमबाट पठाएर प्रतिक्रिया मागिरहेका हुन्छन् । यसले शिक्षक र विद्यार्थीबीच पनि सामीप्यता बढाएको अनुभव गरिरहेको छु ।” विद्यार्थीको सहभागिता पनि हरेक दिन बढिरहेको उनको भनाइ छ ।

‘बन्दाबन्दीले पढाउने नयाँ शैली सिकायो’

काठमाडौंको बृहस्पति स्कूलकी प्रि–प्राइमेरी इन्चार्ज तथा शिक्षिका कामना साह साना कक्षाका बालबालिकालाई अनलाइन कक्षामा सहभागी गराउन शिक्षक अझ बढी सिर्जनात्मक हुनुपर्ने बताउँछिन् । बालबालिकाको ध्यान खिचिरहन उनीहरूलाई मनपर्ने विधिबाट पढाउनुपर्छ । यसकारण शिक्षकको ज्ञान तथा सीपको दायरा फराकिलो भइरहेको छ ।

उनी भन्छिन्, “पहिला हामीलाई सामाजिक सञ्जाल चलाउन र फोन गर्नबाहेक प्रविधि ज्ञान कम थियो । अनलाइन कक्षा शुरू भएसँगै पावरपोइन्ट बनाउनुपर्ने, स्क्रिन सेयर गर्नुपर्ने जस्ता कुरा सिकाएको छ ।” शिक्षकलाई सिर्जनात्मक हुनुपर्ने दबाब पनि बढेको उनी बताउँछिन् ।

तल्लो कक्षाका बालबालिकाका शिक्षकलाई सिकाइ प्रभावकारी बनाउन बढी चुनौती रहेको उनको भनाइ छ । शीर्षकसँग मिल्दोजुल्दो रमाइलो तथा आकर्षक पावरपोइन्ट बनाएन भने बच्चाहरूलाई ४० मिनेटसम्म ध्यान खिचिरहन सकिंदैन । आफ्नो कक्षालाई प्रभावकारी बनाउन चाहने शिक्षकले हरेक दिन नयाँ तरिका अपनाउनुपर्छ ।

त्यसले शिक्षकको व्यस्तता पनि बढाएको छ । बालबालिका पनि आकर्षित भइरहेका छन् । उनी भन्छिन्, “यो दुई महीनाको बन्दाबन्दीले वर्षौंसम्म नसिकेको कुरा सिकाएको छ । म आफैं ज्ञान तथा सीप विकास भएको अनुभव गरिरहेकी छु ।”

विद्यार्थीसँगै अभिभावक पनि व्यायाम गर्छन्

कराते तथा आत्मरक्षा तालिम प्रशिक्षक राधिका हमालले विगत एक महीनादेखि बानेश्वरको वेदान्त स्कूल र लोकन्थलीको दीपज्योति स्कूलका विद्यार्थीलाई अनलाइन प्रशिक्षण दिइरहेकी छिन् । शुरू–शुरूमा समस्या भए पनि अहिले केही सहज भएको उनी बताउँछिन् ।

राधिका एयर हमाल, कराते तथा आत्मरक्षा प्रशिक्षक ।

एकदेखि तीन कक्षाका विद्यार्थीलाई तालिम दिइरहेकी उनी सिकाइ प्रभावकारी भएको बताउँछिन् । भन्छिन्, “साना साना बालबालिका छन् । उनीहरूलाई सिकाउँदा अभिभावक पनि साथमै हुने भएकोले ध्यान दिएर गर्छन् । अभिभावकले निकै प्रभावकारी भएको बताइरहनुभएको छ ।”

भौतिक रूपमा उपस्थित भएर सिकाउनभन्दा भिडियोमा सिकाउन केही अप्ठ्यारो भएको उनको अनुभव छ । उनी भन्छिन्, “एक्सन गरेरै सिकाउनुपर्ने र नमिलेको पोजहरूमा आफैंले मिलाइदिनुपर्ने हुँदा भिडियोमा अलि अप्ठ्यारो हुन्छ । तर, अभिभावकको सहयोगले सहज हुँदै गएको छ ।”

व्यायाम गर्दा भने बालबालिकासँगै अभिभावकले पनि सिकिरहेको उनी बताउँछिन् । भन्छिन्, “नयाँ प्रयोग हो । केही असहज भए नि रमाइलो लागिरहेको छ ।”

प्रतिकृया दिनुहोस