रिपोर्ट मंगलबार, जेठ २७, २०७७

अष्ट्रिच पाल्ने अगुवा व्यवसायीको 'कृषि क्रान्ति'

मुकेश पोखरेल

अष्ट्रिच पाल्ने अगुवा व्यवसायीको 'कृषि क्रान्ति'
सीपी शर्मा । तस्वीरहरु : सागर पाण्डे

रुपन्देहीमा अष्ट्रिच पालन शुरू गरी स्थापित व्यवसायी बनेका सीपी शर्माले कृषिमा थप सम्भावना खोज्दै ठूलो क्षमताको कोल्ड स्टोर बनाएका छन्।

मुलुकमै पहिलो पटक व्यावसायिक रूपमा अष्ट्रिच पालन गर्ने व्यवसायी हुन्, सीपी शर्मा। जसले रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित मधवलियामा अष्ट्रिच फार्म सञ्चालन गरिरहेका छन्।

उनै व्यवसायी शर्माले किसानको कृषि उपज भण्डारण गर्ने गरी ठूलो क्षमताको शीत भण्डार (कोल्ड स्टोर) स्थापना गरेका छन्। अष्ट्रिज फार्मभित्र उनले रु. १ अर्ब ६० करोडको लागतमा १० हजार टन क्षमताको कोल्ड स्टोर स्थापना गरेका हुन्। जसमध्ये ३ हजार टन क्षमताको कोल्ड स्टोर सञ्चालनमा आइसकेको छ भने बाँकी निर्माणाधीन अवस्थामा छ।

शर्मा भन्छन्, “एक हजार ५०० टन क्षमताका १५ वटा रुम तयार भइसके, बाँकी ३५ वटा रुम निर्माणको चरणमा छन्।” अहिले सञ्चालनमा रहेको ३ हजार टन क्षमताको कोल्ड स्टोरमध्ये ४०० टनको भाग माछामासु भण्डारणका लागि छुट्याइएको छ।

शर्माले बहुउद्देश्य योजना अन्तर्गत कोल्ड स्टोर स्थापना गरेका हुन्। किसानको उत्पादन पर्याप्त हुँदा त्यही राख्ने र नहुँदा आफूले उत्पादन गरेका डल्ले च्याउ र स्ट्रबेरी लगायत भण्डारण गर्ने शर्मा बताउँछन्। "डल्ले च्याउको खेती शुरु गरिसकेको छु, अब स्ट्रबेरी पनि रोप्ने योजना छ", उनी भन्छन्।

शर्माले बहुउद्देश्य योजना अन्तर्गत कोल्ड स्टोर स्थापना गरेका हुन्। किसानको उत्पादन पर्याप्त हुँदा त्यही राख्ने र नहुँदा आफूले उत्पादन गरेका डल्ले च्याउ र स्ट्रबेरी लगायत भण्डारण गर्ने शर्मा बताउँछन्।

शर्माले पछिल्लो समय डल्ले च्याउ उत्पादनलाई प्राथमिकता दिएका छन्। उनले गरेको अध्ययन अनुसार, नेपालमा दैनिक २५ टन च्याउ खपत हुन्छ। जसका लागि भारतबाट तरकारीका रूपमा तथा चीन, भियतनाम र थाइल्याण्डबाट क्यानको मसरुम आयात भइरहेको उनको भनाइ छ।

रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित मधवलियामा बनाइएको कोल्ड स्टोर ।

उनले दैनिक १२ टन च्याउ उत्पादन गर्ने लक्ष्य राखेकोमा अहिले दैनिक ३ टन उत्पादन गरिरहेका छन्। लक्ष्य अनुसार च्याउ उत्पादन गर्न थालेपछि फार्ममा दैनिक ८०० जनाले रोजगारी पाउने शर्मा बताउँछन्। उनी भन्छन्, “ताजा च्याउको अभावमा ठूला होटलहरूले आयातीत क्यानको मसरुम प्रयोग गरिरहेका छन्, यसैले बजारको अभाव छैन।”

शर्माले कम्पोष्ट मलको व्यावसायिक उत्पादन पनि शुरू गरेका छन्। मल बनाउन अष्ट्रिचको गोबर, पराल, गहुँको छ्वाली, उखुको खोष्टा लगायत प्रयोग गरिएको छ। उत्पादित मल आफ्नो फार्मका लागि घाँस उत्पादन गर्ने किसानहरूलाई दिएका छन्। उनको अष्ट्रिच फर्मका लागि ती परिवारले व्यावसायिक रूपमा घाँस उत्पादन गर्छन्।

विदेशको मोहभंगले मिलेको खुशी

२०४४ सालमा शंकरदेव क्याम्पसबाट व्यवस्थापनमा स्नातक गरेर सीपी शर्मा स्नातकोत्तर गर्न रसिया गएका थिए। स्नातकोत्तर पूरा गरेपछि उनलाई उतै पनि पेशा–व्यवसाय गरेर बस्ने पर्याप्त अवसरहरू थिए। उनीसँगै पढेका धेरै साथीहरू कोही रसियामा स्थापित भए, केही चाहिं अमेरिका वा क्यानडातिर लागे। तर, शर्माको मन भने नेपालतिरै फर्कियो।

“विदेशको जीवनशैली कस्तो हुन्छ भनेर सबै देखियो भोगियो, त्यसैले त्यहीं बस्नुपर्छ भन्ने मोह नै भएन”, शर्मा भन्छन् “आफन्तजन पनि नेपालमै थिए, यतै केही गर्नुपर्छ भन्ने लागेर फर्किएँ।”

एक पटक जापानी साथीसँग अमेरिका जाँदा त्यहाँको अध्यागमनले गरेको व्यवहारले विदेश भनेपछि उनको मन कुँढियो। अमेरिका जाने क्रममा विमानस्थलमा अध्यागमनका कर्मचारीले उनीसँगैका जापानीलाई कुनै सोधखोजविना प्रवेश दिए, शर्मालाई भने रोकेर अनेक प्रश्न सोधे।

त्यस बाहेक एक पटक जापानी साथीसँग अमेरिका जाँदा त्यहाँको अध्यागमनले गरेको व्यवहारले पनि विदेश भनेपछि उनको मन कुँढियो। अमेरिका जाने क्रममा विमानस्थलमा अध्यागमनका कर्मचारीले उनीसँगैका जापानीलाई कुनै सोधखोजविना प्रवेश दिए, शर्मालाई भने रोकेर अनेक प्रश्न सोधे। ४५ मिनेटको केरकारपछि बल्ल उनले अनुमति पाए।

त्यो घटनापछि उनको मनमा ठेस पुग्यो। “म कुनै अपराधी त थिइनँ, उनीहरूले मलाई गरीब देशको मान्छे भनेर त्यस्तो व्यवहार गरेका हुन्, त्यो घटनाले मन दुख्यो”, उनी भन्छन्। तेस्रो दर्जाको नागरिक भएर अरुको देशमा बस्नुभन्दा सम्मानपूर्वक आफ्नै देशमा बस्न उनलाई वेश लाग्यो।

सीपी शर्मा ।

शर्माले छोरालाई पढ्न अमेरिका पठाएका थिए, छोरामा पनि उनकै जस्तो विशेषता देखियो। उनका छोरा अमेरिकाबाट फर्केर पितालाई कृषि काममा सघाइरहेका छन्। मेडिकल डाक्टर श्रीमती पनि फुर्सदमा श्रीमान्लाई सघाउन अष्ट्रिच फार्ममा पुग्छिन्।

संघर्षले सफल

रसियाबाट २०५२ सालमा स्वदेश फर्किएपछि उनले यहाँको लागि बिछट्टै नयाँ व्यवसाय शुरू गरे, अष्ट्रिच पालन। यो काम गर्न विदेशकै अनुभवले काम गरेको थियो।

रसियाबाट युक्रेन गएको वेला उनले अष्ट्रिच फार्म देखेका थिए, पेरिसमा यसको मासु पनि चाखेका थिए। काइदाको उद्यम हुने देखेपछि नेपालमा अष्ट्रिच पालन गर्ने सोचका साथ उनी फर्किएका थिए।

यहाँ आएपछि उनले एउटा समूह तयार गरे। कपिलवस्तुको गोरुसिंङ्गेमा जग्गा पनि किने। तर, माओवादी हिंसात्मक द्वन्द्वले उनको योजना अगाडि बढ्न सकेन।

उनले व्यवसाय शुरु गर्ने वेला जग्गामा लगानी गर्दा आजको भोलि नै नाफा हुन्थ्यो। कृषि व्यवसायमा त्यो सम्भव थिएन। शर्मालाई साथ दिन तयार भएका पार्टनरहरूले लगानी फिर्ता लिंदै बाहिरिए। उनी एक्लै भए। तर, कृषि कर्ममै रमाएका उनले व्यवसाय हाँकिरहे। अन्ततः आजको सफलतामा आइपुगे।

प्रतिकूल अवस्थाका कारण तत्काल काम थाल्न नसके पनि उनीभित्रको योजना मरेको थिएन। माओवादी शान्ति प्रक्रियामा आएपछि पुरानो योजनालाई अघि बढाउँदै पाँच जनाको समूह बनाए। शुरुमा अष्ट्रिजका १ हजार ५०० अण्डा ल्याए, जसमध्ये ९०० अण्डाबाट मात्र बच्चा निस्के। त्यसमा पनि २०० मात्र बाँचे। त्यसले उनलाई निराश बनायो।

त्यतिवेला जग्गामा लगानी गर्दा आजको भोलि नै नाफा हुन्थ्यो। कृषि व्यवसायमा त्यो सम्भव थिएन। शर्मालाई साथ दिन तयार भएका पार्टनरहरूले लगानी फिर्ता लिंदै बाहिरिए। उनी एक्लै भए। तर, कृषि कर्ममै रमाएका उनले व्यवसाय हाँकिरहे। अन्ततः आजको सफलतामा आइपुगे।

उनीसँगै पढेर विदेशतिर बसेका साथीभाइले कोरोनाभाइरसको महामारीपछि अहिले नेपाल फर्किने कुरा गरिरहेका उनी सुनाउँछन्। “विदेशमा रहेका साथीभाइले नेपाल फर्किने कुरा गरिरहेका छन्, नेपालमा काम गर्न पाएकोमा म खुशी छु”, शर्मा भन्छन्।

उनी किसानको पक्षमा राज्यको नीति नहुँदा भने दुःख लाग्ने बताउँछन्। “८ प्रतिशत ब्याजमा ऋण लिएर कार चढेको छु, कृषि कर्मका लागि चाहिँ १२ प्रतिशत तिर्नुपरेको छ”, उनी गुनासो पोख्छन्।

प्रतिकृया दिनुहोस