रिपोर्ट मंगलबार, जेठ २७, २०७७

तेस्रोलिङ्गीलाई कष्टकर बन्दै बन्दाबन्दी

शुष्मा बराली

तेस्रोलिङ्गीलाई कष्टकर बन्दै बन्दाबन्दी
तस्वीर स्राेत: डिप्लेसमेन्टस्प्राेस

बन्दाबन्दी लम्बिंदै जाँदा तेस्रोलिङ्गी महिला बेखर्ची भएका छन्। कतिपयलाई खाना खान पनि समस्या भएपछि राहतको आशामा बसिरहेका छन्।

नयाँ बसपार्ककी विपना थापा (२४) पाँच वर्ष अगाडि उच्च शिक्षाको लागि पोखराबाट काठमाडौं आएकी थिइन्। त्यतिवेलासम्म विपनालाई आफू लैङ्गिक अल्पसंख्यक समूहमा पर्ने जानकारी नै थिएन। कलेजमा उस्तै व्यवहार गर्ने साथी भेटिएपछि मात्र आफैंलाई चिन्ने मौका पाइन्।

त्यसपछि नीलहिरा समाजमा आबद्ध भइन्। महिलाको भेषमा हिंड्न शुरू गरिन् । काठमाडौंमा बस्दा कामको आवश्यकता भइसकेको थियो। तर, कसैले काम दिएन। उनी भन्छिन्, “शारीरिक चाल र व्यवहार देखेपछि काम नै पाइनँ, पहिला त ज्यामी काम पनि गरें । तर, पछि त्यही कामबाट पनि निकालिदिए।”

भोकै पर्न थालेपछि यौन व्यवसायमा लागेको उनी बताउँछिन्। तर, बन्दाबन्दीपछि फेरि उनी समस्यामा परेकी छिन् । अलिअलि जम्मा पारेको पैसा सकिएको उनी बताउँछिन्। नीलहिरा समाज र अन्य तेस्रोलिंगी साथीहरूले गरेको सहयोगबाट गुजारा चलिरहेको उनले सुनाइन्।

काभ्रेकी उर्वसी मोक्तान (२३) ले ११ कक्षामा पढ्दै गर्दा आफू तेस्रोलिंगी भएको थाहा पाइन्। आफन्तको सहयोगमा काठमाडौं आएकी उर्वसी पनि अन्य काम नपाउँदा यौन व्यवसायमा लाग्न बाध्य भइन्। आफ्नो परिवारलाई भने उक्त पेशाबारे जानकारी नभएको उनी बताउँछिन्। उनी भन्छिन्, “आफू यौनकर्मी हुँ भन्दा घृणा महसूस हुन्छ, तर बाँच्नको लागि यस्तो पेशा गर्न बाध्य छौं।”

तर, बन्दाबन्दीसँगै आफूहरू समस्यामा परेको उनी बताउँछिन्। संक्रमितको संख्या दैनिक बढ्दा काम गर्न पनि डराउनुपर्ने अवस्था आएको उनको भनाइ छ । “बेलुकी कमाएर बिहानको जोहो गर्ने हाम्रा लागि बन्दाबन्दी सजायभन्दा कम छैन”, उनी भन्छिन्।

सिन्धुपाल्चोककी मीनाक्षी (२४) काठमाडौंमा स्नातकोत्तर दोस्रो वर्षमा अध्ययनरत छिन्। उनी एसएलसीको पढाइ सकेपछि आफन्तको सहयोगमा काठमाडौं आएकी थिइन् । नीलहिरा समाजमा आवद्ध भएपछि ‘मेकअप आर्टिस्ट’ को तालिम लिइन् । तर, उनलाई कसैले काम दिएनन्।

काम नपाएपछि बजारमा सामान राखेर बेच्दै हिंडिन्। “दुःख गरेर सामान बेच्दा महीनामा १७०० रुपैयाँ मात्र कमाइ भयो, खर्च धान्नै सकिनँ। अन्त पनि काम नपाएपछि बाध्य भएर यौन व्यवसायमा लागें”, उनी भन्छिन्। तर, अहिले भने फेरि खान नपाउने अवस्थामा पुगेको उनले गुनासो गरिन्।

उनी घरको जेठो सन्तान हुन्। भाइलाई पनि काठमाडौंमा राखेर पढाइरहेकी छिन्। गाउँमा आमा एक्लै छिन्, बाबु अर्को बिहे गरेर छुट्टै बसेका छन्। तेस्रोलिंगी महिला भएको आमालाई मात्र थाहा भएको उनले बताइन्। दैनिक जीविका चलाउन सक्ने काम पाए यो व्यवसाय छाडिदिने उनको भनाइ छ।

खाना खुवाउँदै विश्वराज

सन् २०१३ का मिस्टर गे नेपाल विश्वराज अधिकारीले बन्दाबन्दीमा यौन व्यवसायी तेस्रोलिंगी महिलालाई खानाको व्यवस्था गरेका छन्। उनीहरू प्रायः होटलमा नै खाना खान्थे । त्यसैले बन्दाबन्दीमा कोठामा खान समस्या भएकाले आफूले सहयोग गरेको उनी बताउँछन्।

उनले लाजिम्पाटस्थित रेस्टुरेन्टमा बन्दाबन्दी अवधिभरका लागि खानाको व्यवस्था गरेका छन्। उनी भन्छन्, “अधिकांश तेस्रोलिंगी महिला परिवारबाट टाढा भएको र घरमा जाने अवस्था पनि नहुँदा खानै नपाउने समस्या आएको छ।”

दैनिक काम गरेर जीविका चलाइरहेका तेस्रोलिंगी महिलालाई सामाजिक दूरी कायम गर्दै खाना उपलब्ध गराएको उनले बताए। त्यहाँ दैनिक ७/८ जना खाना खान आउने गरेको उनी बताउँछन्। अधिकारी भन्छन्, “मैले मजाले झोलाभरि राहत उपलब्ध गराउन सक्दिनँ, तर भरपेट खाना खुवाउन सक्छु। त्यही गरिरहेको छु।”

याे पनि हेर्नुहाेस्– के तेस्रो लिङ्गीले बजेट पाउन माइतीघर मण्डल नै घेर्नुपर्ने हो ?

बन्दाबन्दीमा मानसिक तनाव

बन्दाबन्दी लम्बिएसँगै बिहान–बेलुकाको छाक टार्नै धौ धौ रहेको अल्पसंख्यक अभियन्ता सुदीप गौतम बताउँछन्। लामो समयसम्म बन्दाबन्दीमा बस्नु पर्दा धेरै तेस्रोलिंगी महिलामा मानसिक तनाव भएको छ।

बेरोजगारी र खान तथा बस्नको समस्याले धेरैजसो तनावमा परेको नीलहिरा समाजमा कार्यरत गौरी नेपालीको भनाइ छ। दिनभरि कोठामा नै बस्नु पर्दा अन्य समुदायका मानिसहरूले गर्ने व्यवहार र बोलीले मानसिक तनाव पनि बढेको उनी बताउँछिन्। बन्दाबन्दीमा लैङ्गिक अल्पसंख्यक समुदायका करीब ५० प्रतिशत बेरोजगार रहेको नीलहिरा समाजको तथ्याङ्क छ।

नीलहिरा समाजकी अध्यक्ष पिंकी गुरुङका अनुसार बन्दाबन्दी लम्बिंदा समस्या भएको छ। लाजिम्पाट र बौद्धका वडा कार्यालयमा समन्वय गरेर राहत वितरण गरेको उनले जानकारी दिइन्।

विभिन्न ठाउँमा छरिएर रहेका पहिचान नखुलाएका अल्पसंख्यक समुदायलाई झन् समस्या झेल्नु परेको छ । उनी भन्छिन्, “जिल्ला बाहिर र काठमाडौंमा पनि राहत वितरण गरिरहेका छौं, यद्यपि यो पर्याप्त छैन।” सामाजिक र पारिवारिक समस्यासँग जुध्नुपर्ने अवस्था झनै बढ्दै गएको उनको अनुभव छ।

खाना र बस्न मात्र समस्या नभएर लैङ्गिक अल्पसंख्यक समुदायलाई घरभाडामा छुट नदिने र कतिपयले उल्टै बढाएको उनले बताइन्। पछिल्लो समय मानसिक तनावबाट मुक्त गर्न परामर्श थालिएको र विभिन्न अनलाइन मिटिङहरू पनि गरिएको उनले जानकारी दिइन्।

प्रतिकृया दिनुहोस