व्यक्तित्व शनिबार, जेठ २४, २०७७

बूँद राना : जसले राजा ज्ञानेन्द्रलाई ‘जनघाती’ भन्दै हाँक दिए

मुकेश पोखरेल

बूँद राना : जसले राजा ज्ञानेन्द्रलाई ‘जनघाती’ भन्दै हाँक दिए
तस्वीर: मुकेश पाेखरेल

कहिले भूमिगत राजनीति गरेका, कहिले गुजारा चलाउन चोक र गल्लीमा रिक्सा चलाएका बूँद राना यही जीवन भोगाइ र देशको दु:खाइलाई गजलमा धारिलो गरी पोखिरहेछन्।

‘पिउँदै नपिउने मान्छे पिएँ अलिकति,
उनको वचन राख्न लिएँ अलिकति’

साढे ६ दशकभन्दा बढी उमेरमा हिंडिरहेका बूँद रानाले जीवनमा रसिकभन्दा रसिक गजल लेखेका छन्। तर, उनको जीवन मरुभूमिभन्दा कम रुखो र कम कठिन छैन। तिनै अनुभवले पकाएर होला, उनी अक्षरहरूमा गहिरो जीवन–दर्शन केलाइरहेका हुन्छन्। माटोको सुगन्धले उनका गजल छुट्टै चिनिन्छन्।

नेपालबाट बालापनमै बाआमासँग भारत प्रवास, फेरि नेपाल फिर्ती र त्यसपछि अनेक आरोह–अवरोहले उनलाई धेरै कुरा सिकाएको छ। यस्ता भोगाइले उनलाई मरुभूमिमाझ भुलभुलाएको जरुवा झैं बनाएको छ।

बूँद नेपालका गिनेचुनेका सिद्धहस्त गजलकारमध्येमा पर्छन्। गजल लेखनमा शृंगार रसभन्दा पनि उनी मानवता, देशप्रेम र समयचेतमा बढी केन्द्रित देखिन्छन्।

फिल्मतिर मन डुबेसँगै पर्दामा हिरो–हिरोइनले भन्ने गजलका शेरहरूको प्रभाव बूँदमा पर्दै गयो। उनी पनि गजल लेख्न थाले। उतिवेला त्यसरी फिल्ममा लत नबसेको भए आफू गजलकार बन्नेमा उनलाई शंका लाग्छ।

गजलप्रति उनको मोहनी कसरी बस्यो ? यसका लागि उनको स्कूले दिनमा फर्कनुपर्ने हुन्छ। एसएलसी नदिउन्जेल बूँदका लागि हिन्दी फिल्म नियमित खुराक जस्तै थियो। बरु खान नपाए चल्ने, फिल्म नहेरी मन नअघाउने।

हुन पनि, बुवाले स्कूलमा खाजा खान दिएको पैसा खर्च नगरी उनी फिल्म हेर्न साँचेर राख्थे। त्यही पैसाले घरपरिवारको आँखा छलेर फिल्म हेर्न पुग्थे। यो कुरा हो, भारतको पश्चिम बंगालको पुरुलियास्थित आद्रा शहरमा बस्दाताकाको। “त्यस वेला शहरमा लागेको फिल्म शायदै कुनै हेर्न छुट्यो होला”, उनी सम्झन्छन्।

फिल्मतिर मन डुबेसँगै पर्दामा हिरो–हिरोइनले भन्ने गजलका शेरहरूको प्रभाव उनमा पर्दै गयो। उनी पनि गजल लेख्न थाले। उतिवेला त्यसरी फिल्ममा लत नबसेको भए आफू गजलकार बन्नेमा उनलाई शंका लाग्छ।

३० भदौ २००३ सालमा अर्घाखाँचीको किमडाँडामा जन्मेका बूँद तीन वर्षका उमेरमै भारत गएका थिए। उतै विद्यालय शिक्षा पूरा गरेका उनको कलेज पढ्ने धोको भने अधुरै रह्यो। एसएलसी पास गरेपछि कलेज पढ्न फर्म पनि भरिसकेका थिए, तर बुवाले ‘पढाउन सक्दिनँ, अब नेपाल जाने’ भनेपछि पढाइ रोकिएको उनी सुनाउँछन्।

लोकबहादुरको बूँद अवतार

बूँद लयमा गजल लेख्छन्। वाचनका कार्यक्रममा गाएरै सुनाउँछन्। त्यही भएर गजलप्रेमीको मनमा उनका गजलहरू अमिट भएर बसेका छन्। उनको अनौठो नामले पनि उनीप्रतिको आकर्षण केही हदसम्म बढाएको छ।

उनको खास नाम हो, लोकबहादुर राना। यो नाम उनलाई लामो मात्र होइन, कवि–साहित्यकारको नामका रूपमा असुहाउँदो पनि लागेछ। भारतीय कविको उपनामबाट प्रभावित भएर उनले ‘बूँद’ बाट आफ्नो न्वारान गरे। त्यही नामले उनलाई आज गजल संसारमा कैयौंसँग जोडेको छ।

कुनै वेला राजनीतिमा होमिएका बूँदको अहिले त्यतातिर सक्रियता छैन। तर, उनी देशमा विकसित राजनीतिक घटनाक्रम नियालिरहन्छन्। अहिलेको राजनीति कम्मलमा सातु मुछेको सरह भएको उनको टिप्पणी छ।

उनले लेखेका थुप्रै गजल संगीतबद्ध भएको छ भने अम्बर गुरुङ, यम बराल लगायत गायकहरूले गाएका छन्। उनका गजलमध्ये उनी आफैंलाई र गजलप्रेमीलाई धेरै मन पर्ने ‘सुन झैं हजार चोटि’ हो।

सुन झैं हजार चोटि खारे पो जिन्दगी हो
कुन बेहोशीले भन्छ हारेको जिन्दगी हो ।

गमलामा फूल सार्यौ खासै कमाल के भो
बाँझो भूमिमा बिरुवा सारे पो जिन्दगी हो ।

उनले गीति कविता, गीति नाटक पनि लेखेका छन्। उनी लामो समय काठमाडौंमा बसे। २०७० सालमा नेपाल प्रज्ञा–प्रतिष्ठानको प्राज्ञ सभा सदस्यको कार्यकाल सकिएपछि उनी रुपन्देहीको भैरहवामा बसोबास गरिरहेका छन्। कोरोनाभाइरस महामारीअघि गजलको महफिल र अन्य साहित्यिक कार्यक्रममा पुग्ने गरेका उनी पछिल्लो समय घरमै लेखपढ गरेर बसिरहेका छन्।

राजनीतिप्रतिको सुझबुझ र समयचेत बूँदको लेखनमा प्रशस्त देखिन्छ। २०६२/६३ को दोस्रो जनआन्दोलनमा उनी सिर्जना मार्फत आन्दोलनकारीको उत्साह बढाउन सडकमै निस्किएका थिए।

कुनै वेला राजनीतिमा होमिएका बूँदको अहिले त्यतातिर सक्रियता छैन। तर, उनी देशमा विकसित राजनीतिक घटनाक्रम नियालिरहन्छन्। अहिलेको राजनीति कम्मलमा सातु मुछेको सरह भएको उनको टिप्पणी छ। “कम्मलमा मुछेको सातु न राम्रो देखिन्छ, न त खान मिल्छ, राजनीतिलाई अहिले त्यस्तै बनाएका छन्”, उनी भन्छन्।

राजनीतिप्रतिको सुझबुझ र समयचेत उनको लेखनमा प्रशस्त देखिन्छ। २०६२/६३ को दोस्रो जनआन्दोलनमा उनी सिर्जना मार्फत आन्दोलनकारीको उत्साह बढाउन सडकमै निस्किएका थिए। देशभर आन्दोलनको आँधीबेहरी चल्दै गरेको वेला बुटवलमा कवि–लेखकहरूले कार्यक्रम आयोजना गरे। त्यहाँ बूँदले तत्कालीन राजा ज्ञानेन्द्रका विरुद्ध गजलका माध्यमबाट आगो ओकले–

अति गरे खति हुन्छ, बुझे हुन्थ्यो माइलाले
खति गरे कति हुन्छ, बुझे हुन्थ्यो माइलाले ।

देशघाती जनघाती यस्ता अपराधीलाई
सूली पनि घटी हुन्छ, बुझे हुन्थ्यो माइलाले ।

त्यसपछि हरेक सभामा उनको माग बढ्यो। बूँदले गजल मार्फत मानिसहरूलाई आन्दोलनमा लाग्न जुरुक्क उचाले।

उनका गजलमा अव्यवस्था र विसंगति विरुद्ध छेडखानी मात्र छैन, देशको दुःख पनि पन्पिएको छ। सिमाना मिचिएको समस्याले अहिले देशलाई छोपिरहेको छ, उनले भने दशक अघि नै यसबारे गजल लेखेका थिए–

सोधिरहेछन् आज मेची र महाकाली
जागा बसेका छौ कि सुतेका छौ नेपाली ।

ओइलाई फूल सारा फूलबारी शोकमा छ,
दुश्मन कुनै पस्यो कि गद्दार भयो माली ।

रिक्सा चालकदेखि राजनीतिज्ञसम्म

बूँदका जिन्दगीमा सधैं आरोह अवरोह आइरहे। भारतबाट २०२१ सालमा सपरिवार नेपाल फर्किएपछि उनको संघर्षसँग गजब दोस्ती भयो। नागरिकता पाउनदेखि जीविका चलाउनसम्म अनेक सास्ती उठाउनुपर्‍यो।

उनका बुवा चाहन्थे, छोराले सरकारी सेवामा काम गरोस्। त्यसका लागि बूँदले प्रयास पनि गरे। तर, पिताको इच्छा पूरा गर्न सकेनन्।

बुवाले बूँदलाई जन्मस्थान अर्घाखाँचीको किमडाँडामै पुर्‍याएर चुत्राबेसीको एक विद्यालयमा शिक्षकको जागिर पनि मिलाइदिएका थिए। तर, पहाडी जनजीवनको अनुभव नभएका उनलाई त्यहाँको बसाइ सकसपूर्ण लाग्यो। उनी जागिर छाडेर फेरि पश्चिम बंगालको आद्रातिरै हान्निए।

नागरिकता नभएर जागिर खाने धोको पूरा नभए कुनै काम गरेर त गुजारा चलाउनु नै थियो। उनले रिक्सा चलाउन थाले। भैरहवाका सडकमा एक वर्ष रिक्सा दौडाए। संघर्षका खोंचहरूमा जीवन च्यापिए पनि उनले बग्न छाडेनन्।

पहाडमा छोरा बस्न नसक्ने भएपछि बाबुआमा बूँदकै लागि २०२३ सालमा भैरहवा आए। भैरहवामा उनीहरूले चिनेजानेको कोही थिएन। साथमा थियो एक हजारको नोट र पकाउने भाँडाकुँडा।

एउटा कोठा भाडामा लिएर भैरहवाको बसाइ शुरू भयो। त्यही पैसाले २/३ महीना त धान्यो, अन्ततः चरम आर्थिक संकट पर्न थाल्यो।

बाबुआमाको इच्छा र बूँदको चाहना थियो, जागिर खाने। तर, उनीसँग नागरिकता नै थिएन। नागरिकता बनाउन भैरहवामा अनेक धाइधपेडी गर्नुपर्‍यो। त्यतिवेला नागरिकता पाउन सरकारी अधिकारीले सिफारिश गर्नुपथ्र्यो। तर, उनले कुनै कार्यालयबाट सिफारिश पाएनन्। “म नगएको त कुनै कार्यालय नै थिएन, तर नागरिकता सिफारिशका लागि मान्छे पाइनँ”, बूँद सुनाउँछन्।

नागरिकता नभएर जागिर खाने धोको पूरा नभए कुनै काम गरेर त गुजारा चलाउनु नै थियो। उनले रिक्सा चलाउन थाले। भैरहवाका सडकमा एक वर्ष रिक्सा दौडाए। संघर्षका खोंचहरूमा जीवन च्यापिए पनि उनले बग्न छाडेनन्, आफ्नो गजलमा झैं–

सेती हो जिन्दगी यो, काली हो जिन्दगी
बग्न नजाने गन्धा नाली हो जिन्दगी ।

नागरिकताकै लागि भौंतारिएका उनी एकदिन भूमिसुधार कार्यालय पुगे। त्यहाँ भर्खर सरुवा भएर आएका रहेछन्, दुर्गाप्रसाद श्रेष्ठ। नागरिकता नहुँदा परेको अप्ठेरो उनलाई सुनाएपछि श्रेष्ठले सिफारिश गरिदिए। बल्ल उनले नागरिकता पाए।

त्यसपछि रिक्सा चलाउन छोडेर मालपोत कार्यालय अगाडि बसेर लेखनदासको काम थाले। केही समय त्यो काम गरेर २०२५ सालमा घरेलु कार्यालयमा खरिदार पदमा नियुक्त भए। तर, त्यहाँ हाकिम असन्तुष्ट भएपछि राजीनामा बुझाएर हिंडे।

लगत्तै उनी गाउँ फर्क राष्ट्रिय अभियानमा खरिदार पदमा नियुक्त भए। केही समय जागिर खाएपछि भैरहवा हाइस्कूलमा लेखापालको काम गरे। २०२९ सालमा नयाँ शिक्षा योजना लागू भएपछि निमावि स्थायी शिक्षक भएर सुसंस्कृत मावि भैरहवामा काम गरे।

तर, २०३२ सालमा शिक्षकको जागिर पनि छोडे। यसको पछाडि राजनीतिक कारण जोडिएको थियो। २०२६ सालमै कम्युनिष्ट पार्टीको सदस्यता लिएका उनी भूमिगत रूपमा राजनीतिमा पनि थिए। पार्टीको निर्देशनमा जागिर छाडेका उनले पञ्चायतभित्रै पसेर भण्डाफोर गर्ने नीति अन्तर्गत चुनाव लडे, २०३३ सालमा। सिद्धार्थनगर नगरसभा सदस्यमा निर्वाचित भए।

२०३२ सालमा शिक्षकको जागिर पनि छोडे। यसको पछाडि राजनीतिक कारण जोडिएको थियो। २०२६ सालमै कम्युनिष्ट पार्टीको सदस्यता लिएका उनी भूमिगत रूपमा राजनीतिमा पनि थिए। पार्टीको निर्देशनमा जागिर छाडेका उनले पञ्चायतभित्रै पसेर भण्डाफोर गर्ने नीति अन्तर्गत चुनाव लडे, २०३३ सालमा।

२०३९ सालमा भएको अर्को निर्वाचनमा उनी उपप्रमुखमा निर्वाचित भए। २०४३ सालमा स्थानीय निकायको कार्यकाल सकिएपछि खाली भए। गुजाराकै लागि भैरहवामा ‘गुजारा’ नामको होटल सञ्चालन गरे। केही समय त्यसमा काम गरेपछि उनी पार्टी राजनीतिमा लागे। २०५६ सालको निर्वाचनमा नेकपा एमालेका तर्फबाट चुनाव लडे। तर, पराजित भए। बूँद सुनाउँछन्, “करीब ३०० मत नपुग्दा नेपाली कांग्रेसका रामकृष्ण ताम्राकारसँग पराजित भएँ।”

जीवनमा ठक्कर लाग्छ, घाउ हुन्छ– समय नै औषधि बनेर आइदिन्छ। एउटा घाउ निको भए पनि फेरि अर्को घाउको बज्र भोग्नुपर्छ। बूँदको जीवनमा पनि त्यस्ता घाउ र व्यथाका सिलसिला नै छ। २०५० साउनमा उनले जीवनसाथी गुमाए। लामो समय एकल जीवन बिताएका उनले साथीभाइको करकापले सात वर्षपछि दोस्रो विवाह गरे।

संघर्ष र सन्ताप जीवनका मोडमा आइरहँदा बूँदले दुःख–सुख बिसाउने चौतारी गजललाई नै बनाएका छन्। उनी हाँस्छन् गजलमा, रुन्छन् गजलमा। जीवन भोगाइको मरुभूमिमा बाँच्दै आउँदा उनको गजल अझ जीवन्त भएको छ–

मरूभूमिमा परें र त गजलकार भएँ
बूँदको निम्ति मरेँ र त गजलकार भएँ ।

प्रतिकृया दिनुहोस