ब्लग शनिबार, जेठ २४, २०७७

महेन्द्रको थकथकी : बीपी जस्ता लायकको प्रधानमन्त्री अर्को पाइएन

भैरव रिसाल

महेन्द्रको थकथकी : बीपी जस्ता लायकको प्रधानमन्त्री अर्को पाइएन
तस्वीर: इबे

जापान भ्रमणबाट फर्किएर हङकङमा बास बस्दा राजा महेन्द्रले मन्त्री नवराज सुवेदीसँग मदिराको सुरमा देशको अवस्थादेखि परिवारको विषयमा मनको कुरा पोखेछन्।

सन् १९७० मा जापानको ओसाका एक्स्पो ७० मा ‘नेपाल डे’ उद्घाटनका लागि राजा महेन्द्रसहित नेपाली प्रतिनिधिमण्डल पुगेको थियो। त्यहाँबाट नेपाल फर्कने क्रममा टोली हङकङमा बसेछ।

भैरव रिसाल

भ्रमण टोलीमा नवराज सुवेदी पनि थिए, जो धेरै पटक मन्त्रीका साथै राष्ट्रिय पञ्चायतको अध्यक्षका र पञ्चायत नीति तथा जाँचबुझ केन्द्रको समेत अध्यक्ष भएका थिए। त्यो भ्रमण गर्दा ताका उनी उद्योग, वाणिज्य, निर्माण, सञ्चार, यातायात तथा जलविद्युत् मन्त्री थिए। बास बसेको होटलमा सुवेदी, प्रा. यदुनाथ खनाल, डा. सच्चेकुमार पहाडीले सुवेदीकै कोठामा ह्विस्की खाएर त्यसै होटलको २७ औं तलामा रहेको चिनियाँ भोजनालयमा खाना खान गएछन्।

राजा महेन्द्र, रानी रत्न र अधिराजकुमार धीरेन्द्र पनि त्यहीं पुगेछन्। त्यसै क्रममा राजाका एडीसी जनरल शेरबहादुर मल्लले सुवेदीलाई बोलाउन आएछन्, “मन्त्रीज्यू, सरकारबाट बोलाइबक्सियो।”

सुवेदीले आफ्नो पुस्तक ‘इतिहासको एक कालखण्ड’ (२०६९ साल) मा यसबारे बिस्तारमै चर्चा गरेका छन्।

राजालाई पनि कति चिन्ता !

पण्डित साम्बभक्त सुवेदीका छोरा नवराज प्रशस्तै मदिरा पिउने रहेछन्। उनलाई पहिले नै ह्विस्कीको मात चढिसकेको थियो। सुवेदीका अनुसार, उनलाई ह्विस्की लागेको राजा महेन्द्रलाई थाहा थियो। तर, राजाले प्रस्ताव गरेछन्, “बस, मसँग पनि ड्रिङ्क गर।”

राजाको प्रस्ताव मन्त्रीले नकार्न सक्ने कुरै भएन। उनले राजासँग बसेर पिएछन्। खानापछि राजाले ब्राण्डी मगाएका र त्यसमा पनि साथ दिएको सुवेदीले पुस्तकमा लेखेका छन्। “त्यसपछि सरकारहरू आफ्नो कोठामा सवारी भयो, म पनि कोठामा गएर सुत्न पुगेछु”, उनले सम्झिएका छन्।

तर, त्यत्तिकैमा ढोका ढकढक्याएको आवाज आयो। सुवेदीले ढोका खोल्दा सामुन्नेमा त राजा महेन्द्र छन्। सरासर कोठामा आएर महेन्द्र सोफामा बसे। सुत्ने कपडामा रहेका सुवेदीले कपडा फेर्न खोजे। राजाले भनेछन्, “कपडा फेर्न पर्दैन, बरु ड्रिङ्क ल्याऊ।”

महेन्द्र स्कचमा ‘ह्वाइट हर्स’ मात्र रुचाउँदा रहेछन्। सुवेदीले बोतल निकालेर दुवैलाई पेग बनाए। राजाले पिउँदै भनेछन्, “आज तिमीसँग कुरा गर्न मन लाग्यो।” मदिराको सुरमा महेन्द्रले देश, राजनीति र परिवारको कुरा गर्दै नितान्त मनको कुरो पोखेछन्। यो कुरा २०२६ चैतको २२/२३ गतेतिरको जस्तो लाग्छ।

राजा महेन्द्र कोठामै आएर मदिरा खाने प्रस्ताव गरेपछि नवराज सुवेदीले दुवैलाई पेग बनाए। राजाले पिउँदै भनेछन्, “आज तिमीसँग कुरा गर्न मन लाग्यो।” मदिराको सुरमा महेन्द्रले देश, राजनीति र परिवारको कुरा गर्दै नितान्त मनको कुरो पोखेछन्।

सुवेदीले पुस्तकमा लेखेका छन्, “त्यो दिन मलाई थाहा भयो, राजा कति चिन्ता र प्रेसरमा हुँदा रहेछन्।” राजाले २०१७ सालको कदम नचालेको भए देशमा अराजकता र विखण्डनको अवस्था आउँथ्यो भन्ने धारणा पनि राखेछन्। चार वर्षभित्र पूर्ण प्रजातन्त्र दिनुपर्छ भन्ने महेन्द्रको सोच रहेको पनि सुवेदीले उल्लेख गरेका छन्।

कुरैकुरामा राजा महेन्द्रले भनेछन्, “मैले धेरै प्रधानमन्त्री बनाएँ, तर विश्वेश्वरप्रसाद (कोइराला) जस्तो योग्य र दुनियाँलाई देखाउन लायकको प्रधानमन्त्री हुन सकेन। शायद मेरो कार्यकालमा हुन्न पनि होला। डा. गिरी हुन सक्ने थिए, तर विश्वासै गर्न गाह्रो। सूर्यबहादुर थापा प्रशासनिक काममा ठीक छन्, तर उनलाई प्रजातन्त्रको भूतले समाएको छ।”

राजा महेन्द्र जनरल शेरबहादुर मल्ल, बडाकाजी पुष्पराज राजभण्डारी, सरदार विष्णुमणि आचार्यलाई योग्य र इमान्दार ठान्दा रहेछन्। जनरल क्षेत्रविक्रम राणा नेपाल र नेपालीबारे सबै थाहा पाउने र राजाप्रति धेरै समर्पित छन् भन्ने महेन्द्रको बुझाइ थियो। यस्तै, यदुनाथ खनाल, सचिव कृष्णबम मल्लप्रति पनि राजा सकारात्मक रहेछन्।

कुरा हुँदै गर्दा मध्यरात पनि कटेर २ बजेछ। ढोका ढकढक्याउन आइपुगेछन्, राजा महेन्द्रका एडीसी मल्ल। मल्लले राजालाई केही भन्न सक्ने कुरा भएन, मन्त्रीलाई सम्बोधन गरेछन्, “मन्त्रीज्यू, रातको दुई बजिसक्यो। यो के गरेको ?” राजाले आधा घण्टापछि आउँछु भनेर मल्ललाई पठाएछन्।

‘वीरेन्द्र सोझो छ, कसरी गर्ला राजकाज ?’

सुवेदीको पुस्तकमा अरु पनि धेरै कुराको रहस्योद्घाटन भएको छ। राजा महेन्द्र छोरा वीरेन्द्रका बारेमा चिन्ता गर्थे रे। वीरेन्द्रको भविष्यबारे सुर्ता गर्दै ‘साह्रै सोझो छ, कसरी राजकाज गर्छ’ भन्थे रे।

सुवेदीले ‘यति राम्रो पढाइबक्सेको छ, किन चिन्ता गरिबक्सन्छ’ भनेर ढाडस दिएछन्। तब महेन्द्रले भने रे, “पढाइले मात्र हुँदैन। पढेको मानिस विद्वान् त हुन सक्छ, तर असल र योग्य राजा हुन्छ भन्ने छैन।”

विदेशमा विवाह गर्ने शाही परिवारको परम्परा तोडेकोमा राजा महेन्द्रलाई गर्व रहेछ। छोरीहरू विदेशमा नदिएको र बुहारीहरू पनि विदेशबाट नल्याएको भन्दै उनले सुवेदीलाई सोधेछन्, “यसको फाइदा–बेफाइदा केमा देखेका छौ, नडराई भन।”

महेन्द्रले फेरि भनेछन्, “वीरेन्द्र साह्रै सोझो र असल छ। भाइहरू ऊभन्दा निकै चतुर छन्। ज्ञानेन्द्र अब व्यापार गर्छु भन्दैछ। ऊ चलाख र चतुर छ, सफल पनि हुनसक्छ। तर म पछि दाजुसँग कति मिल्न सक्छ, भविष्यले नै भन्ने कुरो हो।”

विदेशमा विवाह गर्ने शाही परिवारको परम्परा तोडेकोमा राजा महेन्द्रलाई गर्व रहेछ। छोरीहरू विदेशमा नदिएको र बुहारीहरू पनि विदेशबाट नल्याएको भन्दै उनले सुवेदीलाई सोधेछन्, “यसको फाइदा–बेफाइदा केमा देखेका छौ, नडराई भन।”

नवराजले भनेछन्, “अरु त केही हुन्न होला। तर म जस्ता सेवकलाई काम गर्न गाह्रो हुन्छ कि ? सरकारका नातेदारहरूको संख्या नेपालमा बढेपछि भोलि ती पावर प्रेसर ग्रुपको रूपमा देखिन सक्छन्।”

सुवेदीका कुरामा राजा केही बेर गमे। केहीबेरको मौनतापछि गम्भीर भएर भनेछन्, “तिमीले भनेको पनि सोचनीय छ। तर, मैले निर्णय र कार्यान्वयन गरिसकें। राम्रो-नराम्रो के हुन्छ, भविष्यले नै देखाउनेछ।”

प्रतिकृया दिनुहोस