रिपोर्ट विहीबार, जेठ २२, २०७७

क्वारेन्टिनको बास, डेंगी र स्क्रब टाइफसको त्रास

रामु सापकोटा

क्वारेन्टिनको बास, डेंगी र स्क्रब टाइफसको त्रास

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सबैजसो गतिविधि अहिले कोरोनाभाइरस रोकथाम, नियन्त्रण र उपचारका लागि केन्द्रित छन्। महामारीजन्य रोग नियन्त्रणको काम गर्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) पनि अहिलेको कोरोना कहर विरुद्ध नै जुटिरहेको छ।

यो स्थितिमा अन्य संक्रामक रोगबारे आवश्यक ध्यान पुग्न सकेको छैन। यसमा पनि कोरोनाभाइरस रोकथाम र पहिचानका लागि बनाइएका क्वारेन्टिन स्थलहरू संक्रामक रोगको घर बन्न थालेका छन्। खासगरी डेंगी, स्क्रब टाइफस, कालाजार, मलेरियाको संक्रमण देखिन थालेका छन्। स्थानीय तहको सीमित स्रोत–साधनका कारण अव्यवस्थित रहेका क्वारेन्टिनमा यस्तो संक्रमणको जोखिम थप बढ्दो छ।

ईडीसीडीका अनुसार, खोटाङको हलेसीमा कालाजारका तीन जना बिरामी देखिएका छन्। यस्तै, मलेरियाका बिरामी पनि छिटफुट देखिन थालेका छन्। केही दिनअघि धादिङमा मलेरियाका बिरामी भेटिएका थिए। गएको वैशाखमा पश्चिम नेपालको क्वारेन्टिनमा बसेका चार जनामा मलेरिया देखिएको थियो।

याे पनि हेर्नुहाेस्– डेंगु प्रकोपः पहाडी जिल्लामै प्रमुख ‘स्वास्थ्य समस्या’

२०७६ साउनयता मलेरियाबाट ४८ जिल्लामा ५१० जना संक्रमित भएका छन्। यस्तै, कालाजारबाट २०७६ पुसयता ६८ जना संक्रमित भएका छन्। ईडीसीडीले सीमित जनशक्तिका बीच कोरोनाभाइरस विरुद्ध केन्द्रित भइरहेका बेला अन्य संक्रामक रोग सम्बन्धमा अघिल्ला वर्षहरूमा जस्तो व्यवस्थित रूपमा तथ्यांक राख्न नसकिएको अधिकारीहरू बताउँछन्।

यस वर्ष अघिल्ला वर्ष डेंगीका बिरामी नदेखिएका नयाँ ठाउँमा संक्रमण देखिन थालेको छ। अहिलेसम्म डेंगी नदेखिएको म्याग्दी जिल्लामा १२ जनालाई यसको संक्रमण भएको छ। ईडीसीडीका निर्देशक वासुदेव पाण्डेका अनुसार, दाङमा कोरोना संक्रमित एक व्यक्तिलाई डेंगी देखिएको छ। २०७६ पुस महीनायता २६ जिल्लामा ८८ जनालाई डेंगी भएको छ।

डेंगी एडिस एजेप्टाइ र ए.ई. अल्बोपिक्टस जातको संक्रमित पोथी लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। सामान्यतया १५ देखि ३५ डिग्रीको तापक्रममा लामखुट्टेको वृद्धि विकास हुन्छ।

याे पनि हेर्नुहाेस्– डेंगी नियन्त्रण गर्न सफल दिल्ली, नेपाललाई पाठ हुन सक्छ

९ महिना पहिले भदाै २०७६ मा भक्तपुरमा डेंगु भगाउने ग्यास छाेडिदै । तस्वीरः विक्रम राई

डेंगी र स्क्रब टाइफसको प्रकोप

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार, अहिले मुलुकमा डेंगी र स्क्रब टाइफसको प्रकोप बढी देखिएको छ। स्क्रब टाइफ मुसामा लाग्ने किर्ना जस्तो किरा माइटको टोकाइबाट मानिसमा सर्छ।

ईडीसीडीका अनुसार, २०२० जनवरीदेखि मे महीनासम्म ८४ जनामा स्क्रब टाइफसको संक्रमण देखिएको छ। धादिङमा २१, कैलालीमा ९, काठमाडौंमा ६, बाँकेमा ५ जनासहित ३१ जिल्लाका संक्रमित भएका हुन्। यो संख्या सरकारी अस्पतालहरुबाट मात्र संकलित भएकाले संक्रमितहरुको संख्या अझ बढी हुनसक्ने आकलन गरिएको छ।

याे पनि हेर्नुहाेस्–ज्यानमारा स्क्रब टाइफस्

अघिल्लो वर्ष २०७६ साउनदेखि कात्तिकसम्ममा एक हजार २७१ जनामा स्क्रब टाइफसको संक्रमण देखिएको थियो। यो रोग गर्मी मौसममा बढी देखिन्छ।

स्क्रब टाइफस, मलेरिया, डेंगी र कालाजार सबै किटजन्य रोगको लक्षण ज्वरो आउनु हो। तर क्वारेन्टिनमा राखिएका व्यक्तिमा यी रोग परीक्षण गर्न किट र स्वास्थ्यकर्मीको अभाव छ।

“अव्यवस्थित क्वारेन्टिन स्थलमा स्क्रब टाइफस, डेंगी, मलेरिया जस्ता किटजन्य रोगको जोखिम बढेको छ। क्वारेन्टिन स्थलमा राखिएका व्यक्ति कोरोनाभाइरससँगै अन्य किटजन्य रोगको पनि जाँच गर्नुपर्ने हो, तर भएको देखिंदैन।”

– प्रकाशप्रसाद साह, प्रमुख, ईडीसीडीका किटजन्य रोग शाखा

ईडीसीडीका किटजन्य रोग शाखाका प्रमुख प्रकाशप्रसाद साह स्क्रब टाइफस संक्रमण भएको पत्ता लगाउने आवश्यक पर्ने किट देशका सबै ठाउँमा किट उपलब्ध नहुँदा शंकाको भरमा उपचार गर्नुपर्ने अवस्था रहेको बताउँछन्। उनी किट खरीद गर्ने तयारी गरेको बताउँछन्।

साह भन्छन्, “अव्यवस्थित क्वारेन्टिन स्थलमा स्क्रब टाइफस, डेंगी, मलेरिया जस्ता किटजन्य रोगको जोखिम बढेको छ। क्वारेन्टिन स्थलमा राखिएका व्यक्ति कोरोनाभाइरससँगै अन्य किटजन्य रोगको पनि जाँच गर्नुपर्ने हो, तर भएको देखिंदैन।”

ईडीसीडीले ज्वरोको लक्षण देखाएका सबै व्यक्तिमा किटजन्य रोग परीक्षण गर्ने व्यवस्था मिलाउन प्रदेश र स्थानीय तहमा पत्र पठाइसकेको छ।

याे पनि हेर्नुहाेस्–प्रि–मनसुनमै डेंगुको महामारी

ईडीसीडीका निर्देशक डा. वासुदेव पाण्डे क्वारेन्टिन स्थल मापदण्ड अनुसारको व्यवस्थित नहुँदा डेंगी लगायत संक्रामक रोगको जोखिम बढेको बताउँछन्। “तर अहिले सीमित जनशक्तिले कोरोनाभाइरस सम्बन्धी काममै प्राथमिकता दिइरहँदा अन्य रोगमा पनि लाग्नुपर्ने चुनौती थपिएको छ”, उनी भन्छन्।

अहिले कोरोनाभाइरस परीक्षणका लागि रियल टाइम पीसीआर मेशिन प्रयोगमा आइरहेकाले डेंगी रोग परीक्षण पनि त्यसै मार्फत गर्न सकिने डा. पाण्डे बताउँछन्। पीसीआर मेशिन भएका ठाउँमा किट र प्राइमर मात्र किने पुग्ने उनको भनाइ छ। ईडीसीडीले आगामी साता सातै वटा प्रदेशका स्वास्थ्य संयोजक र सामाजिक विकास मन्त्रालयका प्रमुख, जिल्ला जनस्वास्थ्यका कार्यालयका कर्मचारी लगायतलाई डेंगी रोकथाम र उपचारबारे तालिम दिने तयारी गरिरहेको छ।

ईडीसीडीले डेंगी रोग नियन्त्रणका लागि सरसफाइ, जनचेतना आदि कामका लागि ८४ वटा गाउँपालिकालाई चालु आर्थिक वर्षमा रु. १ करोड ६२ लाख पठाएको छ। आगामी आर्थिक वर्ष नगरपालिका र गाउँपालिका गरी १४० स्थानीय तहलाई न्यूनतम रु.१ लाखदेखि ५ लाखका दरले रकम दिने योजना छ।

याे पनि हेर्नुहाेस्– संसदमा सांसदः डेंगीदेखि बाघसम्मको डर

प्रतिकृया दिनुहोस